News

Feb 28, 2011

लिम्बुवान राज्यअन्तर्गत् मेचे स्वायत्त परिषदको प्रशिक्षण कार्यक्रम

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
चारआली, झापा लिम्बुवान १३ फागुन २०६७,नेपालमा चलिरहेको लिम्बुवान आन्दोलनलाई अझ सक्रियताका साथ गाउँगाउँ र सबै लिम्बुवानवासीमा पुर्याएर आन्दोलनलाई अझ सशक्त बनाउन विभिन्न लिम्बुवानवासी आदिवासीसँग छलफल, अन्तरक्रियासङ्गठन निर्माण र प्रशिक्षण कार्यक्रमहरु तीव्रगतिमा अघि बढिरहेको छ । यसैक्रम्मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषदअन्तर्गत् संघीय मेचे स्वायत्त परिषदको गठन गरी प्रशिक्षण कार्यक्रमसमेत गरिएको छ । यही फागुन १३ गते दुहागढी ४, चारआली झापामा मेचे स्वायत्त परिषदका अध्यक्ष विशुलाल मेचेको अध्यक्षता र लिम्बुवानका अध्यक्ष कुमार लिङ्देन ''मिराक'को प्रमुख आतिथ्यमा एक अन्त क्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । यो प्रशिक्षण कार्यक्रममा उपस्थित सहभागी तथा अतिथिहरुलाई मेचे स्वायत्त परिषदका सचिव सुमित्रा मेचेले स्वागत मन्तव्यमार्फत् स्वागत गर्नुभएको थियो । प्रमुख अतिथि कुमार लिङ्देन ''मिराक'ले मेचे स्वायत्त परिषदका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै अहिलेको संघीयवादी आन्दोलन, आत्मनिर्णयको अधिकार र स्वशासनसहितको स्वायत्तताको आन्दोलन र मेचे जाति तथा आदिवासीहरुले भोलिको लिम्बुवानमा पाउने स्वायत्त क्षेत्रको अवधारणा बारे प्रशिक्षण दिएका थिए । प्रशिक्षणकै शिलशिलामा अध्यक्ष लिङ्देनले भोलिको नौ जिल्ला लिम्बुवानअन्तर्गत् आदिवासी मेचे जातिहरुको मेचे स्वायत्त क्षेत्र हुने र त्यो मेचे स्वायत्त क्षेत्रमा मेचेहरुको भाषा, संस्कृति र सामाजिक-आर्थिक अधिकारको सुनिश्चितता हुने बताउनु भयो । यसैगरी, लिम्बुवानमा आई. एल. ओ. महासन्धि नं. १६९ लागू गरी कार्यान्वयन गरिने र आदिवासीहरुलाई राज्यले क्षतिपूर्तिसमेत दिने व्यवथा हुने बताउनु भयो । यसरी नै लिम्बुवानका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङले प्रशिक्षण मन्तव्य दिँदै अबचाहिँ आदिवासी मेचेहरु एकजुट भएर लिम्बुवानको लागि उठ्ने बेला भइसकेकोले एकदमै ढिलो गर्नु नहुँने कुरा भन्नुभयो । त्यसैरी नै अर्का अतिथि लिम्बुवानका केन्द्रीय सदस्य यलम्बर खम्बूले प्रशिक्षण मन्तव्य राख्दै लिम्बुवान प्राप्त भएपछि खम्बुवान र तामाङसालीङहरु पनि प्राप्त हुने भएकोले सबै संघीयवादीहरु लिम्बुवानको लागि लाग्नु जरुरी भएको धारणा राख्नु भयो । लिम्बुवानअन्तर्गत् संघीय मेचे स्वायत्त परिषदका अध्यक्ष विशुलाल मेचेले कार्यक्रमको समापन गर्दै अब मेचे जातिहरु लिम्बुवानअन्तर्गत् मेचे जातिको अधिकार र स्वायत्त क्षेत्रको स्थापनाको लागि एकजुट भई लागिपर्ने प्रतिवद्धतासमेत जनाएका थिए । फोटोः अरुणा लिम्बू

उपसमितिको संयोजकमा प्रचण्ड चयन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान निमार्णमाणमा देखिएका समस्या समधान गर्न संवैधानिक समिति अन्तर्गत गठित उपसमितिको संयोजकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल चयन हुनु भएको छ ।
सिंहदरवार स्थित संसद सचिवालयमा आज बसेको उपसमितिको बैठकले दाहाललाई संयोजक तोकेको हो । बैठकले उपसमितिलाई सहयोग गर्न प्रमुख तीन दलका दुई दुई जना सदस्य समेत तोकेको छ । सहयोगी सदस्यहरुमा नेपाली काँग्रेसका विमलेन्द्र निधी र राधेश्याम अधिकारी , माओवादीका देव गुरुङ र खिमलाल देवकोटा तोकिनु भएको छ । त्यस्तै एमालेको तर्फबाट सुरेन्द्र पाण्डे र अग्नी खरेललाई तोकिएको छ । बैठकले मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनशक्ति पाटीका डाक्टर प्रकाश चन्द्र लोहनीलाई उप समितिको आमन्त्रीत सदस्यमा चयन गरेको उप समिति सदस्य तथा काँग्रेस संसदिय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनु भयो । उपसमितिले फागुन मसान्त सम्ममा विषयगत समितिमा देखिएका ७५ बुँदे विवादलाई मिलाउने जिम्मेवारी पाएको छ ।

२४ नेपाली लिबियाको विमानस्थलमा अलपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १६ - स्वदेश फर्कन लागेका २४ नेपाली लिबियाको सवैभन्दा ठूलो शहर त्रिपोलीस्थित विमानस्थलमा अलपत्र परेका छन् । एक एजेन्सीले स्वदेश फर्काउन विमानस्थल पुर्‍याए पनि टिकट अभावमा उनी अलपत्र परेका हुन् । चार्टर विमानबाहेक अन्य विमान नभएकाले नेपाली कामदारलाई फर्कन समस्या भएको हो । अन्य मुलुकहरुले भने आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन विमान चार्टर गरेका छन् । त्रिपोली विमानस्थलमा अलपत्र नेपाली कामदारलाई स्थानीय एक शिविरमा राखिने इजिप्टस्थित नेपाली राजदूतावासले जनाएको छ । यसैबीच इजिप्टको कायरोबाट सोमबार नै १ सय ६१ नेपाली स्वदेश फर्कंदैछन् ।

पुष्पकमलले दुई दिनभित्रै सरकारले पूर्णता पाउने दावी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दुई दिनभित्रै सरकारले पूर्णता पाउने दावी गर्नुभएको छ । डिलाराम खनालले नेतृत्व गरेको नेकपा मसालसँग पार्टी एकता गर्न आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताउनु भएको छ। सो कार्यक्रममा बोल्दै अध्यक्ष्य प्रचण्डले भन्नु भयो, "यो सरकारलाई पूर्ण हुन नदिन षडयन्त्र भईरहेको छ । दुई दिनभित्र सरकारलाई पूर्णता दिएर त्यस्तो षडयन्त्रलाई असफल पार्दै झापड लगाउँछौ ।" नेकपा एमालेका नेताहरुसँग भएको भनिएको निर्णायक बार्ता निष्कर्ष विहीन बनेको केही घण्टापछि नै प्रचण्डले त्यस्तो दावी गर्नु भएको हो । यद्यपि उहाँले सरकारले पूर्णता पाउने आधारको बारेमा भने केही खुलाउनु भएन ।

पृथ्वीनगर झापामा लिम्बुवानको क्षेत्रीय आमसभा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ,
पृथ्वीनगर, झपा, लिम्बुवान १२ फागुन २०६७,अरुणपूर्व नौ जिल्ला लिम्बुवान राज्यको संवैधानिक सुनिश्चितताका लागि संघीय लिम्बुवान राज्य परिषदको सङ्गठन निर्माण, प्रशिक्षण र जनप्रदर्शन अभियानअन्तर्गत् फागुन १२ गते पृथ्वीनगर झपामा एक क्षेत्रीय लिम्बुवानी आभसाभा किरण कन्दङ्वाको अध्यक्षता र लिम्बुवानका अध्यक्ष कुमार लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न भयो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान लिम्बुवान राज्य परिषद पृथ्वीनगर झापाको आयोयजनामा सम्पन्न उक्त आमसभामा बसन्त फोम्बोले स्वागत मन्तव्य गर्दै अतिथि तथा सहभागीहरुलाई स्वागत गरेका थिए ।आमसभाका प्रमुख अतिथि संघीय मञ्च तथा सम्बद्ध लिम्बुवानका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन '"मिराक"ले सो सभालाई सम्बोधन गर्दै सिंहदरवारको एकात्मक कुर्सीलाई ध्वस्त पारेपछिमात्र लिम्बुवान प्राप्त हुने भएकोले सबै लिम्बुवानवासीहरुलाई यो संघीय स्वायत्ततावादी सङ्घर्षमा लामवद्ध भएर लाग्न आग्रह गर्नुभयो । प्रमुख अतिथि लिङ्देनले अब सो सिंहदरवारको दास भएर लिम्बुवान नबस्ने भन्दै अरुणपूर्व ९ जिल्ला लिम्बुवानलाई टुक्र्याउने षडयन्त्रप्रति परिषदको घोर आपत्ति रहेको बताउनु भयो । साथै, वहाँले जस्तोसुकै षडयन्त्र र दमनका बावजुत पनि ऐतिहासिक ९ जिल्ला लिम्बुवान स्वायत्त राज्य प्राप्ति र विकासका लागि लिम्बुवान आन्दोलन जारी रहनेसमेत विश्वस्त तुल्याउनु भयो । अर्का अतिथि लिम्बुवानका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङले एकात्मकवादी पार्टीहरुले जनताको आँखामा कालो पट्टी बाँधेकाले अब त्यो कालो पट्टी फ्याँक्नै पर्ने र सोका लागि संघीय मञ्च तथा सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदमा गोलवद्ध हुनुपर्ने धारणा राख्नु भयो । संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङ्हाङले सो सभालाई सम्बोधन गर्दै लिम्बुवान राज्य प्राप्तिका लागि सम्पूर्ण लिम्बुवानवासी महिलाहरुलाई कुनै न कुनै तवरले आन्दोलनमा सरिक हुन आह्वान गर्नुभयो । सो सभामा लिम्बुवानका राष्ट्रिय पार्षद् दिलकेशर थापा, झापा जिल्ला सदस्य मानबहादुर माबो र समाजसेवी दिलबहादुर थेबेलगायतले बोल्नु भएको थियो । साथै, स्थानीय लिम्बुवान कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम गीत नृत्यको समेत प्रस्तुती रहेको थियो । फोटोः दिनेश तुम्बापो

Feb 27, 2011

साहित्य महासंघको दोस्रो बैठक बस्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको दोस्रो बैठक यहि २८ फेब्रुवरी २०११ मा बस्ने भएको छ । साहित्य महासंघको केन्द्रिय सचिवालय गठन, महांसघले स्थापना गर्न लागेको पुरस्कार तथा सम्मान सम्बन्धमा प्रस्तावित कार्यपत्र बारे छलफल र नेपाल सम्बन्धि सुचना सुधार कार्यदललाई पूर्णता दिने सम्बन्धमा रहेको छ । महासंघले तत्कालै सबै साहित्यकारहरुको ध्यान केन्द्रित गर्न विश्व ब्यापी कार्यक्रम गर्ने सम्बन्धमा पनि छलफल गर्ने बताइएको छ ।

वायुसेवा निगम अध्यक्ष कंसाकार कारागार चलान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १५ - विशेष अदालतले माग गरेको रकम बुझाउन नसकेपछि नेपाल वायुसेवा निगमका अध्यक्ष सुगतरत्न कंसाकारलाई कारागार चलान गरिएको छ । विशेष अदालतले विमान खरिदमा अनियमितता गरेको ठहर गर्दै आइतबार निगम अध्यक्ष कंसाकारसँग ६ करोड धरौटी माग गरेको थियो । अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेले आइतबार कंसाकारसँग ६ करोड धरौटी माग गर्ने आदेश दिएका हुन् । विमान खरिदका लागि एयर बस कम्पनीलाई बैना दिएको भन्दै कंसाकारविरुद्ध मुद्दा दायर भएको थियो । निगम सञ्चालक समितिको निर्देशनविपरीत आफूखुशी बैना बुझाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । यसैबीच आइतबार विज्ञप्ती जारी गर्दै नेवाः जागरण मञ्चले विशेष अदालतको निर्णयप्रति आपत्ति जनाएको छ ।

एमालेले माओवादीसँग निर्णायक वार्ता गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेले पूर्व निर्णयमा अडिग रहँदै सरकारलाई पूर्णता दिने विषयमा एकीकृत माओवादीसँग निर्णायक वार्ता गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालको अध्यक्षतामा सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा करिब साढे दुईघण्टा बसेको बैठकले पार्टीले यसअघि गरेका निर्णयहरुमा उभिएर एमाओवादीसँग आजै साँझ वा भोलि बिहानभित्र वार्ता गरिने एमालेका महासचिव ईश्वर पोखरेलले पत्रकारहरुलाई जानकारी दिनुभयो । यसअघि एमालेले सुरक्षा सम्बन्धि मन्त्रालय आफूसँगै राखेर सरकार बिस्तार गर्ने निर्णय गरेको थियो। एमालेले सरकार विस्तार, सरकारको न्यूनतम साझा कार्यक्रम र अन्य विवाविदत विषयलाई वार्ताको एजेण्डा बनाउने बताएको छ।

जनविद्रोहको अन्तिम तयारीमा लाग्न मजदुरलाई प्रचण्डको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीको जनविद्रोह र सत्ता कब्जाको नाराले अन्यदलहरु सशंकित भईरहेको बेला फेरि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण शक्ति र सामाथ्र्यका साथ जनविद्रोहको अन्तिम तयारीमा लाग्न मजदुर कार्यकर्तालाई निर्देशन दिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ स्वयम सेवक विभाग अन्तर्गत मजदुर स्वयंम सेवक दलको राष्ट्रिय भेलालाई ललितपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनवादी क्रान्ति सफल पार्न सम्पूर्ण जिम्मेवारी र शक्तिका साथ जनबिद्रोहको तयारी गर्न निर्देशन दिनुभएको हो । उहाँले शान्ति संविधान र परिवर्तनको प्रवाहलाई रोक्न खोजे सबै होटल कलकारखाना ब्यारेकमा परिणत हुने र विद्रोहको नेतृत्व माओवादीले गर्ने बताउनुभयो । उहाँले मजदुरको हातमा सत्ता नआएसम्म पार्टी र शहीद लक्ष्य पूरा हुन नसक्ने बताउनुभयो । पार्टी भित्र अराजकतावादी व्यक्तिवादी दक्षिणपन्थी संकीर्णतावादी अवसरवादी जडसुत्रवादी जस्ता कम्जोरी देखिएको भन्दै त्यस्तो विचलनलाई रोक्न पार्टी लागिरहेको प्रचण्डको भनाई छ ।

सरकारले जस मात्र लिन खोजेको ब्यवसायीको आरोप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बैदेशिक रोजगार ब्यवसायी संघका कार्यबाहक अध्यक्ष हंसराज वाग्लेले नेपालीहरुको उद्दार रोजगार ब्यवसायीहरुले गरिरहेको भए पनि जस भने सरकारले लिने प्रयास गरिरहेको आरोप लगाउनु भएको छ।
उहाँले नेपालीको उद्दार गर्न ईजिप्टको राजदुतावासलाई नेपाल सरकारले पठाएको भनिएको ३० हजार डलर आज आईतवारसम्म पनि नपुगेको दावी गर्दै सरकारले उद्दारमा बेवास्ता गरेको दावी गर्नुभयो । उहाँले भारतले आफ्ना नागरिकको उद्दारकोलागी संयूक्त राष्ट्रसंघसँग मिलेर लिवियाबाट उद्दार गर्ने प्रयास गरिरहेको भए पनि नेपाल सरकारले कुनै पहल नगरेको तर ब्यवसायीहरु जोखिम मोलेर ईजिप्टको बोर्डरबाट उद्दार कार्यमा खटिएको जानकारी दिए । फरेन म्यान पावर एसोसिएसनका अध्यक्ष प्रेम कटुवालले नेपालीको उद्दार गर्ने सवालमा ब्यवसायीहरु विमुख नहुने प्रतिबद्धता ब्यक्त गर्दै राज्यले त्यसकालागी गंभिर पहल लिनु पर्ने आवश्यकता औल्याउनुभयो । उहाँले भन्नुभयो- हामि नेपालीको उद्दारमा राज्यसँग सहकार्य गर्न तयार छौ । यद्यपि उहाँले आफ्ना नागरिकको सुरक्षाको जिम्मा राज्यले नै लिनु पर्ने बताउनुभयो ।

अपहरित वालक मुक्त गराउने सहमतिपछि सप्तरी बन्द फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तरीको सदरमुकाम राजविराजबाट विगत ५ दिन अगाडी अपहरित बालक आयुष कुमार साहको सकुशल रिहाईको माग गर्दै आव्हान गरिएको सप्तरी बन्द फिर्ता भएको छ । स्थानिय प्रशासन र आन्दोलनरत शिक्षक संगठन बिच ही फागुन २० गतेसम्म मुक्त गराउने सहमति पश्चात जबाट सम्पुर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिइएको हो। यसअघि नेपाल शिक्षक युनियन, नेपाल प्याब्सन, प्याब्सन, नेशनल प्याब्सन, नागरिक समाज, उद्योग बाणिज्य संघ र निजी प्राविधिक शिक्षालय लगायतको अगुवाईमा दुई दिन सम्म जिल्लाका सम्पूर्ण शिक्षण संस्था पठनपाठन बन्द गरी आन्दोलनमा उत्रेका विद्यार्थी, शिक्षक, व्यवसायी, नागरिक समाजले यातायात तथा बजार बन्दको घोषणा समेत गरेका थिए ।अपहरित बालकको यथाशीघ्र मुक्ति र शान्ति सुरक्षा कायम गरी विद्यालयमा पढ्ने वातावरण मिलाउन उनीहरुले माग गरेका छन् ।

Feb 26, 2011

जसले ब्रायनलाई नेपाल बोलाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १४ - विश्व संगीत यात्रामा निस्केका क्यानेडेली रकगायक ब्रायन एडम्सलाई काठमाडौंमा ल्याइने जानकारी दिन गत पुसमा आयोजकले पत्रकार सम्मेलन गर्दा सञ्चारकर्मीले पत्याएनन् । अधिकांश सञ्चारकर्मीले 'ब्रायनसँग गरिएको सम्झौता देखाउन' भने । इभेन्ट आयोजनामा खासै दख्खल नभएका आयोजकले पनि पत्यारिलो प्रमाण पेस नगरी मौखिक रूपमा जानकारी दिइरहँदा केहीले 'यस्तो हावा कुरा कसरी पत्याउनु ? ब्रायनका नाममा 'ठगेर' धन कमाउने बठ्याइँ गर्न खोज्नु भा हो कि ? भने' तर पत्रकार सम्मेलन सकिएको ३७ दिनपछि (अघिल्लो शुक्रबार) तिनै नपत्याउने सञ्चारकर्मी नागरिकता र परिचयपत्रको फोटोकपी र फोटो बोकेर दरबारमार्गस्थित आयोजकको कार्यालयमा ब्रायन सुन्न पासका लागि धाइरहेका देखिए ।
सम्मेलनमा सहभागी सञ्चारकर्मीबाहेक प्रहरी, प्रशासन, कर्पोरेट हाउस र श्रोताले समेत नपत्याएको कन्सर्ट सफलतापूर्वक सम्पन्न गर्ने आयोजक (सीमान्त गुरुङ, सुरेशजंग रायमाझी, दीपेन्द्र अवाले, रविन गुरुङ र मीन केसी) बधाईका पात्र बनिरहेका छन् । जो ओडीसी नेटवर्क नामको संस्थामा आवद्ध छन् । यो फिल्म, संगीत र इभेन्टमा केन्दि्रत कार्यक्रम गर्छन् । करिब ५ करोड रुपैयाँको कारोबार भएको कन्सर्ट सफल भएपछि उनीहरूको हौसला चुलिँदै गएको छ । आगामी वर्षको दसैं नजिकिँदै गर्दा ब्रायन हाराहारीकै कलाकारलाई काठमाडौं ल्याउने उनीहरूले घोषणा गरिसकेका छन् । २५ देखि ३५ वर्ष उमेर समूहका उनीहरूलाई मञ्चलगायतको व्यवस्थापनमा जेपीआरका शीतल सिह र साउन्ड सिस्टममा साइलेन्स इन्टरटेन्मेन्टका विक्रान्त श्रेष्ठले सघाएका थिए ।

काँग्रेस सभापतिद्वारा छ केन्द्रीय सदस्य मनोनित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १४ - नेपाली काँग्रेसका सभापति सुशिल कोइरलाले शनिबार छ जना महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय कार्य समितिमा मनोनयन गरेका छन् । अव काँग्रेस केन्द्रीय पदाधिकारी तथा सदस्यको संख्या ८० पुगेको छ । काँग्रेस मुख्य सचिव बसन्तकुमार गौतमका अनुसार मनोनित हुनेहरुमा सल्यानका डिल्लीराज रेग्मी, पाल्पाका राजनप्रसाद पन्त, झापाका केशवकुमार बुढाथोकी, महोत्तरीका रामचन्द्र तिवारी, भोजपुरका श्रीमती लक्ष्मी राई र सुनसरीका श्रीमती मीना सुब्बा रहेका छन् ।

माओवादीले सहिद सप्ताह मनाउन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीले आज शनिबारदेखि सहिद सप्ताह मनाउन सुरु गरेको छ । सहिद सप्ताहको अवसरमा माओवादीले २१ गतेसम्म सभा, समारोह, सहिद परिवारलाई सम्मान, भित्ते लेखनलगायत विभिन्न कार्यक्रम आयोजना गरेको छ । सहिद सप्ताहको अवसरमा शनिबार ललितपुरको कुपण्डोलमा जनयुद्धका सहिद, वेपत्ता एवं घाईते परिवारलाई सम्मान गरिदै छ । माओवादी नेवाःराज्य समितिको आयोजनामा अपरान्ह ३ बजे हुने कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु सहभागी हुनेछन् । सहिद सप्ताहको अवसरमा प्रत्येक जिल्ला - जिल्लामा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेको जानकारि दिइएको छ ।माओवादी जनयुद्धको क्रममा गोर्खाका स्कुले बालक दिलबहादुर रम्तेललाई तत्कालिन बिद्रोहि माओवादीलाई सघाएको आरोपमा प्रहरीले २०५२ साल फागुन १४ गते हत्या गरेको दिनको स्मृतिमा माओवादीले फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताहको रुपमा मनाउने गर्दछ । रम्तेललाई माओवादीले जनयुद्धको पहिलो सहिदको सम्मान दिएको छ ।२०२८ साल फागुन २१ गते सुखानी हत्याकाण्ड भएको दिनलाई माओवादीले सहिद सप्ताहमा समेट्ने गरेको छ । झापाको चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई ईलाम लाने भन्दै सुखानीमा लगेर प्रहरीले गोली हानी हत्या गरेको घटना सुखानी हत्याकाण्डको रुपमा परिचित छ ।

लिबियामा कार्यरत ६२ जना नेपाली कामदार स्वदेश आए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आन्दोलन ग्रस्त मुलुक लिबियामा कार्यरत नेपाली मध्य ६२ जना नेपाली कामदार शनिबार दिउँसो स्वदेश आइपुगेका छन्। लिबियाको डेर्नास्थित निर्माण क्षेत्रमा कार्यरत उनीहरु इजिप्टको अलेक्सजेन्डिरा विमानस्थलबाट युएईको शारजाहा हुँदै दिउँसो तीन बजे त्रिभुवन विमानस्थल आइपुगेका हुन्। उनीहरु बिहान ३ बजे अलेक्सजेन्डीरायबाट उडेका थिए। उनीहरुलाई शुक्रबार राति इजिप्टको कायरोस्थित दुताबासका प्रथम सचिव तिर्थ अर्यालले बोर्डरबाट अलेक्सजेन्डीयमा पुर्‍याएका थिए । उनीहरुलाई ल्याउन सरकार र एसओएस म्यानपावर कम्पनीले खर्च गरेको छ । एसओएसका अध्यक्ष हेमलाल गुरुङले बाँकी कामदारलाई ल्याउने काम भइरहेको बताए । यहाँ आइपुगेका कामदारलाई अहिले एसओएसले आफ्नो सेल्टरमा राखेका छन् ।

Feb 25, 2011

फेसबुकमार्फत् रिस पोख्दा..प्रहरी नियन्त्रणमा .

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ललितपुर, फाल्गुन १३ - अपरिचितलाई फेसबुकमा राखिएका तस्बिरमा सहज पहुँच दिनुभएको छ ? अथवा आफ्ना तस्बिरहरू सामान्य चिनजानका व्यक्तिलाई पनि उपलब्ध गराउनुभएको छ ? छ भने सतर्क हुनुस् तपाईंको तस्बिर दुरुपयोग हुन सक्छ । यस्तै गतिविधिमा लागेका ललितपुरको ग्रामीण भेगका एक शिक्षक प्रहरी नियन्त्रणमा छन् । सहकर्मी र उनका परिवारका सदस्यको तस्बिर दुरुपयोग गरी रकम असुल्न खोजेको आरोपमा प्रहरीले ती शिक्षकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।ललितपुर प्रहरीका अनुसार सहकर्मीको फोटो दुरुपयोग गरी अश्लील बनाएको र धम्क्याएर रकम असुल्न खोजेको आरोपमा लुभु-८ शंखादेवीका सरोज केसी पक्राउ परेका हुन् । छात्रामाथि यौन दुव्र्यवहारको आरोपमा विद्यालयबाट निकालिएका उनले 'फेसबुक' मार्फत् सहकर्मीमाथि आक्रोश पोखेको भेटिएको हो । ललितपुरका प्रहरी उपरीक्षक विक्रमसिंह थापाले विद्यालयबाट निकालिएका शिक्षकले फोटोको दुरुपयोगमार्फत् साइबर अपराध गरेको अनुसन्धानबाट खुलेको बताए । 'छात्रालाई पटकपटक दुव्र्यवहार गर्ने केसीलाई ती शिक्षिकाले कारबाही गर्न सहयोग गरेकी रहिछन्,' उनले भने, 'आक्रोशमा आएका शिक्षकले उनको फोटो अश्लील बनाएर फेसबुकमा राखेको पुष्टि भएको छ ।'
विद्यालयबाट वनभोज जाने क्रममा केसीले खिचेको पीडित युवतीको फोटो पछि दुरुपयोग गरेको प्रहरीले जनाएको छ । बयानका क्रममा केसीले वनभोजको तस्बिर विद्यालयको कम्प्युटरमा रहेको र पछि आफूले लगेको स्वीकारेको प्रहरीले जनायो । प्रहरीका अनुसार 'फेक' आइडी बनाएर खोलिएको फेसबुक एकाउन्टमा उनले ती युवतीको अनुहार र नग्न तस्बिर जोडेर राखेका छन् । उनको चरित्र हत्या हुनेगरी अंग्रेजीमा अश्लील शब्द लेखेका छन् । इमेल र साथीहरूबाट जानकारी आएपछि पीडितले अश्लील तस्बिरबारे पत्ता पाएकी थिइन् । प्रहरीले पीडित युवती र अर्का शिक्षक तथा विद्यालयको नाम गोप्य राखेको छ ।
आफ्नो तस्बिर दुरुपयोग भएको थाहा पाएपछि पीडितले प्रहरीमा उजुरी गरेकी थिइन् । उजुरीपछि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा र ललितपुर शाखाले घटनाको अनुसन्धान गरेको थियो । केसीले पीडित युवतीको नाममा नै 'फेक' एकाउन्ट खोली अश्लील तस्बिर राखिदिएको र पछि इमेलमार्फत धम्क्याएको प्रहरी निरीक्षक ज्योतिराज शर्माले बताए । 'जागिर गुमाएकोमा आक्रोशित केसीले बारम्बार इमेल गर्दै डेढ लाख नदिने भए थप तस्बिर सार्वजनिक गरिदिन्छु भनेको भेटियो,' शर्माले भने ।
प्रहरीले अनुसन्धानका क्रममा केसीले अर्का सहकर्मी शिक्षककी श्रीमतीलाई समेत धम्क्याएको भेटेको छ । सहकर्मी शिक्षकको पीडित युवतीसँग अनैतिक सम्बन्ध रहेको भन्दै केसीले ती शिक्षककी श्रीमतीलाई सहयोगको आश्वासन दिएका थिए । त्यही बहानामा केसीले ती महिलाको तस्बिर खिचेको प्रहरीले जनायो ।
'उसले ती महिलालाई समेत धम्क्याउँदै दुव्र्यवहार सुरु गरिसकेको रहेछ,' प्रहरी उपरीक्षक थापाले भने । पहिचान लुकाएर 'फेक' इमेलमार्फत् धम्क्याएका केसीले पीडित युवतीलाई भेटी 'आफूले इमेल पठाउनेलाई चिनेको र रकम दिएर मिलाउन सकिने' बताएपछि उसमाथि निगरानी सुरु भएको प्रहरीले जनायो । पछि उसले नै फाटोलाई अश्लील बनाउने, फेसबुकमा राख्ने र मोलमोलाइ गरेर धम्क्याउने गरेको प्रहरी निरीक्षक शर्माले बताए ।
'पहिचान लुकाएर उसले नै फोटो बिगार्ने र मध्यस्थकर्ताका रूपमा रकम असुल्ने गरेको भेटियो,' उनले भने । पक्राउ परेपछि आरोपितले घटनाबारे आफूलाई जानकारी नभएको भनेर झुक्याउन खोजेको प्रहरीले जनायो । मध्यस्थकर्ताको भूमिकासमेत निभाएका केसीलाई वास्तविक व्यक्ति उभ्याउन लगाएपछि घटनाको पोल खुलेको हो ।

विवादित मुद्दा टुङ्गयाउने जिम्मा फेरि शीर्ष नेतालाई

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १३ - भावी संविधानमा देखिएको विवाद अन्त्यका लागि संवैधानिक समितिले प्रमुख तीन दलका शीर्ष नेता सम्मिलित उपसमिति गठन गरेको छ । समितिमा साना दल र मधेशी दलका तर्फबाट पनि एक एक जना राखिएको छ । समितिमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल,कांग्रेस नेता रामचन्द्र पौडेल,एमाले नेता माधवकुमार नेपाल र नेकपा संयुक्तकी कल्पना राणा छन् । मधेशी दलबाट एकजनाको नाम आउन बाँकी रहेको छ । समितिको संयोजक उपसमिति आफैले तय गर्नेछ । विवादित ८३ वटा बुँदामा छलफल नजुटेपछि दलका शीर्ष तहमा सहमति जुटाउन उपसमिति गठन गरिएकेा हो । प्रस्तावित विषयमा फागुन मसान्त भित्रमा सहमति जुटाई उपसमितिले समितिको पूर्ण बैठकमा प्रतिवेदन पेस गर्नुपर्ने छ । यसअघि गठन भएको उच्च स्तरीय कार्यदलले १ सय २७ वटा बुँदामा सहमति गरेको थियो । राज्यको पुनःसंरचना,निर्वाचन र न्याय प्रणाली लगयातका महत्वपूर्ण विषयहरुमा सहमति जुटउन बाँकी रहेको छ । संविधान जारी हुने अन्तिम मिति आउन अब ९२ दिन मात्र बाँकी छ ।

कूटनीतिक राहदानी फिर्ता नगर्ने सभासद् ४११

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राजनीतिक पार्टी नियोजित षड्यन्त्र र विधायकका गतिविधिहरू निर्देशित गर्ने नियमको अभावमा कूटनीतिक राहदानी दुरुपयोग भएको पुष्टि भएको छ।मधेसी जनअधिकार फोरम नेपालले कूटनीतिक राहदानी दुरुपयोग गर्ने उद्देश्यका साथ औँठाछाप सभासद्लाई उच्च बौद्धिक अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी गराउन संसद् सचिवालयमा गत असोज १८ गते सिफारिस गरेको थियो। फोरमको सिफारिसलाई मान्यता दिँदै संसद् सचिवालयले परराष्ट्र मन्त्रालयलाई असोज २५ मा राहदानीका लागि सिफारिस गरेको थियो।सभासद्हरूलाई क्यानडामा गत नोभेम्बर ३० मा सञ्चालन भई डिसेम्बर ३ मा सम्पन्न हाइपर टेन्सन तथा डास्लिपिडिया’ को उपचारबारेको निश्चित समायोजनसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी गराउन खोजिएको थियो। सहभागी गराउन खोजिएका सभासद्हरूमा नेपाली जनता दलकी गायत्री साह (राहदानी नम्बर ०१९८२७) तथा फोरमका सभासद्हरू विश्वनाथप्रसाद यादव, सलमा खातुन मिकारानी, शिवपूजन राय यादव (०२०४४५), रम्भादेवी खातुन (०१९८९) र सीपी यादव थिए। मिकारानीले त्यसअघि पनि कूटनीतिक राहदानी लिएकी थिइन्। उल्लिखित सभासद्हरूको राहदानी डेढ करोड रुपियाँभन्दा बढीमा आवधिक तबरले बिक्री भएको समाचार यसअघि नै र्सार्वजनिक भइसकेको थियो।

कुरा नमिले पछि माओवादी बैठक स्थगित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ। एमालेसँग आज भएको वार्तामा कुरा नमिले पछि सरकारमा सहभागी हुने एकमात्र एजेण्डमा छलफल गर्न बस्ने भनिएको माओवादी स्थायी कमिटिको बैठक एजेण्ड नभएका कारण स्थगित गरिएको स्थायी कमिटि सदस्य टोपबहादुर रायमाझिले जानकारी दिनुभयो । दुई दलको बैठकमा प्रधानमन्त्री खनालपूर्व प्रधानमन्त्री माधवकुमार नेपालपार्टी महासचिव ईश्वर पोखरेल तथा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्षहरु मोहन वैद्य र नरायाणकाजी श्रेष्ठको सहभागिता थियो ।

समलिङ्गीद्वारा राज्यबाट समान संरक्षण पाउनुपर्ने माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लैङ्गीक तथा यौनिक अल्पसङ्ख्यकहरुले नयाँ नेपालमा राज्यबाट समान संरक्षण पाउनुपर्ने माग गरेका छन् । राजविराजमा आयोजित स्वास्थ्यकर्मी, सञ्चारकर्मी र जिल्ला विकास समितिको संयन्त्रबीचको सचेतीकरण गोष्ठीका अवसरमा यौनिक अल्पसङ्ख्यकहरुले यस्तो माग गरेका हुन् । गोष्ठीमा नीलहिरा समाजका परियोजना अधिकृत देवानन्द चौधरीले समलिङ्गीहरुप्रति सञ्चार माध्यममा सकारात्मक परिवर्तन आए पनि समुदायबाट पाउनुपर्ने सहयोग र स्रोतसाधनको कमीले गर्दा समान अवसर प्राप्त हुन नसकेको बताउनुभयो।
जनसङ्ख्याको करिब १० प्रतिशत समलिङ्गी र करिब एक प्रतिशत तेस्रो लिङ्गीको सङ्ख्या रहे पनि सरकारी जागिरमा सो समुदायबाट सहायक स्तरको पियनसम्म नभएको गुनासो गर्दै चौधरीले समलिङ्गी र तेस्रो लिङ्गीहरुलाई आत्मसम्मानका साथ बाँच्न दिने वातावरणको माग गर्नुभयो । कार्यक्रममा सहभागी समलिङ्गीहरुले पारिवारिक बहिष्कार, सम्पत्ति र रोजगारीबाट वञ्चित, घरगाउँबाट निकाला जस्ता पीडा भोग्दै आउनु परेको दु:खेसो पोख्दै मित्रवत व्यवहारका लागि सबैसँग आग्रह गरेका थिए । तेस्रो लिङ्गी विजयले कसैले इच्छा गरेर महिला, पुरुष बन्न नसकिने भए जस्तै तेस्रो लिङ्गी पनि कसैको चाहनाले नभई जन्मजात हुने कुरा भएकाले लोककल्याणकारी राज्यमा आफ्नो पहिचानसहित बाँच्न पाउने प्रत्येक मानिसको अधिकारको रक्षा हुनुपर्ने बताउनुभयो ।

गण्डकपीडितलाई क्षतिपूर्तिबापत रकम दिन भारत सहमत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल र भारतका अधिकारीबीच कोशी र गण्डक परियोजनाको समस्या र समाधानबारे १५ बुँदे सहमति भएको छ । हालै भारतको राजगिरमा गरिएको दुईदिने छलफलमा गण्डक र कोशी परियोजनामा देखिएका समस्याहरु समाधान गर्न यस्तो सहमति भएको हो । वार्ता वा छलफलबाट विद्यमान समस्या समाधान गर्न दुवै देश सहमत भएको छलफलमा सहभागी नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिराज पन्तले बताउनुभयो ।यस्तै नवलपरासीका गण्डकपीडितलाई क्षतिपूर्तिबापत रकम दिन भारत सरकार सहमत भएको छ । यसका लागि क्षतिपूर्तिको पुनः मूल्याङ्कन गर्ने सहमति भएको छ । त्यसैगरी, नवलपरासीमा रहेको गण्डकअन्तर्गत जीर्ण अवस्थामा रहेका ठोकर नम्बर २ र ३ मा नयाँ स्पर निर्माण गर्ने सहमति भएको जनाइएको छ । गण्डक क्षेत्रअन्तर्गत बी ग्यापमा सडक निर्माण गर्न भारु तीन करोड भारत सरकारले विनियोजन गर्ने र ठोकर नम्बर १२ तत्काल मर्मत गर्ने सहमति भएको प्रजिअ पन्तले बताउनुभयो । छलफलमा नेपाली टोलीको नेतृत्व सिँचाइ विभागका महानिर्देशक एके पोखरेलले तथा भारततर्फबाट भारतीय जल संसाधन विभागका मुख्य सचिव अफजल अमानुल्लाहले गर्नुभएको थियो ।

गृह मन्त्रालय आफैं राख्ने एमाले प्रस्ताव माओवादीद्वारा अस्विकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्रीले गृहमन्त्रालय विवाद कायम रहुन्जेल एमाले आफैंले राखेर मन्त्री परिषद विस्तार गर्न राखेको प्रस्ताव माओवादीले अस्विकार गरिदिएको छ । एमाले र माओवादीबीच आज मन्त्रीपरिषद विस्तारका विषयमा भएको छलफलमा प्रधानमन्त्री झलनाथ खनालको त्यस्तो प्रस्तावलाई माओवादीले अस्विकार गरिदिएको हो । दुई दलका शिर्ष नेताहरुवीच भएको छलफलमा माओवादीले प्रधानमन्त्रीलाई आफैले गरेको सात बुँदे सहमति जस्तो त्यस्तै कार्यान्वय नगरेसम्म सरकारमा जान नसकिने स्पष्ट पारेको स्रोतले जानकारी दिएको छ । ओवादीले प्रधानमन्त्रीलाई सात बुँदे सहमति अनुसार अघि बढ्न आग्रह समेत गरेको थियो । माओवादीले स्थायी समिति बैठक बस्नुपूर्व एमालेसँग छलफल गरेको हो ।

Feb 24, 2011

खम्बुवान स्वायत्त राज्य परिषदको राष्ट्रिय भेला उद्घाटन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ डीबी आङ्बुङ लिम्बू,
११ फागुन २०६७,"सम्पूर्ण खम्बुवानवासीको चाहनाः खम्बुवान स्वायत्त राज्यको स्थापना" भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च खम्बुवान स्वायत्त राज्य परिषदको राष्ट्रिय भेला गाइघाट उदयपुर खम्बुवानमा मञ्चका अध्यक्ष कुमार लिङ्देन 'मिराक' र खम्बुवानका अध्यक्ष इन्द्रहाङ खम्बूले सामूहिक रुपमा छट्टाछुट्टै मैनवत्तीमा दीप प्रज्वलन गरेर उद्घाटन भयो ।खम्बुवानको राष्ट्रिय भेलाको उद्घाटन-सत्र शुरुहुनुभन्दा पहिले "सम्पूर्ण खम्बुवानवासी एक हौं; हाम्रो आन्दोलन जारी छ; खम्बुवान राज्य सुनिश्चित गर"लगायतका नाराहरु लगाउँदै विभिन्न झाँकीसहितको र्यालीले त्रियुगानगर परिक्रमा गरेको थियो ।राष्ट्रिय भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्नेक्रममा प्रमुख अथिति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले लिम्बुवानमा व्यहोर्नु परेका टुटफुटका तीतो अनुभवहरु सुनाउँदै सम्पूर्ण खम्बुवानवासीलाई खम्बुवान स्वायत्त राज्य स्थापनाका लागि एकजुट हुन आह्वान गर्नुभयो । खम्बुवान एकताको लागि मञ्चको तर्फबाट लिम्बुवान र तामाङसालीङको सहयोग र समन्वयमा सकेसम्म प्रयास गरेको र गरिरहने जनाउँदै यसरी खम्बुवान स्वायत्त राज्य परिषद संघीय मञ्चमा आवद्ध रहनु भनेको कुनै भातृ सङ्गठनको रुपमा रहेको नभई एउटा स्वायत्त आङ्गिक सङ्गठनको रुपमा रहनेसमेत जानकारी दिए । यस कार्यले लिम्बुवान, खम्बुवान, तामाङसालीङ र थारुहटलगायका स्वायत्त राज्य प्राप्तिका लागि लागेका परिषदहरुबीचमा सहकार्य समन्वय साथ सहयोग हुने पनि बताए । साथै, यसरी एउटा झण्डामुनि एकै सङ्गठनमा आवद्ध भई राजनीतिक रुपमै लागेर आन्दोलन नगरेसम्म हाम्रो हक अधिकारहरुसमेत सुनिश्चित नहुने विचार राखे ।शताब्दीयौंसम्म कालो बादल मडारिएको खम्बुवानको आकाशमा बल्ल अब उज्यालो छाउन आँटेको र खम्बुवानवासी जनताहरुमा पनि अब नयाँ आशाका साथ आन्दोलनको उभार आएर खम्बुवान स्वायत्त राज्य स्थापपित् भएर खम्बुवानी जनताको मुक्तिको ढोका खुल्ने अभिलाषा व्यक्त गरे ।अतिथि लिङदेनले समारोहमा प्रस्तुत खम्बुवानी जनताले नाच्ने एक मौलिक नाच साकेला नाचलाई अहिले एकात्मक राज्यले विभेद गरेको बताउँदै खम्बुवान आएपछि खम्बुवानका राज्यको टीभीले यो साकेला नाचलाई विश्वका मुलुकहरुमा एकैसाथ प्रशारण गर्ने दिन पनि आउँनेछ भनेँ ।लिङ्देनले भनेँ- "कसैले भन्लान् पृथ्वी नारायण शाहले अङ्ग्रेजसँग बचाउन नेपाललाई कथित् एकीकरण गरेको भन्ने कुरा सरासर गलत हो । पृथ्वीनारायण शाहले अङ्ग्रेजले ल्याएको बन्दुक नै ल्याएर खम्बुवानको जनतालाई मारेको थियो, ओख्लीमा कुटेर मारेको थियो, पेटको बच्चाहरुलाई चिरेर मारेको थियो ।" यो इतिहसबाट आज हामीले पाठ सिक्नु पर्नेसमेत प्रमुख अतिथि लिङ्देनले बताउनु भयो ।कुनै राजनीतिक पार्टीको घोषणा-पत्रमा केके लेखेको छ त्यो ठूलो कुरा होइन रहेछ । तर, मुलुकको कस्तो कानुन बनाउन चाहन्छ ? त्यो महत्वको कुरा रहेछ । त्यसैले, अब हामी यो सवालमा केन्द्रीय भई आफ्नो हक-अधिकारसहित खम्बुवान लिम्बुवान तामाङसालीङ र थारुहटलगायका राज्यहरु सुनिश्चित गर्नका लागि सशक्तताका साथ लाग्नुपर्ने भएको कुरा पनि प्रमुख अतिथि लिङ्देनले बताए ।लिङ्दनेले आफूहरुलाई यी सीडीओहरु सीआइडीजस्ता र एकात्मक पाठशालाहरु बधशालाजस्तो लाग्ने र जहाँ हाम्रो भाषा, संस्कृति, धर्म, पहिचान र अस्तितवको हत्या गरिने गरेको बताए । त्यसैले, यो एकात्मकताको विरुद्धमा लाग्नु परेको धारणा राखे ।खम्बुवानवासीले यो खम्बुवान स्वायत्त राज्य परिषदबाहेक अरु पार्टीमा लागेर खम्बुवान ल्याउनु खोज्नु भनेको हेलिकप्टर चढेर सगरमाथा चढ्न खोज्नुजस्तै हो भन्दै त्यसको कुनै लेखाजोखा, इतिहास र सम्मान नरहने कुरा प्रमुख अथिति लिङ्देनले बताए ।सोही उद्घाटन समारोहलाई सम्बोधन गर्दै तामाङसालीङ स्वायत्त राज्य परिषदका उपाध्यक्ष सिङमान तामाङ "ख्युङ्बा"ले खम्बुवान राज्य परिषदलाई सशक्त रुपमा अघि बढाउन मञ्चको तहबाट लिम्बुवान र तामाङसालीङका नेतृत्वहरुले अथक प्रयास गरेको जानकारी गराउँदै अबका दिनमा सशक्तताका साथ अघि बढ्न सकोस् भनी शुभकामना दिनुभयो ।त्यसैगरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सचिवालय सदस्य तथा लिम्बुवानका महासिचव सूर्य माखिमले लिम्बुवान आन्दोलनका अनुवभहरु साझेदारी गर्दै लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, थरुहट, मगरात, तमुवान स्वायत्त राज्य चाहनेहरुले एकापसमा एकीकृत भएर आन्दोलन गर्नुको विकल्प नरहेको बताउँदै शुभकामना दिनुभयो ।खम्बुवानका बुद्धिजिबी भूमि साम्पाङले सघीय संरचनाको राजनीतिक सङ्गठन संघीय मञ्च, लिम्बुवान र खम्बुवानका बारेमा राम्रो कुराको प्रशंसा गर्दै आन्दोलनमा भएका कमी कमजोरीप्रति सुझावहरु दिदैँ राष्ट्रिय भेलालाई शुभकामना दिनुभयो ।यसरी नै यो खम्बुवानको राष्ट्रिय भेलालाई संघीय विद्यार्थी युनियनका महासचिव लोकसागर साम्बा, संघीय महिला मञ्चका उपाध्यक्ष अमृता थेबे, नेकपा एमालेका विमल काफ्ले, नेकपा माओवादीका किरण राई, एनेकपा माओवादीका इन्द्र राई, नेकपा एमालेका हेम दाहाल, नेकपा एकीकृतका मोहन सिङ तामाङ, नेपाल किरात राई संघ एकीकृतका केन्द्रीय अध्यक्ष अगम राईलगायतले पनि सम्बोधन गर्दै शुभकामना दिएका थिए । विशिष्ट अतिथिहरु संघीय मञ्चका अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाङ्फे राई र महासतिव खगेन्द्र माखिमले भने समयको अभावले गर्दा दोस्रो दिनको बन्द-सत्रमा विशेष सम्बोधन गर्ने जानकारी सञ्चालकले जानकारी गराएका थिए ।अतिथिहरुलाई खम्बुवानका भावना राई र तुलशा राईबाट ब्याच वितरण गरिएको उक्त कार्यक्रममा संघीय मञ्चका संघीय सदस्य विश्वराज राईले स्वायगत मन्तव्य राख्नु भएको थियो । संघीय ब्याचका सचिवालय सदस्य तथा खम्बुवान स्वायत्त राज्य परिषदका कार्यवाहक महासविच किरण राईद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रमको बीचमा खम्बुवानी कलाकारहरुबाट विभिन्न साकेला गीत र नृत्यहरूसमेत प्रस्तुत गरिएको थियो । संघीय मञ्चका अधक्ष मण्डल सदस्य तथा खम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्ष इन्द्रहाङ खम्बूको अध्यक्षतामा सम्पन्न उक्त राष्ट्रिय भेलाको उद्घाटन सत्रलाई समापन गर्दै यो भेलाले खम्बुवानलाई अब सही मार्ग र निश्चित दिशामा लगेर खम्बुवान स्वायत्त राज्य प्राप्त गरेरै छोड्ने प्रतिवद्धता जनाए ।

काँग्रेसलाई सरकारमा सहभागी हुन औपचारिक आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १२ - एमाले र माओवादीले प्रमुख दलको सहकार्यबाट मात्र शान्ति र संविधान निर्माण पुरा गर्न सकिने भएकाले सरकारमा सामेल भएर त्यो कामलाई सहज बनाउन काँग्रेससंग प्रस्ताव गरेका छन् ।शान्ति मन्त्रालयमा बिहीबार बसेको तीन दलीय बैठकमा यस्तो प्रस्ताव राखेका हुन् । काँग्रेसले भने सात बुँदे सहमति कायम रहँदासम्म काँग्रेस सररकारमा सामेल हुने कुनै संभावना नगरेको स्पष्ट गरेको छ ।'सात बुँदे सहमति कायम रहँदासम्म हामीलाई सरकारमा जान कुनै अभिरुची छैन' बैठकपछि काँग्रेस नेता डा. मिनेन्द्र रिजालले भने, 'सात बुँदेले गर्दा शान्ति प्रक्रिया र संविधान निर्माणलाई नै अवरुद्घ गर्ने स्थिति छ ।' तर, उनले सरकार बाहिर रहेर पनि शान्ति प्रक्रिया र संविधान निर्माणमा काग्रेस अघि बढ्न सक्ने बताए ।

वीरका अस्पताल उपकुलपतिलाई अख्तियारको पत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालकै जेठो वीर अस्पताल चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठानको मातहतमा गाभिएपछि राजनीतिक अखडा र भ्रष्टाचारको केन्द्र बन्दै गएको छ। पटकपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानका पदाधिकारीहरुको ध्यानाकर्षण गराउँदै निर्णय भंग गर्न निर्देशन दिँदासमेत पदाधिकारीहरुले राजनीतिक दलको आडमा अटेर गर्दै आएका छन्।प्रतिष्ठानका पदाधिकारीले पदको दुरुपयोग गरेर उमेरको हदले २०६७ भदौ ४ गते अनिवार्य अवकाशप्राप्त व्यक्तिलाई पुनः विभागीय प्रमुख रहने गरी करारमा नियुक्त गरेका छन्। ईएनटी विभागका प्रमुख डा. माधवप्रसाद दाहाललाई मन्त्रालयले म्याद थप्न नमिल्ने निर्णय दिँदादिँदै प्रतिष्ठानले कानुनविपरीत उपकुलपतिस्तरीय निर्णयबाट अनियमित तबरले उनलाई नियुक्त गरेको देखिन आएकाले उक्त करार भंग गर्न उपकुलपति डा. दामोदर पोखरेललाई माघ १८ गते अख्तियारले पत्र पठाएको भए पनि उनी भने पत्र नै गुपचुप राखेर प्रत्युत्तरसमेत नदिई बसेको बुझिएको छ।

लिवियामा घर फर्कन चाहने सयौ नेपाली कामदार अलपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
महेन्द्रनगर, फाल्गुन १२ - लिवियाको विभिन्न ठाउमा कार्यरत सयौं नेपाली कामदारहरु घर फर्कने क्रममा अलपत्र परेका छन् । लिवियामा सरकार बिरुद्धको प्रदर्शन उग्रहुँदै गएपछि घर फर्कन लागेका करिव ६ सय नेपाली कामदारहरु अलपत्र परेका हुन् ।लिवियामा कार्यरत कञ्चनपुरको त्रिभुवनवस्ती गाविस - ५ का रुद्र प्रसाद घिमिरेले बिहीबार बिहान महेन्द्र्नगरमा आफ्ना भाइ युवराज घिमिरेलाइ टेलिफोन गरि आफुहरु अलपत्र परेको जानकारी गराएका हुन् । लिवियाको अध्यागमन कार्यालयमा बितेको १० घण्टा देखि कुनै कर्मचारी उपस्थित नभएका कारण उनीहरु लिविया छोड्न नसकी अध्यागमन कार्यालय आसपास मै कार्यालय खुल्ने प्रतिक्षामा रहेको घिमिरे जानकारी दिए ।करिव ६ सय नेपाली कामदारहरु अध्यागमन कार्यालय खुलेपछि सिमापारीको इजिप्ट हुदै नेपाल फर्कने प्रतिक्षामा रहेको रुद्रले टेलिफोनमा जानकारी दिएको उनका भाइ युवराजले बताए । ६ सय नेपाली कामदार मध्ये २० जनाको समुह सम्पर्क विहीन अवस्थामा रहेको समेत उनले बताए । उनीहरु सिमापारी इजिप्ट पुगेको आशंका गरिएको छ । नेपाली कामदारहरु घर फर्कन लाग्दा आफुसंग भएको रकमबाट डलर सटही गर्दा अत्यन्त कम मुल्यमा सटही गर्नु परेका कारण ठूलो मर्कामा परेको समेत गुनासो गरेका छन् ।केही दिनयता लिवियामा भइरहेको सरकार बिरुद्धको आन्दोलन चर्किए पछि त्यहाँ कार्यरत बिदेशी नागरिकहरु असुरक्षित भइ धमाधम घर फर्कन थालेका छन् । अन्य देशका सरकारले भने आफ्ना नागरिकहरुलाई सुरक्षित रुपमा घर फर्काउन बिभिन्न उपाय गर्दै आए पनि नेपाली कामदारहरु बारे भने सरकारले खासै चासो नदिएका कारण उनीहरु विचल्लीमा परेको रुद्रले टेलिफोनबाट आफ्ना भाइलाई जानकारी गराएका हुन् ।

सात बूँदे सहमतिलाई एमालेले अनुमोदन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सात बूँदे सहमतिलाई एमाले केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरेको जानकारी माओवादी अध्यक्ष प्रचण्डलाई दिएका छन् । आज बिहान एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुई पार्टीका शीर्ष नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसित कुरा गर्दै प्रधानमन्त्रीले यस्तो जानकारी दिएका हुन् ।बैठकबाट बाहिरिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको स्थायी समितिको बैठक बसेर यसबारे औपचारिक प्रतिक्रिया दिने बताए । स्थायी समितिको बैठक आजै बस्ने भनिए पनि भोलिसम्मका लागि स्थगित भएको छ । यसअघि हिजो बसेको पदाधिकारी बैठकले एमालेको निर्णय अस्पष्ट र बहुरंगी भएको भन्दै प्रष्ट औपचारिक धारणा माग्ने निर्णय गरेको थियो । उनले आजै काँग्रेससहित तीन दलको बैठक बस्ने जानकारी पनि दिए।

कर्मचारी हत्याको विरोधमा नारायणी अञ्चलका सरकारी कार्यालय बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कर्मचारी हत्याको विरोधमा नारायणी अञ्चलका सरकारी कार्यालयहरु दोस्रो दिन विहीबार पनि बन्द रहेका छन् । बारा मालपोत कार्यालयका नायव सुब्बा माधव थापाको हत्याको विरोधमा नारायणी अन्चल अन्तर्गत पर्ने पर्सा, बारा, रौतहट, मकवानपुर र चितवनका निजामति कर्मचारीहरु हिजोदेखि काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । हत्याको विरोधमा नारायणी अन्चल भरिका सरकारी कार्यालयहरु तीन दिनसम्म बन्द गर्ने कर्मचारीहरुले घोषणा गरिसकेका छन् । नेपाल निजामति कर्मचारी युनियन बाराका अध्यक्ष अशोक रौनियारले आज पाँच वटै जिल्ला प्रशासन कार्यालयमा बिहान ११ बजेदेखि धर्ना दिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।र्मचारी हत्याको विरोधमा आज नवलपरासीका सम्पुर्ण सरकारी कार्यालयहरुको कामकाज २ घण्टा ठप्प हुने भएको छ । विहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म कामकाज ठप्प पार्ने कर्मचारीहरुले बताएका छन् ।
आन्दोलनरत कर्मचारीहरुले मृतक थापालाई शहीद घोषणा गरी उहाँको परिवारजनलाई २० लाख रुपैयाँ क्षतिपूर्ती दिनुपर्ने, मृतकको परिवारका १ जनालाई जागिर र मालपोत कार्यलयमा मृतकको शालीक निर्माण गर्नुपर्ने लगायतका माग राखेका छन् । शुक्रबारसम्म पनि मागहरु पूरा नगरिए अर्को चरणको आन्दोलन गर्ने उनीहरुले घोषणा गरेका छन् ।नेपाल निजामती कर्मचारी युनियन, निजामती कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संघ, मधेशी निजामती कर्मचारी संघ, नेपाल पेशागत महासंघ, स्थानीय निकाय कर्मचारी संघ, नेपाल स्वास्थ्य कर्मचारी युनियन, नेपाल स्वास्थ्य प्राविधिक संघको अगुवाइमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
यसैबीच थापाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले बाराका विभिन्न स्थानबाट चारजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । थापाको हत्याको अनुसन्धानको लागि मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले अञ्चल प्रहरी कार्यालय वीरगन्जका प्रमुख गोपाल भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।बाराका प्रहरी उपरिक्षक मनोज न्यौपाने र गुप्त श्रेष्ठ सम्मिलित टोलीलाई छानबिनका लागि एक हप्ताको समय दिईएको मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रहरी नायव माहानिरीक्षक गंगा पाण्डेले जानकारी दिनुभयो । यसैबीच सरकारले मृतक थापाको परिवारलाई उचित क्षतिपुर्ति दिने निर्णय गरिसकेको छ ।

Feb 23, 2011

माओवादिका केन्द्रिय सदस्यको श्रद्धाञ्जलि सभा हङ्गकङ्गमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२२ फेबुवरी, नेपाली जनसरोकार समाज हङ्गकङ्गले एनेकपा माओवादिका केन्द्रिय सदस्य तथा सभासद गौरीशँकर खडकाको निधन भएकोमा एक सोक सभाको आयोजना गरी समावेदना प्रकट गर्दै सोकाकुल परिवार एवँ आफन्तजन प्रति पिडा सयन गर्ने क्षमताको कामना गरेको छ । नेपाली जनसरोकार समाज हङ्गकङ्गका का. अध्यक्ष कृष्ण बहादुर लिँखाको अध्यक्षतामा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि एनेकपा माओवदि हङ्गकङ्ग जिल्ला समितिका सचिव पूर्ण लोक्सोम थिए भने विषेश अतिथि सेाहि समाज काउलुन समितिका इन्चार्ज किशोर महरा थिए । समाजका महासचिव जिमि हङ्गखिमले सन्चालन गरेको उक्त कार्यक्रममा समावेदना पछि स्व. खडका को पार्टि प्रतिको देन र कटिवद्धताको अनि मार्गनिर्देशनको वारेमा चर्चा गरीएको थियो । एनेकपा माओवादीका कोचिला राज्यसमिति सचिव समेत रहेका स्व. खडका को बी एण्ड बी हस्पिटलमा फागुण ९ गते उपचारको क्रममा निधन भएको थियो । सँविधानसभामा झापा क्षेत्र नँ २ वाट निर्वाचित स्व. खडका अनारमनि ३ का चर्चित वामपन्थि नेता लामो समयसम्म हाडको क्यान्सरवाट पिडित थिए ।

दार्जिलिङमा नेपालीमाथि भएको दमनप्रति मोर्चाबाट खेद प्रकट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेपाल राष्ट्रवादी मोर्चाले दार्जिलिङ क्षेत्रमा चलेको गोर्खाल्यान्ड आन्दोलनमा लागेको आरोपमा आन्दोलनकारीलाई घरघर गएर भारतीय सुरक्षाकर्मीले घरबार नै छाड्नुपर्ने अवस्थामा पुर्‍याउनु अत्यन्तै खेदजनक भएको जनाएको छ । ऐतिहासिक प्रमाणका आधारमा हेर्दा सन् १८१६ मार्च ४ को सुगौली सन्धिको धारा ३ को उपधारा ४ र ५ अनुसार दार्जिलिङ, सिक्किम र सिलिगुडी क्षेत्रका नेपाली भूमिसहित बृटिस साम्राज्यका गाभिएका र सन् १९४७ अगस्ट १५ को भारतको स्वतन्त्रतापछि बाध्यतापूर्वक पुनः भूमिसहित त्यहाँ बसेका र आज त्यहाँका नेपालीले आफ्नो राजनीतिक अधिकार खोज्दा तिनीहरूमाथि पशुवत् व्यवहार गरेर भारतले शान्तिपूर्णरूपमा आन्दोलन गर्न पाउने, स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने आदि मानवअधिकारका आधारभूत मान्यताको उपहास गरेको भन्दै मोर्चाले त्यो भारतका निम्ति पटक्कै शोभाजनक छैन भनेको छ ।

खम्बुवान राज्य परिषदको ऐतिहासिक राष्ट्रिय सम्मेलन हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअर्न्तर्गत् जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको खम्बुवान स्वायत्त राज्यको माग गर्दै आएको खम्बुवान स्वायत्त राज्य परिषदको प्रथम राष्ट्रिय सम्मेलन गाईघाट त्रियुगा उदयपुर, खम्बुवानमा यही माघ ११, १२ र १३ गते भव्यताका साथ सम्पन्न हुन गइरहेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध खम्बुवान स्वायत्त राज्य परिषदको उक्त राष्ट्रिय सम्मेलनले खम्बुवान राज्यको प्राप्तिको र विकासका लागि ऐतिहासिक राष्ट्रिय सम्मेलन गर्दै खम्बुवान राज्यको संवैधानिक सुनिश्चितताका लागि ऐतिहासिक निर्णयहरु गर्दै विभिन्न दस्तावेजहरुसमेत पारित गर्ने कार्यक्रम रहेको परिषदका अध्यक्ष इन्द्रहाङ खम्बूले बताएका छन् । त्यसैगरी, खम्बुवान स्वायत्त राज्य परिषदका कार्यवाहक महासचिव किरण खम्बूका अनुसार यसै सम्मेलनबाट खम्बुवानको विधान तथा साङ्गठानिक प्रतिवेदन र घोषणा-पत्र जारी गर्दै नयाँ राज्य कार्य समिमि समेत चयन हुने बताएका छन् ।खम्बुवानको यस ऐतिहासिक सम्मेलनको सफताका लागि खम्बुवानका सबै जिल्ला, काठमाडौं उपत्यकाबाट समेत प्रतिनिधिहरु आइसकेको छन् । त्यसैगरी, यो सम्मेललाई सहयोग गर्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा सम्बद्ध लिम्बुवान र तामाङसालीङका शीर्ष नेतृत्वहरुसमेत उदयपुर खम्बुवानमा आइसकेका छन् । कार्यक्रमको तयारी स्वरुप त्रियुगा नगरपालिका र यहाँका मुख्य चोकहरुलाई संघीय मञ्च र खम्बुवान स्वायत्त राज्य परिषदका झण्डाहरुले सिँगारिएको छ ।

गृह मन्त्रालय आफैंले राखेर मन्त्रिमण्डल विस्तारको तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ११ - प्रधानमन्त्री झलनाथ खनालले गृह मन्त्रालय आफैंले राखेर मन्त्रिमण्डल विस्तारको तयारी गरिरहेको एमालेका एक बरिष्ठ नेताले दाबी गरेका छन् । खनाल निकट एमाले सचिव यूवराज ज्ञवालीले गृहमन्त्रालय प्रधानमन्त्रीले आफैं राखेर भए पनि अब छिट्टै सरकारलाई पूर्णता दिने दाबी गरे । ‘मन्त्रालयको विवाद झिकेर शान्ति र संविधान निर्माण प्रक्रियालाई रोक्नु हुँदैन,’ उनले बुधबार राजधानीमा भने, ‘प्रधानमन्त्रीले गृहमन्त्रालय आफै राखेर सहमति हुन सक्छ ।’कांग्रेससहितका दलहरुले दुईदलीय अधिनायकबाट लाद्ने प्रयास भएको भनी गरिएको टिप्पणीप्रति लक्षित गर्दै ज्ञवालीले संसदीय प्रक्रियाबाट बनेको सरकारले अधिनायकबाद लाद्छ भन्नु संसदीय ब्यवस्थालाई नै अविश्वास गरेको ठहर्ने ज्ञवालीको भनाइ छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालबीच भएको सात बुँदे सहमतिले ध्रुविकरण भन्दा पनि सहमतिको बाटो खोलेको ज्ञवालीको जिकिर थियो । ‘शब्दको विवादमा अल्झनु भन्दा पनि यसले दिने परिणाममा अगाडि बढ्नुपर्छ,’ उनले थपे । सात बुँदे सहमतिअनुसार आफूले गृह मन्त्रालय पाउनुपर्ने दाबी माओवादीको छ । तर लडाकु र हतियार रहेको दललाई सुरक्षासम्बन्धि मन्त्रालय दिन नमिल्ने भन्दै एमालेले माओवादी दाबी अस्वीकार गरेको छ । गृह मन्त्रालयको हानाथापकै कारण मन्त्रिमण्डल विस्तार कठीन भएको छ ।

बीबीसी सर्टवेभ सेवा बन्द नगर्न ब्रिटिस सांसदहरुलाई आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बीबीसी विश्व सेवाले आर्थिक कारण देखाउँदै बीबीसी नेपाली सेवाको सर्टवेभमार्फत् गरिँदै आएको प्रसारण आउँदो मार्च अन्तिम सातादेखि बन्द गर्न गरेको निर्णयमाथि पुनर्विचारका लागि दबाब दिन बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाले ब्रिटिस सांसदहरुलाई आग्रह गरेका छन् । बीबीसीको त्यस्तो निर्णयबाट एफएममार्फत् बीबीसी सुन्ने नेपाली स्रोताहरुलाई असर नपरे पनि एफएमको पहुँच नभएका पहाडी क्षेत्र तथा सीमापारिका नेपालीभाषी भारतीयहरुले भने सूचना र समाचारको एउटा विश्वसनीय स्रोत गुमाउने उनीहरुको चिन्ता छ ।उत्तरी लन्डनस्थित बन्र्टओक नेपाली समाजका अध्यक्ष लक्ष्य गुरुङले लन्डनको हेन्डन क्षेत्रबाट निर्वाचित सत्तारुढ कन्जर्भेटिभ पार्टीका सांसद म्याथु अफोर्डलाई बीबीसी नेपाली सेवाको सर्टवेभ प्रसारण बन्द नगर्न पहल गरिदिन समाजको तर्फबाट आफूले पत्र लेखेको बताए । बीबीसीका पूर्व पत्रकारसमेत रहेका सांसद अफोर्डले यसबारे बि्रटेनको विदेश मन्त्रालयसँग आफूले जवाफ माग्ने वचन दिएको पनि उनले जनाए ।गैरआवासीय नेपालीहरुको संस्था एनआरएन यूकेका अध्यक्ष सूर्य गुरुङले बीबीसी सर्टवेभ सेवा यथावत राख्ने सवालमा थप दबाब सिर्जना गर्न इ-पिटिसन, डेलिगेसन वा सम्बन्धित निकायमा पत्र लेख्ने आदि सबै उपाय अवलम्बन गरिने बताए । ‘हामी बीबीसी सर्टवेभ बचाउन विश्वका ५६ देशमा रहेका गैरआवासीय नेपालीहरुको हस्ताक्षर संकलन गर्नसमेत तयार छौं,’ गुरुङले भने । लन्डनस्थित नेपाली राजदूत डा। सुरेशचन्द्र चालिसेले सर्टवेभ सेवा बन्द हुन लागेको सुन्दा आफूलाई दुःख लागेको बताउँदै त्यसलाई यथावत् राख्ने सन्दर्भमा आफूले सक्दो पहल गर्ने जनाए ।

Feb 22, 2011

दाहाललाई भारतीय विपक्षी नेताले निम्तो दिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँदिल्ली, फाल्गुन १० - माओवादी अध्यक्ष पुष्पकमल दाहालले एक वरिष्ठ भारतीय विपक्षी नेताको निमन्त्रणामा एक महिनापछि भारत भ्रमण गर्न सक्ने संकेत दिएका छन् । जनता दल युनाइटेडका अध्यक्ष शरद यादवको औपचारिक निमन्त्रणापत्र बोकेर गत साता काठमाडौं पुगेका दलका महासचिव केसी त्यागीसँगको भेटमा उनले त्यस्तो संकेत दिएका हुन् । 'माओवादी अध्यक्षले मार्च महिनाको अन्तिम सातामा आफू भारत भम्रणमा आउन सक्ने बताउनुभएको छ,' त्यागीले भने ।
नयाँ सरकार गठन भएपछि सातबुँदे सम्झौता र मन्त्रालय बाँडफाँडका विषयमा राजनीतिक मतभेद गहिरिएका बेला दाहालले छिट्टै भारत भ्रमण गर्लान्/नगर्लान् प्रस्ट हुन सकेको छैन । साथै, विपक्षी नेताको निमन्त्रणामा भारत भ्रमणमा आइहाले पनि उनले विपक्षी दलहरूको मोर्चा नेसनल डेमोक्रेटिक एलायन्समा आबद्ध भाजपाजस्ता दल र सत्तारूढ प्रमुख घटक कंग्रेस आईका नेताहरूसँग भेट्ने, नभेट्नेबारे पनि प्रस्ट हुन सकेको छैन ।
भारतसँग सम्बन्ध सुधारको प्रयासमा भारतीय उच्च नेत्तृत्वसँग खुला छलफल गर्ने इच्छा सार्वजनिक रूपमै व्यक्त गर्दै आएका दाहालको दुई वर्षयताको उक्त प्रयास अझै सफल हुन सकेको छैन । सेनापति प्रकरणपछि सरकारबाट बाहिरिएको माओवादीले त्यसको पछाडि भारतको हात रहेको आरोप लगाउँदै ऊविरुद्ध राष्टियताको आन्दोलन घोषणा गरेको थियो । त्यसयता माओवादी र भारतबीचको कटु सम्बन्ध सतहमा आएको थियो । दाहाललाई निम्तो दिनुको कारण र यहां हुनसक्ने भेटबारे सोधिएको प्रश्नमा त्यागीले दाहाललाई अहिले विवादमा ल्याउन आफूले नचाहेको प्रतिक्रिया दिए । 'अहिले म यति मात्रै भन्न सक्छु- मैले मेरो पार्टीको अध्यक्षको निम्तो पत्र पुष्पकमल दाहालजीलाई दिएको छु र उहाँ यसमा सकरात्मक हुनुहुन्छ,' उनले भने ।

ब्राजिल, फिनल्यान्ड र क्यानडाले आवासीय दूतावास खोल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
९ फागुन,ब्राजिल, फिनल्यान्ड र क्यानडाले नेपालमा आवासीय राजदूतावास स्थापना गर्ने तयारी गरेका छन् । ब्राजिलले दूतावास स्थापनाको अन्तिम तयारी गरेको छ । फिनल्यान्ड र क्यानडाले भने दूतावास स्तरोन्नतिको तयारी गरेका छन् । तीनवटै देशले भारतको नयाँदिल्लीस्थित दूतावासबाट नेपालसँगको कूटनीतिक सम्बन्ध हेर्दै आएका थिए । उनीहरूले सन् २०११ भित्रै नेपालमा आवासीय राजदूतावास स्थापना गर्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जानकारी दिए । 'नेपालसँगको कूटनीतिक र रणनीतिक सम्बन्धलाई विस्तार गर्न ती देशले नेपालमा आवासीय दूतावास स्थापना गर्न लागेको स्पष्ट बुझ्न सकिन्छ,' परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने, 'यसबाट नेपालसँगको दौत्य सम्बन्ध त बढ्ने नै छ, त्यसबाहेक ती देश जान चाहने नेपालीलाई भिसा प्रक्रिया र कन्सुलरसम्बन्धी काममा सहज हुनेछ ।'
भारत र चीनजस्ता उदीयमान विश्वअर्थतन्त्र भएका मुलुकको बीचमा नेपाल रहेकाले तीनवटै देशले आवासीय दूतावास स्थापना र स्तरोन्नति गर्न लागेको परराष्ट्रका सहायक प्रवक्ता हरिश्चन्द्र घिमिरेले बताए । 'नेपाललाई उनीहरूले रणनीतिक महत्त्वको ठाउँका रूपमा हेरेको बुझ्न सकिन्छ,' घिमिरेले भने, 'पश्चिमीहरूको चासो दिनानुदिन नेपालप्रति बढ्दै गएको छ ।'
नेपालमा हाल २४ देशका दूतावास छन् । ल्याटिन अमेरिकी देश ब्राजिलले नेपालका लागि पहिलो आवासीय राजदूतका रूपमा म्याक्रोस बोर्गस डिउपार्ट रोवेइयरोलाई पठाउने भएको छ । केही समयअघि ब्राजिलको विदेश मन्त्रालयले परराष्ट्रमा पत्राचार गरी नयाँ राजदूतबारे जानकारी गराएको थियो । 'ब्राजिलले नयाँ राजदूतको नाम पठाएसँगै स्वीकृतिका लागि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाएका थियौँ,' परराष्ट्रका शिष्टाचार महापाल मुक्तिनाथ भट्टले भने, 'राष्ट्रपति कार्यालयले स्वीकृति दियो, अब प्रधानमन्त्री कार्यालयबाट आउन बाँकी छ ।' ब्राजिलका लागि नेपाली राजदूत प्रद्युम्नविक्रम शाहले ब्राजिल नेपालमा दूतावास खोल्ने अन्तिम तयारीमा रहेको जानकारी दिए । नेपालले अघिल्लो वर्ष मात्रै ब्राजिलमा दूतावास खोलेको हो ।

एमाले केन्द्रीय समिति बैठक सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १० - एमालेले प्रधानमन्त्री निर्वाचनको बेला आफ्ना अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको सात बुँदे सहमतिलाई आफू अनुकुल व्याख्या गर्दै जस्ताको त्यस्तै पारित गरेको छ । पार्टी केन्द्रीय समितिको बुधबार बसेको बैठकले उक्त सहमतिमा कुनै परिमार्जन नगरी पारित गरेको हो । बैठकले सात बुँदे सहमतिको मूल मर्म शान्ति र संविधानलाई पूर्णता दिनु तथा राष्ट्रिय स्वाधिनताको रक्षा गर्नु रहेको ठहर गरेको छ । यसअघि नेपाल-ओली खेमा सात बुँदे सहमतिको विपक्षमा उभिएका थिए । दुई पार्टीका अध्यक्षहरुबीच २०६७ माघ २० गते सातबुँदे गोप्य सहमति भएको थियो । त्यस्तै बैठकले मन्त्रालयको बाँडफाँटको टङ्गो लगाउने तथा सरकारमा पठाउने व्यत्तिहरुको चयन गर्ने जिम्मा पुनःस्थायी समितिलाई नै दिएको छ ।

पूर्व राजा समर्थितहरुले राजसंस्था फर्काइ छाड्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व राजा समर्थितहरुले राजसंस्था फर्काइ छाड्ने दाबी गरेका छन्। राजा नभएकै कारण मुलुक अन्यौलता तर्फ धकेलिएको उनीहरुको भनाइ छ। उनीहरुले मुलुकका लागि अहिले सरकार भन्दा पनि राजसंस्था आवश्यक भएको बताए। पूर्व रानी कोमल शाहको ६१ औं जन्मोत्सवको अवसर पारेर राजधानीमा पूर्व राजा समर्थितहरुले आयोजना गरेको कार्यक्रमका वक्ताले राजाले मात्र देशमा दिगो शान्ति र संविधान जारी गर्न सक्ने ठोकुवा गरे। देशको अवस्था अहिलेकै जस्तो रही रहे राजसंस्था केही समयपछि आफै ब्यूँतिने उनीहरुको भनाइ थियो। उनीहरुले राजा मात्र नभइ २०४७ सालको संविधान पनि आफै सक्रिय हुने बताए। अधिवक्ता रामजी विस्टले राजालाई कसैले नहटाएको भन्दै केही समयका लागि राजनीतिक दललाई देशको कार्यभार सम्हाल्ने जिम्मा दिएको बताए। पूर्व राजाले चाँडै देशको शासन सम्हाल्ने भन्दै कार्यक्रमका सहभागीलाई वक्ताहरुले उत्साहित बनाउने प्रयास गरेका थिए।

Feb 21, 2011

एमाले सात बुँदे सहमति परिमार्जनको पक्षमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ९ - सत्तारुढ एमालेले सात बुँदे सहमतिलाई पार्टीका मान्यताअनुसार परिमार्जन गर्ने भएको छ । एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको सात बुँदे सहमति भएको थियो । पार्टी मुख्यालय बल्खुमा सोमबार बसेको पोलिटब्युरो बैठकले सात बुँदे सहमतिलाई परिमार्जनका लागि केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए । केन्द्रीय कमिटी बैठक मंगलाबार बस्दैछ । 'शान्ति र संविधानको कार्यभार पूरा गर्न नै सात बुँदे सम्झौता भएको हो, तर त्यसमा केही स्पष्ट हुन जरुरी छ,' बैठकपछि ज्ञवालीले भने, 'पोलिटब्युरोले सात बुँदे सहमतिलाई परिमार्जन गर्न केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव पारित गर्‍यो ।' एमाले अध्यक्ष खनाल र माओवादी अध्यक्ष दाहालबीच माघ २० गते भएको सात बुँदे सहमति अस्पष्ट भएको भन्द्र बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीले परिमार्जन गर्न दबाब दिंदै आएका थिए ।
पोलिटब्युरो बैठकले तत्कालका लागि गृह मन्त्रालय एमालेले नै राख्नुपर्ने अडान राखेको नेता ज्ञवालीले जानकारी दिए । 'गृह मन्त्रालयबारे अरु दलसँग पनि छलफल जारी छ, त्यो पछि टुंगो लाग्छ,' उनले भने, 'अहिले भने एमालेले नै राख्नुपर्छ ।' बैठकले कांग्रेसलगायतका दललाई सरकारमा ल्याउन पहल गर्ने निर्णय गरेको छ । एमाले बैठकले पूर्वप्रधानमन्त्री एवम् पार्टी बरिष्ठ नेता माधवकुमार नेपालले २० महिना सरकारको सफल नेतृत्व गरेको भन्दै धन्यवाद दिएको छ भने प्रधानमन्त्री नियुक्त भएकोमा अध्यक्ष झलनाथ खनाललाई बधाई दिएको छ । एमालेले खनाललाई प्रधानमन्त्रीमा मत दिने सभासदहरुप्रति पनि धन्यवाद ज्ञापन गरेको छ ।

बन्दका कारण आज पनि मेची राजमार्गमा यातायात चलेन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चालक कुटिएको विरोधमा यातायात मजदुरले आइतबारबाट आव्हान गरेको बन्दका कारण आज पनि मेची राजमार्गमा यातायातका साधन चल्न सकेनन् । इलामबाट फिदिम वजार जाँदै गरेको को १ झ ८१६ नम्वरको जीपका चालक सञ्जीब शाहीमाथि भएको कुटपिटको विरोधमा मजदुरहरुले आइतबारबाट अनिश्चितकालिन यातायात बन्दको आहृवान गरेका हुन्। फागुन ६ गते दिँउसो चालक शाहीलाई इलामको नेपालटारमा भेला भएको एक समूहले कुटपिट गरेको थियो। चालकलाई कुटपिट गरिएपछि संघठित मजदुरले यातायात बन्द गराएका हुन् । बन्दका कारण आज पनि विहानैदेखि ताप्लेजुङ सदरमुकाम फुङ्लिङ्गबाट पाँचथर, ईलाम र झापा लगायतका लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा नआएको प्रहरीले जनाएको छ । सानातिना मागका कारण अचानक आव्हान गरिने बन्दले सर्बसाधारण भने आक्रोशित बन्न थालेका छन्।

खुर्पा प्रहारबाट तनहुँमा तीन जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खुर्पा प्रहारबाट सोमबार बिहान तनहुँमा तीन जनाको मृत्युभएको छ । एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा दमौली मालपोत लाइन निवासी दिलबहादुर सापकोटा, उनकी श्रीमती र व्यास-१०, देउरालीनगर निवासी टीकाराम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा टीकाराम श्रेष्ठकी श्रीमती पार्वती श्रेष्ठ रहेकी छन् । उनको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । व्यास-१० मालपोत लाइन निवासी २३ वर्षीय देविङ राना मगरले उनीहरुमाथि खुर्पा प्रहार गरेका हुन् । खुर्पा प्रहारबाट टाउँकोमा चोट लागेको श्रेष्ठ दम्पत्तिमध्ये श्रीमान्को उपचारको क्रममा मृत्यु भएको हो ।

निजी स्कुलमा शुल्क बढाउने तयारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
८ फागुन,निजी विद्यालय सञ्चालकले आगामी शैक्षिक सत्रमा पनि मासिक शिक्षणसहितको शुल्क बढाउने तयारी गरेका छन् । महँगी बढेको कारण देखाउँदै उनीहरूले शुल्क बढाउने तयारी गरेका हुन् । तर, शिक्षकको तलब नबढाउने सुरमा उनीहरू छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष राजेश खड्काले दस प्रतिशतसम्म शुल्क बढाउँदा कुनै प्रश्न नउठ्ने उल्लेख गर्दै उचित कारण देखाएमा त्योभन्दा बढी बढाउन सकिने दाबी गरे । उनले नयाँ पत्रिकासँग भने, 'राष्ट्र बैंकले दस प्रतिशत मुद्रास्फीति भएको सार्वजनिक गरेेकाले दस प्रतिशत शुल्क वृद्धिमा कुनै प्रश्न गर्न मिल्दैन, त्योभन्दा धेरै जेन्युन कारण देखाएर बढाउन सक्छन् ।'
एनप्याब्सनका अध्यक्ष गीता राणाले महँगी बढेका कारण निजी विद्यालयमा केही प्रतिशत शुल्क वृद्धि हुने बताइन् । घरभाडा, बैंकसँग लिएको ऋणको ब्याज बढेको र समग्रमा महँगी बढेका कारण शुल्क वृद्धि गर्नुपर्ने अवस्था आएको उनको तर्क छ ।
शिक्षकको तलब भने नबढ्ने अध्यक्ष राणाले बताइन् । 'अघिल्लो वर्ष सरकारी विद्यालयमा पढाउने शिक्षकको तलब स्केल बढेकाले निजी विद्यालयको शुल्क पनि बढेको थियो,' उनले भनिन्, 'तर अहिले शिक्षकको तलब बढ्दैन, शिक्षण शुल्क अघिल्लो वर्षभन्दा कम बढ्छ ।' केन्द्रीय शुल्क अनुगमन समितिको केही दिनअघि बसेको बैठकमा निजी विद्यालय सञ्चालकले केही प्रतिशत शुल्क बढाउन माग गरेका थिए । बैठकमा शुल्क बढाउने कुनै आधार नभएको भन्दै विरोध भएको थियो । निजी विद्यालयमा शुल्क बढाउनुपर्ने कुनै आधार नदेखिएको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले बताए । 'यही आर्थिक वर्षका लागि कायम गरिएको शुल्कको नै औचित्य पुष्टि भएको छैन,' भण्डारीले भने, 'अझै जबर्जस्ती शुल्क बढाएमा हामी प्रतिवाद गर्न बाध्य हुनेछौँ ।'
राष्ट्र बैंकको मुद्रास्फीतिको तथ्यांकलाई आधार मानेर शुल्क बढाउने निजी विद्यालयका संगठनहरूको तर्क तुकहीन रहेको भन्दै भण्डारीले अभिभावकको क्रयशक्ति घटेको र त्यसका आधारमा अघिल्लो वर्षको शुल्कसमेत घटाउनुपर्ने बताए । शिक्षण शुल्क बढाए पनि अधिकांश निजी विद्यालय सञ्चालकले शिक्षकलाई भने स्केलअनुसारको तलब दिने गरेका छैनन् । ०६७ को अनुगमन प्रतिवेदनअनुसार निजी विद्यालयका शिक्षकहरू तोकिएको भन्दा ७५ प्रतिशतसम्म कममा काम गर्न बाध्य छन् । शिक्षक र अभिभावक दुब्लाउने, तर सञ्चालक मोटाउने गरी शुल्क बढाउने निजी विद्यालय सञ्चालकको माग प्रति अभिभावक संघका अध्यक्ष भण्डारीले आपत्ति जनाए ।

प्रहरी र प्रदर्शनकारीबिच झडप कम्तीमा साठी जना घाईते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चाबहिलमा आज विहान कलेजको छात्रालाई ट्याङकरले किचेको विरोधमा पशुपति क्याम्पसमा भएको प्रर्दशनलाई नियन्त्रण गर्ने नाममा भएको प्रहरी हस्तक्षेपमा आधा दर्जन पत्रकारहरुसहित कम्तीमा साठी जना घाईते भएका छन् । छात्रा मारिएको विषयमा दोषि माथि कारवाही र क्षतीपूर्तिको माग राख्दै प्रर्दशन गरिरहेका क्याम्सका विद्यार्थी र प्रहरीवीच ढुङ्गा हाना हान भईरहेको अवस्था क्याम्पसमा प्रवेश गरेको प्रहरीले क्याम्पसमा परिक्षा दिन आएका विद्यार्थी सहित क्याम्पसका गार्डलाई निर्घात कुटपिट गरेको थियो । प्रहरीको हस्तक्षेत्रका कारण कम्तीमा साठी जना विद्यार्थी घाईत भएका छन् । उनीहरुको ओम अस्पतालमा उपचार भईरहेको छ । पशुपति क्याम्पसमा आज केमेष्ट्री विषयका परिक्षा हुने कार्यक्रम थियो । घटनाको समाचार संकलन गर्न गएको पत्रकारहरुमाथि समेत प्रहरीले आक्रमण गरेको छ । प्रर्दशनलाई नियन्त्रण गर्न प्रहरीले चार सेल अश्रु ग्यासँ समेत प्रहार गरेको थियो । बिहान चाबहिल मित्रपार्कमा पानी ट्याङकरले पशुपति क्याम्पसमा कक्षा ११ मा अध्ययनरत तेजकुमारी सुवेदीलाई किचेको थियो ।

एसीसी ट्वान्टी–ट्वान्टी नेपाल समूह विजेता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ९ - एसीसी ट्वान्टी–ट्वान्टी वुमेन्स क्रिकेट च्याम्पियनसिपमा नेपालले सोमबार लगातार चौथो जित दर्ता गरेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा मलेसियामाथि ९ विकेटको जित दर्ता गरयो । जितसँगै नेपालको समूह ‘बी’ मा आठ अंक भएको छ । नेपालले यसअघिनै अन्तिम चारमा स्थान पक्का गरिसकेको थियो । कुवेतमा संचालित प्रतियोगितामा पहिले ब्याटिङ गरेको मलेसियाले ७ विकेट क्षतीमा ६८ रन बनायो । नेपालकी रुविना क्षेत्रीले सात रन खर्चेर सर्वाधिक तीन विकेट लिइन । त्यस्तै, करुणा भण्डारीले ११ रन दिदै दुई विकेट हात पारिन् । जवाफमा नेपालले १४ ओभरमा एक विकेट गुमाउँदै ६९ रन बनायो । सीता मगरले नटआउट २१ रन बनाइन । रुविना ‘प्लेयर अफ द म्याच’ बनिन् ।

Feb 20, 2011

पशुपति क्षेत्रमा नौ जोडीलाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ८ - पशुपति क्षेत्र विकास कोषले शनिबार अमर्यादित क्रियाकलापमा संलग्न नौ जोडीलाई पक्राउ गरेको छ । कोषले पक्राउ परेकामध्ये छ जोडीलाई जनही २ सय रुपैयाँ जरिवाना र तीन जोडीलाई चेतावनी दिएर छाडेको छ । कोषका सदस्य सचिव सुशील नाहाटाले बिदाको दिनमा आशा गरेभन्दा निकै कम जोडीहरू फेला परेको बताए । 'यो पशुपतिमा अमर्यादित गतिविधि घटेको संकेत पनि हो,' उनले भने, 'सबैले धार्मिक थलोको मर्यादा बुझेर सभ्य व्यवहार गरिदिएमा यस्तो कठोर, रुखो र अपमानजनक कारबाहीको आवश्यकता पर्दैन ।' कोषले गत सोमबारदेखि शनिबारसम्म एक सय एघार जोडीलाई कारबाही गरिसकेको छ । महाशिवरात्रिको दुइ दिनअघि फागुन १६ सम्म यो कारबाही जारी रहने कोषले जनाएको छ । फागुन १८ मा महाशिवरात्रि पर्व मनाउने तयारीमा कोष जुटेको छ । सदस्य सचिव सुशील नाहाटाका अनुसार जोडीमाथि गरिएको पन्ध्र दिनको कारबाहीको विश्लेषणपछि थप कारबाही अगाडि बढाउने वा नबढाउने निक्र्योल गरिने बताए । 'सबै जोडीहरू मर्यादामा बसेर पशुपति दर्शन गरून् र घुमुन्,' उनले भने, 'कोषले थप कारबाही गर्नु नपरोस् ।'

संवैधानिक समितिले केही दिन देखि राजनीतिक दलसँग छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ८ - संविधानसभाका विषयगत समितिमा देखिएका विवाद समाधान तथा पहिलो एकीकृत मास्यौदा निर्माणका उपायबारे संवैधानिक समितिले मुख्य दलसँग परामर्श गरेको छ । आइतबार भएको छलफलमा विवादित विषय किनारा लगाउन उपसमिति गठन गर्ने वा मत विभाजन मार्फत टुंगो लगाउने भन्नेबारे छलफल भएको कांग्रेसका प्रमुख सचेतक लक्षमण घिमिरेले जानकारी दिए । मुख्य दलको संसदीय दलका नेतासँग पुनह छलफल गरी निष्कर्षमा पुगिने उनले बताए । संविधानसभाबाट एकीकृत मस्यौदाको निर्माणको जिम्मेवारी सहित विषयगत समितिका प्रतिवेदन पठाइए पनि मुख्य विषयमा दलहरुबीच विवाद कायममै रहेकाले मस्यौदाले गति लिन सकेको छैन । संविधान जारी गर्ने दिन नजिकिदैं गर्दा संवैधानिक समितिले केही दिन देखि राजनीतिक दलसँग छलफल गरिरहेको छ ।

एक व्यक्ति विवाहको जग्गेबाटै पक्राउ परे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पहिलो पत्नि हुँदा हुँदै केटिपक्षलाइ ठगि दोस्रो विवाह गर्न जुटेका एक व्यक्ति विवाहको जग्गेबाटै पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुम चुहानडाँडाका ३० बर्षिय कृष्णप्रसाद उप्रेती छन् । उप्रेतीलाई शनिश्चरे प्रहरीले झापा शनिश्चरेको प्रणामी मन्दिरबाट पक्राउ गरेको हो । इलाम लक्ष्मीपुर- ८ की २७ बर्षिया गीता अधिकारीसँग स्वयम्बर गर्न लाग्दा उनी पक्राउ परेको शनिश्चरे प्रहरीले जनाएको छ ।गत जेठमा झापा गरामनी-१ की तुलसा उप्रेतीसँग वैवाहिक जीवनमा बाँधिएका उनी केटीपक्षलाई ठगी दोस्रो विवाह गर्ने तयारीमा थिए । प्रणामी मन्दिरमा गीता र उनको बीच स्वयम्वर हुँदै गर्दा तुलसाले प्रहरीको सहयोगमा विवाह रोकेकी छिन् ।तुलसाले दोस्रो विवाह गर्न लागेको किटानी जाहेरी दिएपछि प्रहरी मन्दिरमा पुगेको थियो । शनिबार पक्राउ परेका उप्रेतीउपर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सुरेन्द्र सिटौलाले बताउनुभयो ।उनलाई बहुविवाह ऐनअन्तर्गत कारबाही सुरु गरिएको प्रहरीको भनाइ छ ।

धनकुटाको हिलेमा आगलागि/४ घर नष्ट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वको पर्यटकीय नगरी धनकुटाको हिले बजारमा शनिबार साँझ भएको आगलागिबाट करिब साढे चार करोड बराबरको सम्पत्ति नष्ट भएको छ । आगलागिमा ४ घर नष्ट भएको छ भने २ घर आगो फैलन नदिन भत्काइएको छ । ति घरमा बसोबास गर्ने १४ परिवारको धनमाल पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । यसैबीच प्रहरीले आइतबार गरेको छानबिनबाट चार करोड ४७ लाख ८२ हजार दुई सय रुपैयाँ बराबरको धनसम्पत्ति क्षति भएको प्रहरी नायब उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।
क्षती भएको ६ घरमा भाडामा बस्दै आएका १४ परिवार विस्थापित भएका छन् । आगलागीमा सबैभन्दा बढी क्षती स्थानीय नेत्र बुढाथोकीको २ करोड २२ लाख ५० हजार बराबरको नगद तथा धनमाल जलेर नष्ट भएको छ । यसैगरी भानुभक्त अधिकारीको ४७ लाख ९० हजार, सुन्दर डंगोल ४५ लाख, गोपाल मगरको ३२ लाख, अमित लोको २५ लाख ८० हजार र आशिष तामाङको २१ लाख ६० हजार बराबरको धनमाल क्षती भएको छ । घटनामा डिल्लीमान ओनम, बालकृष्ण बस्नेत, घनश्याम आले, हेमबहादु तामाङ, झनकलाल धिमाल, गोपाल मगर, धनबहादुर मगर, राजकुमारी तामाङ र कुमारी तामाङको पनि लाखौं बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
पहाडी जिल्लाको मुख्य व्यापारिक केन्द्र समेत रहेको हिलेमा समयमा दमकल नपुग्दा ठुलो क्षती भएको हो । पूर्वाञ्चलको केन्द्र रहेको धनकुटामा हाल एउटा पनि दमकल छैन भने धरानबाट मगाइएको दमकल पनि आगो नियन्त्रण पछि मात्र पुगेको थियो । यसबीच धनकुटा नगरपालिकाले तत्काल राहत स्वरुप पीडित प्रति परिवारलाई १० हजारको दरले सहयोग उपलब्ध गराउने कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले जानकारी दिए ।

फोरमको आन्तरिक विवाद चुलियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेसी जनअधिकार फोरम नेपाल भित्रको आन्तरिक विवाद चुलिएपछि अध्यक्ष उपेन्द्र यादव पक्षले सहअध्यक्ष जयप्रकाश गुप्ताको सहमति बिना नै केन्द्रिय सदस्यहरुको नाम सिफारिस गरेका छन् । केन्द्रिय समितिमा खाली रहेको १४ जना सदस्य पद मध्ये ११ जनाको नाम अध्यक्ष यादव पक्षले एकलौटी रुपमा केन्द्रिय सदस्यका लागि सिफारिस गरेको स्रोतले बताएको छ । काठमाडौंमा ५ दिनसम्म चलेको सङ्गठन बिभागको बैठकको अन्तिम दिन हिजो बेलुका सङ्गठन बिभाग प्रमुख तथा सहअध्यक्ष जेपी गुप्ताको अनुपरिस्थतिमा उपप्रमुख रामसहाय यादवले केन्द्रिय सदस्यहरुको नाम सिफारिस गर्नु भएको हो ।केन्द्रीय सदस्यको लागि सिफारिसमा परेकाहरु अध्यक्ष यादव पक्षका बढि रहेको बताइएको छ । पार्टी भित्र आफ्नो पकड बलियो बनाउन यादव पक्षले एकलौटी रुपमा जेपी गुप्ताको अनुपस्थितिमा यस्तो सिफारिस गरेको बताइएको छ । यसैबीच नयाँ सरकारमा सहभागिताको विषयमा छलफल गर्न मधेसी जन अधिकार फोरम नेपालको केन्द्रिय समिती बैठक आज बस्दै छ । संसदीय दलको कार्यालय िसंहदरबारमा मध्यान्ह १२ बजे बस्ने बैठकले सरकारमा जाने की नजाने भन्नेबारे निर्णय गर्ने केन्द्रय सदस्य मोहम्मद ईस्तीयाक राईले जानकारी दिनुभयो । आफ्ना तीन बुंदे माग सम्बोधन भए सरकारमा सहभागी हुने फोरम नेपालले जनाएको छ । आफ्ना माग प्रति माओवादी र एमाले सकारात्मक भएको राईले बताउनु भयो ।

Feb 18, 2011

किराती लिपिको सफ्टवेयर सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/प्रदीप मेन्याङ्बो
धरान, फाल्गुन ६ – किराती लिपिमा तपाईलाई फेसवुक वा अन्य कुनै इन्टरनेटमा च्याट, चिठीपत्र आदान प्रदान गर्न मन लागेमा अव चिन्ता नलिए हुन्छ । हङकङ निवासी पदम लाओती र अमेरिकाको हवाई राज्य निवासी जेनोटाइप प्रविधिका सफ्टवेयर इन्जिनियर काओनोहि केआली अीओकापो (काई) ले किराती ल्याङ्वेज किट सफ्टवेयर तयार गरे पछि किराती लिपिमा लेख्न सहज भएको हो । किराती लिपि र भाषाहरु संरक्षण गर्ने उदेश्यले किराती भाषा परियोजना अन्तर्गत किराती लिपी कम्प्यूटरमा प्रयोग गर्न सजिलोका लागि उक्त सफ्टवेयर तयार गरिएको लिम्बुले बताए । उक्त सफ्टवेयरलाई माइक्रोसफ्ट र सनमाइक्रो सिस्टम लगायत विभिन्न कम्पनीले स्वीकारेको काओनोहिले बताए । हाल सम्म किराती लिपिको फन्ट कम्प्युटरमा प्रयोग भए पनि वास्तविक युनिकोड फन्ट लगायत सफ्टवेयर तयार गर्न सकिएको थिएन । किराती लिपीलाई वैज्ञानिकीकरण गर्दै जुनसुकै कम्प्यूटर, वेवसाइटमा देखिने गरी एक सफ्टवेयर बनाएको काओनोहीले बताए । किराती भाषा परियोजनालाई प्रर्वद्धन र विकास गर्नकालागि दुबैजनाले दुई बर्ष देखि किराती लिपिलाई वैज्ञानिकीकरणमा जोड दिदैं आएको बताए । किराती लिपिको प्याकेजले किराती लिपि प्रयोगलाई नियन्त्रण गर्न भरपर्दो तालिकाको डिजाइन गरिएको छ । पदम लिम्बुका अनुसार युनिकोडलाई सपोर्ट गर्न प्रयोगमा रहेको किराती फन्टलाई बदल्न र सही तरिकाले देखाउनकोलागि आवश्यक टेवल थपिएको छ । स्तरीय युएस फोनेटिक ले–आउट, स्टान्डर्ड देवानगरी ले–आउट र सिक्किममा प्रयोग गरिने एससी स्टाण्डर्डमा आधारित किराती लिपिको किवोर्ड ड्राइवर तयार गरिएको उनले बताए ।
सफ्टवेयर इन्जिनियर काओनोहिले किराती लिपीलाई नेपाल र भारतकालागि छुट्टै समावेश गर्न सनमाइक्रो सिस्टमलाई आधिकारीक रुपमा अनुरोध गरेको बताए । उनले भने, ‘किराती लिपिको समावेसले निकट भविष्यमा ओपन अफिस इन्टरफेसलाई अनुवाद गर्न सम्भव बनाउनुका साथै फन्ट र किवोर्डहरु राख्न र प्रयोग गर्न अंग्रेजीमा कागजातहरु प्रदान गर्न, किराती भाषा समुदायका सदस्यहरुले उक्त कागजातहरुलाई (अभिलेखहरुलाई) किराती लिपिमा अनुवाद गर्न र चाहिएमा नेपालीमा पनि अनुवाद गर्न सक्नेछन् ।’ लिम्बूले सफ्टवेयरले ओपन अफिस एप्लीकेशनसँगै प्रयोग गर्नका लागि किराती अक्षर लिपि जाच्ने स्पेल चेकर बनाउनेछ । किराती भाषा र लिपि प्रयोगको डव्लु डव्लु डव्लु डट जेनोटाइपटुक डट कमले रेखदेख गर्नेछ । परियोजनाको मुख्य उद्देश्य किराती युनीकोड फन्ट (अक्षर) र किवोर्डको विकासँग किराती स्पेलचेकर (अक्षर जाँच गर्ने) विद्युतीय किराती लिपिलाई नेपाली अंग्रेजी शब्दकोश अनुवाद गर्ने ओपन अफिस सफ्टवेयर जस्ता एप्लीकेशनहरुको विकास गरेको पदम लिम्बुले बताए । सफ्तवेयर तयार गर्न करिव ३० लाख रुपैयाँ खर्च भएको उलने बताए ।
किराती लिपीलाई मुख्यगरी लिम्बू, राई (खम्बु), सुनुवार र याख्खा जातिले लेख्यरुपमा लामो समय देखि प्रयोग गर्दै आएका छन् । सफ्टवेयर तयार भएर प्रयोगमा ल्याउन सफल भए पछि किरात धर्मगुरु मुहिङ्गुम अंसिमाङ आत्मानन्द लिङ्देन सेइङले फागुन ३ गते इलामको मांसेबुङमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरेका थिए । सफ्टवेयर बारे लिम्बु र काइले धरानमा विहिबार पत्रकार सम्मेलन गर्दै किरात लिपि अब कहिलै नमर्ने बताए ।
किराती लिपीलाई नवौं शताव्दीका ऐतिहासिक राजा सिरिजंगाले विकास गरेकाले उनकै नाममा उक्त लिपिको नाम रहेको छ । उक्त लिपिको पुनरुत्थान र प्रचार प्रसार भने नवौं शताव्दीका राज सिरिजंगाको मृत्यु पछि एकहजार बर्ष पछि अर्थात बर्तमान ताप्लेजुङको सिनाम थुममा (इ.सं.१७०४–१७४१) जम्मेका त्येअंसि सिरिजंगा सिं थेवेले गरेको हो । उक्त लिपिलाई बेलायती अनुसन्धानकर्मी हज्सन, क्याम्पवेल, इमानसिं चेम्जोङ, बाजवीर थलङ, सुल्जी, बिबि सुव्वा, पदमसिं मुरिङ्ला, रनध्वोज नेम्वाङ, थाकोसेक लिम्बू, विरही काइला, लालसेर सेन्दाङ, बैरागी काइला आदि विद्धानले प्रचारमा ल्याएका थिए ।
प्रथम विश्वयुद्धको समाप्ती संगै उक्त लिपिलाई किरात धर्मका महागुरु फाल्गुनन्दले लेखन परम्परालाई निरन्तरता दिदैं स्वदेश र विदेशबाट पुस्तक, पत्रपत्रिका मार्फत समृद्ध पारेको लिम्बुले बताए । पछिल्लो समयमा नेपाल, भारतको सिक्किम, दार्जिलिङ क्षेत्रमा बसोवास गर्ने किराती मध्ये लिम्बू जातिले यो लिपिलाई प्रयोग गरेर पुस्तकहरु मुन्धुम, किराती लोक कथा, समसामयिक कथा, कविता, पालाम, निवन्ध, नाटक, उपन्यास आदि साहित्यिक र स्वतन्त्र लेखहरु भरपुर मात्रामा प्रकासित हुँदै आएका छन् । विश्वमा लेख्य परम्पराको आधारमा बाँचेका लिपिहरु मुख्यगरी ३० वटा जतिमात्र छन् । ती मध्ये किरात लिपि एउटा भएको भाषा तथा लिपि वैज्ञानिकहरुले बताएका छन् । संसारमा ६ हजार सात सय भाषा बोलिन्छन् ।

सहमति जुटाउन सवैधानिक समिति सक्रिय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ६ - संविधान निर्माण हुन ९९ दिन मात्र बाँकी हुँदा राजनीतिक सहमति जुटाउन सवैधानिक समिति सक्रिय भएको छ । दलहरुबीच नयाँ संविधानका प्रस्तावित विषयमा विवाद कायमै रहेको बेला आगामी राणनीति तय गर्न समिति आफै सक्रिय भएको हो । समितिलाई संविधान सभाले विवादित विषयमा सहमति जुटाई पहिलो मस्यौदा लेखनको जिम्मा दिएपनि पछिल्लो समयमा सहमति जुटन नसक्दा अप्ठ्यारोमा परेको छ । मुख्य बुँदा सहित प्रस्तावित ८३ वटा विषयमा दलहरुबीच मतान्तर रहेको छ । तोकिएकै मितिमा संविधान निर्माणका लागि भावी राणनीति तय गर्न समितिले शुक्रबार अपरान्ह्र संविधानमा प्रतिनिधित्व गर्ने साना दलहरुसँग छलफल गर्दैछ । हिजो मझौला दलहरुसँग छलफल गरेको समितिले आज २ बजे हिजो अनुपस्थित रहेकासहित १३ वटा दललाई बोलाएको छ ।
आगामी सोमबार बैठक बस्नु अघि विवादित विषयमा सहमतिका लागि उपसमिति गठन गर्ने वा मत विभाजनबाट विवाद टुंगो लागउने भन्ने विषयमा आजको बैठक केन्द्रित हुने संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले बताएका छन् ।

माओवादीलाई गृह मन्त्रालय दिन हुँदैन भन्नु षडयन्त्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बिभिन्न दलका नेता हरुले गृह मन्त्रालय एकीकृत नेकपा माओवादीलाई दिएर भए पनि मन्त्रिपरिषद छिटो विस्तार गर्नुपर्ने आज आयोजित एक अन्तरकृयामा बताएका छन् ।मन्त्रालय भागबन्डाको विषयलाई लिएर मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने उनीहरुको भनाई छ । जनसन्चार अभियानमा शुक्रबार आयोजित अन्तक्रिर्यामा एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य शक्तिबहादुर बस्नेतले गृह मन्त्रालयको बाहनामा शान्ति र संविधान लेखनमा अवरोध गर्ने षडयन्त्र भइरहेको बताउनुभयो । शान्ति सुरक्षाको नाममा माओवादीलाई गृह मन्त्रालय दिन हुँदैन भन्नु शान्ति र संविधानमाथिकै षडयन्त्र भएको उहाँको ठहर थियो ।कार्यक्रममा एमाले नेता राजेन्द्र श्रेष्ठले वर्तमान सरकार सात बुँदे सहमतिको बलमा बनेको उल्लेख गर्दै माओवादीलाई गृह मन्त्रालय दिँदैमा केही फरक नपर्ने उल्लेख गर्नुभयो ।यसैगरी मधेसी जनअधिकार फोरमका चन्दि्रकाप्रसाद यादवले माओवादी नेतृत्वको सरकारको पालामा एमालेले गृह मन्त्रालय लिएको चर्चा गर्दै अहिले एमाले नेतृत्वको सरकारले माओवादीलाई गृह मन्त्रालय दिँदा आपत्ती जनाउन नपर्ने बताउनुभयो ।

स्थानीय पहलमा लगभग २५ किलोमिटर बाटो निर्माण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत जर्बुटा गाउँ विकास समितिका स्थानीयबासीले स्थानीय पहलमा लगभग २५ किलोमिटर बाटो निर्माण गरेका छन् । विरेन्द्रनगर ११ नेवारेदेखि बाटो निर्माण गर्न थालेका उनीहरुले जर्बुटा ७ तोरिडाडा नजिक पुर्याइसकेका छन् ।बाटो निर्माणका लागि जिल्ला विकास समिती गाउँ विकास समिति लगायत अन्य संघ संस्थामा हार गुहार गरेपनि कसैले सुनुवाई नगरेपछि अहिले आफ्नो घरमा भएको भैसी, गोरु, बाख्रा, जंगलमा पाइने सिस्नो , अमला बेचेर बाटो निर्माणमा खर्च गरेको स्थानीयबासी रामलाल लामिछाने बताए ।गाउँलेहरु आफैले संकलन गरेको १५ लाख बराबरको रकम बाटो निर्माणमा खर्चेका छन्

तीन दिनदेखि ललितकला क्याम्पसमा ताला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सात महिनाअघि क्याम्पसमा नियुक्त भएका क्याम्पस प्रमुख डा. लय मैनालीले विद्यार्थीको मागको सुनुवाइ नगरेको आरोप लगाउँदै भोटाहिटीस्थित ललितकला क्याम्पसका विद्यार्थीहरुले तीन दिनदेखि क्याम्पसमा तालाबन्दी गरेका छन्। पाँच महिनाअघि विद्यार्थीहरुले क्याम्पस प्रशासन तथा लेखा शाखामा तालाबन्दी गरी क्याम्पस प्रमुखको राजीनामा मागसहित सांकेतिक विरोधस्वरुप क्याम्पस प्रमुखको बस्ने कुर्सी झ्यालमा झुन्ड्याएका छन्।क्याम्पस प्रमुख मैनालीले क्याम्पस नआई घरबाटै एकलौटीरुपमा क्याम्पस प्रशासन चलाएको तथा क्याम्पसका दक्ष शिक्षकलाई हटाइ आफ्ना नजिकका शिक्षकलाई नियुक्त गरेको आरोप विद्यार्थीहरुले लगाएका छन्। क्याम्पसका विद्यार्थी संगठन अनेरास्ववियु अखिल क्रान्तिकारी नेविसंघ तथा एमएफएका विद्यार्थीहरुले बिहीबार क्याम्पसको मूलगेटमा पत्रकार सम्मेलन गरी क्याम्पस प्रमुखको राजीनामा माग गरेका छन्।विद्यार्थीको हकहितका लागि गरिएको संघर्षलाई क्याम्पस प्रमुखले वेवास्ता गरी लामो समयसम्म क्याम्पसलाई अस्तव्यस्त बनाइ आफ्नो जिम्मेवारी पूरा नगरी त्रिभुवन विश्वविद्यालको नियमविरुद्ध घरबाटै क्याम्पस चलाएको पत्रकार सम्मेलनमा स्ववियु सभापति लालकाजी लामाले जानकारी गराउनुभयो। उहाँले क्याम्पस प्रमुखले नै एमएफएका विद्यार्थीहरुसँग आवश्यकभन्दा बढी शुल्क लिएको विद्यार्थीसंगठनहरुसँग भएका सहमति सम्झौताअनुसार गत वर्षदेखि शुरु भएको एमएफएबाट उठेको रकमको पारदर्शी नगरी अनियमितता गरेको आरोप लगाउनुभयो।उता त्रिवि ललितकला भवनमा साचालन गरिएको एमएफएको अध्ययन प्राध्यापकहरुले क्याम्पस प्रमुखले ५/६ महिनादेखि आफूहरुलाई तलब नखुवाएको भन्दै पढाइ ठप्प पारेका छन्। विद्यार्थीहरुले भदौमा गरिएको तालाबन्दी खुलाउन पहल नगरिएकाले माघ २७ गते त्रिवि ललितकला भवनमा पूर्णरुपमा तालाबन्दी गरेका छन्।क्याम्पस प्रमुख मैनालीले नेपाल समाचारपत्रसँग भन्नुभयो- विद्यार्थीहरुले विवादलाई टुंगो लगाउन आग्रह गर्दा पनि वार्ताको लागि टेरपुच्छर लगाएका छैनन्। सर्वप्रथम क्याम्पसमा गरिएका तालाबन्दीलाई विद्यार्थीले खोले समस्या समाधान हुन्छ। क्याम्पसमा तालाबन्दी हुँदा करिब ८ सय विद्यार्थीको पढाइ अन्योलमा परेको छ।

Feb 17, 2011

संघीय विद्यार्थी युनियनले उपकुलपतिसमक्ष ज्ञापन-पत्र बुझायो

डीबी आङ्बुङ
४ माघ २०६७, व्यवहारिक र वैज्ञानिक तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सुहाउँदो संघीयवादी शिक्षाप्रणालीका लागि सङ्घर्षरत् संघीय विद्यार्थी युनियनले गत माघ ३ र ४ गते दमक झापा लिम्बुवानमा ऐतिहासिक चौंथो महाधिवेशन सम्पन्न गरेर गरेको निर्णयानुसार विभिन्न मागहरु राख्दै यही फागुन ४ गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा त्रि.वि. उपकुलपति तथा विद्यार्थी कल्याण तथा खेलकुद शाखाका प्रमुखसमक्ष ज्ञापन-पत्र र जानकारी-पत्र बुझाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको भातृ सङ्गठन संघीय विद्यार्थी युनियनले युनियनका अध्यक्ष लाहाङ लिम्बू तथा संघीय सदस्य योबाहाङ लिम्बूको नेतृत्वमा ५ सदस्यीय प्रतिनिधि मण्डलले त्रि.वि. केन्द्रीय कार्यालयमा गई उपकुलपतिसमक्ष सो ज्ञापन पत्र बुझाएका हुन् । यहीक्रम्मा त्रि. वि. का विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुखसमक्ष संघीय विद्यार्थी युनियनको जानकारी पत्रसमेत बुझाइएको छ । युनियनले मुलुक लामो एकात्मक व्यवस्थाको जञ्जीरबाट मुक्त भई संघीय व्यवस्थामा प्रवेश गर्दै संविधानसभाको चुनावमार्फत् समानुपातिक चुनावप्रणालीको अभ्यास गरेर बहुलतामा उभिएको नेपाली जनतालाई वास्तविक लोकतन्त्रको अनुभूत गराउन महत्वपूर्ण ऐतिहासिक कदम चलिरहेको सन्दर्भमा शिक्षित, बौद्धिक विद्यार्थीहरु अध्ययन गर्ने शैक्षिक संस्थाहरुमा स्वतन्त्र विद्यार्थी युनियनको गठनमा प्रत्यक्ष निर्वाचन प्रणाली अबलम्बन गर्न खोज्नु नेपाल सरकार र त्रि. वि.को अलोकतान्त्रिक कार्य हो र यस्तो पुरानो लोकतन्त्र विरोधी निर्वाचन प्रकि्रयाको पिच्छलग्गु सङ्गठन तथा व्यक्तिहरु प्रतिगमनकारी एजेन्टहरु भएको जनाएको छ । बहुमतीय एवम् पुरानै संरचनामा हुने स्ववियुको निर्वाचनले सबै जाति, वर्ग र विचारलाई कुनै हालतमा समेट्न नसक्ने भन्दै यसले आर्थिक भ्रष्टाचार, अराजकता, एकदलीय हालीमुहाली, राजनीतिक अस्थिरता, द्वन्द्व र दुश्मनीलाई प्रश्रय दिने भएकोले यथास्थितिको स्ववियुको संरचना र निर्वाचन प्रणालीको विकल्प खोजिनु जरुरी भएको ज्ञापन पत्रमा उल्लेख छ ।युनियनका अध्यक्ष लाहाङ लिम्बूद्वारा हस्ताक्षरित् ज्ञापन पत्रमा थप भनिएको छ- "संघीयता गणतन्त्र धर्मनिरपेक्षता र समानुपातिक सिद्धान्तमा आधारित समाज निर्माणको निम्ति वैज्ञानिक व्यवहारिक संघीयवादी शिक्षानीति लागू गराउन दशकौं वर्षदेखि आन्दोलनरत् संघीय विद्यार्थी युनियनले २०६५ चैत्र ६ गतेको स्ववियुको प्रत्यक्ष निर्वाचन प्रणालीलाई थुप्रै जिल्लाहरुमा सफल वहिष्कार गरेर नेपाली जनताहरुको लोकतान्त्रिक पद्धतिको कित्ता सुरक्षित गर्न सक्षम भयो । यसैक्रम्मा २०६५ चैत्र ६ गते झापाको धुलावारी क्याम्पसमा भएको एकात्मकवादी सत्ताका प्रहरीको दमनमा एक संघीयवादी विद्यार्थी मनिल तामाङले शहादत प्राप्त गर्दै समानुपातिक संघीयवादी विद्यार्थी आन्दोलनमा ऐतिहासिक आयाम थपिएको सर्वविदितै छ । समानुपातिक संघीयवादी आदोलनको त्यो इतिहासको सम्मान एवम् आत्मसात गर्दै स्वतन्त्र विद्यार्थी युनियनको चुनाव विद्यार्थी हित र शैक्षिक नीतिगत सन्दर्भका निम्न मागहरुको सम्बोधन गर्दै अविलम्ब पूरा गर्न यसै ज्ञापन-पत्रमार्फत् जोडदार माग गर्दछौं ।"युनियनले निम्न मागहरु उचित समयमा पूरा गर्ने पहलकदमी नभए संघीय विद्यार्थी युनियनले शान्तिपूर्ण आन्दोलनको घोषणा गरेर जाने चेतावनीसमेत सोही ज्ञापन-पत्रका साथ दिएको छ ।
संघीय विद्यार्थी युनियनका मागहरु
१. वर्तमान स्ववियुको संरचना र निर्वाचन प्रणालीमा परिवर्तन गरी समानुपातिक निर्वाचन प्रणालीको आधारमा स्ववियुको निर्वाचन गर ।
२. त्रि. वि. क्यालेण्डरको अविलम्ब व्यवस्था गरी विद्यार्थी शिक्षणमा सुधार ल्याउनुको अतिरिक्त सबै जाति, धर्म र संस्कृतिहरुमा आधारित चाडपर्वहरुमा सार्वजनिक विदाको समान व्यवस्था गर ।
३. वर्तमान एकात्मकवादी शिक्षाप्रणाली खारेज गरी संघीयवादी वैज्ञानिक व्यवहारिक शिक्षाप्रणाली लागू गर ।
४. प्रत्येक शैक्षिक संस्थाहरुमा जातीय समानुपातिक आधारमा शिक्षक तथा कर्मचारीहरु नियुक्ति गर ।
५. सरकारी तथा निजी विद्यालय एवम् विश्वविद्यालयहरुमा शैक्षिक गुणस्तर शुल्क र पाठ्यक्रममा एकरुपता कायम गर ।
६. जातीय विभेद इतिहासको अवमुल्यन तथा राष्ट्रिय अखण्डतामा आँच पुर्याउने पाठ्यक्रमहरु तत्काल खारेज गर ।
७. ऐतिहासिक एवम् जातीय बाहुल्यता रहेको क्षेत्रहरुमा सम्बद्ध जातिको मातृभाषामा पठन पाठनको व्यवस्था गर ।
८. विद्यार्थीहरुलाई हरेक क्षेत्रमा ५०% सहुलियत उपलब्ध गर ।
९. नेपालका शैक्षिक संस्था स्कूल क्याम्पसहरुको नामाकरण सम्बद्ध क्षेत्रको ऐतिहासिक एवम् साँस्कृतिक पहिचानलाई सम्बोधन हुने किसिमबाट पुनः नामाकरण गर ।
१०. सम्बद्ध क्षेत्रको जातीय धार्मिक भाषिक एवम् साँस्कृतिकलगायत विविध पक्षहरुलाई सम्बोधन हुनेगरी बहुजातीय एवम् बहुभाषिक पुस्तकायको विकास गर ।
११. सम्बद्ध क्षेत्र जाति भाषा संस्कृति एवम् मानवीय आवश्यकतालाइ सम्बोधन गर्नका लागि कृषि प्राविधिक भाषिक एवम् विभिन्न विषयगत विद्यालय तथा विश्वविद्यालय स्थापना गर ।
१२. प्रत्येक स्कूल क्याम्पस विश्वविद्यालय तथा स्ववियुको आर्थिक कारोवार पारदर्शी र नियमित रुपमा लेखापरीक्षण गरी सार्वजनिक गर्ने व्यवस्था गर ।
१३. २०६५ चैत्र ६ गते प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् गर्न खोजिएको स्ववियुको चुनाव वहिष्कार गर्नेक्रम्मा झापाको धुलावारी क्याम्पसमा हत्या गरिएका विद्यार्थी मनिल तामाङलाई नेपाल सरकारले राष्ट्रिय सहिद घोषणा गरिसकेको हुनाले उक्त धुलावारी क्याम्पसको नाम परिवर्तन गरी "शहीद मनिल तामाङ बहुमुखी क्याम्पस" नामाकरण गर । साथै, युनियनले विद्यार्थी कल्याण तथा खेदकुदा शाखाका प्रमुखलाई बुझाएको जानकारी पत्रमा उल्लेख भएनुसार एकात्मक शासन व्यवस्थाकै अभ्यासमा रहेको नेपालको शैक्षिकनीति एकात्मकवादी एकाधिकारवादी केन्द्रीकृत अव्यवहारिक अवैज्ञानिक भएको ठहर संघीय विद्यार्थी युनियनले गर्दै यस्ताखाले शिक्षाको विकल्पमा संघीय व्यवस्थाअन्तर्गत् व्यवहारिक वैज्ञानिक संघीयवादी शिक्षानीति अवलम्बन गरिनु पर्ने आमूल परिवर्तनको माग राखेर दशौ वर्षदेखि निरन्तर आन्दोलनरत रहेको जनानएको छ ।नेपालमा ऐतिहासिक संविधान सभाको चुनाव सम्पन्न भएपछि भएको स्ववियुको चुनाव समानुपातिक हुनुपर्ने बलियो अडानका साथ गरिएको आन्दोलनको क्रम्मा जब २०६५ चैत्र ६ गते झापा लिम्बुवान को धुलावारीमा केन्द्रीकृत प्रहरीको गोली लागेर संघीयवादी विद्यार्थी मनिल तामाङको हत्या भयो तब संघीय विद्यार्थी युनियनको काँधमा परिवर्तन र अग्रगमनको ऐतिहासिक जिम्मेवारी बढेको सन्दर्भमा २०६७ माघ ३ ४ र ५ गते झापाको दमक लिम्बुवान मा सम्पन्न युनियनको चौंथो संघीय महाधिवेशनबाट शिक्षामा आमूल परिवर्तन र परिवर्तनका निम्ति आवश्यक कार्यनीति एवम् रणनीतिहरु पारित गर्दै तपशील बमोजिमको नव संघीय कार्य समिति निर्वाचित भएको जानकारी गराउएको छ । संघीय विद्यार्थी युनियनका पदाधिकारी एवम् सदस्यहरु
१. अध्यक्ष : लाहाङ लिम्बू 'चन्द्र'
२. महासचिवः लोकसागर साम्बा
३. उप महासचिव : केदार धिमाल
४. उप महासचिव : जेन्टल लावती
५. संघीय सदस्य : दिनेश खम्बू
६. संघीय सदस्य : प्रकाश खड्का
७. संघीय सदस्य : योबाहाङ लिम्बू
८. संघीय सदस्य : बिमला तेयुङ्
९. संघीय सदस्य : सन्तोष खड्का
१०. संघीय सदस्यः केन्द्रबहादुर सेर्मा
११. संघीय सदस्य : अभिषेक मावो
१२. संघीय सदस्य : देवेन वनेम
१३. संघीय सदस्य : रणसिङ् लक्सम
केन्द्रमा संघीय विद्यार्थी युनियन भनेर चिनिने यस विद्यार्थी सङ्गठनले सङ्गठनको संघीय संरचना अनुसार लिम्बुवानमा- संघीय विद्यार्थी युनियन लिम्बुवान राज्य परिषद राज्य कार्य समिति; खम्बुवानमा- संघीय विद्यार्थी युनियन खम्बुवान राज्य परिषद राज्य कार्य समितिर र तामाङसालीङमा- संघीय विद्यार्थी युनियन तामाङसालीङ राज्य परिषद राज्य कार्य समितिलगायतको संरचनामा साङ्गठानिक गतिविधि र आन्दोलनहरु सञ्चालन गरिरहेको छ ।

४६ घन्टा २४ मिनेट लगातार चुम्बन गरेर वल्ड रेकर्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
थाइल्यान्ड/ थाइल्यान्डका एक दम्पतीले ४६ घन्टा २४ मिनेटसम्म निरन्तर चुम्बन गरेर गिनिज बुकको पुरानो रेकर्ड तोडी नयाँ रेकर्ड कायम गरेको छ । थाइल्यान्डको पटायामा भ्यालेन्टाइन्स डेको अवसर पारेर आयोजना गरिएको चुम्बन प्रतियोगितामा बैंककका ४२ वर्षीय अक्कीककाचाई टिरानारट र उनकी ३१ वर्षीया पत्नी रक्सना टिरानारटले लामो समयसम्म निरन्तर लिपलाप किस गरेर विजेता बनेका हुन् । आफ्नो पार्टनरलाई जति लामो समयसम्म चुम्बन गरिरहन सक्यो, त्यसैले उपाधि जित्ने प्रतियोगितामा १४ प्रेमी जोडीले भाग लिएका थिए । ४६ घन्टाभन्दा बढी समयसम्म चलेको प्रतियोगितामा टिरानारट दम्पतीले सर्वाधिक ४६ घन्टा ४२ मिनेट ९ सेकेन्डसम्म चुम्बन साटासाट गरिरहेका थिए । यसअघि २००९ मा भएको चुम्बन प्रतियोगितामा जर्मनीको एक प्रेमी जोडीले ३२ घन्टा ७ मिनेट १४ सेकेन्डसम्म निरन्तर चुम्बन गरेर गिनिज बुकमा रेकर्ड राखेका थिए । सर्वाधिक लामो समय चुम्बन गरेर गिनिज बुकमा रेकर्ड राख्न सफल भएकोमा टिरानारट दम्पती निकै खुसी छ । सर्वाधिक चुम्बन जोडीको उपाधिसहित सो जोडीले दुई लाख थाई भाट र हीराको औँठी पुरस्कारस्वरूप प्राप्त गरेका छन् । उनीहरू अचेल एकअर्कालाई चुम्बन गर्न पछि हट्दैनन् । चुम्बनै गरेर वल्र्ड रेकर्ड कायम गरेका उनीहरू आफ्नो जोडी निकै भाग्यशाली भएको बताउँछन् । प्रतियोगितामा आफूहरूले निकै प्रेमका साथ चुम्बन गरेकाले समय बितेको पत्तै नभएको दाबी विजेता जोडीको छ ।

७ बुँदे कार्यान्वयन नभएसम्म माओवादी सरकारमा नजाने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ५ - सत्तारुढ एमालेले ७ बुँदे सहमति कार्यान्वयन नगरेसम्म माओवादी सरकारमा नजाने भएको छ । गृह मन्त्रालयको दाबी गर्दै आएको माओवादीले यसअघि नै पूर्वसहमति कार्यान्वयन नगरेसम्म सरकार बाहिर रहने निर्णय गरेको हो । बिहीबार बसेको माओवादी स्थायी समिति बैठकले सहमति कार्यान्वयन नगरेसम्म माओवादी सरकारमा नजाने पूर्व निर्णयलाई यथावत राखेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । एमालेले सात बुँदे सहमतिप्रति पुनःप्रतिबद्धता जनाएपछि सरकारमा जाने निर्णय गरेको माओवादीले 'प्रतिबद्धता व्यवहरमा लागू नभएको' भन्दै सरकार बाहिर बस्ने निर्णय गरेको छ ।

गोर्खाल्यान्ड आन्दोलनका कारण नेपालीभाषीहरू भारतबाट विस्थापित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गोर्खाल्यान्ड आन्दोलनका कारण नेपालीभाषीहरू भारतबाट विस्थापित भई नेपालतर्फ प्रवेश गर्न थालेका छन्। भारतीय सुरक्षाकर्मीले नेपालीभाषीहरूको घरघरमा गएर खानतलासी र कुटपिट गर्न थालेपछि दार्जिलिङलगायतका क्षेत्रबाट सर्वसाधारण विस्थापित हुन थालेका हुन्। गोर्खाल्यान्ड आन्दोलनका कारण नेपाली मूलका मानिसहरू सुरक्षा खोज्दै इलामको पशुपतिनगर, समालबुङ, गोर्खे, जोगमाई, श्रीअन्तुलगायतका गाउँहरूमा आउन थालेको स्थानीयवासीले बताएका छन्। उनीहरू सुरक्षाका लागि सिलगुढीतर्फ जान थालेको बताइएको छ। गोर्खाल्यान्डको माग राख्दै लामो समयदेखि आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन चर्काउँदै लगेपछि सो क्षेत्र पछिल्लो समयमा हिंसामा परिणत हुँदै गएको छ। त्यस क्षेत्रमा हिंसा भड्किननदिन बङ्गाल सरकारको निर्देशनमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालित छन्। लगातारको बन्द तथा आन्दोलनका कारण दार्जिलिङ क्षेत्रमा भोकमरी सुरु हुन थालेको छ।

बहराइनका नेपाली तत्काल लाई सुरक्षित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खाडी मुलुक बहराइनमा बिगत केही दिनदेखि राजनीतिक प्रर्दशन भइरहेपनि नेपाली कामदारलाई कुनै खतरा नभएको गैरआवासीय नेपाली संघले जनाएको छ । गैरआवासीय नेपाली संघ बहराइनका अध्यक्ष श्याम तामाङले हामिसंग भन्नुभयो-’प्रर्दशन निश्चीत स्थानामा मात्र भएकाले नेपाली कामदार तत्कालै खतरामा परेका छैनन् ।’ राजनीतिक अधिकारको माग गर्दै सिया धर्मालम्बीहरुले मनामाको निश्चीत क्षेत्रमा मात्र प्रर्दशन गरिरहेको र धेरै नेपालीको सित्रा क्षेत्रमा रहेकाले खतराको सम्भावना कम रहेको बताइएको छ ।बहराइनमा मूलतः निर्माण, सरसफाई र सुरक्षा क्षेत्रमा करिव ३० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको तामाङले जानकारी दिनुभयो । बहराइनमा रहेको गैरआवासीय नेपाली संघ र नेपाली क्लबले नेपाली कामदारको अबस्थाबारे नियमित अनुगमन गरिरहेको भन्दै तामाङले खतरा उत्पन्न भए नेपाली संघसंस्थाले त्यहाँको सरकारसँग समन्वय गरि उद्दार गरिने बताउनुभयो ।बहराइनमा नेपाली दूतावास नभएकाले साउदीस्थित नेपाली दूतावासले बहराइन मामिला हेर्ने गर्छ । नेपालीमात्रै हैन कुनैपनि बिदेशीलाई अहिलेको आन्दोलनले सुरक्षा खतरा नरहेको र खाद्द्यन्न तथा पानीको समस्या हुने सम्भावना नरहेको तामाङको दावी थियो । ‘बहराइनमा कार्यरत नेपालीका आफन्तहरु ढुक्क हुनुभए हुन्छ’- तामाङले भन्नुभयो-’तत्कालै नेपाली कामदारलाई कुनैपनि खतरा छैन ।’बिगत केहीदिनदेखि बहराइनका सुन्नी मुसलमान सम्प्रदायले गरेको प्रर्दशनका क्रममा दुई जनाको मृत्यु भएको छ । आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै नेपालस्थित बैदेशिक रोजगार ब्यबसायी संघले नेपाली कामदारको सुरक्षा र उद्दारका लागि चासो देखाउन ध्यानार्कषण गराएको थियो ।

संविधानसभाको म्याद अब सय दिन मात्र बाँकी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
२ वर्षे कार्यकाल सकिएपछि गत जेठ १४ गते संविधानसभाको म्याद एक वर्षका लागि थपिएको संविधानसभाको एक वर्षको म्याद पनि अब सय दिन मात्र बाँकी छ । । तर जेठ १४ का लागि सय दिने गन्ति सुरु भइसक्दा पनि नयाँ संविधानको मस्यौदा तयार हुन सकेको छैन । एकीकृत मस्यौदा लेखनको जिम्मेवारी पाएको संवैधानिक समितिले विभिन्न विषयगत समितिहरुको प्रतिवेदनका विवादित विषयहरुमा छलफलमा जारी राखेको भएपनि उल्लेख्य प्रगति हुन सकेको छैन । संविधानको एकीकृत मस्यौदा लेखनको जिम्मेवारी पाएको सवैधानिक समितिका सभापति निलाम्वर आचार्यले संविधान निर्माणप्रति दलहरु गम्भिर हुनु पर्ने बताउनु भयो । हामिसँग कुरा गर्दै उहाँले भन्नुभयो-’अब सय दिनमा संविधान बन्दैन भनेर भन्नु भन्दा २० दिनमा जे सकिन्छ त्यो गर्नेतर्फ हामी केन्द्रीत हुनुपर्छ ।’उहाँले दलहरुले मूख्य विवादित विषयहरुमा सहमति गरे अझै धेरै सम्भावना रहने बताउनु भयो । दलहरुबीच कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायतका मुलभत विषयहरुमा तत्काल सहमति हुनु पर्ने उहाँको भनाई छ । संविधानसभाले राज्यको पुनःसंरचना सम्वन्धी समितिको प्रतिवेदन भने अझै समितिमा पठाइएको छैन ।राज्य पुनःसंरचना आयोग गठनमा भएको ढिलाईका कारण समितिको प्रतिवेदन संविधानसभाले पारित गरि सबैधानिक समितिमा नपठाइएको संविधानसभा सचिवालयले जनाएको छ । विभिन्न विषयगत समितिको प्रतिवेदनका ८३ बटा विषयमा दलहरुबीच मतभेद छ ।

कम्वोडियामा एक नेपालीलाई जेल चलान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कम्बोडियाको एक अदालतले एक नेपाली र दुई वंगलादेशीलाई आतंकवादी गतिविधिमा संलग्न रहेको ठहर गर्दै ८ वर्ष जेल चलान गर्न आदेश दिएको छ। उनीहरुलाई अदालतले आतंकवादविरुद्धको कानुन अनुसार सजाय तोकेको हो।चिनियाँ समाचार एजेन्सी सिन्ह्‍वाका अनुसार ४४ वर्षीय नेपाली डिपी पौडेललाई हिरासतबाट जेल चलान गरिएको छ। पौडेललाई गैर कानुनीरुपमा कम्बोडिया प्रवेश गरेको आरोपमा हिरासतमा राखिएको थियो। गत अप्रिलमा नोम पेन्हमा रहेका बेलायती, अमेरिकी र अस्ट्रेलियन राजदूतावासमा आक्रमण गर्ने धम्की दिने समूहले पठाएको पत्रमा उनको हस्ताक्षर फेला परेको दावी गरिएको छ। अलकायदाको सदस्यका रुपमा पत्र पठाइएको पहिचान भएको सिन्ह्‍वाले जनाएको छ। 'उनीहरुले आरोपको खण्डन गरेपनि त्यसलाई प्रमाणित गर्न सकेनन,' न्यायाधीश नोम पेन्ह म्युनिसिपल अदालतका न्यायाधीश सन विशालले भने। वंगलादेशी नागरिक ४२ वर्षीय रफिक इश्लामी र ६२ वर्षीय मिह मोहम्मद एच कविरलाई पनि यही आरोपमा सजाय सुनाइएको छ। उनीहरुले पुनरावेदनका लागि निवेदन दिने बताएका छन्। तीन दिन अघिमात्र अदालमा सुनुवाई हुँदा पौडेल आफूले कुनै अपराध नगरेको दावी गरेका थिए। 'यी राजदूतावासहरुविरुद्ध मैले कुनै पनि अपराधिक गतिविधि गरेको छैन,' उनले अदालतमा भनेका थिए, 'त्यसैले म अदालतलाई मेरो मुद्दा खारेज गरी मेरो मुलुक फर्किन पाउँ भन्ने निवेदन गर्छु।'

Feb 16, 2011

लजालु युवतीको पहिलो चुम्बनमा नै मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लण्डन,एकजना लजालु किशोरीले आफ्नो ब्वायफ्रेण्डसँग पहिलो चुम्बन गरेपश्चात् ढलेर मृत्यु भएको समाचार प्राप्त भएको छ । १८ वर्षीय, ए लेभेलमा अध्ययनरत् सुन्दरी जेम्मा बेन्जामिन आफ्नो ब्वायफ्रेण्डको फ्ल्याटमा ब्वायफ्रेण्डलाई चुमेको क्षण भरमा विहोश भएर ढल्न पुगेकी थिईन् । २१ वर्षीय डेनीयल रोस आचनक गर्लफ्रेण्ड ढलेको देखेर अत्तालिँदै टे्फोरेस्ट, साउथ वेल्शस्थित आफ्नो घरमा तिनलाई होशमा ल्याउने भरपुर प्रयास गरेका थिए । त्यसपछि उनले ९९९ डायल गर्नुअघि केटीकी आमालाई किशोरीको बारेमा छारे रोगबाट पीडित थिईन् कि भनेर फोन्बाट सोधेका थिए । उनीहरु विगत तीनमहिनादेखि डेट गर्दै थिए, तर, त्यस दिन गर्लफ्रेण्डलाई पहिलो चुम्बन गरेका थिए । उनले …..हामी घरको हलभित्र लिभिङ रुमको अगाडिको ढोकाको छेउमा कुरा गर्दै थियौं अनि चुम्बन गर्न पुगेका थियौं.. त्यसपछि जेम्मा सोफामा बस्न पुगिन् …. अचानक तिनले आँखा चिम्लिन थालिन् अनि मुखबाट गाजजस्तो सेतो र्‍याल छोडि्न … भनेर समाचरदाताहरुलाई भनेका छन् ।
हकी खेल मनपराउने, किशोरीकी बुवा, निर्माण व्यावसायी, ३८ वर्षीय ड्याल बेन्जामिनले ….तिनी एकदमै लजालु र सजिलै डराउने खालकी थिईन्.. भनेका छन् । किशोरीकी आमा चारलोट बेन्जामिनले … क्षणभर अघिकी मेरी स्वस्थ्य छोरी अर्को क्षणमा नै मबाट दूर भईन् … भनेर मर्माहत भएकी छिन् । केटीको मृत्युपश्चात् पोस्टमोर्टम रिपोर्टमा कोरोनर पिटर म्याडोक्सले किशोरीको मृत्युको कारण एसएडीएस अर्थात् सडन् एडल्ट डेथ सिन्ड्रोम् भनेर उल्लेख गरेका छन् ।

माओवादीलाई गृह र पराराष्ट्र सहित ११ मन्त्रालय/एमालेले ८

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ४ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री झलनाथ खनालबीच मन्त्रालय बाँडफाँडमा सैद्धान्तिक सहमति भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा माओवादीलाई गृह र पराराष्ट्र सहित ११ वटा मन्त्रालय दिइने स्रोतले जनाएको छ । बुधबार बिहान भएको भागबण्डामा एमालेले ८ वटा मन्त्रालय पाएको छ । एमालेको भागमा संचार, रक्षा, सामान्य प्रशासन र स्थानीय विकास मन्त्रालय परेको बालुवाटार निकट स्रोतले जनाएको छ । एमालेले यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी पाईसकेको छ ।
दुवै पार्टीले भौतिक योजना मन्त्रालयमा दावी गरेपछि त्यसमा सहमति हुन सकेन । मधेसी जनधिकार फोरमले पनि सरकारमा सहभागी हुन चासो देखाएपछि आपूर्ती, सिचाईं र उर्जा मध्ये एउटा मन्त्रालय उसको भागमा राखिने भएको छ । फोरमसँग सहमति नभए ती मन्त्रालय माओवादीले पाउने छ । माओवादीले आजको छलफलबाट आफ्नो मन्त्रीमण्डलको नामावली प्रधानमन्त्रीलाई बुझाएको छ । तर, मन्त्रालयमा ठोस सहमति बन्न बाँकी रहेकाले माओवादी अध्यक्ष दाहाल पोखराबाट फर्केपछि अपरान्ह्र ३ बजे पुन छलफल हुने बालुवाटारले जनाएको छ ।

वर्षमा सय दिन सरकारी बिदा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आउँदो ०६८ सालमा पनि सरकारी कर्मचारीले अत्यधिक बिदा उपभोग गर्न पाउने भएका छन् । सरकारले एक वर्षमा शनिबार ५२ र चाडपर्व तथा अन्य बिदा ४८ दिन गरी सय दिन बिदा दिने भएको छ ।एक वर्षका तीन सय ६५ दिनमध्ये सय दिन सरकारी कार्यालय बन्द रहने भएका हुन् । सरकारी बिदाका अलावा कर्मचारीले एक वर्षको अवधिमा ३० दिन घरबिदा, १२ दिन बिरामी बिदा र १२ दिन चाडपर्व तथा भैपरी बिदा पाउने गर्छन् । यीसमेत जोड्दा हरेक सरकारी कर्मचारीले वर्षमा एक सय ५४ दिन बिदा पाउने भएका छन् । यी बिदाको व्यवस्था निजामती सेवा ऐन र नियमावलीमा नै गरिएको छ । सरकारी बिदासम्बन्धी निर्णय भने गृह मन्त्रालयले गर्दै आएको छ ।
चालू वर्ष ०६७ मा भन्दा ०६८ सालमा कर्मचारीलाई दिइएको बिदाको दिन वृद्धि गरिएको छ । गृह मन्त्रालयले ०६८ साल १ वैशाखदेखि ०६८ साल चैत मसान्तसम्म विभिन्न चाडपर्व र शनिबार गरी सय दिन बिदा दिने निर्णय गरिएको जनाएको छ । गृह मन्त्रालयका अनुसार ०६८ सालमा दसैं बिदा आठ दिन, तिहार बिदा तीन दिन, अन्य चाडपर्व बिदा १५ दिन, जन्मजयन्ती बिदा तीन दिन, दिवस बिदा आठ दिन दिइएको छ । त्यसैगरी स्थानीय बिदा तीन दिन, महिला बिदा तीन दिन, शिक्षण संस्था बिदा १ दिन र काठमाडौं उपत्यकाका लागि छुट्टै चार दिन बिदा दिइएको छ ।
मन्त्रालयले ०६८ सालमा दसैंका लागि आठ दिन बिदा दिएको छ । ११ असोजमा घटस्थापनाको दिन बिदा दिइएको छ । त्यसैगरी १६ असोजदेखि २१ असोजसम्म (फूलपातीदेखि द्वादशीसम्म) बिदा दिइएको छ भने २४ असोजमा कोजाग्रत पूणिर्माका दिन पनि बिदा दिइएको छ । ०६७ सालमा कोजाग्रत पूणिर्माका दिन बिदा दिइएको थिएन । यसपटक भने सो दिन पनि बिदा दिइएको छ । त्यसैगरी ९ कात्तिकदेखि ११ कात्तिकसम्म तिहार तथा म्हपूजाको बिदा दिइएको छ । त्यसैगरी नववर्ष, गौरा पर्व, किरात, राई, लिम्बूको उँभौली पर्व, जनैपूणिर्मा, इद पर्व, छठपर्व, बकर इद, उँधौली पूजा, ज्यापु दिवसमा सार्वजनिक बिदा दिइएको छ । यसैगरी इसाई धर्मावलम्बीको पर्व क्रिसमस डे,

जमिम शाहको हत्याको जिम्मा लिने भरत नेपाली मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्पेस टाइम नेटवर्कका अध्यक्ष तथा च्यानल नेपालका सञ्चालक जमिम शाहको हत्याको जिम्मा लिने भरत नेपाली मारिएका छन् । ब्याङ्ककस्थित एक सपिङ मलबाट बाहिर निस्कँदै गर्दा छोटे राजन समूहका व्यक्तिले हानेको गोली लागि उनको मृत्यु भएको हो ।सञ्चार उद्यमी जमिम शाहलाई लाजिम्पाटमा दिउँसै गोली हानिएको थियो । सरकारले जमिमको हत्यारा पत्ता लगाउन चार वटा आयोग गठन गरिसकेको छ तर पनि केही पत्ता लाग्न भने सकेको छैन। भरत दाउद इब्राहिमको ग्याङका व्यक्ति भएको भारतीय प्रहरीले बताउँदै आएको छ। मतभेद बढेपछि पछिल्लो पटक भरतले आफ्नो छु्ट्टै समूह बनाएर आपराधिक क्रियाकलाप सञ्चालन गर्दै आएका थिए। दाउद भारतको शान्ति सुरक्षा स्थापनाका लागि सबैभन्दा खतरनाक व्यक्तिमध्ये पर्छन्।

यौनबारेमा पुरुषभन्दा महिला धेरै जानकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुरुषले आफूलाई यौन सम्बन्धका बारेमा निकै जानिफकार ठान्ने गरे पनि हालै अमेरिकामा गरिएको एउटा सर्वेक्षणले यौनबारेमा पुरुषभन्दा महिला निकै जानकार रहने गरेको देखाएको छ । एसोसिएटेड प्रेस र लाइफगोजस्ट्राग वेबसाइटले गरेको सर्वेक्षण नतिजाअनुसार ५९ प्रतिशत महिला यस्ता छन्, जसलाई यौनबारेमा थाहा नभएका कुनै कुरा छैनन् । तर, यस मामलामा ४८ प्रतिशत पुरुषमा मात्र आत्मविश्वास पाएको छ । इन्डियाना विश्वविद्यालयका शोधकर्ता डेबी हेरबेनिकका अनुसार महिला यौनबारेमा आफ्ना साथीसँग पुरुषले भन्दा धेरै कुरा गर्ने गर्छन् । उनीहरू मनोवैज्ञानिक तथा डाक्टरसँग यौनबारेमा सल्लाह लिन पनि हिच्किचाउँदैनन् । महिला यौनबारेमा बढीभन्दा बढी कुरा थाहा पाउन किताब तथा फिल्मको समेत सहारा लिने गर्छन् । जसकारण पुरुषभन्दा महिला यौनबारेमा बढी जानकार हुने गरेको देखिएको छ ।

माले-समाजवादीको तर्फबाट बोगटी मन्त्री, झा राज्यमन्त्री

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ४ - नेकपा मालेबाट चोइटिएर बनेको नेकपा माले-समाजवादीले झलनाथ खनाल नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने निर्णय गरेको छ । माले-समाजवादी संसदीय दलको बैठकले बुधबार सरकारमा सहभागी हुन अध्यक्ष जगतबहादु बोगटीलाई मन्त्री र पार्टी सचिव यदुवंश झालाई राज्यमन्त्रीमा पठाउने पार्टी निर्णय अनुमोदन गरेको छ । माले-समाजवादीले खनाल नेतृत्वको सरकारले नै शान्ति प्रक्रिया र संविधान निर्माण पूरा गर्ने विश्वास व्यक्त गरेको छ ।

राजदूत अन्सारीलाई एमाले सदस्यताबाट समेत निस्कासित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा एमालेका तर्फबाट सिफारिस गरिएका साउदी अरेवियाका निवर्तमान राजदूत हमिद अन्सारीलाई पनि अनुशासन आयोगले पार्टीको साधारण सदस्यताबाट निस्कासित गरेको छ। अन्सारीले मुलुक र पार्टीको प्रतिष्ठामा आँच पुग्ने गरि आर्थिक आचरण विपरित काम गरेको आयोगको ठहर छ। अहिले पार्टीभित्र अनुशासन उलंघनका विभिन्न घटना देखापरेको भन्दै अनुशासन आयोगले त्यस्ता क्रियाकलापप्रति केन्द्रीय कमिटि लगायत सवै तहका कमिटीहरुको ध्यानाकर्षण गराएको छ।

Feb 15, 2011

लिम्बुवान ताप्लिजोङको जिल्ला अधिवेशन सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
ताप्लिजोङ,१ फागुन २०६७, नेपालको संघीयवादी आन्दोलनलाई लिम्बुवानबाट सशक्त रुपमा नेतृत्व गरिरहेको सङ्गठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद ताप्लिजोङ जिल्ला कार्य समितिको तेस्रो जिल्ला अधिवेशनलाई २०६७ माघ २८ र २९ मा सम्पन्न भयो ।संघीय मञ्च तथा सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन "मिराक"को प्रमुख आतिथ्यमा सम्पन्न उक्त जिल्ला अधिवेशनले कीर्तिमान मादेनको अध्यक्षतामा ५६ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गर्दै निवर्तमान जिल्ला अध्यक्ष होम तुम्बाहाङ्फेलाई परिषदको केन्द्रीय सदस्यमा सिफारिश गर्ने सर्वसम्मत निर्णयसमेत गरेको छ । माघ २८ गते फुङलिङ बजारमा विशाल लिम्बुवानी आमसभा गर्दै प्रमुख अतिथि कुमार लिङ्देन "मिराक"द्वारा समुद्घाटन गरिएको सो अधिवेशनले दोस्रो दिन २९ गते फङ्लिङकै सिटिहलमा बन्द-सत्र सम्पन्न गरेर विभिन्न प्रस्तावहरुमा ऐतिहासिक निर्णयहरु समेत गरेको छ । अधिवेशनले गरेका महत्वपूर्ण निर्णयहरुमा- संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य नेपालअन्तर्गत आत्मनिर्णयको अधिकार आई. एल. ओ. महासन्धि नं. १६९ र आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा-पत्रको कार्यान्वयनसहितको अरुण-सप्तकोशीपूर्वको नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गराउन ताप्लिजोङ जिल्ला कार्य समितिले सशक्त भूमिका खेल्ने निर्णय गरेको छ । यसका साथै, हाल नेपाल सरकार निर्वाचान आयोगले गरिरहेको फोटोसहितको एकात्मक मतदाता नामावली सङ्कलन कार्य तुरुन्त बन्द गरिनुपर्ने र जबर्जस्त गरेमा ताप्लिजोङमा हुन नदिने निर्णयसमेत गरेको छ । त्यसैगरी, शदीयौंदेखि लिम्बुवानको जल, जमिन र जङ्गलमाथिको एकात्मक राज्यले गरिरहेको शोषण बन्द गर्नुपर्ने; नेपालको सीमाहरुमा भइरहेको विदेशी अतिक्रमण बन्द गर्नुपर्ने; लिम्बुवान र ताप्लिजोङको हरेक क्षेत्रमा आदिवासी जनजाति महिला र दलितहरुलाई अनिवार्य समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने माग पनि गरेको छ । यसैगरी, ताप्लिजोङ जिल्लाका सबै शैक्षिक संस्थाहरुमा मातृभाषाहरुको पठन-पाठनको व्यवस्था गर्नुपर्ने; मुलुक संघीय गणतन्त्रात्मक धर्मनिरपेक्ष घोषणा भइसकेकोले त्यससँग बाझिने सबै ऐन्-कानुनहरु तुरुन्त खारेज गर्नुपर्ने समेत परिषदले माग गरेको छ । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदलाई ताप्लिजोङ जिल्लामा सबैभन्दा सशक्त राजनीतिक पार्टीको रुपमा स्थापित गर्नको लागि एक वर्षभित्रमा ताप्लिजोङ जिल्लामा परिषदले दशहजार कि्रयाशील सदस्यता वितरण गर्ने लक्ष्यका साथ सो निर्णय पनि सोही अधिवेशनद्वारा पारित गरिएको छ । साथै, ताप्लिजोङ जिल्लालाई हिङ्सारहित क्षेत्र बनाउन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले जिल्लाका सबै पार्टीहरुसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद ताप्लिजोङ जिल्ला कार्य समितिको तेस्रो जिल्ला अधिवेशनले निर्वाचित गरेको नयाँ जिल्ला कार्य समितिको विवरण यसप्रकार छ-
१ अध्यक्षः श्री कृतिमान मादेन,२ प्रथम उपाध्यक्षः नारायणसिङ सेरेङ,३ द्वीतीय उपाध्यक्षः अम्बर अन्छङ्बो,४ तृतीय उपाध्यक्षः भूपेन्द्र माबो,५ सचिवः रणध्वोज ताम्लिङ,६ सहसचिवः मनिस हेल्लोक,७ अर्थसचिवः नेत्र खतिवडा,सदस्यहरुः८ केदार ताम्लिङ, ९ विनोद इजम, १० होमप्रसाद सावा, ११ बलबहादुर लाबुङ, १२ खड्गवीक्रम साम्सोहाङ, १३ डम्बर केदेम, १४ विकल्प लिङ्देन, १५ सूर्यप्रसाद अन्छङ्बो, १६ जयलाल माङ्मू, १७ राम लक्सम, १८ रामकुमार खिम्दिङ, १९ नारायण थेबे, २० विष्णुकुमारी इजम, २१ तुलसी परा, २२ वलि माबोहाङ, २३ श्रवण माबो, २४ नरबहादुर विष्ट, २५ विमल नाल्बो, २६ वलराम भारती, २७ शुक्रराज थोप्रा, २८ चन्द्र चङ्सू, २९ प्रेमराज साम्सोहाङ, ३० प्रकाश भण्डारी, ३१ फुङ्नाम लिम्बू, ३२ भगिमान लाबुङ, ३३ नरेन्द्र मादेन, ३४ टेकेन्द्र नेपाली, ३५ भिमबहादुर वनेम, ३६, विमला खुदाङ, ३७ सेरबहादुर सेनेहाङ, ३८ मछिन्द्र कोइबा, ३९ सूर्यकला हाङगम, ४० पवित्रा लिम्बू, ४१ गीता सेन्दाङ, ४२ रन्जु मादेन, ४३ हिमाल श्रेष्ठ, ४४ तेजबहादुर ताम्लिङ, ४५ बुद्ध कोइबा, ४६ निता मादेन, ४७ एलिना मादेन, ४८ खड्ग इम्बुङ, ४९ शिवकला मादेन, ५० भगवानदास परा, ५१ सेरबहादुर सेन्दाङ, ५२ सूर्य अधिकारी, ५३ रिता मादेन, ५४ विष्णुकुमार नाल्बो, ५५ छत्रमान सेरेङ, ५६ गजबहादुर माबो,

सरकारलाई पूर्णता दिने खनाल-दाहाल सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन ३ - प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सात बुँदे सहमतिमा केही परिमार्जनसहित सरकारलाई पूर्णता दिने सहमति भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको छलफलले सात बुँदे सहमतिमा केही परिमार्जन गरेको छभने माओवादीलाई गृह मन्त्रालय दिने सहमति पनि भएको छ । खनाल र दाहालबीच प्रधानमन्त्री निर्वाचन अघि माघ २० गते भएको सात बुँदे सहमतिका केही विवादस्पद बुँदाहरुमा सुधार तथा ब्याख्या गर्न माओवादी र गृह मन्त्रालय दिन प्रधानमन्त्री खनाल सहमत भएपछि छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति बनेको हो । माओवादी र एमाले नेताबीच सात बुँदे सहमतिमा भएको माओवादी सेनाका लडाकुलाई छुट्टै फोर्स बनाउने लगायतका बुँदामा राजनीतिक दलहरुको सहमतिमा बिशेष समिति मार्फत शान्तिप्रकृयालाई टुङ्गोमा पुर्याउने भनिएको छ । 'जनताको समावेशी संविधान' निर्माण गर्ने भनिएकोमा हालसम्म प्राप्त गरेका उपलब्धीहरुलाई संस्थागत गर्ने उल्लेख गर्दै लोकतन्त्रलाईसमेत उल्लेख गरिएको छ ।
त्यसैगरी आलोपालो गरी सरकार चलाउने भनिएकोमा सबै दलहरुलाई सरकारमा सहभागी हुन् आग्रह गर्दै सबैको सहमतिको आधारमा अघि बढ्ने उल्लेख गरिएको छ । यस सहमतिलाई सात बुँदे सहमतिको परिमार्जन वा सुधार नभनी ब्याख्या भनिएको छ । त्यसैगरी प्रधानमन्त्री खनाल र अध्यक्ष दाहालबीच गृह मन्त्रालय माओवादीलाई दिने र त्यसमा यसअघि माओवादीबाट चर्चामा आएका माओवादीका सैन्य इञ्चार्ज बर्षमान पुनलाई जिम्मेवारी दिने सहमति भएको पनि स्रोतले जनाएको छ । प्रधानमन्त्री निवासबाट सिधै राजधानीमा आयोजित तामाङ् मुक्ति मोर्चाको कार्यक्रममा आएका अध्यक्ष दाहालले सरकारले छिट्टै पूर्णता पाउने उल्लेख गर्दै सबै दललाई त्यसमा सहभागी हुन आग्रह गरे । उनले भने, 'सरकारले चाँडै पूर्णता पाउँछ, शान्ति र संविधानको पनि टुङ्गो लगाउँछ ।'