News

Feb 2, 2008

पक्राउको विरोधमा राजमार्ग बन्दः सवारीसाधन तोडफोड

लिम्वूवान डट व्लगस्पोट डटकम,बिर्तामोड
पक्राउ परेका आफ्नो दुइ कार्यकर्ताको रिहा गर्न माग गर्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताले शुक्रबार चारआलीमा आधा दर्जन सवारीसाधन तोडफोड गरेका छन् । तोडफोड गरिएका सवारीसाधनहरुमा मे१ख ९११ नं. को बस, मे१ख ११०९ र बा५च १४३ नम्बरको दुध बोक्ने ट्याङ्कर रहेका छन् । त्यसैगरी मे१च ११५, मे१च ७६० नम्बरको निजी पिक अप भ्यान पनि तोडफोड भएको इलाका प्रहरी कार्यालय काकडभीट्टाले जनाएको छ ।
घटनामा संलग्न २ जना लिम्बुवान कार्यकर्तालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखेको छ । तीन दिनअघि इलामको किटेनीमा ढाट राखेर रकम असुली गर्दै गर्दा २ जना लिम्बुवान कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । संघीय लिम्बुवान राज्य परिषद्ले ढाट सञ्चालन गरिरहेको बेला स्थानीय प्रशासनले आफ्नो कार्यकर्ता पक्राउ गरेको विरोधमा शुक्रबार मेची राजमार्ग बन्द गरेको जनाएको छ ।
परिषद्का महासचिव मिसेकहाङ थाम्सुहाङले शुक्रबारै विज्ञप्ति जारी गरी शनिबारदेखि महेन्द्र राजमार्ग बन्द गरी सरकारी आर्थिक संयन्त्रमा बाधा पुर्‍याउने जनाइएको छ । विभिन्न ठाउँमा ढाट राखेर 'कर' संकलन गर्नुलाई सरकारले अवैध भने पनि परिषद्ले राज्यले निर्णय गरे अनुसार जल, जंगल र जमिनमाथिको अधिकारमा स्थानीयवासीको सुनिश्चितता गर्न ढाट राखिएको दावी गर्दै आएको छ ।
यता इलाम समाचारदाताका अनुसार बिहीबारदेखि अवरुद्ध मेची राजमार्ग खुलाउने सवालमा जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको बैठक विना निष्कर्ष टुङ्गीएको छ । संघीय लिम्बुवान राज्य परिषद्बाट छुट्टीएको कुमार लिङदेनले नेतृत्व गरेको संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चले पक्राउ परेका आफ्नो कार्यकर्ता प्रहरीले रिहा नगरेसम्म यातायात अवरुद्ध गर्ने अडान नछाडेपछि वार्ता निष्कर्षवहिन
टुङ्गीएको छ ।

No comments: