News

Feb 15, 2008

लिम्बूवानका कार्यकर्ताहरुबीच विहीबार धरानमा झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,धरान
दुई समूहमा विभाजित संघीय लिम्बूवान राज्यपरिषदका कार्यकर्ताहरुबीच विहीबार धरानमा झडप भएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आवद्ध कुमार लिङदेन समूह र आफूलाई आधिकारिक दाबी गर्ने सञ्जुहाङ पालुङवा समूहका कार्यकर्ताबीच झडप भएको हो। मञ्च आवद्ध लिङदेन समूहका कार्यकर्ताहरुले परिषदको नाम र झण्डामा जुलुस निकालेपछि दुई समूहबीच झडप भएको थियो। मञ्च आवद्ध परिषदका कार्यकर्ताहरुको जुलुस भानुचौकतर्फ जाँदैगर्दा धरान-५ महेन्द्र पथमा पालुङवाको नेतृत्वमा रहेको परिषदका कार्यकर्ताहरुले आक्रमण गरेका थिए। हतियारसहित मोटरसाइकलमा आक्रमणकारीहरु आएपछि ३०-४० जनाको जुलुस भागभाग भएको थियो। तत्कालै वडा कार्यालयका प्रहरीहरु घटनास्थलमा पुगेको कारण कुनै अप्रिय घटना हुन पाएन। आक्रमणकारीहरु प्रहरी देखेपछि दुईवटा मोटरसाइकल छाडेर भागेका थिए। पालुङवा पक्षका आक्रमणबाट जुलुसमा सहभागी मोरङ टाँडीका २२ बर्षीय राम मगर घाइते भएका छन्। घाइते मगरको टाउकोमा चोट लागेको छ। आक्रमणकारीले मोटरसाटकलबाटै आफूलाई खुकुरीले प्रहार गरेको उनले बताए। आक्रमणमा संलग्न भएको आंशकामा प्रहरीले पालुङवा पक्षका २ कार्यकर्ताहरुलाई घटना लागत्तै नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धरान-११ का ३२ वर्षीय रमेश राई र धरान-१२ को २० बर्षीय उत्तम राई रहेका छन्। साथै आक्रमणकारीले घटनास्थलमा छाडेको को १ प ८६२८ र बा २२ प १६६६ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा राखेको छ। लिङदेनको नेतृत्वमा रहेको परिषदले आफूलाई राष्ट्रिय मञ्चको भातृसंगठन मान्दै आएको छ। तर पालुङवाको नेतृत्वमा रहेको परिषदको नेतृत्वमा रहेको परिषदले भने लिङदेन समूह संघीय लोकतान्त्रिक मञ्चको नाममा पार्टी दर्ता भइरहेको हुनाले त्यो अस्तित्वमा नरहेको दावी गर्दै आएको छ। लिङदेनले मञ्चको नाममा पार्टी दर्ता गरिसकेको छ त्यसैले मञ्चको नाम गरेको कार्यक्रममा हामीलाई आपत्ति छैन। पालुङवापक्षका शुभहाङ भन्छ 'तर संघीय लिम्बूवान राज्यपरिषदको नाम र झण्डा बोकेर उनीहरुले कुनै कार्यक्रम गर्न पाउदैनन्। लिङदेन समूहमा आवद्ध मञ्चले आव्हान गरेको आमहडतालको क्रममा बिहीबार धरानमा कुमार लिङदेनले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। तर, पालुङवा पक्षका कार्यकर्ताहरुले मञ्चले परिषदको नाम र झण्डा बोकेको भन्दै अवरोध पुर्‍याएपछि कार्यक्रम सफल हुन सकेन।

No comments: