News

Feb 19, 2008

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कमल छाराहाङ्ग पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,बिर्तामोड
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कमल छाराहाङ्गलाई सोमबार प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ । काकडभिट्टाबाट बिर्तामोडतर्फआउँदै गरेको को१ख १८३७ नम्बरको यात्रुबाहक मिनीबसमा तोडफोड गर्दागर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडले अध्यक्ष छाराहाङ्ग र मञ्चका कार्यकर्ता मिलन लिम्बूलाई पक्राउ गरेको हो ।
छाराहाङ्गसहित मञ्चका कार्यकर्ताको आक्रमणबाट सो बसको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । मञ्चका कार्यकर्ताले बन्दको अवज्ञा गरी सवारी साधन चलाएको भन्दै मे२प ११०१ र मे१प ६२४ नम्बरको मोटरसाइकलको चाबी खोसेर लगेका थिए । प्रहरीले मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का थप ५ जना कार्यकर्तालाई पनि सोमबार पक्राउ गरेको छ । पक्राउ परेकालाई र्सार्वजनिक मुद्दा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच मञ्चका महासचिव एवं परिषद्का अध्यक्ष कुमार लिङ्देनले एक विज्ञप्ति जारी गरी पक्राउ परेका छाराहाङ्गसहितका नेता तथा कार्यकर्तालाई रिहा नगरे आन्दोलन चर्काउने चेतावनी दिनुभएको छ । लिङ्देनद्वारा जारी विज्ञप्तिमा अनिश्चितकालीन बन्दको कार्यक्रम फिर्ता नलिने र झन कडाइका साथ प्रस्तुत हुने उल्लेख छ । शान्तिपूर्ण रुपमा समस्याको समाधानका लागि परिषद् तयार रहेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको मध्यस्थतामा मात्रै सरकारसँग वार्तामा बस्ने विज्ञप्तिमा जनाइएको छ ।
जारी विज्ञप्तिमा आन्दोलनका क्रममा हालसम्म २७ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी गराउँदै पक्राउ परेकालाई विना शर्त तत्काल रिहा नगरे परिषद कठोर रुपमा प्रस्तुत हुने चेतावनी दिइएको छ । संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चासम्बद्ध लिम्बुवान राज्य परिषद्को आह्वानमा जारी बन्दका कारण मोरङको बेलबारी, लक्ष्मीमार्ग, भाउन्ने, खोर्साने, केराबारी,पथरी, उर्लाबारी, लेटाङ, मधुमल्लाको जनजीवन कष्टकर बनेको छ । बन्दले झापाको दमक, बिर्तामोड, कर्खा, सुरुङ्गा, झिलझिले, काकडभिट्टा र इलाममा पूर्ण प्रभाव परेको छ ।

No comments: