News

Feb 28, 2008

लिम्वुवान राष्ट्रिय मोर्चाको जनजागरण कार्यक्रम सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
२४ फेव्रुवरी २००८ को वेलुका याउ मा तेइ कम्युनिटी सेन्टरको एक सभाकक्षमा लिम्वुवान राष्ट्रिय मोर्चाको आयोजनामा लिम्वुवान भेला र लिम्वुवान सम्वन्धी जनजागरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता मोर्चाको अध्यक्ष दिल पालुङवा लिम्वुले गर्नुभएको थियो भने सञ्चालन र स्वागत मन्तव्य क्रमश महासचिव अविचन्द्र इङनाम र सदस्य डि.वी. पालुङवाले गर्नुभएको थियो ।विशेष गरेर लिम्वुवान सम्वन्धी हङकङवासी लिम्वु तथा लिम्वुवान वासीहरुलाई सचेत गराउने र नेपाल लिम्वुवानमा पनि सोही वमोजिम कार्य गर्न उत्साहित गर्नको लागि उक्त कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा अध्यक्ष दिल पालुङवा लिम्वुवाट मूख्य गरेर जनजागरण गर्नु पर्ने विषयहरुको १० वुंदे प्रस्तावहरु वुंदागत रुपमा प्रस्तुत गर्नुभएको थियो । उक्त वुंदाहरु उपर लिम्वुवान विकास परिषदको अध्यक्ष प्रकाश यक्सो, वुद्धिजिवीहरु वीर वहादुर येङदेन, जीवन मेन्याङवो, कृष्ण लावती, गौमती गुरुङ र उपन्यासकार देश सुव्वाहरुले टिप्पणी गर्नु भएको थियो । प्रस्तुत प्रस्तावहरुमा मूख्य गरेर लिम्वुवानको सिमानाको सवालमा व्यापक कुरा उठेको थियो । माओवादीले प्रस्ताव गरेको कोचिला प्रदेश झापा, मोरङ र सुनसरी र किरात प्रदेशमा संखुवासभा राखिएकोले उक्त क्षेत्रहरु कुनै हालतमा पनि लिम्वुवानमा रहनु पर्ने र यस कुराको सवैले विरोध गर्नु पर्ने प्रसंग उठेको थियो । किनकी इतिहास देखिनै उक्त भूमिहरु लिम्वुवान राज्य अन्तर्गत रहेका थिए । मधेशमा कुनै कोचिला राज्यको अस्तित्व पनि थिएन ।
तसर्थ ऐतिहासिक पृष्ठभूमिको आधारमा पूर्वमा मेची, पश्चिममा सिस्वा संखुवा अरुण हुदै सप्तकोशी, उत्तरमा तिव्वत र दक्षिणमा भारत विचको ताप्लेजुङ, पानथर, इलाम, झापा, संखुवासभा, तेरथुम, धनकुटा, सुनसरी र मोरङ गरि नेपालको ९ जिल्लाहरु लिम्वुवान राज्य भित्र हुनुपर्ने छलफल भएको थियो । त्यस्तै गरेर लिम्वुवान स्वायत्त राज्य प्राप्तीको लागि विभिन्न पार्टीहरुमा आवद्ध लिम्वु तथा लिम्वुवानवासीहरुलाई पार्टीभन्दा माथि उठी सवै एक भएर लिम्वुवान स्वायत्त आन्दोलनमा लाग्न आग्रह गरिएको थियो । भेलाले उक्त कुराहरु पारित गरी हङकङवाट लिम्वुवानमा सुझाव तथा सन्देश पठाउने निर्णय गरेको थियो । भेलामा वोल्ने क्रममा अध्यक्ष पालुङवाले हामीलाई कुनै पनि हालतमा लिम्वुवान स्वायत्त चाहिन्छ साथै लिम्वुवान स्वायत्त आन्दोलनमा कसैले पनि लिम्वुवानको इतिहासलाई विगारेर धोका दिने हिसावले कार्य गर्नु हुदैन । यदि कसैले त्यस्तो कार्य गरेमा त्यस्ता कुतत्वलाई छोड्नु पनि हुदैन । हामीलाई हाम्रा पूर्खाहरुले जसरी वि.सं. १८३१ मा गोर्खासंग सम्झौता गर्दा दूरदर्शिता अपनाएर कार्य गरे । त्यस्तै हामीले पनि दूरदर्शिता अपनाई हाम्रा सन्ततिहरुलाई विरासत छोडिदिनु पर्ने वताउनु भएको थियो । त्यस्तै गरी महासचिव अविचन्द्र इङनामले पनि लिम्वुवान स्वायत्त राज्य हुनु पर्ने कुराको जिकिर गर्दै सवै जात जाति गोलवन्द भै कार्य गर्नु पर्ने वताउनु भएको थियो । साथै यदि लिम्वुवान स्वायत्त नभएमा आन्दोलनको स्वरुप फेरिएर शसस्त्र आन्दोलन गरेर भए पनि लिम्वुवान राज्य प्राप्त गरेरै छाड्ने वचनवद्धता गरेका थिए ।

No comments: