News

Feb 2, 2008

संघीय गणतान्त्रिक मोर्चाद्वारा आन्दोलनको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम /देबेन्द्र कार्की । February 02, 2008
संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले चुनावी सरकार गठनलगायतका माग राखी आन्दोलनको घोषणा गरेको छ । मोर्चामा सहभागी विभिन्न पार्टी संगठनहरुको वीरगञ्जमा सम्पन्न आन्दोलन संयोजन समितिको बैठकले आम हड्ताललगायतका आन्दोलनको कार्यक्रमको घोषणा गरेको हो ।घोषित आन्दोलनका कार्यक्रममा माघ १८ देखि २५ गतेसम्म प्रचारप्रसार, जनपरिचालन र जनजागरण अभियान, माघ २६ देखि २९ गतेसम्म जिल्ला सदरमुकामसहित प्रमुख शहरहरुमा मसाल जुलुस प्रदर्शन रहेको छ ।
त्यसैगरी माघ २३ गते जनकपुर, २७ गते वीरगञ्ज, २८ गते लाहानमा विरोध सभा गर्ने र फाल्गुन १ गतेबाट अनिश्चितकालीन आम हड्ताल गर्ने मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मोर्चाले विज्ञप्तिमार्फत र्सार्थक संविधानसभाका लागि आन्दोलनकारी सहभागी राष्ट्रिय राजनीतिक सम्मेलन, अन्तरिम संविधानमा चौथो संशोधन र अन्तरिम चुनावी सरकारको गठनपछि मात्रै संविधानसभाको निर्वाचन हुन सक्ने उल्लेख छ ।
संविधानसभाअगावै संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन हुनुपर्ने, जातीय र क्षेत्रीय स्वायत्त राज्यहरुको सुनिश्चितता हुनुपर्ने र संविधानसभा निर्वाचन जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक निर्वाचन पद्धतिमा हुनुपर्ने मोर्चाले विज्ञप्तिमार्फत माग गरेको छ । सात दलले जनताले उठाएका जायज माग पूरा नगरी जबर्जस्ती संविधानसभाको निर्वाचन गर्ने निर्णयगरेर मुलुकलाई अन्त्यहीन द्वन्द्वमा होम्ने काम गरेको मोर्चाले आरोपसमेत लगाएको छ ।
जनताले उठाएका जायज माग पूरा नगरी सात दलले गर्ने तयारी गरेको संविधानसभाको निर्वाचनको कुनै अर्थ नरहने भन्दै विज्ञप्तिमा अर्थहीन संविधानसभा विफल पार्न अवज्ञा आन्दोलन सञ्चालन गर्ने चेतावनी पनि दिइएको छ ।
जारी विज्ञप्तिमा मोर्चासम्बद्ध मधेसी जनअधिकार फोरम मधेसका अध्यक्ष भाग्यनाथ गुप्ता, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कमल छाराहाङ, संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङदेन, मधेशी लोकतान्त्रिक मोर्चाका अध्यक्ष हृदयनारायण चौधरी, लोकतान्त्रिक मधेशी मोर्चाका अध्यक्ष ब्रम्हानन्द उपाध्याय, संयुक्त थारु राष्ट्रिय मोर्चाका उपाध्यक्ष योगेन्द्र थारु, दलित जनजाति पार्टी अध्यक्ष विसेन्द्र पासवान र तामाङसालिङ स्वायत्त राज्य परिषद्का अध्यक्ष डीके बुद्धिष्टको हस्ताक्षर रहेको छ ।

No comments: