News

Feb 22, 2008

मोर्चाले गरेको अनिश्चितकालीन बन्दले झापाको सञ्चार क्षेत्र प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,बिर्तामोड
झापाबाट प्रकाशित हँदै आएका सम्पूर्ण दैनिक तथा साप्ताहिक अखबारहरु शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द भएका छन् । ती अखबारहरुको बिहीबार बसेको आकस्मिक बैठकले कागज तथा मसी अभाव भएको एवं वितरणमा समेत समस्या सृजना भएको भन्दै शुक्रबारदेखि प्रकाशन बन्द गर्ने निर्णय गरेको हो ।
झापाबाट हाल ६ वटा दैनिक र एक दर्जन साप्ताहिक अखबार प्रकाशित हुँदै आएका छन् । अखबार प्रकाशनका लागि कागज, मसीलगायतका सामग्री आपूर्ति हुन छाडेको एवं पत्रिका वितरणमा हिँडेका सवारी साधनलाई बाटैमा रोकेर ध्वस्त बनाउने क्रम बढेकोले प्रकाशन बन्द गर्नुपरेको ती दैनिकका प्रतिनिधिले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा मधेशवादी दलहरु तथा संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाले गरेको अनिश्चितकालीन बन्दले झापाको सञ्चार क्षेत्र गम्भीर रुपमा प्रभावित भएको ठहर गर्दै शुक्रबारदेखि सबै दैनिक तथा साप्ताहिक अखबारहरु अनिश्चितकालका लागि बन्द गर्नुपरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा पत्रिका प्रकाशनका लागि आवश्यक सामग्रीको व्यवस्था गर्न तथा समाचार संकलन एवं पत्रिका वितरणमा सहज वातावरण बनाउन सरकारसँग माग गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाले जारी गरेको सो विज्ञप्तिमा झापाका विवेचना, पूर्वाञ्चल, जनसंसद, मेची टाइम्स, अर्जुनधारा, पूर्व सन्देश दैनिक तथा साप्ताहिक/पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघ मेचीका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ ।

No comments: