News

Aug 26, 2008

बेइजिङस्थित नेपाली दूतावासमा स्वागत समारोह प्रधानमन्त्रीको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्मानमा चीनका लागि नेपाली राजदूत टङ्कप्रसाद कार्कीले सोमबार साँझ बेइजिङस्थित नेपाली दूतावासमा स्वागत समारोहको आयोजना गर्नुभयो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफनो नेतृत्वमा नयाँ सरकार बनेपछि मन्त्रिमण्डलको पहिलो बैठकले आफनो चीन भ्रमणसम्बन्धी निर्णय गरेको जानकारी दिँदै नेपाल र चीनबीचको सम्बन्धमा यसको दुरगामी र बहुआयामिक महत्त्व भएको बताउनुभयो।प्रधानमन्त्री प्रचण्डले हिजो चीनका राष्ट्रपति हु जिन्ताओ र प्रधानमन्त्री वान ज्या बाओसँग नेपाल र चीनबीचको सुमधुर सम्बन्धका साथै आउँदा दिनमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सबै क्षेत्रको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा सकारात्मक ढङ्गले छलफल भएको जानकारी दिनुभयो।उहाँले भन्नुभयो- समयको अत्यन्त ठूलो चापका बाबजुद हामीलाई महत्त्व दिई चिनियाँ सरकारले समय निकालेर नेपाल-चीन सम्बन्ध तथा द्विपक्षीय सहयोगको क्षेत्र विस्तार गर्नेबारेमा गरिएका विचारको आदानप्रदानले भावी दिनमा नयाँ नेपाल निर्माणमा असाध्यै महत्त्वपूर्ण भूमिका खेल्नेछ।समारोहमा राजदूत कार्कीले ऐतिहासिक ओलम्पिक खेल आयोजना गर्ने कार्यमा चीनसँग ऐक्यबद्धता जनाउन प्रधानमन्त्री प्रचण्डको यो भ्रमणले मद्दत पुर्याएको बताउनुभयो।सोमबार नै प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डलले चिनियाँ नेता माओ त्से तुङको समाधिस्थल गई उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको थियो। त्यसै गरी नेपाली प्रतिनिधिमण्डलले सोमबार बिहान नेपाली कलाकार अरनिकोद्वारा बेइजिङमा तेह्रौं शताब्दीमा निर्मित श्वेत चैत्य, फर्बिडन सिटी र बोटानिकल गार्डेनको अवलोकन भ्रमण गरेको थियो।

No comments: