News

Aug 19, 2008

परम्परा तोड्दै प्रचण्ड प्रधानमन्त्रीको कुर्र्सीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सत्तासाझेदारीको तयारीमा रहेका दलहरूबीच मन्त्रिपरिषद् गठनबारे विवाद बढ्दै गए पनि गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले सोमबार शपथग्रहण गरेलगत्तै कार्यभार सम्हाल्नुभएको छ। राष्ट्रपति डा. रामवरण यादवबाट राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका बीच शपथग्रहणपछि प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउने र जनताका लागि तत्काल राहत कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।चार दिनअगाडि शुक्रबार संसद्बाट भारी मतले प्रधानमन्त्री पदमा निर्वाचित भएपछि कुनै पनि समारोहमा पटक्कै नबोल्नुभएका प्रचण्डले प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि पत्रकारहरूको जिज्ञासामा छोटो मन्तव्य राख्दै दश वर्षो जनयुद्ध, पछिल्लो तीन वर्षो शान्ति प्रक्रिया र आन्दोलनले आफूलाई यो ठाउँमा पुर्याएको बताउनुभएको छ। प्रधानमन्त्री भएकोमा औधी खुसी व्यक्त गर्दै प्रचण्डले अहिले यो अवस्थामा कुन शब्दले खुसी व्यक्त गरौं भन्न सकिरहेको छैन भन्नुभयो।उहाँले परिस्थिति रोमाञ्चकारी रूपमा विकसित भएको छ, यसलाई व्यवस्थित गर्नुछ भन्नुभयो।नेपाली सेनाको विशेष सलामी खाँदै दुलहीझैं सिंगारिएको राष्ट्रपति भवनको प्रांगणमा शपथ लिनुभएका प्रधानमन्त्री प्रचण्ड अहिलेसम्मकै परम्परालाई तोड्दै खैरो रंगको सुट’, कालो भादगाउँले टोपी र टाइमा उपस्थित हुनुभएको थियो।यसअघिसम्म प्रधानमन्त्रीको पदमा रहँदा राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाउने परम्परा थियो। प्रधानमन्त्री प्रचण्डले शपथपत्रमा उल्लेख भएको इश्वरको नाममा’ को सट्टा जनताको नाममा शपथ लिनुभएको थियो।शपथग्रहण समारोहमा प्रधानमन्त्रीको दायाँ र बायाँतिर संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, राष्ट्रपति डा. रामवरण यादव, प्रधान न्यायाधीश केदारप्रसाद गिरी राष्ट्रिय पोसाकमै हुनुहुन्थ्यो भने उपराष्ट्रपति परमानन्द झा भने धोती कुर्तामा उपस्थित हुनुहुन्थ्यो।प्रमुख राजनीतिक दलका नेता, संवैधानिक अंगका पदाधिकारी, कूटनीतिक नियोगका प्रमुखहरू, सभासद्, निवर्तमान मन्त्री, पत्रकारलगायत विशिष्ट व्यक्तित्वहरूले मात्र होइन, भारतीय जनता दल (एकीकृत) का अध्यक्ष एवम् नेपाल-भारत संसदीय मञ्चका अध्यक्ष शरद यादवको नेतृत्वमा आएको भारतीय टोलीले पनि प्रधानमन्त्री प्रचण्डलाई बधाई ज्ञापन गरेको थियो तर निवर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला शपथ समारोहमै उपस्थित हुनुभएन भने प्रधान सेनापति रुक्मांगद कटवालले उपस्थित भएर बधाई दिन शपथ समारोहको मञ्चमा जानुभएन।शपथ समारोहको मञ्चकै पछाडिपट्टी उभिनुभएका प्रधानसेनापति कटवाललाई प्रधानमन्त्रीको सुरक्षामा खटिएका माओवादी लडाकूको निर्देशनमा गृहसचिव उमेश मैनालीले त्यहाँबाट हटाउनुभएका कारण पनि कटवाललाई बधाई दिन जान जाँगर नलागेको सम्बद्ध स्रोतले बताएको छ।

No comments: