News

Aug 22, 2008

बाढीपीडितलाई सहयोग गर्न प्रधानमन्त्रीद्वारा अपिल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सप्तकोसीको बाँध भत्केर सुनसरी जिल्लामा भएको जनधनको क्षतिप्रति दुख प्रकट गर्दै उद्धार र राहत सञ्चालन गर्न तथा क्षतिग्रस्त पूर्वाधार संरचनाहरूको पुननिर्माण गर्नका लागि सहयोग गर्न सबै मित्रराष्ट्रहरू र अन्य अन्तर्राष्ट्रिय समुदायलाई आहृवान गर्नुभएको छ ।प्रधानमन्त्री दाहालद्वारा प्रकाशित अपिलमा केही दिनअघि अप्रत्यासित रूपमा सप्तकोसी नदीको तटबन्ध फुटेर सुनसरीको श्रीपुर, हरिपुर र कुसाहासमेतका तीन गाउँ विकास समिति पूर्ण रूपमा र अन्य चार गाउँ विकास समिति आंशिकरूपमा जलमग्न भई हजारौं परिवार विस्थापित भएको तथा ५० हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएको अत्यन्त पीडादायी तथा विपत्तिपूर्ण स्थितिबाट नेपाल सरकार अत्यन्त दुखी भएको उल्लेख गरिएको छ ।अपिलमा यस विपत्तिपूर्ण प्रकोपबाट अमूल्य धनसम्पत्तिको क्षति पुग्न गएकोमा सरकार अत्यन्त मर्माहत भएको उल्लेख छ । प्रधानमन्त्रीले यो घटना के कसरी हुन गएको हो भन्ने सम्बन्धमा सरकारले गम्भीरतापूर्वक छानविन गरी वास्तविकता जनसमक्ष ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।अपिलमा भनिएको छ, "कोसी नदीको बाँध भत्किइ आएको यस त्रासदीपूर्ण बाढीले करिब एक हजार घर र हजारौं विघा खेतीको जमीन बगाएको छ भने हजारौं घर प्रभावित भएका छन् र थुप्रै पुलपुलेसा, करिब ३ किलोमिटर पूर्वपश्चिम राजमार्ग भत्किएको, खानेपानी तथा टेलिफोन लाइन अबरुद्ध भएको छ ।"प्रधानमन्त्री दाहालले सरकारको प्रयासमा थप सहयोग गर्न राजनीतिक दल, राजनीतिकर्मी, उद्योगपति, व्यापारी, औद्योगिक प्रतिष्ठान, व्यवसायी, राष्ट्रसेवक कर्नचारी, नागरिक समाज तथा सम्पूर्ण नेपाली दाजुभाइलाई आवश्यक सहयोग गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा गर्नसमेत अपिल गर्नुभएको छ ।

No comments: