News

Aug 27, 2008

विश्व बैंकद्वारा आठ अर्ब भन्दा बढी सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाले सरकारलाई झण्डै ८ अर्ब ८६ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । विश्व बैकले, आपतकालीन शान्ति सहयोग कार्यक्रम, स्वास्थ्य क्षेत्र कार्यक्रम र दोस्रो ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन गर्न सरकारलाई अनुदान दिएको हो ।अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा मंगलबार हस्ताक्षर भएको छ । माओवादीले सरकारको नेतृत्व गरेपछि बहुर्राष्ट्रिय दातृ संस्थाबाट प्राप्त भएको यो पहिलो अनुदान हो । अनुदान रकममध्ये आपतकालीन शान्ति सहयोग कार्यक्रमका लागि ३ अर्ब ४८ करोड, स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि ३ अर्ब ४८ करोड र दोस्रो ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमका लागि १ अर्ब ८८ करोड रुपैया छुट्टयाइएको छ ।अर्थमन्त्रालयका अनुसार आपतकालीन शान्ति सहयोग कार्यक्रमका लागि उपलब्ध हुने अनुदान रकमबाट द्वन्द्वबाट पीडित पक्षहरुका लागि राहत उपलब्ध गराइने, द्वन्द्वका क्रममा मारिएका परिवारका लागि राहत दिइने, विस्तृत शान्ति सम्झौता अन्तर्गत माओवादीका लडाकूहरुलाई उपलब्ध गराइने भनिएको तलब भत्ता दिइने छ ।यस्तै शान्ति निर्माण, पुनस्थापनाजस्ता कार्यक्रमका लागि सरकारको क्षमता अभिवृद्धिमा अनुदान रकम खर्चिनेछ । सम्झौतापछि शिविरमा रहेका माओवादी लडाकूहरुले केही महिनादेखिको भत्ता पाउनेछन् । यस्तै स्वास्थ्य क्षेत्र कार्यक्रमको अनुदान रकम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको क्षमता अभिवृद्धि गर्न तथा अत्यावश्यक स्वास्थ्य सेवालाई ग्रामीणक्षेत्रमा विस्तार गर्न खर्चिनेछ । सहयोग सम्बन्धी सम्झौतामा अर्थसचिव रामेश्वरप्रसाद खनाल र विश्व बैङ्कका नेपालस्थित राष्ट्रिय निर्देशक सुसान गोल्डमार्कले हस्ताक्षर गर्नुभयो । समारोहमा अर्थमन्त्री डा. बाबुराम भट्टराइ र विश्व बैङ्कका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष इसावेल गुरेरो उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा नेपालको सामाजिक, आर्थिक सहयोगमा विश्व बैङ्कले उल्लेखनीय सहयोग पुर्‍याएको भन्दै अर्थसचिव खनालले आभार व्यक्त गर्नुभयो ।

No comments: