News

Aug 28, 2008

कोसी बाढीका कारण वैकल्पिक राजमार्ग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसीको बाढीले पूर्वपश्चिम राजमार्गको सुनसरी लौकहीदेखि कोसीब्यारेजसम्मको सडक क्षतिग्रस्त बनाएपछि १० दिनदेखि यातायात चल्न सकेको छैन । यसले गर्दा हजारौं यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् भने सामान पनि ढुवानी हुन पाएको छैन । यात्रुहरु चतरा-उदयपुरको सडकबाट विकल्पका रुपमा गन्तव्य जान थालेका छन् ।राजमार्ग बन्द भएपछि दैनिक हजारौ यात्रुहरुले उक्त वैकल्पिक मार्गलाई प्रयोग गरेका हुन् । उक्त मार्ग भएर दैनिक दुइ हजारभन्दा बढी यात्रुहरु जाने गरेका छन् । बीचमा पर्ने नदीमा डुंगाको सहायताले तर्ने गरेका छन् । सुनसरीको झुम्का बजारबाट करिब २२ किलोमिटर टाढा ग्राभेल सडक यात्रापछि चतरा घाटमा पुगिन्छ ।चतरा घाटबाट दुइ स्थानमा नदी तरेपछि उदयपुर जिल्लाको रामपुर ठोक्सिला हुँदै जान सकिन्छ । हाललाई यो सडक विकल्पका रुपमा प्रयोग गरिए पनि त्यस क्षेत्रमा चोरी डकैती हुने गरेकाले असुरक्षित रहेको स्थानीय बासिन्दाको भनाइ छ । रामपुरका गोविन्द खतिवडाका अनुसार यात्रुहरुको सामान बोकिदिएर सहयोग गर्ने बहानामा चोरी हुने गरेको छ ।उक्त राजमार्गबाहेक भारततिरको लामो बाटो भएर पनि यात्रुहरु गन्तव्य गइरहेका छन् । कोसीले सुनसरीको लौकहीदेखि व्यारेजसम्मको १२ किमि सडक क्षतिग्रस्त बनेको छ । नदी राजमार्गमै बगिरहेको अवस्था छ । राजमार्ग चाँडै बन्ने छाँट नहुँदा दसैंको मुखमा लाखौं यात्रुहरु घर पुग्न नपाउने अवस्था सिर्जना भएको छ ।

No comments: