News

Aug 14, 2008

माओवादीलाई नौ, एमालेलाई छ, फोरमलाई चार मन्त्रालय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ सरकारमा सहभागी हुनका लागि तीन दलबीच सहमति भएसँगै मन्त्रालयहरुको बाँडफाँडमा पनि सहमति गरिएको छ । माओवादी, एमाले र मधेसी जनअधिकार फोरमबीच नयाँ सरकार माओवादीको नेतृत्वमा बन्ने सहित सात बुँदे लिखित सहमति भएको छ । यसैगरी मन्त्रालय बाँडफाँडको अनौपचारिक सहमति पनि गरिएको बताइएको छ । यसबारे थप छलफल गरिने पनि दलहरुले जनाएका छन् ।दलहरुको सहमति अनुसार सरकारको नेतृत्व गर्ने माओवादीलाई नौ मन्त्रालय दिइने भएको छ । यसैगरी एमालेलाई ६ अनि फोरमलाई चार मन्त्रालय दिइने भएको छ । माओवादीले प्रधानमन्त्री सहित रक्षा, अर्थ, शान्ति तथा पुनस्थापना, शिक्षा, भौतिक योजना तथा निर्माण, भूमिसुधार, कानुन तथा न्याय, श्रम र युवा मन्त्रालय लिने भएको छ ।यसैगरी एमालेका भागमा गृह, परराष्ट्र, स्थानीय विकास, संस्कृति तथा पर्यटन, वन र जलस्रोत मन्त्रालय परेको छ भने फोरमले सूचना तथा सञ्चार, कृषि, उद्योग वाणिज्य तथा आपूर्ति अनि महिला तथा बालबालिका मन्त्रालय पाउने भएको छ । सरकारमा कांग्रेस सहित अन्य दलहरुलाई पनि सहभागी गराउने प्रयास गरिने नेताहरुले जनाएका छन् । ती दल सरकारमा सहभागी हुने भए मन्त्रालय बाँडफाँडको अवस्था पुनर्विचार हुनसक्ने नेताहरुले बताएका छन् ।

No comments: