News

Aug 23, 2008

प्रधानमन्त्री प्रचण्डको पहिलो पटक संबोधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतका तिक्ततालाई बिर्सेर नयाँ नेपाल निर्माण अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । जनताका नाममा आज शनिबार पहिलो पटक संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र स्वतन्त्रतालाई दिगो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो नेतृत्वको सरकारले छोटो अवधिमै देशलाई अघि बढाउने प्रतिबद्धता ब्यक्त गदै प्रधानमन्त्री प्रचण्डले नेपाल नरहे नेपाली पनि नरहने बताउनुभयो । राष्ट्रिय गणतन्त्र र जनगणतन्त्रबीच सन्तुलन कायम गरी लोकतन्त्र र स्वतन्त्रतालाई दिगो बनाउने बताउदै उहाँले राजनीतिक दलहरुलाई संकीर्ण दलगत स्वार्थबाट माथि उठेर सम्वृद्ध नयाँ नेपाल निर्माणमा सहयोग गर्न आहृवान गर्नुभयो । नेपाली सेना, प्रहरी लगायत जनमुक्ति सेना र निजामती कर्मचारीहरुलाई पूर्वाग्रह नराखी काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।पूर्वको कोशी नदी डुबानबाट भएको धनजनको क्षतिप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले पीडितहरुका लागि सरकारले तत्काल राहत प्रदान गर्ने आश्वासन दिनुभयो । साथै विगतका सरकारले विभिन्न पक्ष तथा समुदायसँग गरेका सहमतिहरु कार्यान्वयन गर्ने प्रतिबद्धता समेत प्रधानमन्त्रीले जनाउनुभयो । जनताको आधारभूत आबश्यकतालाई नयाँ सरकारले बिशेष ध्यान दिने बताउदै उहाँले भष्ट्राचार निर्मूल गर्न बिशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो । लोकतान्त्रिक मूल्य र मान्यतामाथि हुने प्रहारलाई निरुत्साहित गरी मानव अधिकार, विधिको शासन लगायत सक्षम न्याय प्रणाली अबको सरकारको प्राथमिकता हुने उहाँको भनाई थियो । औद्योगिक अर्थतन्त्र निर्माणमा मुख्य रुपले जोड दिने र बैदेशिक लगानीलाई प्रोत्साहन गर्ने समेत उहाँले बताउनुभयो । द्वन्द्वको दिगो समाधान खोजी शान्तिलाई तार्किक निष्कर्षमा पुर्‍याउने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

No comments: