News

Aug 25, 2008

राष्ट्रपति यादव बाढीपीडितहरुको पीडा बुझ्दै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तकोसी डुबान क्षेत्रको निरीक्षण गर्न सुनसरी पुग्नुभएका राष्ट्रपति डा. रामवरण यादवले पीडितहरुको अवस्थाबारे पूर्वी क्षेत्रका सुरक्षा प्रमुखहरुसँग जानकारी लिनुभएको छ । उहाँ आज सोमबार बिहान सेनाको हेलिकप्टरबाट सेनाको पूर्वी पृतना मुख्यालय इटहरी पुग्नु भएको हो । उहाँसँगै राष्ट्रपति कार्यालयका सचिव रामहरि अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव दिपेन्द्रविक्रम शाक्य र गृह प्रवक्ता मोदराज डोटेल पनि जानुभएको छ ।सुरक्षा प्रमुखहरुसँग जानकारी लिएपछि उहाँले बाढीपीडितहरुको उद्धार र राहत वितरण कार्यको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले डुबानक्षेत्र र विस्थापितहरुलाई राखिएको स्थानमा पनि निरीक्षण भ्रमण गर्नुभएको छ । राष्ट्रपति यादवले उहाँले राजनीतिक दलका स्थानीय कार्यकर्ता र उद्धारकर्मीसित पनि भेट्ने जनाइएको छ ।यसैबीच सप्तकोशी बाढी पीडितहरुको उद्धार तथा विस्थापितहरुको लागि राहत वितरण कार्य आज पनि जारी रहेको छ । नेपाली सेना, सशस्त्र र जनपद प्रहरीले बिहानैदेखि उद्धार जारी राखेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका पश्चिम कुशाहा, श्रीपुर, हरिपुर र लौकहीका बाढी पीडितहरुको लगत संकलन भइरहेको र हालसम्म २३ हजारको लगत संकलन भइसकेको प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो । बाढीबाट बिचल्लीमा परेका २१ हजार सर्वसाधारणलाई आजसम्ममा उद्धार गरी जिल्लाका विभिन्न २३ वटा विद्यालय, क्याम्पस, मदरसा, मस्जिदहरुमा राखिएको छ । उद्धार तथा राहत वितराण्को लागि करिव एक हजार सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ । यस्तै जिल्ला कृषि विकास कार्यालय सुनसरीले कोशी नदीको वाढीले ५ हजार हेक्टर जग्गामा लगाइएको धानवाली नष्ट गरेको जनाएको छ । त्यस्तै बाढीले वेमौसमी तरकारी र अन्य वाली पनि वगाउँदा करिव १० करोड रुपैंयाको क्षति भएको अनुमान उक्त कार्यालयले गरेको छ ।

No comments: