News

Sep 27, 2008

माओवादीबाट लोकतन्त्रमाथि आक्रमण भएको - गिरिजाप्रसाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीबाट लोकतन्त्रमाथि आक्रमण भएको र त्यो आफ्नो दललाई अस्वीकार्य रहेको बताउनुभएको छ । राजधानीमा जहाँ स्कुल, त्यहाँ नेविसंघ अभियान अन्तर्गत शुक्रबार आयोजित कार्क्रममा उहाँले यस्तो बताउनुभएको हो । लोकतन्त्रमाथिको आक्रमण आफूलाई कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै कोइरालाले यसप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुर्जुवा संसदीय प्रजातन्त्रमा विश्वास छैन भन्नु लोकतन्त्र समाप्त पार्ने सुरुवात भएको टिप्पणी गर्दै कोइरालाले संसदीय व्यवस्था र लोकतन्त्रमाथिको आक्रमण आफूलाई सैह्य नहुने उल्लेख गर्नुभयो । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले लोकतन्त्रप्रति दिएको चुनौती हो भने आफू यो चुनौती सामना गर्न तयार रहेको समेत बताउनुभयो ।लोकतन्त्रलाई कमजोर बनाउका लागि माओवादी छापामार हतियार बोकेर संविधानसभा परिसर प्रवेश गरेको कोइरालाले उल्लेख गर्नुभयो । संसद परिसरमा आफ्ना बन्दुकधारी कार्यकर्ता प्रवेश गर्दा प्रधानमन्त्री दाहाल अमेरिकामा बसेर तमासा हेर्दै गरेको टिप्पणी समेत गर्नुभयो ।राष्ट्रिय सेनामाथि राजनीति नगर्न समेत माओवादीलाई कोइरालाले आग्रह गर्नुभयो । नेपाली सेना कसैको पकेटको आर्मी होइन भन्दै उहाँले राष्ट्रिय सेनामा कुनै पनि अवस्थामा राजनीतीकरण गर्नु नहुनेमा जोड दिनुभयो । वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिअनुरुप आफूले माओवादीसँग संवाद र सहकार्य गरेको उहाँले उल्लेख गर्नुभयो ।

No comments: