News

Sep 28, 2008

वान की मुन कात्तिक १४ गते दुइ दिने नेपाल भ्रमणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन आगामी कात्तिक १४ गते दुइ दिने नेपाल भ्रमणमा आउनु हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र महासचिव मुनबीच शनिबार राति अमेरिकाको न्यूयोर्कमा भएको भेटमा भ्रमणको मिति तय भएको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि प्रतिनिधि हीराबहादुर थापाले सञ्चारमाध्यमहरुलाई जानकारी दिनुभएको हो । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा महासचिव मुनले नेपालको ऐतिहासिक राजनीतिक परिवर्तन र शान्ति प्रक्रियामा भइरहेको प्रगतिको प्रशंसा गर्नुभएको थियो भने नेपाली सेनाले शान्तिसेनामा पुर्‍याएको योगदानको पनि प्रशंसा गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले महासचिव मुनलाई नेपालको आर्थिक विकासमा निरन्तर सहयोगका लागि आग्रह पनि गर्नुभएको थियो । भेटका क्रममा महासचिव बानले प्रधानमन्त्रीलाई नेपालमा भएको ऐतिहासिक राजनीतिक रूपान्तरणका साथै शान्ति र लोकतन्त्र प्राप्तिमा देखिएको उपलब्धिका लागि बधाई दिनुभएको थियो । महासचिव मुनले आफु नेपाल आएपछि राष्ट्रसंघले नेपाललाई शान्ति कोषमार्फत दिदै आएको रकमबारे बिस्तृत कुराकानी गर्ने समेत बताउनु भएको थियो ।मुनले सुडानमा नेपाली शान्तिसेनाको संख्या थप्न र सोमालियामा शान्ति सेना पठाउन गरेको प्रस्तावमा प्रधानमन्त्रीले सुडानमा थप नेपाली सेना पठाउने निर्णय भइसकेको र सोमालियामा पनि पठाउन आफ्नो सरकार सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो । उहाँहरुबीच नेपालको शान्तिप्रकियामा सहयोग गर्न खटिएको राष्ट्रसंघीय मिसन अनमिनको भबिष्यका बारेमा पनि छलफल भएको थियो । महासचिव मुनले माओवादी सेनालाई लामो समयसम्म शिविरमै राखिरहनु व्यवहारिक नहुने धारणा ब्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारीसँग पनि भेट गर्नुभएको बताइएको छ । उहाँहरूबीच द्विपक्षीय र आपसी चासोका विषयमा छलफल भएको न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ । यसैगरी प्रधानमन्त्री प्रचण्डले भियतनामका उपप्रधानमन्त्री फाम गिया खेमसँग भेट गर्नुभएको छ ।

No comments: