News

Sep 28, 2008

योग्यताका आधारमा माओवादी सेना समायोजन गर्नुपर्ने - झलनाथ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादी नेताहरुको भनाईबिपरित माओवादी नेतृत्वको सरकारमा सहभागि दोश्रो ठूलो दल एमालेका महासचिव झलनाथ खनालले राष्ट्रिय सेनामा ब्यक्तिगत योग्यताका आधारमा माओवादी सेना समायोजन गर्नुपर्ने बताएका छन् । माओवादी नेतृत्वको सरकारमा सहभागि दोश्रो ठूलो दल एमालेका महासचिव झलनाथ खनालले राष्ट्रिय सेनामा समायोजन हुने माओवादी जनमुक्ति सेना ब्यक्तिगतरुपमा योग्य हुनुपर्ने तथा माओवादी पार्टीको सदस्यता त्याग्नुपर्ने बताएका छन् । माओवादी जनमुक्ति सेना राष्ट्रिय सेनामा सामूहिकरुपमा समायोजन हुनुपर्ने धारणा माओवादीका वरिष्ठ नेताहरुबाट आइरहेकोबेला असोज १२ गते एमाले महासचिवबाट राजधानीमा आयोजित एउटा कार्यक्रममा यस्तो धारणा आएको हो । रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले माओवादी जनमुक्ति सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्नेसम्वन्धि बिस्तृत तरिका भने मन्त्री स्तरीय समितिले तय गर्ने उल्लेख गरे ।
माओवादी नेता तथा सभासदका माओवादी अंगरक्षकले संविधानसभा परिशरमा हतियार लानु शान्तिसम्झौता र बिगतका सहमति बिपरित भएको पनि कार्यक्रममा खनालले बताए । उप प्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम र माओवादीका केही नेताबीच असोज ११ गतेदेखि सार्वजनिकरुपमा यो बिबाद चर्केको बेला एमाले महासचिव खनाल आफ्नो पार्टीका नेता तथा उप प्रधानमन्त्री गौतमको प्रतिरक्षामा उभिएका हुन् । 'माओवादी नेता तथा सभासदबाट अब हतियारसहितका अंगरक्षक नलाने प्रतिवद्धता आउनुपर्छ' कार्यक्रममा खनालले भने ।
सरकारको समिक्षा गर्ने बेला भइनसकेको बताउदै एमाले महासचिव खनालले माओवादीको ब्यवहारले सरकारको आयु निर्धारण हुने पनि धारणा राखे । शान्तिसुरक्षाको स्थितिमा सकारात्मक सुधार हुँदै गएको उल्लेख गर्दै कार्यक्रममा खनालले तराईका केही सशस्त्र समूहले धम्की दिदैमा राष्ट्र बिखण्डन नहुने बताए ।

No comments: