News

Oct 15, 2008

कमैले मात्रै सही ढंगले हात धुन सक्छन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
खाना खानुअघि र खाइसकेपछि हात धुनुपर्छ भन्ने धेरैले सुनेका छन् र धुने गरेका पनि छन्। तर कमैले मात्रै सही ढंगले हात धुन सक्छन् भन्दा तपाईंलाई आफूले गरेको काम कति प्रभावकारी रहेछ त भन्ने लाग्न सक्छ।नेपालका सर्न्दर्भमा सरसफाइको आनीबानीमा आएको परिवर्तनको दिगोपनसम्बन्धी अध्ययनले हात धुनुपर्छ भन्ने चेतनास्तर अधिक भए पनि धेरैले सही र प्रभावकारी ढंगले हात धुन नसकेको देखाएको छ।अधिकांश विकासशील र कम विकसित मुलुकमा पानीले मात्रै हात धुने, साबुनको सट्टा माटो प्रयोग गर्ने, एउटै तौलिया धेरै पटक प्रयोग गर्ने, साबुन प्रयोग गरे पनि राम्ररी फिँज ननिस्कीकनै धुने र हात धोएपछि नपुछ्ने चलनले गर्दा हात धोए पनि नधोएसरह बनाउने गरेको अध्ययनले देखाएको छ। विशेषज्ञहरूले साबुन पानीले कम्तीमा १५ सेकेन्डसम्म फिँज आउने गरी नङ, औंलाका काप र हत्केला अगाडिपछाडि धुनुलाई उचित तरिका भएको सुझाएका छन्।विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सरसफाइको अभावमा नेपालमा १३ हजार र विश्वभर बर्से १५ लाख बालबालिकाले पाँच वर्षनपुग्दै ज्यान गुमाउँछन् भने विकासशील देशका अस्पतालका ८० प्रतिशत शय्याहरू फोहोरबाट उब्जिने रोगव्याधिका कारण हुने बिरामीले कहिल्यै खाली हुँदैनन्।संगठनले सरसफाइमा उचित ध्यान दिँदै साबुन पानीले राम्रोसँग नियमित हात धोएमा झाडापखालाको दरलाई ४५ प्रतिशत कम गर्न सकिने र झाडापखालाबाट हुने मृत्युदरलाई एक तिहाइ घटाउन सकिने जनाएको छ। हामीलाई सधैं सामान्य लाग्ने तर गर्न सके धेरै रकम र ज्यान बचाउन सकिने कारण हात धुने विषय हो’ -नेपाल स्वास्थ्यका लागि पानी (नेवा) का सञ्चार अधिकृत भरतराज अधिकारीले भन्नुभयो।यसै प्रसंगमा प्रत्येक अक्टोबर १५ का दिन यसपालिदेखि विश्व हात धुने दिवस मनाइने भएको छ। यसअनुसार नेपालमा पनि विभिन्न सरकारी, गैरसरकारी संघसंस्थाको प्रयासमा आज विश्व हात धुने दिवस मनाइँदै छ।

No comments: