News

Oct 23, 2008

कारागारमा झडपमा एक दर्जनभन्दा बढी कैदी घाइते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्ज कारागारमा कैदीहरूबीच आपसमा झडप भएको छ। झडपमा एक दर्जनभन्दा बढी कैदी घाइते भएका छन्। नाइकेका विषयमा केही दिनदेखि आपसमा विवाद गर्दै आइरहेका दुइ समूहका कैदीबीच बुधबार साढे ६ बजे झडप भएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो।झडपमा परेर घाइते भएका ६ जनालाई प्रहरीले राति साढे १० बजे भेरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याएको छ। अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेहरूमा लालबहादुर बुढा, मेराज शेष, राजु बर्मा, गुरुवा चमार, नन्दलाल लोनिया र बाडु साह रहेका छन्।उनीहरूको टाउको, हातमा बढी चोट लागेको छ। घाइते शेषका अनुसार शिक्षामन्त्री रेणुकुमारी यादवसँग आफनो गुनासो सुनाइरहेको समयमा अर्को समूह आएर एक्कासि चिर्पटले हानेको थियो। मन्त्री यादवले फोरम समर्थित हीरालाल लोनियालाई बाहिर एक घण्टा भेटेपछि अन्य कैदीहरूको गुनासो सुन्न जानुभएको थियो।कैदीहरू झन्डै चार घण्टासम्म भित्र एक आपसमा लडेका थिए। साढे ६ बजेदेखि शुरू भएको झडप साढे १० बजे साम्य भएको थियो। भित्र कैदीहरू लडिरहँदा पनि सीमा सशस्त्र प्रहरी बलबाट आएका ५० जना, जिल्लाबाट गएको तीन दर्जन बढी र कारागारमै रहेका झन्डै तीन दर्जन प्रहरी बाहिरै रमिते बनेका थिए।प्रहरीहरूले बाहिर घेरा बनाएर बसे पनि भित्र नछिर्दा कैदीहरूबीच लामो समयसम्म ढुंगा हानाहान भएको थियो। घाइते शेषले धेरै कैदी कोठामा भित्रबाट ढोका थुनेर बसेको र बाहिर रहेकामध्ये झन्डै एक दर्जन घाइते रहेको जानकारी दिनुभयो।हाल नाइके रहेका दिनेश जैसीलाई मन नपराउने कैदीहरूले नाइके फेन एक हप्तादेखि दबाब दिइरहेको जेलर खड्गबहादुर गोर्साईले बताउनुभयो।उता कारागारमा झडप भइरहँदा यता जिल्लाका सुरक्षा प्रमुखहरू प्रशासनमा बैठक बसिरहेका थिए। झडप शुरू हुनेबित्तिकै कारागारमा पुगेका पत्रकारहरू गेटबाहिर साढे १० बजेसम्म बस्न बाध्य भएका थिए।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख घनश्याम भट्टले नाइकेले रासनपानी खटनपटनको जिम्मा पाउने हुनाले आफनो मान्छे नाइके बनाउन कैदीहरू समूहमा बाँडिएको र त्यही समूह नै एक आपसमा झडपमा उत्रिएको बताउनुभयो।उक्त कारागारमा एक वर्षघि पनि कैदीहरूका बीचमा झडप भएपछि आठ जना कैदीलाई दाङ कारागारमा सरुवा गरिएको थियो।

No comments: