News

Oct 23, 2008

कतारबाट दुइ सयभन्दा बढी नेपाली फर्कने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कतारको दोहास्थित एक स्थानीय निर्माण कम्पनीमा कार्यरत २१९ जना नेपाली कम्पनी प्रशासनको उदासिनताबाट लामो समयसम्म पीडित भएपछि अब घर फर्कन पाउने संकेत देखिएको छ । नेपाली दूतावासले दिएको जानकारीअनुसार ती कामदारको बक्यौता तलब र घर फर्कनका लागि हवाइ टिकट प्रदान गर्न सम्बन्धित निकायले उक्त कम्पनीलाई आदेश दिइसकेको छ । ती नेपाली कामदारको भविष्यप्रति कम्पनीले कुनै पनि चासो नदेखाएपछि नेपाली दूतावासको पहलमा उनीहरूको मुद्दा श्रम विभागमा लगिएको थियो । कम्पनीमा कार्यरत चारजना बंगालीबाहेक अरू सबै नेपाली रहेका र उनीहरू सबैजना घर फर्कन चाहेको पीडितहरूले बताएका छन् । यसअघि त्यहाँका १० जना नेपाली कामदार स्वदेश फर्किसकेका छन् । कम्पनीले आवास अनुमति र गत तीन महिनादेखि काम नदिलाएपछि सबैजना फर्कन चाहेको र दूतावासको पहलमा उनीहरूको मुद्दा श्रम विभागमा पठाइएको राजदूत डा. सूर्यनाथ मिश्रलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको छ ।'उनीहरूका पक्षमा निर्णय भएको छ' डा. मिश्रले भन्नुभएको छ- 'आशा गरौँ उनीहरूले आफ्नो पाउनुपर्ने रकम र सुविधा लिएर छिट्टै फर्कन पाउनेछन् ।' उनीहरूलाई घर जानमा रहेको कानुनी कठिनाइको समस्या पनि समाधान हुने विश्वास राजदूत डा. मिश्रले व्यक्त गर्नुभयो ।

No comments: