News

Oct 26, 2008

दलहरुको सहकार्य रसमझदारीमा नयाँ संविधान लेखन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहकार्य र समझदारीबिना नयाँ संविधान लेखन र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नसकिने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आयोजित राष्ट्रिय ट्रेड युनियन सम्मेलनको आइतबार राजधानीमा उद्घाटन गर्दै उहाँले राजनीतिक दलहरुबीचको सहकार्य र समझदारीलाई अझ बलियो र घनिभूत बनाउन ट्रेड युनियनले समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।प्रधानमन्त्री दाहालले ट्रेड युनियन फुट्नु र अलग-अलग चल्नु भनेको मजदुर फुट्नु र अलग-अलग चल्नु हो भन्दै संविधानसभा र मन्त्रिपरिषद्ले मजदुर हितको विषयलाई सकारात्मक रुपमा लिएको जानकारी दिनुभयो । नयाँ संविधानमा मजदुर हितका लागि अधिकार सुनिश्चित गर्न संविधानसभामा आफैले प्रस्ताव पेस गर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । आगामी दुइ वर्षभित्रमा नेपाली समाजलाई रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो- हामीसँग जादुको छडी त छैन, तर अवश्यक परिवर्तन गर्छौं र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउँदै नयाँ संविधान लेख्छौं ।नेपालको शान्ति प्रक्रिया, संविधानसभा, विद्रोहीले नयाँ सरकारको नेतृत्व गरिराखेको, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन भइराखेको, नयाँ संविधानको लेखन आरम्भ भइराखेको आदि विषयका कारण नेपालप्रति अन्तर्राष्ट्रिय जगतको आकर्षण भइराखेकोले यो आकर्षणलाई अधिकतम रुपमा राष्ट्रिय हितमा प्रयोग गर्न प्रधानमन्त्री दाहालले सबैसँग आहृवान पनि गर्नुभयो ।

No comments: