News

Oct 18, 2008

एमाले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि प्रकट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बुटवलमा फागुन पहिलो साता पार्टीको आठौं महाधिवेशन गर्ने मूल निश्कर्ष निकालेको एमाले राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गरेको छ । बुटवलमा आठौं महाधिवेशन गर्ने निर्णय गर्दै एमालेको राष्ट्रिय कार्यकर्ता भेला सकिएको छ । फाल्गुण ५ गतेदेखि हुने महाधिवेशनका लागि असोज ३० र कार्तिक १ गते राजधानीमा भएको दुई दिने भेलाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीको संयोजकत्वमा ६१ सदस्यीय मूल व्यवस्थापन समिति पनि निर्माण गरेको छ । एमाले प्रचार बिभाग सदस्य तथा भेलाका सहभागि भानुभक्त ढकालका अनुसार, एक हजार अगुवा कार्यकर्ता सहभागि भेलाको मूख्य उपलब्धी भनेको पार्टी महाधिवेशन फागुनमै हुने पुनर्पुष्टि गर्नु हो । एमाले केन्द्रीय कमिटीको बैठकले यसअघि महाधिवेशनलाई मंशीरबाट फागुनमा सारेको थियो । वैधानिकरुपमा नेतृत्वलाई सुझाव मात्र दिन सक्ने हैसियत रहेको एमाले कार्यकर्ता भेलाले माओवादीसँग पार्टी नेतृत्वले लिएको नीतिप्रति असन्तुष्टि प्रकट गरेको छ । भेलाले माओवादीलाई इंगित गर्दै उग्रबाम अतिवादबिरुद्ध पार्टीले एकता-संघर्ष-रुपान्तरणको नीति लिनुपर्ने सुझाव दिएको छ । यसअघि एमाले नेतृत्वले एकता-संघर्ष-रुपान्तरण-अझ उन्नत स्तरको एकताको नीति लिएको थियो । ढकाल पार्टी नेतृत्वभन्दा भेलाको दृष्टिकोण व्यवस्थित भएको दावी गर्छन् । कम्युनिष्ट पार्टीबीचको एकताबारे पनि एमाले भेलाले आफ्नै नेतृत्वमा एकता अभियान संचालन हुनुपर्ने दृष्टिकोण अघि सारेको छ । शान्तिपूर्ण आन्दोलनमा एमालेले खेलेको भूमिकाका आधारमा एमालेले जनताको बहुदलीय जनवादलाई धुरी बनाएर बाम एकता अभियान अघि बढाउनुपर्ने निश्कर्ष भेलाको छ । भेलाले पार्टीलाई अध्यक्षत्मक तथा बहुपदीय प्रणालीमा लानुपर्ने निश्कर्ष पनि निकालेको छ । मनमोहन अधिकारी जिवित रहँदासम्म एमालेमा अध्यक्ष पद रहे पनि अन्य पदाधिकारीको ब्यवस्था थिएन । पाँच वर्षअघि जनकपुरमा भएको सातौं महाधिवेशनमा केपी ओलीले अध्यक्षात्मक प्रणालीको वकालत गरेको थिए ।तर, महाधिवेशनले उनको प्रस्तावको बिपक्षमा फैशला गरेको थियो ।
श्रोतका अनुसार, सात समूहमा बिभाजित कार्यकर्ता भेलाको दृष्यले एमालेमा महासचिव झलनाथ खनाल पक्ष कमजोर रहेको संकेत दिएको छ । माओवादीप्रति केही नरम रहेको खनाल समूहको बिपक्षमा पूर्व महासचिव माधवकुमार नेपाल र केपी ओलीसहितको समूह एमालेमा प्रभावशाली बनेको निश्कर्ष पनि श्रोतको छ । भेलाले नेतृत्वप्रति असन्तुष्टि जनाउदै महाधिवेशनमा केन्द्रीय नेताहरु पनि चुनिएर प्रतिनिधि हुनुपर्ने सुझाव दिएको छ । यसअघि, एमालेमा केन्द्रीय सदस्यहरु आयोजकका रुपमा सोझै प्रतिनिधि बन्न सक्थे ।

No comments: