News

Aug 11, 2009

उपराष्ट्रपतिको सुनुवाइ सर्वोच्च अदालतमा अवरूद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २८ उपराष्ट्रपति परमानन्द झालाई कामबाट रोक्न माग राखी दिइएको रिट दुईखाले भेटिएपछि सर्वोच्च अदालतमा मंगलबारको सुनुवाइ अवरूद्ध भएको छ। उपराष्ट्रपति झाका कानुन व्यवसायीले बहसका क्रममा निवेदन नै दुईखाले देखिएको भनी आपत्ति जनाएपछि सुनुवाइ रोकिएको हो।विपक्षीलाई दिइएको र इजलासमा पेस भएको रिटको प्रतिलिपिको व्यहोरा नै फरक परेपछि कानुन व्यवसायीले बहस अस्वीकार गरे। इजलासले अन्तरिम आदेशमा केन्दि्रत रही बहस गर्न भनेपछि उपराष्ट्रपति झाका अधिवक्ता सीताराम अग्रवालले भने, 'मैले पाएको नक्कलमा अन्तरिम आदेश नै मागिएको छैन, त्यसैले म अन्तरिम आदेशमा बह गिर्दिन।' उनले बहस नगर्ने भनेपछि इजलासले मंगलबारको सुनुवाइ स्थगित गरेको हो। इजलासले कानुन व्यवसायीलाई अदालतमा रहेको रिटको प्रतिलिपि उपलब्ध गराउने र अर्को सुनुवाइ बुधबार गर्ने आदेश दिएको छ। न्यायाधीशहरू तपबहादुर मगर, रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ, प्रेम शर्मा र भरतराज उप्रेतीको पूर्ण इजलासमा उपराष्ट्रपतिलाई पदमा रही काम गर्नबाट रोक्न अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धी मंगलबार छलफल सुरु गरेको हो। कानुन व्यवसायीलाई दिइएको रिटमा अन्तरिम आदेशको माग गरिएको छैन। तर, एक साताअघि अन्तरिम आदेशका लागि छलफल गर्न बोलाएपछि आफूलाई यसबारे थाहै नभएको कानुन व्यवसायीले जिकिर गरेका थिए। इजलासले उपराष्ट्रपति झाका कानुन व्यवसायीलाई अदालतमा रहेको निवेदनको प्रतिलिपि उपलब्ध गराउन पनि आदेश दिएको छ। सर्वोच्च अदालतले उपराष्ट्रपतिले हिन्दी भाषामा लिएको सपथ गैरसंवैधानिक भएको निर्णय गर्दै गत साउन ९ गते बदर गरेको थियो। नेपाली भाषामा सपथ नलिई पदभार ग्रहण गर्न नमिल्ने भएकाले उपराष्ट्रपति झालाई पदबाट हटाउन माग गर्दै नवराज न्यौपाने र विष्णुप्रसाद बास्तोलाले मंगलबार संयुक्त रूपमा रिट दिएका थिए। झा पक्षका कानुन व्यवसायी मिथिलेशकुमार सिंहले भने,'सर्वोच्च अदालतमा यस्तो पनि हुन्छ, यो त मालपोत कार्यालय जस्तो बेथिति भयो।' निवेदक न्यौपानेले भने आफूले जानी जानी दुईथरी रिट नदिएको बताए। 'धेरै प्रति रिट बुझाउादा सच्याएको र नसच्याएको दुईखाले रिट एकै पटक परेछ,' उनले भने।

No comments: