लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २४ - माओवादी अध्यक्ष पुष्पकमल दाहाल एक साता लामो भ्रमणका लागि शनिबार बेलायत प्रस्थान गरेका छन् । बेलायत प्रस्थान गर्नुअघि राजनीतिक गतिरोध अन्त्यका लागि उनले प्रधानमन्त्री माधवकुमार नेपालसंग गरेको छलफल निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको कोटेश्वरस्थित निवासमा भएको छलफलमा दुवै पक्ष आ-आफ्नो अडानमा अडिग रहेपछि छलफलले कुनै निकास दिएन ।प्रधानमन्त्री नेपालले राष्ट्रपति विरुद्धको संकल्प प्रस्ताव माथि सदनमा छलफल हुन नसक्ने अडान राखेका थिए । दाहालसंगको भेटमा नेपालले विकल्पका रुपमा कार्यदल गठन गरी निकास खोज्न सकिने बताए । उनले माओवादीका माग असान्दर्भिक भएकाले पूरा गर्न नसकिने भन्दै राष्ट्रपति विरुद्ध महाअभियोग लगाउन अध्यक्ष दाहाललाई चुनौति दिएका थिए । जवाफमा अध्यक्ष दाहालले त्यसका लागि सरकारले साथ दिनुपर्ने बताएका थिए । भेट लगत्तै बेलायत जान लागेको अध्यक्ष दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीसंग भएको भेटबारे जानकारी गराएका थिए । उनले एक महिना अघि भएको सहमति पालना नभए सम्म आफ्नो आन्दोलन जारी रहने बताए । नागरिक सर्वोच्चता कायम गरिए सत्ताधारी दलहरुसंग सहकार्य गरेर अघि बढ्न सकिने उनको भनाई थियो । विवादमा रहेको सेनापति रुक्मांगद कटवाल विदामा बसेपछिको अवस्था बारे सोधिएको प्रश्नमा उनले नागरिक सर्वोच्चता कायम नभएसम्म कोही विदामा बस्नु वा हट्नुको आर्थ नभएको टिप्पणी गरे । अध्यक्ष दाहाल युरोपमा रहेका कार्यकर्तालाई प्रशिक्षण दिन शनिबार बेलायत तर्फ प्रस्थान गरेका छन् । अध्यक्ष दाहालसंगै पत्नी सीता र छोरा प्रकाशपनि बेलायत गएका छन् ।
No comments:
Post a Comment