News

Aug 11, 2009

नेत्री आङ सान सुकीलाई थप डेढ वर्ष नजरबन्दको सजाय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
याङ्गुन/ म्यान्मारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई थप डेढ वर्ष घरमै नजरबन्दको सजाय सुनाएको छ । आफ्नो घरभित्र अमेरिकी नागरिकलाई घुस्न दिएर राज्यको सुरक्षा कानुन उल्लंघन गरेको अभियोगको सुनुवाइका क्रममा सुकीलाई सो सजाय दिइएको हो । केही महिनाअघि एक अमेरिकी नागरिक नजिकैको तालमा पौडेर सुकीको घरभित्र पसेका थिए ।संयुक्त अधिराज्यका प्रधानमन्त्री गोर्डेन ब्राउनले फैसला सुकीलाई २०१० मा हुने भनिएको चुनावमा लड्नबाट वञ्चित गर्न बुनिएको जाल भनी टिप्पणी गरेका छन् । उनले कडा शब्दमा फैसलाले आफूलाई दिक्क र क्रुद्ध तुल्याएको बताएका छन् । फैसला लज्जास्पद भएको समेत उनले टिप्पणी गरे । सुकीले गत २० वर्षमा १४ वर्ष बन्दीजीवन बिताउँदै आएकी छिन् । उनको घरमा पस्ने अमेरिकी नागरिक जोन एट्टालाई चार वषर्सम्म कठोर श्रमसहित सात वर्ष जेलसजाय सुनाइएको छ । उनले यसलाई विशुद्ध राजनीतिक सजाय भएको टिप्पणी गरे । ६४ वर्षीय सुकीलाई फैसला सुनाइएपछि अदालतबाट सीधै उनको घर पुर्‍याइएको थियो । फ्रेन्च राष्ट्रपति निकोलास सार्कोजीको कार्यालयका अनुसार राष्ट्रपतिले युरोपेली संघलाई म्यान्मारमाथि थप नाकाबन्दी लगाउन आह्वान गरेका छन् । युरोपेली संघका अध्यक्षले फैसलामा जिम्मेवार व्यक्तिविरुद्ध थप उपायहरू लक्षित गर्ने बताएका छन् । अनपेक्षित रूपमा फैसला गर्नु केहीअघि मात्र पत्रकारहरूलाई याङ्गुनको इन्सेइन बन्दीगृहको इजलासभित्र प्रवेश गर्न अनुमति दिइएको थियो । इजलास कक्षमा पहिले त सुकीलाई तीन वर्षको कठोर कारावासको सजाय दिइएको भनिएको थियो । तर, एकछिनमै गृहमन्त्री कक्षभित्र पसे र मुलुकका सैनिक शासक थान स्वेको विशेष आदेश सुनाउँदै सजाय घटाई १८ महिना पारिएको र त्यसलाई घरमै बन्दी रहन पाउने तुल्याउन सकिने बताएका थिए । फैसलाका क्रममा बन्दीगृहवरिपरि सुरक्षा व्यवस्था कडा पारिएको थियो भने सो क्षेत्र सुरक्षाकर्मीद्वारा बन्द गरिएको थियो ।५४ वर्षे एट्टा मे महिनामा तालमा पौडेर घरभित्र घुसी दुई रातसम्म सुकीको घरमा बसेका थिए । यसै अभियोगमा सुकीलाई घरमै नजरबन्द रहँदा पालन गर्नुपर्ने सर्त पालन नगरेको आरोप लगाइएको थियो । एट्टा मिर्गी, मधुमेह र तनाबले ग्रस्त छन् र अस्पतालमा उपचार गराइरहेका छन् ।

No comments: