लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संसारभर फैलिएको स्वाइन फ्लु रोगको महामारी जाडो बढ्दै जाँदा झनै खतरनाक हुनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी आइरहँदा नेपालमा अधिकारीहरुले आफुहरु त्यसको सामना गर्न तयार रहेको जनाएका छन्। विश्वभर करीब एक लाख मानिसलाई लागिसकेको उक्त रोग नेपालमा भने हालसम्म १७ जनामा फेला परेको छ। जाडो यामको आगमनसंगै अन्य रुघाखोकी जस्तै, एच वान एन वान भनिने भाइरसबाट हुने स्वाइन फ्लुको खतरा निकै बढ्ने भएको कारण संसारभर विभिन्न मुलुकहरुले त्यसको निम्ति चाहिने औषधीमुलो को जोहो गर्न थालिसकेका छन्। उक्त रोगसंग लड्न प्रभावकारी मानिएको टामीफ्लु नामक औषधी नेपालले पनि केही जम्मा गरेर राखिसकेको अधिकारीहरुले जनाएका छन्।स्वास्थ्य मन्त्रालय अन्तर्गतको एभियन इन्फ्लुएन्जा नियन्त्रण आयोजनाका प्रमुख डा जितेन्द्रमान श्रेष्ठका अनुसार करीब ३५ हजार मानिसहरुलाई पुग्ने मात्रामा टामीफ्लुको स्टक सरकारसंग छ। “उचितरुपमा प्रयोग गरीएमा त्यति औषधी पर्याप्त हुन्छ,” डा. श्रेष्ठले भने। स्वाइन फ्लु लागेमा बढी खतरनाक हुने ठानिएका गर्भवती, बालबच्चा तथा अन्य रोगले ग्रसित भइसकेका मानिसहरुलाई बाहेक अन्यलाई यो रोग लाग्दैमा आत्तिएर औषधी खाइहाल्नुपर्ने स्थिति नरहेको उनले वताए। “तर अहिलेको हाम्रो नीति अनुसार हामी रोग लागेको पक्का भएका मानिसहरु र तिनको नजिकका नातेदारहरु समेतलाई यो औषधी दिइरहेका छौं,” श्रेष्ठले जनाए। स्वाइन फ्लुसंग जुध्न सरकारलाई सघाइरहेको विश्व स्वास्थ संगठनका नेपालस्थित प्रतिनिधि डा. एलेक्स एञ्जापारिड्जे नेपालको पूर्वतयारी प्रति सन्तुष्ट छन्। “नेपालका स्वास्थ्यकर्मीहरुलाई तालीम दिइसकिएको छ। हामीले चाहिने सम्पूर्ण उपकरणहरु मगाइसकेका छौं। सेप्टेम्बरको अन्तसम्ममा ती उपकरण यहाँ आइपुग्नेछन् र सबै प्रमुख क्षेत्रीय अस्पतालहरुमा ती उपकरणहरु पुर्याइनेछन्,” एञ्जापारिड्जेले भने। वैज्ञानिकहरु स्वाइन फ्लुको रोकथामको निम्ति खोप निर्माणको तयारीमा जुटिरहेका छन्। तर उक्त खोप तयार भएपनि नेपालमा आउन केही समय लाग्ने ठानिएको छ। बीबीसीका काठमाण्डू संवाददाता भन्छन्, झाडापखालाजस्तो सामान्य रोगले समेत सयौं मानिसहरुको ज्यान गएको नेपालमा स्वाइन फ्लुको महामारीबाट जोगिन सरकारले गरिरहेको तयारीप्रति धेरैको चासो हुनु स्वाभाविको हो।
No comments:
Post a Comment