News

Aug 7, 2009

हैजाको डरले जाजरकोटका अधिकांश विद्यालय रित्तै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २३- वर्षे बिदा सकिएको एक हप्तासम्म पनि जाजरकोटका अधिकांश विद्यालयमा पढाई हुन सकेको छैन। हैजा सर्ने डरले विद्यार्थी नआएको विद्यालयहरुले जनाएका छन्।१५ असारदेखिको एक महिने वर्षे बिदा १५ साउनमा सकिएको छ। बिदा सकिएकै दिनदेखि अधिकांश विद्यालय खुले पनि विद्यार्थी उपस्थित भएका छैनन्। करिब चार सय विद्यार्थी रहेको सुवानाउलीको जनविकास माध्यमिक विद्यालयमा मंगलबार २५ जनामात्र उपस्थित भएका थिए। शिक्षक श्यामराज केसीले भने, 'हामीले स्कुल खोलेका छौँ, अभिभावक नै बालबच्चा पठाउन डराइरहेका छन्।' उनले स्कुल आएका विद्यार्थीलाई २५ गतेपछि आउनु भनेर फिर्ता पठाएको बताए। 'घरघरमा गएर छोराछोरी स्कुल पठाउ भन्दा पनि मान्दैनन्, विद्यार्थी पनि महामारी सर्छ भनेर डराइरहेका छन्,' साढे एक सय विद्यार्थी अध्ययनरत महादेव प्राथमिक विद्यालय, राँकाका प्रधानाध्यापक कर्णबहादुर खड्काले भने। जिल्ला शिक्षा कार्यालयका अनुसार चार सय १० विद्यालय रहेको जाजरकोटमा डोल्पासँग सिमा जोडिएको वीरेन्द्र उच्च माध्यमिक विद्यालयबाहेक सबैले वर्षे विदा गरेका थिए। तर, सदरमुकाम आसपासका एक दर्जनबाहेक प्रायः सबै विद्यालयमा बिदा सकिँदासमेत पढाई सुरु हुन सकेको छैन। कार्यालयका शाखा अधिकृत ललितबिक्रम शाहले भने, 'जिशिकाले विद्यालय बन्द गर्नुभन्दा विद्यार्थीलाई स्वास्थ्य शिक्षा दिएर महामारी नियन्त्रणमा लगाउनु भन्ने निर्देशन दिएको छ, तर विद्यार्थी नै विद्यालय नआएपछि के गर्ने ?' उनले जनचेतनाको अभावले जिशिकाको निर्देशन कार्यान्वयन हुन नसकेको बताए। महामारीबाट अत्यधिक प्रभावित क्षेत्रका केही विद्यालयमा स्वास्थ्य शिविर राखिएका छन्, जसले गर्दा विद्यालय प्रशासनसमेत बन्द छन्। कार्कीगाउँस्थित मनाघाट प्राविमा बिदा सकिएकै दिनदेखि नेपाली सेनाले स्वास्थ्य शिविर राखेपछि विद्यालय पुगेका केही विद्यार्थी त्यत्तिकै फर्किए। विद्यालयमा भेटिएका विद्यार्थी रतनबहादुर खत्रीले भने, 'स्कुलभरि आर्मी छन्, अनि कहाँ बसेर पढ्ने ?' उनले शिक्षकहरु पनि विद्यालय नआएको बताए। महामारी अतिप्रभावित क्षेत्रका अधिकांश विद्यालयले त प्रशासनसमेत खोलेका छैनन्। मंगलबार विद्यालय गएर फर्किएका झाप्रास्थित बाल माध्यामिक विद्यालयका विद्यार्थी जीवन शाहीले भने, 'स्कुलमा साथी त के सरहरु पनि हुनुहुन्थेन, त्यसपछि म घर फर्किएँ।' पश्चिम जाजरकोटको ठूलो मानिने सो विद्यालयमा करिब सात सय विद्यार्थी अध्ययनरत छन्।
महामारीका कारण पठनपाठनमा ढिलाई हुँदा कोर्ष पूरा गर्न नसकिने चिन्ताले शिक्षकहरुलाई सताएको छ। दशैं-तिहारमा निर्धारितभन्दा लामो समय विद्यालय नखुल्ने र उत्तरीपूर्वी क्षेत्रका केही विद्यालयहरुले यार्चागुम्बा टिप्ने समयमा स्थानीय बिदा गरेकाले कोर्ष भ्याउन हम्मे पर्ने महादेव प्राविका प्रअ खड्काले बताए। त्यसमाथि कामको सिजनमा अधिकांश विद्यार्थी नियमित विद्यालय नआउने भएकोले पढाई थप प्रभावित हुने शिक्षकहरुको भनाई छ।

No comments: