News

Aug 12, 2009

प्रधानमन्त्री र मन्त्री नै नक्कली नम्बरप्लेटका गाडीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
साउन २८- मुलुकमा कानुनी शासन बहाली गराउनुपर्ने सर्वोच्च कार्यकारी दिनदिनै गैरकानुनी रूपमा नक्कली नम्बर प्लेटको जिपमा सवार हुन्छन् भने अरूको हालत के होला ? वास्तविकता ठीक यस्तै छ। प्रधानमन्त्री माधवकुमार नेपाल सवार हुने टोयोटा प्राडोको नम्बरप्लेट नै नक्कली हो। उनी बा १ झ १०३० नम्बरको जिप चढ्छन्। उनको त्यो नम्बरको जिप कुनै पनि सरकारी कार्यालयमा दर्ता छैन।गैरकानुनी रूपमा नक्कली नम्बरप्लेटको जिपमा सवार हुने प्रधानमन्त्री एक्ला होइनन्, ऊर्जामन्त्री प्रकाशशरण महतले समेत दिनहुँ नक्कली नम्बरप्लेटकै जिपमा सवार हुन्छन्। उनी बा १ झ १०२९ नम्बरको गाडी चढ्छन्। प्रधानमन्त्रीको जस्तै महतको गाडीसमेत कुनै पनि सरकारी कार्यालयमा दर्ता छैन।यो जापानी जिपको हालको बजार मूल्य १ करोड १० लाख छ। प्रधानमन्त्री नेपालले आफ‍नो बुलेटप्रुफ (गोलीसमेत छेक्ने) युक्त भीआईपी मर्सिडिज कार छाडेर नक्कली नम्बरप्लेटको जिप चढेका हुन्।प्रधानमन्त्री र मन्त्रीले चढ्ने गाडी अत्याधुनिक, सुविधासम्पन्न, आरमदायी हुन्छ भन्ने आमजनता अनुमान गर्छन्। तर, उनीहरूलाई प्रधानमन्त्री र मन्त्री नै कानुनकै उल्लंघन गरी नक्कली नम्बरप्लेटका गाडीमा सवार हुन्छन् भनेर पत्याउन गाह्रो हुन्छ।प्रधानमन्त्री र मन्त्रीले नै कानुन उल्लंघन गर्दा जनतामा कानुन पालना नै गर्नुनपर्ने सन्देश जाने चिन्ता सरकारी अधिकारीहरू व्यक्त गर्छन्। सरकारी तथा निजी गाडी यातायात व्यवस्था कार्यालयमा दर्ता गरिन्छ, तर प्रधानमन्त्रीको बा १ झ १०३० र ऊर्जामन्त्रीको बा १ झ १०२६ नम्बरका जिप दर्ता नै छैनन्। उच्च सरकारी स्रोतका अनुसार बरु यी नम्बरमा सरकारका अरू नै दुई गाडी विधिवत दर्ता छन्। ती गाडी राजधानीका सडक र सरकारी कार्यालयमा कुदिरहेका छन्।
प्रधानमन्त्री र मन्त्रीले चमेलिया विद्युत् आयोजनाका ठेकेदारका लागि ल्याइएका रातो प्लेटका गाडी जबर्जस्ती चढेका हुन्। यी गाडी चमेलियाकै ठेकेदारकै नाममा छन्। यी गाडीको वास्तविक नम्बरप्लेट अर्कै छ। प्रधानमन्त्रीको गाडीको वास्तविक नम्बर बा ६ च १०३० र ऊर्जा मन्त्रीको गाडीको बा ६ च १०२६ हो।ठेकेदारको नाममा रहेका रातो प्लेटका निजी गाडीलाई विद्यमान कानुनअनुसार सरकारी नम्बरप्लेटको बनाउन नमिल्ने भएकाले नक्कली नम्बरप्लेट राखिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालय उच्च स्रोतले दिएको छ।आयोजना सम्पन्न नभएसम्म ती गाडी ठेकेदारकै नाममा रहन्छन्। आयोजना सकिएपछिमात्र ती गाडी सरकारी स्वामित्वको विद्युत् प्राधिकरणको नाममा नामसारी हुन्छन्।
सरकारी तथा निजी गाडीको दर्ता गर्ने सरकारी निकाय यातायात कार्यालयलाई न त प्रधानमन्त्री र ऊर्जा मन्त्रीको गाडीको नम्बरप्लेट नक्कली छ भन्ने नै थाहा छ, न त दुवै जनाको गाडीको नम्बर आफ्नो कार्यालयमा दर्ता भएका अरू गाडीसँग ठ्याक्कै मिल्छ भन्ने नै थाहा छ।सरकारले चमेलियाको अर्को गाडी राष्ट्रपति रामवरण यादवलाई समेत उपलब्ध गराएका छन्। उनको गाडीको नम्बरप्लेट भने परिवर्तन गरिएको छैन। 'राष्ट्रपति अनौपचारिक कार्यक्रममा जाँदा यही गाडी चढ्नुहुन्छ, तर गाडीको नम्बरप्लेट रातै छ।स्रोतका अनुसार नम्बरप्लेट नक्कली भएकाले प्रधानमन्त्री र ऊर्जा मन्त्रीका गाडीले रातमा कसैलाई ठक्कर दिएर या किचेर मृत्यु या अंगभंग भएमा अर्कै गाडीका चालक कारबाहीमा पर्ने खतरा छ।
'प्रधानमन्त्री र ऊर्जा मन्त्रीको गाडीले अध्यारामा ठक्कर दिंदा कोही मर्‍यो या घाइते भयो र ट्राफिक या अरू कसैले दुर्घटना देख्यो र अध्यारामा प्रधानमन्त्री र मन्त्रीको गाडीको नम्बरप्लेटको रातोनीलो याद गरेन, नम्बरमात्र थाहा पायो भने त्यो नम्बरको गाडी खोज्दै जाँदा अर्कै गाडीका चालक कारबाहीमा पर्छन्। किनकि यातायात कार्यालयमा ती नम्बरको अर्कै गाडी यातायात कार्यालयमा दर्ता छन्, प्रधानमन्त्री र मन्त्रीको होइन।' सरकारी अधिकारीलाई गाडीको व्यवस्था गर्ने गृह मन्त्रालयका अधिकारीसित प्रधानमन्त्री र ऊर्जा मन्त्रीको गाडीका बारेमा जिज्ञासा राख्दा आफूलाई केही जानकारी नभएको बताए।
'हामी गृह मन्त्रालयबाट प्रधानमन्त्री, मन्त्री र सरकारी अधिकारीलाई दिइने गाडीमात्र हेर्छौं। उनीहरूले आयोजना या अन्यत्रबाट ल्याएर चढ्ने गाडीको व्यवस्थापन हामीले गर्दैनौं' नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने।स्रोतका अनुसार संसारभर जुनसुकै मुलुकका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीले कार चढ्छन्। मन्त्रीको इज्जत कार चढ्दा बढ्छ, जिप चढ्दा हुँदैन। संसारभर कार बढी प्रतिष्ठायुक्त वाहन हो। कार छोटो दुरीका लागि हो। जिप लामो रुटका लागिमात्र उपयुक्त हो। तर, नेपालमा कारभन्दा जिपलाई बढी प्रतिष्ठायुक्त मानिन्छ। त्यही भएर मन्त्रीहरू जबर्जस्ती आयोजना र परियोजनाका जिप मगाएर चढ्ने गर्छन्।'यदि सुनमा नै खिया लाग्छ भने फलामको हालत के होला ? चर्चका पादरी नै खराब छन् भने अरूको स्थिति के होला ?' अंग्रेजी कवि जोफ्रे चसरको कविताका यी दुई हरफसित प्रधानमन्त्री र मन्त्रीको व्यवहार ठ्याक्कै नमिलोस्' भन्ने सरकारी अधिकारीको कामना छ।

No comments: