News

Jan 13, 2008

सँगीतकार तथा गायक दिनेश सुब्बाको एकल साँझको सम्पन्न

लिम्वूवान व्लगस्पोट डटकम हङकङ
सांगीतिक यात्रामा लागेका संगीतकर्मीलाई एकल प्रस्तुतिको अपेक्षा हुनु जति स्वभाविक हुन्छ । त्यो भन्दा पनि प्रवासमा संगीतमा यात्रा गर्नु र एकल प्रस्तुतिले सम्पूर्ण नेपालीहरुको मन जित्नु चाँही चानचुने
कुरै हुँदैन । यसको महत्व र उँचाइको वर्णनगर्नु शायद कम्ति नै होला ।
यसपालि हङकङमा १३ जनवरीको मध्य जाडोमा दुइ दसकभन्दा लामो सांगीतिक यात्रामा निस्किएका नेपाली, भाषा, साहित्य र संगीतलाई नजीकबाट आत्मासाथ गरेका संगीतकार एवं गायक दिनेश सुब्बाको एकल प्रस्तुति 'दिनेश सुब्बा एकल साँझ' को रापले साच्चिकै नेपाली गीत संगीत विशेषगरी हङकङमा जीवन चलाइरहेका नेपाली कलाकारहरुकालागि मार्गदर्शक साँझ बन्यो । याउमातेइ जोर्डन हङकङको हेनरी जी लेउङको कम्युनिटी सेन्टरमा सम्पन्न भएको एकल साँझमा हङकङेली नेपाली नयाँ पुराना कलाकारहरुले दिल खोलेर दिनेश सुब्बा एकल साँझलाई सफल तुल्याउने भरभग्दुर प्रयास गरे । हिमालयन टोन्स म्युजिक एकेडेमीको आयोजनामा सम्पन्न भएको एकल साँझमा दिनेशले स्थानीय वाद्यावादक कलाकारहरुको सहयोगमा दर्शकहरुलाई सवा दुइ घंटासम्म आफ्नो स्वर र संगीतको मिठासमा बाँधेर राख्न सफल भएका थिए ।
हङकङमा रहेका नेपालीहरुकालागि गहनाकै रुपमा रहेका दिनेश सुब्बालाई हेर्न सबै पुस्ताका दर्शक श्रोताहरुको उपस्थिति रहेको थियो । नेपाली चर्चित कलाकारहरु खेम गुरुङमात्र होइन बिक्रम गुरुङ, नागेन्द्र श्रेष्ठ, गणेश पराजुली जस्ता संगीत बुझेका दर्शक पाएका दिनेशले नेपाली आधुनिक गीत संगीतको उद्भव र यसको विकासक्रमका बारेमा प्रष्टाउन सफल भए ।प्राय नेपालबाट कलाकारहरु झिकाई भइरहेका सांगीतिक कार्यक्रमहरु भन्दा पृथक बनेको साँझमा दिनेशलाई धेरै ताली र प्रंशसा आएको थियो । १० मिनेट विश्राम लिएर सम्पन्न भएको एकल साँझमा १७ वटा गीतहरु प्रस्तुत गरेका थिए । पहिलो भागमा आफूले संगीत तथा स्वर भरेका आधुनिक तथा लोकगीतहरु प्रस्तुत गरे र दोश्रो भागमा नेपाली आधुनिक गीतसंगीतका महान व्यक्तित्वहरु नारायण गोपाल, अम्बर गुरुङ, गोपाल योञ्जन, दिप श्रेष्ठ, फक्तेमान, कुमार सुब्बा र भक्तराज आचार्यलाई सम्मान गर्दै उहाँहरुको गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सुब्बाको प्रस्तुतिबाट दर्शकहरु अघाएनन् फर्माइस गरी रहेको सुनिन्थ्यो । आफैले संगीत भरेको राष्ट्रिय गीतबाट शुभारम्भ भएको एकाल साँझलाई अन्त्यौलीमा अम्बर गुरुङको नौलाख तारा उदाए धर्तीको आकाश खुलेछ ...बाट गरेका थिए ।
एकल साँझलाई नजीकबाट हेरेपछि हङकङमा रहेका चर्चित लोकगायक खेमराज गुरुङले भने -"नेपाली गीत संगीतमा दिनेश सुब्बा एकल साँझले ठूलो महत्व राख्छ । कार्यक्रमलाई दर्शकहरुले दिएको मायाले स्थानीय नेपाली कलाकारहरुलाई थप हौसला प्रदान गर्छ ।" पत्रकार पशन तमू कार्यक्रम हेरेपछि प्रतिक्रिया दिँदै भन्दै थिए -"दिनेश सुब्बा हङकङमा रहने नेपालीहरुकालागि धरोहर हुनुहुन्छ उहाँको एकल साँझ संगीत बुझनेहरुकालागि उत्कृष्ट थियो ।" गायक गणेश पराजुलीले भन्दै थिए "हालसम्म भएको स्थानीय कलाकारहरुको कार्यक्रममा सबैभन्दा राम्रो हो ।"
सन् १९९६ सालमा हङकङ प्रवेश गर्नु भएको दिनेश सुब्बा लगभग १२ वर्षो अन्तरालमा धेरै संगीतका विधार्थीहरुलाई नेपाली गीत संगीतका बारेमा शिक्षा प्रदान गर्नु भइसकेको छ । पहिलो पटक आयोजना भएको एकल साँझमा सबैबाट स्याबासी पाएपछि प्रसन्न हुनुभएका दिनेश सुब्बाले भन्नु भयो -"हङकङ प्रवेश गर्दा यस्तो परिकल्पना गरिएको थिएन ।"कार्यक्रममा दिनेश सुब्बाले आफूले संगीत भरेको रामकृष्ण ढकालको आवाजमा चर्चित बनेको 'हाम्रो सुन्दर संसार थियो', र 'हाँसु कति म', यम बरालको आवजमा चर्चित बनेको 'बादलुको घुम्टोले इलाम बजार छोपिन्दा', अरुण थापाले गाउनु भएको 'तिमी हेर्र्छौ भने जिन्दगीलाई', आफ्नै स्वरमा चर्चित बनेको थाहा नपाई माया मेरो र त्रि्रो हाम्रो मनको दुरी बढे जस्तो छ जस्ता कर्णपर्य गीतहरु प्रस्तुत गर्नु भएको थियो ।
एकल साँझमा वाद्यवादन तर्फमनोज घले, हरि श्रेष्ठ, कृष्ण महर्जन, पदम गुरुङ, विजय गुरुङ, धन थापा,, निशाद सुब्बा र केभिन थापाले सहयोग गरेका थिए । सह गायनमा भने वीरबहादुर थापा, अन्तिम र्राई, रोशा लिम्बू, सुनिता हिराचन, हषिर्त आले, टोपराज लामाको संलग्नता रहेको थियो । एकल साँझलाई सफल बनाउन अमोद र्राई, लारा, सोम थापा मगर लगायतका व्यक्तिहरुले आफ्नो सीप खर्चिको थिए । साँझ ७ ३० बजेदेखि शुभारम्भ भएको कार्यक्रमको प्रत्यक्ष प्रशारण एचकेनेपाल डटकमले गरेको थियो ।



लिम्वूवानको ढाट हटाइयो

लिम्वूवान व्लगस्पोट डटकम काठमाडौँ प्रतिनिधि
सङ्घीय लिम्बुवान राज्य परिषद्ले धनकुटामा ढाट राखी कर संकलन गरिरहेकोमा प्रहरीले हस्तक्षेप गरी ढाट हटाइ दिएको छ । कोसी राजमार्गको धरान- धनकुटा सडकको सिमसुवा खण्डमा ढाट राखी एक साता अघिदेखि सङ्घीय लिम्बुवान परिषद्ले कर उठाउँदै आएकोमा प्रहरीले हस्तक्षेप गरी ढाट उठाई कर संकलन कार्य बन्द गरिदिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक नरबहादुर केसीले बताउनुभयो । सङ्घीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताहरुले प्रहरी हस्तक्षेपको विरोध गर्दै लिम्बुवान राज्यमा कर उठाउनु आफ्नो अधिकार रहेको बताएका छन् । उक्त सडक खण्डमा लिम्बुवान राज्य परिषद्ले ढाट राखी सवारी साधनहरुमा विभिन्न सामग्रीहरुको प्रति किलो ५० पैसादेखि रु.दुइ हजारसम्म कर उठाउदै आइरहेका थिए ।

Jan 10, 2008

संघीय राज्यको माग गर्दै खुकुरी -याली

लिम्वूवान व्लगस्पोट
पूर्वी नेपालमा संघीय राज्यको माग गर्दै संघीय लिम्वूवान राज्य परिषदको आव्हानमा आदिवासीहरुले खुकुरी -याली गरे । अन्तरिम संम्विधान,सांसद र सरकारमा पनि आदिवासी किराती जनजातिहरुको समान सहभागीता नदेखिएकोले केन्द्रिकृत र एकात्मक राज्य सत्तालाइ पूर्णरुपमा ध्वस्त वनाउदै संघीय जातिय राज्यको निर्माणको लागि पूर्वमा आदिवासी किरातीहरुले आन्दोलन गरेको जनाइएको छ । खुकुरी जुलुस पछि आयोजित सभालाइ सम्वोधन गर्दैसंघीय लिम्वूवान राज्य परिषदका केन्द्रिय सदस्य फक्तेलुङ्गेले आदिवासीहरुको खोसीएको आफ्नो भूमि फिर्ता लिन सशक्त ढङ्गले अगाडी बढीसकेकोले अव जातिय राज्यको निर्माण नभए सम्म आन्दोलन जारी राख्ने वताउनु भयो । कार्यक्रमा आदिवासी जनजाति नेताहरुले जानकारी दिए अनुसार संघीय लिम्वूवान राज्य परिषदलेधनकुटा ,तेह्रथुम ,ताप्लेजुङ्ग,सुनसरी ,मोरङ्ग,झापा,इलाम र पाचथर जिल्लामा खम्वूवानले संखुवासभा,भोजपुर ,उदयपुर,खोटाङ्ग,ओखलढुङ्गामा आन्दोलनको तयारी गरीरहेछ न् ।

किरात याक्थुङ् एकता समाज कतारव्दारा विदाई तथा सम्मान समारोह सम्पन्न

लिम्वूवान व्लगस्पोट कतार
किरात याक्थुङ् एकता समाज दोहा कतारका संस्थापक कोषाध्यक्ष श्री पूर्ण कुमार चेम्जोङ् (लिम्बू) ज्यू लाई संस्थाको तर्फबाट स सम्मान सहित कदर पत्र प्रदान गरि एक विदाई समारोह सम्पन्न गरि विदा गरेको छ। यही जनवरी ९ तारिख साँझ सनैया माउण्ट एभरेष्ट रेष्टुरेण्टमा आयोजीत कार्यक्रममा संस्थाका अध्यक्षको अध्यक्षता र प्रवासी जनजाती महासंघका अध्यक्ष श्री अमृत गुरुङ् ज्यू प्रमुख अतिथि रहनु भएको थियो। साथमा संस्थाका शुभचिन्तक अन्यपदाधिकारी लगाएत संस्थापक सदस्यको समेत उपस्थिति रहेको थियो। तत्कालीन का.वा.महासचिव ज्यूले संचालन गर्नु भएको उत्तकार्यक्रममा संस्थाको कोषाध्यक्ष ज्यूले कार्यक्रमको स्वागत मनतव्य राख्नु भएको थियो। संक्षेपमा अन्य वत्ताहरु सबैले विदाई हुनु हुने चेम्जोङ् ज्यूको योगदान वारेमा वर्णन गरि नसक्नु रहेको कुरा स्पष्ट राख्नु भएको थियो। साथै उहाँलाई स्वदेशमा समेत लिम्बु जाती अनी सम्पूर्ण जनजातीहरुको वारेमा ससक्त उजागर र एकजुट गराउन विशेष अनुरोध गर्नु गरिएको थियो। मनतव्यकै क्रममा चेम्जोङ ज्यूले आफु कतारमा नफर्किने गरि जादै गरेको वताउनु भयो। कतार छोड्नु पर्ने वारेमा उहाले आफ्नो रोजगार दाता संगको लामो कथा भएको भनी ब्याक्तीगत समस्यालाई अगाडी बढाउनु भएन। अन्त्यमा उहाँले सम्पूर्ण बत्ताहरुको कदर गर्दै सस्थाले दिएको सम्मान प्रति गर्वान्वीत रहेको कुरा दर्शाउनु भयो। प्रमुख अतिथी ज्यूले समेत उत्तरोत्तर प्रगतीको कामना सहित तत्कालिन नेपालमा राज्य द्धारा पाईरहेका आदीवासी जनजातीहरुको राहतको सम्बन्धि जानकारी दिनुका साथै यस सस्थाले पाएको प्रमुख नेतृत्वको खुलेर प्रसंसा गर्नु भयो। वीचमा चियापान सगै संचालन भएको विदाई समारोह ८:३० बजे अपरान्ह समापन भएको थियो।

Jan 9, 2008

समावेशी, मधेसी, जनजाति र दलितलाई छुट्टै कोटा सहित सशस्त्र प्रहरीमा भर्ना खुल्यो

लिम्वूवान व्लगस्पोट काठमाडौं
सशस्त्र प्रहरी बलमा इन्स्पेक्टर, अर्सइ, जवान र परिचर पदमा भर्ना खुलेको छ । रिक्त प्रशासन तथा प्राविधिक विभिन्न पदमा दरखास्त आवेदन दिने म्याद आजदेखि माघ ८ सम्म तोकिएको छ । आज प्रकाशित सूचनाअनुसार निरीक्षक पदमा ४० जना, सहायक निरीक्षक पदमा ७५ जना, जवानमा १६ सय र परिचरमा १५७ जना माग गरिएको छ भने प्राविधिक निरीक्षक -चिकित्सक) तर्फ५ जना र दन्त चिकित्सकतर्फ१ जनाका लागि दरखास्त आहृवान गरिएको छ ।सशस्त्र प्रहरीमा पहिलोपटक कोटा विभाजन गरेरै माग गरिएको विज्ञापन सूचनामा समावेशीतर्फइन्स्पेक्टर १८, अर्सइ ३४, जवान ७२० र परिचर ७१ छन् भने महिला आरक्षण कोटामा इन्स्पेक्टर ३ जना, अर्सइ ७ जना, जवान १४४ र परिचर १४ जना छुट्टयाएरै विज्ञापन गरिएको छ । त्यस्तै, जनजाति/आदिवासीतर्फइन्स्पेक्टरमा ६ जना, अर्सइ ११ जना, जवान २३० र परिचर २३ छन् भने मधेसी समुदायबाट ५ इन्स्पेक्टर, ९ अर्सइ, २०२ जवान र २० परिचर छुट्टयाइएको छ । यसैगरी दलिततर्फइन्स्पेक्टर ३, अर्सइ ५, जवान १०८ र परिचर ११ तोकिएको छ भने पिछडिएको क्षेत्रबाट १ इन्स्पेक्टर, २ अर्सइ, ३६ जवान र ३ परिचर आरक्षित गरिएको छ ।यस्तै, खुल्ला तर्फाट २२ इन्स्पेक्टर, ४१ अर्सइ, ८८० जवान र ८६ परिचर माग गरिएको छ भने प्राविधिक इन्स्पेक्टर दन्त चिकित्सक १ जना खुलातर्फमाग गरिनुका साथै ५ चिकित्सकमध्ये समावेशीतर्फाट २, जनजाति/आदिवासीका तर्फाट १ जना, मधेसीबाट १ र खुलातर्फाट ३ जना माग गरिएको सूचनामा जनाइएको छ । संविधानसभा निर्वाचन घोषणाकै मुखमा दरखास्त माग गरिएको सशस्त्र प्रहरीले चुनाव अवधिमा छनोट कार्य गर्छ/गर्दैन त्यसबारे भने टुंगो छैन ।

लिम्बूवान आन्दोलनका शहीद राजकुमारका परिवारलाई राहत प्रदान

लिम्वूवान व्लगस्पोट कमन देवान
पुस, २५ दमक - लिम्बूवान आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत्यू भएका आफ्ना कार्यकर्ता इलाम चुलाचुली-१ निवासी राजकुमार आङदेम्बेको परिवारलाई बुधवार दमकमा एक कार्यक्रमको आयोजना गरी संघीय लिम्बूवान राज्यपरिषद झापाले राहत रकम प्रदान गरेको छ ।संघीय गणतान्त्रिक मोर्चाद्धारा गत असोज १६ गते देखि आव्हान गरेको अनिश्चितकालिन आमहडतालका क्रममा गत २० गते झापा जिल्ला प्रशासनले जारी गरेको कर्फ्यू आदेश उल्लंघन गर्नेक्रममा प्रहरीको गोली लागी केर्खापूर्व कमल खोलामा उनको मृत्यू भएको थियो । उनलाइ असाज २१ ग्ते अन्तिम दाहसँस्कार गर्दै लिम्बूवानका आधुनिक सहिद घोषणा गर्नुभएको थियो । परिषदको झापा जिल्ला समितिद्धारा आयोजित कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव कुमार लिङदेनले आङदेम्बेकी श्रीमती सुनमाया लिम्बूलाई राहत रकमस्वरुप ५० हजार ५० रुपैया प्रदान गर्नुभयो । आयोजकले दिएको जानकारी अनुसार किरात याक्थुङ चुम्लुङ प्रवास समन्वय समिति दुबईले २५ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको हो । कार्यक्रम परिषद झापाको अध्यक्ष ज्ञानहाङ इम्बुङको सभापतित्वमा सम्पन्न भएको थियो ।

Jan 7, 2008

अन्तरिम संविधानको तेश्रो संशोधित विधेयक दहन

लिम्वूवान व्लगस्पोट काठमाडौं
विभिन्न आदिवासी जनजाती, मधेसी, दलित र बहिस्कृत समुदायको साझा राजनीतिक संगठन संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चाको आव्हानमा यहि पुस २३ गते काठमाडौंको माइतिघर मण्डला लगायत देशका विभिन्न जिल्ला सदरमुकाम तथा प्रमुख सहरहरूमा अन्तरिम संविधानको तेस्रो संशोधित विधेयकको दहन गरिएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग सम्बद्ध स्वायत्त संगठनहरू संघीय लिम्बुवान राज्य परिषद, तामाङसालिङ स्वायत्त राज्य परिषद तथा अन्य मोर्चामा आवद्ध संगठनहरू मधेसी जन अधिकार फोरम, नेपाल; संयुक्त थारू राष्ट्रिय मोर्चा, नेपाल; जनजाति दलित पार्टी, मधेसी लोकतान्त्रिक मोर्चा र लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाइमा उक्त संविधानको विधेयक जलाउने कार्य सम्पन्न भएको हो ।
संविधानसभाको निर्वाचन अगावै सफल र सार्थक संविधानसभाको निर्वाचन गर्न गराउनका लागि राजतन्त्र र एकात्मक शासन सत्ताको समूल अन्त्य गरी संघीय गणतन्त्रको घोषणा गर्नुपर्ने, संविधानसभाको चुनाव जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरी गर्नुपर्ने तथा जाति, भाषा र क्षेत्रको ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहित स्वायत्त गणराज्यहरूको स्थापना हुनुपर्ने लगायतका मागहरू राखी मोर्चामा आवद्ध भएर उक्त विभिन्न राजनीतिक संगठनहरूले आन्दोलन जारी राखेका छन् ।
हाल आएर अन्तरिम संविधानको तेस्रो संशोधित विधेयकमार्फत पनि मोर्चामा आवद्ध संगठनहरूले राखेका मागहरू सम्बोधन नगरी पुन: असफल संविधानसभाको नाटक मञ्चन गर्न थालिएकोले यसको सांकेतिक विरोधस्वरूप उक्त संशोधित विधेयकको दहन गरिएको कुरा नेताहरूले बताएका छन् । विधेयक दहन गर्ने कार्य लिम्बुवानको ताप्लिङजोङ, पान्थर, इलाम, विर्तामोड, दमक, केर्खा झापा, विराटनगर मोरङ, र तेह्रथुममा प्रहरी दमनको बावजुद पनि सफलतापूर्वक दहन गर्ने कार्य सम्पन्न भएको छ । त्यसैगरी मधेस र थारूहटका विभिन्न स्थानमा पनि व्यापक जन सहभागिताका साथ सो कार्य सम्पन्न भएको समाचार छ । काठमाडौंको मुटु, माइतिघर मण्डलाको विधेयक दहन कार्यमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष: कमल छाराहाङ, मधेसी जन अधिकार फोरमका उपध्यक्ष: किशोरकुमार विस्वास, संयुक्त थारू राष्ट्रिय मोर्चाका उपाध्यक्ष; यगेन्द्र थारू, जनजाति दलित पार्टीका अध्यक्ष: विसेन्द्र पासवान, मधेसी लोकतान्त्रिक मोर्चाका अध्यक्ष: कदमनरायण चौधरी, र तामाङसालिङ स्वायत्त राज्य परिषदका अध्यक्ष: डी. के. बुद्धिष्ट तामाङ लगायतका नेताहरूको उपस्थिति रहेको थियो । संघीय गणतान्त्रिक मोर्चाले सोहि दिन एक प्रेस विज्ञप्ति जाहेर गरी विधेयक दहन कार्य पूर्णरूपमा सफल भएको दावी गर्दै उक्त कार्यमा भएको प्रहरी दमनको घोर भर्त्सना गरेको छ ।