News

Oct 1, 2008

सबै पूर्वगोर्खाले बेलायतमा आवासीय भिसा पाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायती सेनाबाट अवकाश पाएका सबै पूर्वगोर्खाले बेलायतमा आवासीय भिसा पाउने भएका छन् । बेलायतको लन्डनस्थित उच्च अदालतले सन् १९९७ अघिका गोर्खालाई पनि आवासीय भिसा दिन मंगलबार गृह मन्त्रालयलाई आदेश दिएको समाचारहरुमा जनाइएको छ । यसअघि सन् १९९७ भन्दा पछि अवकास पाएका गोर्खाहरुले मात्र उक्त सुविधा पाएका थिए ।त्यसअघि अवकाश पाएका पूर्वगोर्खाले बेलायतसँग गहिरो सम्बन्ध रहेको प्रमाणित गर्नुपर्ने हुन्थ्यो । त्यसका लागि बेलायतमै चार वर्ष सेवा गरेको, छोराछोरी त्यहाँ रहेको जस्ता चार प्रमाण आवश्यक पर्थे । पूर्वगोर्खालाई बेलायतमा बस्न बनाइएको अध्यागमन नीति असान्दर्भिक र गैरकानुनी भएको उच्च अदालतको फैसला उल्लेख गर्दै बेलायतको दि गार्जियन पत्रिकाले भनेको छ- उनीहरुले जुनसुकै मितिमा अवकाश पाएका भए पनि बेलायतमा बस्न पाउँछन् ।

राष्ट्रपतिलाई प्रधानमन्त्रीले अमेरिका भ्रमणबारे जानकारी गराउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो १० दिने अमेरिका भ्रमणबारे राष्ट्रपति डा. रामवरण यादवलाई जानकारी गराउनु हुनेभएको छ । राष्ट्रपतिको कार्यालय शितल निवासमा बुधबार हुने भेटमा प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भएका महत्वपूर्ण भेटघाट र संयुक्त राष्ट्रसंघको ६३ औं महासभमा आफुले गरेको सम्वोधनवारे पनि राष्ट्रपतिलाई जानकारी गराउनुहुने जनाइएको छ ।यसैगरी राष्ट्रपतिलाई उहाँले राष्ट्रसंघका महासचिव वान की मुन आगामी कात्तिक १४ गते नेपाल भ्रमणमा आउन लाग्नुभएकोबारे पनि जानकारी गराउनुहुने छ । भेटमा राष्ट्रपति यादवले भने सुदुरपश्चिमका बाढीपहिरो पीडित तथा गरिव जनतालाई छिटो राहत प्रदान गर्न आग्रह गर्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

एक माओवादी कार्यकर्ताको गोली हानी हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वी हिमाली जिल्ला सोलुखुम्बुमा एक माओवादी कार्यकर्ताको गोली हानी हत्या गरिएको छ । उक्त जिल्लाको सोताङ गाविस, वडा २ का ४६ वर्षीय लोकबहादुर विश्वकर्माको अज्ञात समूहले मंगलबार राति घरैमा सुतिरहेका बेला गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।विश्वकर्माको दाहिने गाला र आँखाछेउ लागेको गोली बायाँ कञ्चटबाट निस्केको प्रहरीले जनाएको छ । उनी माओवादीसम्बद्ध सामना परिवारका एरिया सदस्य रहेको बताइएको छ । यसैबीच नेकपा माओवादी, सोलुखुम्बुले विज्ञप्तिमार्फत घटनाको निन्दा गर्दै छानबिन गरी मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।

दसैंभरि टेलिफोन सेवामा छुट दिइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल टेलिकमले आज बुधबारदेखि लागू हुने गरी सबै प्रकारका टेलिफोन महशुलमा छुट दिएको छ । कम्पनीले कात्तिक मसान्तसम्म आधारभुत, जिएसएम र सिडिएमए मोबाइल टेलिफोनको महसुलमा छुट दिएको हो ।टेलिकमले एक अञ्चलबाट अर्को अञ्चलको ५० किलोमिटरभन्दा बढी दूरीमा टेलिकमद्वारा सञ्चालित आधारभूत टेलिफोन सेवामा यसअघिको महशुल दरमा प्रतिमिनेट ५० पैसा छुट दिएको छ भने प्रिपेड मोबाइल फोनमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म प्रतिमिनेट २ रुपैयाँ तोकेको छ । पोष्टपेड मोवाइलमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म प्रतिमिनेट १ रुपैयाँ ६० पैसा तोकिएको छ । सीडीएमए स्काइ मोवाइलबाट एकै अञ्चलको आधारभूत तथा मोवाइल सेवामा फोन गर्दा प्रतिमिनेट १ रुपैयाँ ८० पैशा महशुल लाग्ने टेलिकमले जनाएको छ । टेलिकमको पोष्टपेड, प्रिपेड र सीडीएमए मोवाइलबाट एकै अञ्चलको आधारभूत तथा मोवाइल सेवामा राति १० बजेदेखि बिहान ६ बजेसम्म फोन गर्दा भने प्रतिमिनेट ७५ पैसा मात्र लाग्ने छ ।यस दररेटमा नियमअनुसारको कर लाग्ने टेलिकमले जनाएको छ । त्यसैगरी टेलिकमको नेटवर्कबाट कम्पनीको प्रिपेड कलिङ्ग कार्ड अर्थात इजीकल कार्ड मार्फत एक्सेस कोड १४२४ प्रयोग गरी अमेरिका र क्यानडामा हुने अन्तर्राष्ट्रिय कलको महशुल प्रतिमिनेट ६ रुपैयाँ तोकिएको छ ।

संविधानसभा नियमावली मस्यौदामा छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा नियामावली मस्यौदा समितिको बैठक आज बुधबार बस्दै छ । सिहदरवारस्थित संसद सचिवालयमा बस्ने बैठकमा संविधान निर्माणको बेलामा सभासदको विवेकको मतको प्रयोग गर्ने वा नगर्ने बिषयमा छलफल हुने समितिका सदस्य सुनील प्रजापतिले जानकारी दिनुभयो ।यसअघि सोमबार बसेको बैठकमा संविधानसभा नियमावली मस्यौदाका बिषयमा समितिका सदस्यहरुबीच चर्को विवाद भएपछि सोही बिषयमा थप छलफल गर्न बैठक आज बस्नेगरी स्थगित भएको थियो ।

नेपाली चेलीको दोहा विमानस्थलबाट उद्धार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेकी नेपाली चेली दिलकुमारी गुरुङ्गलाई नेपाली दूतावास कतारका कर्मचारीले उद्धार गरेका छन् । घरायसी कामका लागि कतारमा जाने नेपाली महिलाई नेपाल सरकारले रोक लगाएको भए पनि गैरकानुनी रूपमा जाने र लैजाने क्रम रोकिएको छैन ।उनी भारतको नयाँदिल्लीबाट कतारका लागि उडेकी थिइन् । कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि सम्वन्धित मालिकले लिन नआउँदा अलपत्र परेकी ती चेलीलाई नेपाली दूतावासबाट विमानस्थल भ्रमणमा गएका कर्मचारीले फेला पारी उद्धार गरेको नेपाली राजदूतावास कतारले जनाएको छ । कतार लगायत सम्पूर्ण खाडी राष्ट्रमा घरायसी कामकालागि आउने महिलालाई कानुनी रूपमा रोक लगाइएको भए पनि बेला मौकामा कानुनको आँखा छल्दै भारतको बाटो भएर आउने नेपाली महिलाहरूले यस्तो दुख पाउने गरेको राष्ट्रिय समाचार समितिले आफ्नो समाचारमा जनाएको छ ।घरायसी कामकालागि वाहेक वेटर, क्लिनर, सेल्स, सेक्युरिटीलगायतका कामकालागि भने नेपाली महिलाहरूलाई बन्देज लगाइएको छैन । राजदूतावास प्रथमसचिव रामकाजी खड्काका अनुसार १५ दिनपछि आवश्यक प्रकृया पुर्‍याएर उनलाई नेपाल फर्काइनेछ ।

मिडिया सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले उच्चस्तरीय मिडिया सुझाव आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्नका लागि आवश्यक अध्ययन भइरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघको रासस शाखाले प्रकाशन गरेको 'विश्वग्राम' नामक लेख संग्रहको राजधानीमा विमोचन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।विश्वका समाचार समितिहरूको अध्ययनका आधारमा राष्ट्रिय समाचार समितिलाई पनि विकास गर्न पहल गर्ने बताउनुभयो । पत्रकारितालाई नयाँ रूपबाट अगाडि बढाइने सोच भइरहेको जानकारी पनि उहाँले दिनुभयो । प्रेसले राष्ट्र र जनतालाई केन्द्रविन्दुमा राख्नुपर्नेमा जोड दिँदै उहाँले इमान्दारी र विश्वासनीयतालाई पहिलो प्राथमिकता दिनुपर्छ भन्नुभयो ।