News

Apr 19, 2014

सगरमाथा आरोहणका लागि गएका १२ जनाको हिमपहिरोमा परी मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
५ वैशाख विदेशी पर्यटकलाई लिएर सगरमाथा आरोहणका लागि गएका १२ जनाको हिमपहिरोमा परी मृत्यु भएको छ । पहिरोमा परेका चारजनाको उद्धार गरिएको छ भने कम्तीमा चारजना बेपत्ता छन् । विदेशीलाई सगरमाथा आरोहण गराउने बन्दोबस्तीका सामान बोकेर उक्लने क्रममा सहयोगीका रूपमा खटिएकाहरू हिमपहिरोमा परेका हुन् । मृत्यु हुनेमा अधिकांश सोलुखुम्बुकै स्थानीय शेर्पा छन् । शुक्रबार १२ जनाको शव हेलिकोप्टरबाट लुक्लामा ल्याइएको सोलुखुम्बुका प्रहरी प्रमुख बद्रीविक्रम थापाले बताए । मौसम प्रतिकूल भएकाले दिउँसो चार बजेपछि उद्धार रोकिएको उनले जानकारी दिए । ‘२० जनाको टोली हिमपहिरोमा परेको भन्ने छ,’ डिएसपी थापाले भने, ‘थप केही शव देखिए पनि प्रतिकूल मौसमका कारण उद्धार गर्न नसकिएको उद्धारमा खटिएकाले बताएका छन् ।’ हिमपहिरोमा घाइते भएकाको काठमाडौंको नर्भिक, ग्रान्डी र मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ । दुईजनाको टाउको देखिएको, तर उद्धार गर्न नसकिएको नेपाल ट्रेकिङ ट्राभल र्‍याफ्टिङ मजदुर युनियनले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा साग्रिला नेपाल, हिमालयन गाइड नेपाल ट्रेक्स एन्ड एक्स्पिडिसन, सेभेन समिट ट्रेक, समिट नेपाल ट्रेकिङ र हिमालयन इकास्टी ट्रेक एन्ड एक्स्पिडिसनमा आबद्ध कर्मचारी छन् । हिमपहिरोपछि गृह मन्त्रालयमा केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठक गृहमन्त्री वामदेव गौतमको अध्यक्षतामा बसेको थियो । बैठकले मृतकका परिवारलाई ४० हजार रुपैयाँका दरले आर्थिक सहायता दिने निर्णय गरेको छ । शुक्रबार बिहान ६:३० बजेको समयमा दुर्घटना भएको पर्यटन मन्त्रालयले जनाएको छ । सगरमाथा, ल्होत्से, नुप्त्से हिमालको आरोहणमार्गमा पर्ने क्याम्प १ नजिकै खुम्बुमा गएको हिमपहिरोमा उनीहरूको मृत्यु भएको हो । बेस क्याम्पबाट हिँडेको करिब तीन घन्टापछि उनीहरू पहिरोमा परेका थिए । हिमाल चढ्न गएका पर्यटक भने बेसक्याम्पमा नै थिए । दुर्घटना भएको क्षेत्र पाँच हजार नौ सय मिटरमा पर्ने पर्यटन मन्त्रालयले जनाएको छ । हिमपहिरोमा परेकाको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सगरमाथा प्रदूषण नियन्त्रण समितिका चिकित्सक, हिमालयन उद्धार संघका चिकित्सक तथा विभिन्न ट्रेकिङ एजेन्सी खटिएका थिए ।

No comments: