News

Dec 29, 2011

१२२२ सवारी चालक ट्राफिक कारबाहीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार दुई सय २२ जना जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । रातको समयमा दुर्घटना बढेपछि ट्राफिक प्रहरीले चेकिङ कडा पारेको थियो । महानगर ट्राफिक प्रहरी महाशाखाले मंसिर १७ गतेदेखि मादकपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही तिब्र बनाएको हो । कारबाहीसँगै दुर्घटनामा पनि कमी आएको महाशाखा प्रमुख डिआजी गणेशराज राईले दावी गरे । त्यस्तै कारबाहीमा पर्ने व्यक्तिका परिवारका सदस्य पनि खुसी रहेको उनले बताए । ट्राफिक र प्रहको संयुक्त प्रयासमा मंसिर १७ देखि पुस १३ सम्म १ हजार २ सय २२ जनालाई नियन्त्रणमा लिएको ट्राफिकले जनाएको छ । त्यसमध्ये ९ सय ७६ जनालाई १ हजार रुपैयाँका दरले जरिवाना गरेको छ । ९ सय ७६ जनालाई जरिवाना गराउँदा ९ लाख ७६ राजस्व संकलन भएको महाशाखाका प्रहरी नायव निरीक्षक कमानसिंह खत्रीले जानकारी दिए । सबैभन्दा बढी कारबाही सुरुको दिनमा १ सय ६८ जना, दोस्रो दिन १ सय ५० जना, पुस ९ मा १ सय ६५ जना र १० गते १ सय १५ जना नियन्त्रणमा लिएको उनले बताए । प्रहरी हिरासतमा जाकिनुपर्ने कल्पनासम्म नगरेका कतिपय डाक्टर, इन्जिनियर, बैंकर, निजामति कर्मचारी र सैनिक अधिकृतले हातमा हत्कडी लगाइएको अवस्थामा मेडिकल जाँचमा उपस्थित भई चिसो छिंडीमा रात बिताउनुपरेको छ । मदिरा सेवन गरेर सवारी चलाउन कानुनले निषेध गरेको छ । राति सडकमा सवारीको चाप घट्नासाथ प्रहरी चेकजाँच गर्न निस्कने गरेका छन् । यस क्रममा प्रहरीले सवारी चालकको मुख सुँघ्छन् । गन्ध आउनासाथ तिनलाई नियन्त्रणमा लिएर मदिरा सेवन प्रमाणित गर्न अस्पताल लैजाने गरिएको छ । डाक्टरले मदिरा सेवन प्रमाणित गरेपछि प्रहरी कार्यालयमा लगेर थुनिन्छ । भोलिपल्ट उपत्यकाभरी पक्राउ परेका चालकलाई महाशाखामा भेला गरेर एक घन्टाको कक्षा सञ्चालन गर्ने गरिएको छ । हिरासतमा रात बितायनु पर्ने भएपछि मदिरा सेवन गरेर सवारी चलाउने छाडापन घट्न थालेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आफ्नै गल्तिले गर्दा कतिपयले टाइसुटमै चिसो छिंडिमा रात बिताउने गरेका छन् ।

No comments: