News

Aug 29, 2013

गोलमेचका लागि सहजकर्ताको भूमिका खेल्न ३३ दलको राष्ट्रपतिलाई आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आन्दोलनरत नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले गोलमेच सम्मेलनका लागि सहजकर्ताको भूमिका खेल्न राष्ट्रपति डा. रामवरण यादवलाई आग्रह गरेको छ। माओवादीका सचिव देव गुरुङको नेतृत्वमा गएको तेत्तीस दलीय मोर्चाले आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति डा. यादवलाइ भेटेर गोलमेचका लागि सहजकर्ताको भूमिका खेल्न आग्रह गरेका हुन्। राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपतिलाई गोलमेच सम्मेलन र राष्ट्रिय सहमतिका लागि सहजकर्ताको भूमिका खेल्न आग्रह गरेको भेटपछि सचिव गुरुङले जानकारी दिए। मोर्चाले आफ्नो माग पूरा नभएपछि बाध्य भएर आन्दोलनमा जानुपरेको बताउँदै माग पूरा भए निर्वाचनको प्रक्रियामा सहभागी हुने राष्ट्रपतिलाई जानकारी गराएका थिए। दलहरुबीचको बिमतिको यात्रालाई राष्ट्रिय सहमतिको मार्ग दिन राष्ट्रपतिले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने गुरुङको भनाइ थियो। सरकारलाइ पटक–पटक सहजकर्ताको भूमिका खेल्न आग्रह गरेपनि सरकारले चासो नदेखाएको आरोप उनले लगाए। चार दलीय गठबन्धन र सरकारले गोलमेच सम्मेलन गर्नुपर्ने आफूहरूको माग सुनुवाइ नगरेकाले राज्यको अन्तिम अङ्गको रुपमा राष्ट्रपतिले गोलमेचका लागि सहजकर्ताको भूमिका खेल्ने आशा मोर्चाले लिएको उनले बताए। जवाफमा राष्ट्रपतिले कुन विधि र प्रक्रियाबाट अघि बढ्ने भन्ने वियमा आफूले छलफल गर्ने बताउनुभएको सचिव गुरुङले जानकारी दिए। राष्ट्रपतिले निर्वाचनमा सहभागी हुन र आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाटै समस्याको समाधान गर्न मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए।

No comments: