News

Jan 24, 2008

माघ २० गते लिम्बुवान बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,वीर्तामोड
संघीय लिमबुवान राज्य परिषदले वीर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरेर जातिको ऐतिहासिक पृष्ठभूमिको आधारमा जातीय स्वायत्त राज्य र जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको निश्चितता अन्तरिम संविधानमा उल्लेख गर्न माग गर्दै सो कुरा उल्लेख नगरी गर्न लागिएको संविधानसभाको निर्वाचनमा लिम्बुवानको सहभागिता नरहने जनाएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध परिषदले पूर्णसमानुपातिक र जातीय स्वायत्त राज्यको प्रत्याभूतिविना गरिने संविधानसभाको निर्वाचन निरर्थक र नाटकवाजी मात्र भएको बताउदै लिम्बुवानमा निर्वाचन हुन नदिने घोषणासमेत गरेको छ। परिषदले प्रेस विज्ञप्ति जारी गर्दै लिम्बुवान आन्दोलनको क्रममा मारिएका राजकुमार आङदेम्बेलाई राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने लिम्बुहरुको मातृभाषालाई लिम्बुवानका सरकारी कार्यालयमा प्रयोगमा ल्याइनुपर्नेलगायतका मागहरु पनि राखेका छन्। जल, जङ्गल र जमिनमाथिको आदिवासीको अधिकार हुने धारणा राख्दै लिम्बुवानका सबै किसिमका वन पैदावर काट्न तथा खनिज पदार्थ संकलन गर्न र अ‍ोसारपसार गर्न प्रतिबन्ध लगाइने विज्ञप्तिमा उल्लेख छ। धनकुटाको भेडेटारस्थित सिमखुवा ढाटमा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै यस्तै हस्तक्षेप कायम रहे भयानक परिणाम आउने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ। परिषद्का महासचिव मिसेकहाङ थाम्सुहाङले विरोधस्वरुप माघ २० गते लिम्बुवान बन्द गर्न घोषणासमेत गरेको जानकारी दिनुभएको छ।

धरान नगरपालिकामा श्रीजङ्गा लिपीको बोर्ड

लिम्वूवान डट व्लगस्पोट डटकम ,धरान
लिम्बुवान स्वायत्व सरोकार मन्चको अगुवाईमा आज धरान नगरपालिकामा किरात श्रीजङगा लिपीको बोर्ड पुर्नस्थापना गरिएको छ। केहि हप्ता अगि धरान नगरपालिका र अन्य पाँचवटा सरकारी कार्यलयहरुमा किरात श्रीजङगा लिपीको बोर्ड राखिएको थियो तर स्थानिय प्रशासनले राखिएको एक घण्टा नबित्दै सो बोर्डहरु हटाएका थिए। त्यसैको विरोधमा आज नगरपालिकाको मूल गेटमा ११ वटा लिम्बूजन्य सघं संस्थाहरुको एक्यबद्धतामा ताल्चा लगाइएको थियो। ताल्चा लगाइएकै समयमा सात दलका प्रतिनिधिहरु नगरपालिकामा बैठक बसिरहेका थिए। यि दलका प्रतिनिधिहरु पनि नगरपालिकामै थुनामा परेका थिए। लिम्बूजन्य संस्थाहरु र सात दलिय प्रतिनिधिहरु बिच सहमति अनुसार सात दलले हटाएका बोर्ड ल्याउने सहमति भए पछि ताल्चा खोलिएको थियो। ताल्चा खोलिएको आधा घण्टा नबित्दै सात दलका प्रतिनिधिहरुले नगर पालिकामा बोर्ड ल्याइ पुर्नस्थापना गरेका थिए। अब अन्य सरकारी कार्यलयहरुमा पनि बोर्ड पुर्नस्थापना गराउन दबाब दिने लिम्बूवान स्वायत्व सरोकार मन्चका अध्यक्ष जय केरुङले जानकारी दिनुभयो।

चुनावी सभा नगर्न लिम्वूवानको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,फिदिम
फिदिम जिल्ला स्थित सात राजनैतिक दलले विभिन्न पाच ठाउमा संविधान सभा चुनावको लागि आमसभा तयारी गरीरहेको वेला संघीय लिम्वूवान परिषदले त्यस्तो कार्यक्रम नगर्न दबाव दिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय परिषद सम्वध्द पक्षले एक प्रेस विज्ञाप्ति प्रकाशित गरी त्यस्तो कार्यक्रम नगर्न दबाव दिएकाछन् ।

Jan 22, 2008

किरात याक्थुङ चुम्लुङ यू.के.को पाचौ पूर्ण बैठक विभिन्न महत्वपूर्ण निर्णयका साथ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम
विश्वास दीप तिगेला,केन्ट, वेलायत

गत १९ जनवरीका दिन वेलायतको आसफोर्डमा किरात याक्थुङ चुम्लुङ वेलायत कमिटीको पाचौ पूर्ण बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।


बैठकले बर्षभरि भएको कार्यप्रगतिको समिक्षा गर्नुको साथै लिम्बूवान स्वायत्त राज्य स्थापनाको निमित्त किरात याक्थुङ चुम्लुङ नेपालले संचालन गरेको लिम्बूवान जाँगरण अभियान प्रति प्रतिबद्धता जनाउदै २ हजार ४ सय पाउण्ड आर्थिक सहयोग तुरुन्त पठाउने निर्णय गर्‍यो । यो तेस्रो कार्यसमितिको कार्यअवधि पनि चाडै सकिने भएकोले नयाँ कार्यसमिति निर्माणको लागि गणेश लिम्बू र डा. चन्द्र लक्सम्बालाई निर्वाचन आयुक्त तोकेको छ । इच्छुक ब्यक्तिले उम्मेदवारीको लागि आगामी १२ अप्रिल २००८ भित्र आफ्नो नाम दर्ता गराइसक्नु पर्ने र २६ अप्रिलका दिन बाषिर्क सभाद्धारा चौथो कार्यसमितिको निर्वाचन गर्ने निर्णय गर्‍यो । त्यस्तै गरि प्रत्यक बर्षआयोजना गरिने वेलायतबासी सम्पूर्ण लिम्बू परिवारहरुको बृहत भेला आउदो १९ जुलाइका दिन सिसेक्वा तङनाम साउने संक्रान्तिको अवसरमा आसफोर्डमा सम्पन्न गर्ने पनि र्सवसम्मत निर्णय भयो ।
कमिटीका कोषाध्यक्ष श्रीमति कमला लिम्बूले गतबर्षनेपालका बाढि पीडितहरुका लागि १५ सय ५७ पाउण्ड नेपाली दुतावास लण्डनलाई प्रदान गरेको त्यस्तै गरि अल्पायूमै र्स्वारोहण हुनुभएका ड्यानिल लिम्बूको सहयोगको लागि १६ सय ५० पाउण्ड सहयोग प्रदान गरेको बताउनु भयो । वेलायतमै रहनु भएको कैलाश लिम्बूको पनि गतबर्षअसमायिक निधन भएको थियो । स्व. लिम्बूको श्रीमति युवाकुमारी लिम्बूलाई बैठककै अवसरमा वेलायत चुम्लुङका अध्यक्ष सिरीप्रसाद लिम्बूले ९ हजार ५ सय १६ पाउण्ड चुम्लुङको तर्फाट सहयोग प्रदान गर्नुभयो । चुम्लुङको तर्फाट स्वर्गिय कैलास लिम्बू र ड्यानिल लिम्बू प्रति श्रद्धान्जली ब्यक्त गर्दै भैपरि आएको बेला यसरी नै आपसी सहयोग निरन्तर हनुपर्ने बताउनु भयो र यसपटक सहयोग गर्नुहुने सबै दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
बैठकले आगामी समरको बृहत भेलाको अवसरमा नेपालबाट विभिन्न लिम्बू प्रतिभाहरुलाई ल्याई सम्मान गर्ने पनि निर्णय गर्‍यो । आगामी बाषिर्क भेलाले अनुमोदन गर्नेगरि चुम्लुङ खेलकुद म्यानेजरमा पूर्व क्याप्टेन बंमबहादुर लिम्बूलाई तोकेको छ । वेलायत चुम्लुङ भवनको खरिद गर्ने सवालमा छलफल लगायत किरात रिसर्च सेन्टरको स्थापना साथै लिम्बू लाइब्रेरीको सवालमा पनि चुम्लुङ अब तातिएको कुरा वेलायत चुम्लुङका महासचिव राजन लिम्बूले बताउनु भयो ।

नेपालको लिम्बुवान प्रान्तीय राज्यमा एक अर्को संगठन गठन

लिम्वूवान डट व्लगस्पोट डटकम
भर्खरै मात्र प्राप्त समाचार अनुसार संघीय प्रजातान्त्रिक नेपालको लिम्बुवान प्रान्तीय सरकारबाट केन्द्रीय सरकारमा बहालवाला स्वास्थ्य कर्मचारीहरुले हालसालै एक संगठन खोली कार्यक्रम सञ्चालन गर्न लागेका छन् । उक्त नयां संगठनको नाम स्थानीय सरकारी भाषा लिम्बू याक्थुंपान्मा राखिएको छ भने त्यसलाई मुजोःत्लुं अर्थात केन्द्रीय भनिएकोछ । यो संगठन माओवादी पार्टीसंग निकट रही काम गर्ने उद्देश्यले खोलिएको कुरा सम्बद्ध सुत्र बताउंछन् । संघीय प्रजातान्त्रिक नेपालको संरचना भित्र पर्ने यस नेपाल लिम्बुवान प्रान्तको पूर्णता प्राप्तिको लागि लड्ने भन्ने बुझिएको छ भने सांचो अर्थमा यसको प्राप्तिको लागि लड्ने पार्टी माओवादी नै भएको कुरा ठहर समेत गरेकोछ ।

तामाङसालिङ स्वायत्त राज्य परिषदको सम्मेलन सम्पन्न:अड्तीस सदस्यीय नयाँ नेत्रित्वको चयन

लिम्वूवान डट व्लगस्पोट डटकम,डीबी आङ्बुङ्,
तामाङ्सालीङ् । January 21, 2008
संघीय लोकतान्त्रिक रास्ट्रिय मञ्च: टामाङसालिङ स्वायत्त राज्य परिषदको ऐतिहासिक विस्तारित सम्मेलन विभिन्न राजनीतिक दस्तावेजहरू विधान, राजनीतिक प्रतिवेदन र घोषणा-पत्र पारित गर्दै नयाँ नेत्रत्वको चयन गरेर माघ ६ गते ललितपुरमा सम्पन्न भयो । परिषदको नयाँ नेत्रित्वमा डी। के। बुद्धिस्त- काठमान्दौं, श्रीमती चन्द्र तामाङ्-काठमान्दौं तथा रबिन्द्र थिङ -रामेछाप क्रमश: अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचित भएका छन । त्यसैगरी, सदस्यहरूमा: छेउसाङ मोक्तान- काभ्रे, राजकुमार तामाङ- चितवन, लखनबहादुर तामाङ- सिन्धुपाल्चोक, मानछिरिङ तामाङ- धादिङ, मेमबहादुर वाइबा-सिन्धुपाल्चोक, क्रिष्णबहादुर गोले-सिन्धुपाल्चोक, क्रिष्णकुमारी वाइबा-सिन्धुपाल्चोक, सुनमाया मोक्तान- काठमाडौं, पदमसागर लामा-सिन्धुपाल्चोक, देवकुमार घिसिङ-रामेछाप, धनबहादुर तामाङ्- नुवाकोट, पन्चराम लो तामाङ् – सर्लाही, विष्णुमाया योञ्जन– रामेछाप, श्री मती शान्ता लामा– मकवान्पुर, देव लामा– मकवान्पुर, टंकबहादुर हिम्दुङ– मकवान्पुर्, रुद्रबहादुर थिङ– ललितपुर, सुब्ब तामाङ – भक्तपुर, टंकबहादुर लामा– दोलखा, बुद्धसिद्धि लामा– सिन्धुपाल्चोक, श्याम लामा योञ्जन– काठमादौं, सिङगबहादुर लामा– रामेछाप, वाइमा लामा– रामेछाप, रामबहादुर तामाङ– दोलखा, बुद्धछिरिङ मोक्तान- सिन्धुपाल्चोक, दिपकुमार मोक्तान– काठमाडौं, सम्वरसिङ मोक्तान- सिन्धुपाल्चोक, विनोद श्याङ्तान- सिन्धुपाल्चोक, तिर्थ मोक्तान- सिन्धुपाल्चोक, नर्भुलामा मोक्तान- सिन्धुपाल्चोक, बुद्धसिद्धि लामा- सिन्धुपाल्चोक, वसन्त योञ्जन- सिन्धुपाल्चोक, प्रेमधोज लामा– दोलखा, उत्तम कुमर तामाङ– काठमाडौं, दोर्जे घ्याडन तामाङ– रामेछाप र सिद्धि घिसिङ– मोरङ रहेकाछन् ।

Jan 20, 2008

मातृभाषाको कविता अनलाइनमा बाचन गर्न पाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,यू.के.
अनलाइन नेपाली साहित्य मंचले नेपाली साहित्यकै इतिहासमा पहिलो पटक विश्वब्यापी रुपमा अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २००८ गर्ने भएको छ । यस प्रतियोगितामा स्रष्टा विश्वको जुनसुकै कुनामा रहेको भएपनि अनलाइन फोन र वेभ क्यामेराको मद्दतले आफ्नै घरको कोठाबाटै सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिता आगामी माघ २८ गते श्रीपंचमी सरस्वती पूजाको दिन सम्पन्न हुनेछ । सहभागिहरुले माघ २५ गते भित्र आफ्नो नाम दर्ता र वाचन गर्ने कविता साहित्य मंचको कार्यलय वेलायतमा इमेल मार्फत पठाइ सक्नु पर्नेछ । प्रतियोगिहरु मध्ये पहिलो, दोस्रो र तेस्रोलाई नगद पुरस्कार तथा अनलाइन पुरस्कार र प्रमाण-पत्र प्रदान गरिनेछ । इच्छुक ब्यक्तिले आफ्नो मातृभाषाको कविता पनि अप्रतियोगीको रुपमा बाचन गर्न सक्नेछन् । मूल्याङ्कन कर्ताहरु विभिन्न ३ देशमा गोप्यरुपमा राखिने छ ।

कार्यक्रमहरुः
माघ १ गते देखि प्रचारप्रसार आरम्भ । माघ २५ गते भित्र नाम दर्ता तथा सिर्जना पठाइ सक्नु पर्नेछ । कविता नयाँ हनु पर्नेछ, अन्यथा प्रतियोगितामा नराखी सहभागिको रुपमा मात्र राखिने जानकारी गराइन्छ ।
माघ २६ गते प्राविधिक पक्षका अनलाइन टेलीफोन र वेभ क्यामरा मिलाउने ।
माघ २८ गते तदनुसार ११ फेब्रुवरी २००८ का दिन कविता बाचन, यू. के. समय बिहान ०७ बजे देखि वेलुकी ९ बजे तथा नेपालको समय दिउसो १२ बजे देखि रातको १२ बजे भित्र अनलाइनमा आएर कविता बाचन गर्ने ।
माघ २९ गते विजयी घोषणा गर्ने र विजय हुनेहरुलाई पुरस्कार प्रदान गर्ने वा पठाइ दिने । प्रतियोगीहरु संग इन्टरनेट पहूचको साथै वेभक्यामेरा हनु पर्नेछ ।
इच्छुकले इन्टरनेट क्याफे प्रयोग गरेर पनि सहभागि बन्न सक्नुहुनेछ ।
प्रतियोगिताको लागि स्रष्टाहरुले कुनैपनि माध्यामबाट आयोजक अनलाइन नेपाली साहित्य मंचलाई सम्पर्क गर्न सक्नुहुनेछ र तपाइले आफ्नो टेलिफोन नम्बर पनि उपलब्ध गराउनु पर्नेछ ।

प्रतियोगिताको लागि मुख्य गरि याहू म्यासेन्जर प्रयोग गरिनेछ । वैकल्पिक रुपमा हटमेल म्यासेन्जर, एओएल म्यासेन्जर र जिमेल म्यासेन्जर प्रयोग गरिने छ ।

जस्को लागि निम्नअनुसारको इमेल एकाउण्टहरु तयार गरिएको छ ।
सम्पर्क इमेल ठेगानाः
Sahitya Ghar 59 Mackenzie
Drive Folkestone, Kent CT20 3LR
United Kingdom
Phone: +44 7878533582
Fax: +44 1303275680

Contact in Nepal:
NPC-620, GPO-8973
Kathmandu, Nepal