News

Sep 2, 2010

नेवानिले ड्रुक एयर भाडामा सञ्चालन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ भदौ,राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले भुटानको ड्रुक एयरसँग जहाज भाडामा सञ्चालन गर्ने भएको छ । ड्रुक एयरले यसका लागि प्रस्ताव राखेपछि निगमले जहाज भाडामा लिएर सञ्चालन गर्नका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । सम्झौताका लागि निगमको व्यवस्थापनले निर्णय गरिसकेको छ भने ड्रुकसँग पनि अनौपचारिक वार्ता अगाडि बढाएको छ । डु्रकको काठमाडौं-पारो उडान भरिरहेको विमान भाडामा लिएर निगमले काठमाडौं-बैंकक उडान भर्नेछ । बैंकक बढी व्यस्त हुने सेक्टर भएकाले निगमले सो गन्तव्यमा उडान गर्ने योजना बनाएको हो । निगम अधिकारीले सम्झौताका लागि गृहकार्य भइरहेको र अक्टोबरसम्ममा सम्झौता हुने बताएका छन् । 'रकम तथा सम्झौता अवधिको टंुगो लागिसकेको छैन, यसबारे छलफल भइरहेको छ,' एक अधिकारीले भने ।

सुन आयातमा पूर्ण प्रतिबन्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १७,बाह्य मुलुकबाट ठूलो परिमाणमा सुन आयात हुँदा विदेशी मुद्राको सञ्चितिमा प्रतिकूल असर पर्ने भएकाले भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन ल्याउन प्रतिबन्ध लगाएको छ। मन्त्रालयले निकासी पैठारी नियन्त्रण ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी अर्को व्यवस्था नभएसम्म यस्तो व्यवस्था गरिएको जनाएको छ। जसअनुसार २०६७ भदौ १८ गतेदेखि सुन (भन्सार शीर्षक ७१.०८) को आयातमा पूर्ण प्रतिबन्ध लगाएको उसले जानकारी दिएको छ। व्यवसायीहरुका अनुसार नेपाली बजारमा दैनिक ३५ किलो सुन खपत हुने गरेको छ ।

Sep 1, 2010

उपसेनानीको कुटाइबाट अमल्दारको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १६- नेपाली सेनाका उपसेनानी टिकाराम चौलगाइँको कुटाइबाट सैनिक अमल्दार धनराज कार्कीको मृत्यु भएको छ। कोटेश्वरस्थित चलगाइँकै घरमा डेरा गरी बस्दै आएका कार्कीबीच सोमबार साँझ झगडा भएको थियो। कुटाइबाट घाइते भएका कार्कीको सैनिक अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो।
कार्की उपसेनानी चौलगाइँको कोटेश्वरस्थित घरमा डेरागरी बस्दै आएका थिए। सोमबार साँझ दुवैबीच झगडा हुँदा गम्भीर घाइते भएपछि कार्कीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई सैनिक अस्पताल लगिएको थियो। घाइते कार्कीको मृत्यु भएपछि कोटेश्वर प्रहरीले उपसेनानी चौलगाइँलाई पक्राउ गरी सैनिक प्रहरीलाई बुझाएको छ।

सदीक्षा श्रेष्ठ मिस २०१० नेपालको उपाधि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ,१७ जना प्रतियोगीलाई पछि पार्दै सदीक्षा श्रेष्ठ मिस २०१० नेपालको उपाधि हात पार्न सफल भएकी छन्। उपाधिसँगै उनले ५० हजार नगद र चेरी कार हात पारिन्। भाउ म्यागेजिनको 'टप टेन कलेज उमन'मा छानाइसकेकी सदीक्षा 'मिस ब्युटीफुल लेडी २००५' की सहभागी थिइन्। टेलिभिजन विज्ञापनमा मोडलिङ गरिसकेकी सदीक्षा बास्केटबल र घुमघाम मन पराउँछिन्। फस्ट रनर अप साहरा बज्राचार्य भइन्। सेकेन्ड रनर अपको उपाधि संयुक्ता तिमल्सिना जितिन्। फस्ट रनर अप साहाराले ३५ हजार र महिन्द्रा रोडियो स्कुटर हात पारिन्। सेकेन्ड रनर अप संयुक्ताले २५ हजार नगद पाइन्। प्रतियोगिताको फाइनल राउन्डमा विभिन्न जिल्लाका १८ युवतीबीच प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा देशका विभिन्न जिल्लाहरूबाट सहभागिताका लागि ८० जनाले नाम दर्ता गराएका थिए। नाम दर्ता गराएका युवतीबाट ५० जना छानिएको थियो। त्यसपछि त्यो संख्यालाई २४ मा छाटिएको थियो र तालिमको दोस्रो हप्तामा १८ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि योग्य घोषणा गरिएको थियो।

२० गतेको निर्वाचनबाट देशले प्रधानमन्त्री पाउने विश्वास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा,उपराष्ट्रपति परमानन्द झाले भदौ २० गते हुने प्रधानमन्त्रीको निर्वाचन प्रक्रियाबाट मुलुकले राजनीतिक निकास पाउने विश्वास व्यक्त गर्नुभएको छ ।श्रीकृष्ण जन्माष्टमीको एक कार्यक्रममा भाग लिन पोखरा आउनुभएका उपराष्ट्रपति झाले आज पोखरा विमानस्थलमा सञ्चारकर्मीहरूसँगको भेटमा सबै दलहरूबीचको सहमतिबाटै उचित निकास निस्कने बताउनुभयो ।उपराष्ट्रपति झाले सो दिन पनि निकास निस्केन भने यसको कारण बारेमा राजनीतिक दलका नेताहरूले नेपाली जनतालाई स्पष्ट पार्नुपर्ने बताउनु भयो ।राष्ट्रपति शासनका बारेमा पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफमा उहाँले राष्ट्रपतिले एउटा राष्ट्रको अभिभावकको रूपमा सबै राजनीतिक दलका नेताहरूलाई बोलाएर छलफल गरी मुलुकलाई निकास दिन अनुरोध गर्नुभएको मात्रै हो भन्नुभयो ।राजसंस्था सक्रिय हुन लागेको भन्ने सञ्चारकर्मीहरुको एक जिज्ञासामा उपराष्ट्रपति झाले राजसंस्था जति नै सक्रिय भए पनि अहिलेको अवस्थामा उसको पुनरागमन सम्भव नभएको बताउनुभयो ।

गोर्खाल्याण्डका लागि आन्दोलन भोक हड्ताल सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिलिगुडी, भाद्र १६ - गोर्खाल्याण्डका लागि आन्दोलन गरिरहेको गोर्खा जनमुक्ति मोर्चाले बुधबारदेखि १७ दिने रिले भोक हड्ताल सुरु गरेको छ । मदन तामाङको हत्या अभियोगमा पक्राउ गरी हिरासतवाटै फरार निकेल तामाङको वास्तविकता पत्ता लगाउन वंगाल सरकार असक्षम वनेको भन्दै मोर्चाले अनसन शुरु गरेको हो । मोर्चाले यसअघि निकेल सार्वजनिक नभए अनिश्चितकालीन दार्जिलिङ वन्द गर्ने जनाएको थियो । सेप्टेम्वर ७ मा दिल्लीमा हुने आठौं चरणको त्रिपक्षीय वार्तालाई मध्यनजर गरेर वन्द भने स्थगन गरिएको मोर्चाका प्रचार सचिव हर्क क्षेत्रीले जानकारी दिए । प्रहरीले हालसम्म उनको अवस्था सार्वजनिक गरेको छैन । निकेललाई सोमवार दार्जिलिङ जिल्ला अदालत पेश गर्नु पर्ने थियो । तर, उनको अवस्था अझै अज्ञात रहेकाले अदालतमा हाजिर गराउन सकेन । प्रहरीले निकोललाई 'भगौडा' घोषणा गर्दै पुनः खोजतलास तीव्र पार्ने अदालतसमक्ष जानकारी गराएको थियो ।

अब एक लाख मै टेस्टट्युब बेबी तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १६- टेस्ट्युबमा भ्रुणको विकासगरी महिलाको पाठेघरमा राखेर बच्चा जन्माउने प्रविधि (आइभिएफ) अब सरकारी अस्पतालमा समेत सुरू हुनेभएको छ। निजी क्षेत्रमा टेस्ट्युब प्रविधिबाट बच्चा जन्माउन सुरू गरिएको ६ वर्षपछि परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा यस्तो सेवा सुरु गर्न लागिएको हो। अस्पतालको ५१ औँ वार्षिक उत्सवको अवसर पारेर आज सो सेवाबारे घोषणा गरिँदैछ। पुरूषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम प्रविधिबाट निकाली प्रयोगशालामा मिलाएर भ्रुण विकास गराएपछि गर्भाधान गराएर पाठेघरमा प्रत्यारोपण गराइन्छ। सेवा सुरू गर्न तयार रहेको अस्पतालको प्रस्तावमा मन्त्रालय सकारात्मक देखिएपछि अस्पतालले विस्तृत प्रस्ताव तयार पारेर मन्त्रालय पठाइसकेको अस्पतालकी निर्देशक डा.लता बज्राचार्यले बताइन्। 'हामीले भने अनुसार भएमा ६ महिनभित्र सेवा सुरू गर्न सक्छौ।' डा.बज्राचार्यले भनिन् 'त्यसमा मन्त्रालयका अधिकारी समेत सकारात्मक छन्। ' निजी क्षेत्रमा यो प्रविधि सुरू भएपनि एक त अत्यन्तै महङ्गो छ। सुलभ सेवा र सबै प्रकारका आधुनिक स्वास्थ्य सेवा विस्तारका लागि यो काम कोसेढुङ्गा सावित हुने अस्पतालका अधिकारीको विश्वास छ। अस्पतालकी निर्देशक डा.लता बज्राचार्यले भनिन् , 'त्यसैले हामी अग्रसर भएका हौ।'