News

May 21, 2012

यमनको सानामा बम विष्फोट ५० बढीको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 यमनको राजधानी सानामा आत्माघाती बम विष्फोट हुँदा ५० बढीको मृत्यु भएको छ । यमनको राजधानी सानास्थिति सैनिक परेड मैदानमा सैनिक पोषाकमा आएका एक आत्मघाती आक्रमणकारीले अभ्यासरत रहेका सैनिकहरुको बिचमा पुगेर बम विस्फोट गराएको थियो । उक्त स्थानमा आज यमनले एकीकरणको २२औँ वार्षिकउत्सवको कार्यक्रम आयोजना गरेको थियो । वार्षिकोत्सव कार्यक्रममा यमनका राष्ट्रपति अतिथिका रुपमा आउने पूर्व निर्धारित कार्यक्रमलाई लक्षित गरी आत्मघाती आक्रमणकारीले बिष्फोट गराएको अधिकारीहरुले बताएका छन् । उक्त घटनाका प्रत्यक्षदर्शी सैनिकले मृतकको संख्या ५० पुगेको र त्यो संख्या अझ बढ्ने बताएको विभिन्न समाचार संस्थाले उल्लेख गरेका छन ।

जनजातिको बन्दको दोस्रो दिन मुलुकभरको जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 आदिवासी जनजाति संयुक्त संघर्ष समितिले गरेको बन्दको दोस्रो दिन आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । आजको बन्दमा ललितपुरको इमाडोलमा बन्दकर्ता र स्थानीयबीच झडप हुँदा उक्त क्षेत्र तनावपूर्ण बनेको छ । स्थानीय र बन्दकर्ताका बिचमा भएको ढुङ्गा हानाहान हुँदा त्यहाँको स्थिति आतङकित बनेको छ । उक्त क्षेत्रमा सुरक्षाकर्मीको कमजोर उपस्थिति देखिएको छ । जातीय पहिचानसहितको राज्यको माग गर्दै हिजोदेखि भएको बन्दमा आदिवासी जनजाति समर्थक कार्यकर्ता व्यापक रुपमा सडकमा परिचालन भएका छन् । बन्दले मुलुकभरका सम्पूर्ण सहर ठप्प छन् ।

बन्दकर्तालाई शीर्ष नेताद्वारा बन्द फिर्ता गर्न आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 हिजोदेखि तीन दिने बन्दमा उत्रेका आदिवासी जनजाति संघर्ष समितिलाई बन्द फिर्ता गर्न प्रमुख दलका शीर्ष नेताले आग्रह गरेका छन् । आदिवासी जनजातिको संयुक्त संघर्ष समिति र वृहत मधेसी मोर्चालाई बन्द फिर्ता लिन प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाका नेताले आग्रह गरेका हुन । आज भएको वार्तामा जनजातिका माग जायज भएको तर यत्तिबेला सम्झौताको संविधान बनाउनु पर्ने भएकाले आफ्नो आन्दोलनलाई स्थगित गर्न आग्रह गरेका हुन । बन्दकर्ताले भने जातिय पहिचानसहितको संघीयताको माग सम्बोधन नभएसम्म बन्द निरन्तर चल्ने बताएका छन् । सरकारले आन्दोलनकारीसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । सरकारले शान्ति मन्त्री टोपबहादुर रायमाझकिो नेतृत्वमा गठन गरेको वार्ताटोलीसँग दिउँसो तीन बजे वार्ता हुने भएको छ । सरकारी वार्ता टोलीमा राधा ज्ञवाली, सूर्यमान गुरुङ र महेन्द्र राय यादव रहेका छन् भने जनजातिका तर्फबाट वार्ताटोली गठन भएको छैन ।

May 20, 2012

भोलि बिहान सूर्यग्रहण, काठमाडौँबाट देख्न नसकिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेठ ७,सोमबार एकाबिहानै लाग्ने खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भागबाट मात्र केही क्षणका लागि अवलोकन गर्न सकिने वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालयले जनाएको छ। नेपालभन्दा बाहिरबाट बलायकार सूर्यग्रहण देखिएतापनि नेपालबाट खण्डग्रास सूर्यग्रहणको रुपमा मात्र देख्न सकिने संग्रहालयले जनाएको छ। पूर्वी नेपालको झापा, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, सुनसरी, भोजपुर, खोटाङ, सोलुखुम्बु, मोरङ आदि ठाउँबाट बिहानको सूर्योदय लगत्तै ५:०३ मा दुईदेखि बढीमा ४ मिनेटसम्म करिब ६० प्रतिशत ढाकिएको अवस्थामा देख्न सकिनेछ। सूर्य ग्रहणको स्पर्श एसियाको चीनबाट नेपाली समय अनुसार बिहान २४१ बजे सुरु भएर जापान तथा प्रशान्त महासागरमाथि हुँदै मोक्ष बिहान ८ बजेर ४४ मिनेटमा मध्य अमेरिकामा हुनेछ।

११ प्रदेशविरुद्ध ३२० सभासद,सहमति खारेज गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ ७,माओवादी, कांग्रेस, एमाले, मधेसवादी पार्टी र साना दलका ३ सय २० सभासदले तीन दलबीच गत मंगलबार भएको ११ प्रदेश बनाउने सहमति खारेज गर्न माग गर्दै संविधानसभाको विवाद समाधान उपसमिति संयोजक पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरू 'सहमतिले सदियौंदेखि जातीय, भाषिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, उत्पीडनमा परेका आदिवासी/जनजाति, मधेसी, दलित, महिला, मुस्लिमलगायत उत्पीडित समुदायको पहिचान संघीय शासन प्रणालीको आवश्यकता र आकांक्षालाई लत्याएको' दाबी गर्दै विरोधमा उत्रिएका हुन् । 'कुनै खास सैद्धान्तिक आधारबिनाको राज्य पुनर्संरचना, नामांकन र सीमांकनबिनाको ११ प्रदेशको खाकामा भएको तीन दलको सहमतिले आदिवासी, जनजाति, मधेसी, दलित, महिला, मुस्लिमलगायत उत्पीडित समुदायलाई अत्यन्त क्षुब्ध बनाएको छ,' ज्ञापनपत्रमा भनिएको छ, 'माग पूरा नभए तीन दलको सहमतिविरुद्ध कठोर कदम उठाउन बाध्य हुनेछौं ।' कांग्रेस सभासदले समेत हस्ताक्षर गरेको ज्ञापनपत्रमा 'दलहरूबीचको ११ प्रदेशको सहमति, राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिको अवधारणा प्रतिवेदन र राज्य पुनर्संरचना सुझाव आयोगको बहुमतको प्रतिवेदनको सिद्धान्त, मान्यता र मापदण्ड' लाई लागू गर्न उनीहरूको माग छ । उनीहरूले एकल जातीय पहिचान आधारमा प्रदेशको नाम राख्नसमेत माग गरेका छन् । 'नामांकन एकल पहिचानको आधारमा जस्तै- लिम्बुवान, किराँत, शेर्पा, ताम्सालिङ, नेवाः, तमुवान, मगरात, थरुहट/थारूवान, जडान र मधेस -भोजपुरा, मिथिला र कोचिला) लगायत नामांकन गरियोस्,' उनीहरूले भनेका छन् । ज्ञापनपत्रमा कांग्रेस सभासदहरू इन्द्रबहादुर गुरुङ, तुलसी सुब्बा, जिपछिरिङ लामा शेर्पा, पासाङ शेर्पा लिम्बु, पूर्णकुमार शेर्मा, लीला सुब्बालगायत १८ सभासदले हस्ताक्षर गरेका छन् । माओवादीका संस्थापन र वैद्य पक्ष दुवैतर्फका सभासदले हस्ताक्षर गरेका छन् । वैद्य पक्षका महासचिवसमेत रहेका सभासद रामबहादुर थापा, सचिव सीपी गजुरेल, मुख्य सचेतक देव गुरुङ र पोलिटब्युरो सदस्य पम्फा भुसालले हस्ताक्षर गरेका छन् । माओवादी सभासद जुब्बा सोरेनको नाम उल्लेख भए पनि हस्ताक्षर छैन । उनीसहित प्रमुख दलको ११ प्रदेशमा भएको सहमतिको विरोधमा ३ सय २१ जना पुगेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईबाहेक अधिकांश माओवादी सभासदको हस्ताक्षर छ । मधेसवादी दलका करिब सबै र एमालेका आदिवासी/ जनजाति, मधेसी र दलित सभासदको हस्ताक्षर छ ।उनीहरूले राज्यको पुनर्संरचना गर्दा अल्पसंख्यक आदिवासी/जनजाति बसेको क्षेत्रलाई विशेष स्वायत्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । संविधानसभाका अत्यधिक बहुमत सभासद ११ प्रदेशको विरोधमा उत्रिएपछि प्रमुख दलबीच भएको सहमति विवादमा परेको छ । ज्ञापनपत्र प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, संवैधानिक समिति सभापति, कांग्रेस संसदीयका नेता र एमाले संसदीय दलका नेतालाई बोधार्थ दिइएको छ ।

सरकार र मुस्लिमबीच वार्ता सफल, सबै आन्दोलन फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सरकार र मुस्लिमबीचको वार्ता सफल भएपछि मुस्लिम संघर्षका सबै कार्यक्रम फिर्ता भएको छ । आन्दोलनरत मुसलमान संघर्ष गठबन्धनसँग शान्ति मन्त्रालयमा आज भएको वार्तामा सरकारले नयाँ संविधानमा तराई मधेसमा बन्ने प्रदेशको नामाकरण गर्दा मुसलमानको पनि पहिचान हुने शब्द राख्नेसहितका ११ बुँदे सहमति गरेको छ । सहमतिमा नयाँ संविधानमा मुस्लिम समुदायलाई छुट्टै समूदायकारुपमा सूचिकृत गरिने उल्लेख छ ।

फेसबुक संस्थापक मार्क जुकेरबर्गले विवाह गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
जेष्ठ ७ - फेसबुक संस्थापक मार्क जुकेरबर्गले विवाह गरेका छन् । २८ वर्षीय उनले एक वर्ष कान्छी प्रेमिका प्रिसिला चानसँग शनिबार विवाह गरेका हुन् । फेसबुकको साधारण सेयर खरिद-विक्री घोषणा गरेको भोलिपल्ट आफ्नै निवास पाओ आल्टोमा सानो समारोहमा जुकेरबर्गले विवाह गरेका हुन् । उनले आफ्नो फेसबुक स्टाटसमा यतिमात्र लेखेका छन्- 'विवाहित' । समाचार संस्था एपीका अनुसार विवाह समारोहमा सय जनामात्र सहभागी थिए । जुकेरबर्गले फेसबुकमा विवाहको फोटो अपलोड गरेका छन् ।