News

Jun 1, 2013

आइतबारदेखि उपत्यकाका सबै अदालतमा पेन डाउन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
न्यायपालिकासम्बद्ध पाँचवटा कर्मचारी संगठनले आइतबारदेखि सर्वोच्चसहित उपत्यकाका सबै अदालतमा पेन डाउन गर्ने भएका छन् । आफ्ना माग पूरा गर्न सर्वोच्च प्रशासनले चासो नदेखाएको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारी संगठनले भोलिबाट पेन डाउन गर्ने निर्णय गरेका हुन् । आइतबार १० देखि ११ बजेसम्म र त्यसपछिका दैनिक एकएक घन्टाका दरले पेन डाउन कार्यक्रम बढाउँदै लैजाने निर्णय गरिएको बताइएको छ । नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रसेवक कर्मचारी संगठन र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रको शुक्रबार बसेको संयुक्त बैठकले पेन डाउनको निर्णय गरेको हो । कर्मचारीले सर्वोच्च, पुनरावेदन र जिल्ला तहमा तत्काल न्यायाधीश नियुक्ति हुनुपर्ने, न्यायाधीश र कर्मचारीका लागि एउटै मापदण्डको सेवा, सर्त र सुविधा लागू गर्नुपर्ने, न्यायाधीश र कर्मचारीको सरुवा व्यवस्था पारदर्शी र नियमित हुनुपर्ने लगायतका माग राखेका छन् । सर्वोच्च प्रशासनले बिहीबार नै विभिन्न निकायमा परिपत्र गरिएको जनाएको भए पनि कर्मचारीले भने वार्ता असफल बनाउने षड्यन्त्र भएको भन्दै आपत्ति जनाएका छन् ।

No comments: