News

Jan 2, 2012

चुरे बन विनासको छानविन सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कञ्चनपुर र डडेल्धुराको सीमा चुरे क्षेत्रमा व्यापक रुपमा भएको बन कटानीको छानविन गर्न बन विभागका महानिर्देशक सहितको टोली कञ्चनपुर पुगेको छ । टोलीले चुरे क्षेत्रको स्थलगत अनुगमन गरी छानविन सुरु गरेको छ । बन विभागका महानिर्देशक ब्रज कुमार यादव नेतृत्वको तीन सदस्यीय विभागी टोली चुरे क्षेत्रको अनुगमनमा निस्केको हो । टोलीमा बन मन्त्रालयका उपसचिव श्यामप्रसाद शर्मा तथा शाखा अधिकृत हरि वेल्वासे रहेका छन् । चुरे क्षेत्रमा भएको बन कटानी र सडक निर्माणको अनुगमनमा निस्केका महानिर्देशक यादवले छानविन गरेर दोषीलाई कारवाही गरिने बताउनुभयो । डडेल्धुरा जिल्ला बन कार्यालयबाट हस्तान्तरण भएका पाँच वटा सामुदायिक बनले चुरे क्षेत्रमा रुख कटानी गर्दै आईरहेका छन् । कात्तिक महिनादेखि सुरु गरिएको कटानी अझै पनि जारी रहेको छ । सो क्षेत्रमा करिब ७० हजार क्यूफिट काठ काटिएको कञ्चनपुर जिल्ला बन कार्यालयले जनाएको छ ।

फिजीमा तीन वर्ष देखि लागु सैनिक कानुन हटाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फिजीमा तीन वर्ष देखि लागु भइरहेको सैनिक कानुन हटाइने भएको छ । सन् २००६ मा सेना प्रमुख फ्र्यांक बाईनिमारामाले निर्वाचित नेता लाइसेनिआ क्वारेसलाई पदच्युत गरी सत्ता हत्याएका थिए । त्यसपछि सन् २००९ को अप्रिल यता फिजिमा सैनिक कानुन लागु गरिएको थियो । सेना प्रमुख बाईनिमारामाले नयाँ वर्षको अवसरमा बोल्दै आपातकालीन कानुन आउँदो साताबाट निश्प्रभावी बनाइने र नयाँ संविधानको विषयमा अर्को महिना देखी छलफल थालिने वताउनुभयो । उहाँले सन् २०१४ भित्र चुनाव गराउने प्रतिबद्धता पनि जनाउनु भयो । अदालतले बाइनिमारामाको “कु” अवैधानिक भएको फैसला गरेपछि फिजीमा सैनिक कानुन अनुसार सञ्चारमाध्यममा कडा सेन्सरसिप लगाइनुका साथै मानिसहरुलाई समुहमा जम्मा हुन पनि प्रतिबन्ध लगाइएको थियो । अष्ट्रेलिया लगायत फिजीका छिमेकी मुलुकहरुले फ्रैंक बाइनेमारामालाई तत्काल सत्ता छोड्न र लोकतन्त्र पूनवर्हाली गर्न माग गर्दै आएका थिए । यसैबीच फिजीका सेना प्रमुखको प्रतिबद्धतालाई अष्ट्रेलिया र न्यूजिल्याण्डले सावधानीपूर्वक स्वागत गरेको जनाएका छन् ।

Jan 1, 2012

ताप्लिजोङ हाङपाङमा लिम्बुवान संगठित,सङ्गठन विस्तार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हाङपाङ, ताप्लिजोङ, लिम्बुवान पुस १५, २०६८,लिम्बुवानको सशक्त राजनीतिक सङ्गठन मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको जनजागरण अभियान एवम् प्रत्येक गाउँगाउँसम्म सङ्गठन विस्तार गर्ने कार्यक्रम अन्तर्गत ताप्लिजोङ क्षेत्र नं. २ को दोभानमा गरिएको ऐतिहासिक आमसभापछि २०६८ पुस १५ गते हाङ्पाङमा संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हाङ्पाङ गाउँ समिति गठन गरिएको छ ।
मञ्च सम्बद्ध संघीय लिमबुवान राज्य परिषदका केन्द्रीय सदस्य तथा उपत्यका उपाध्यक्ष विष्णु यक्सोको विशेष आतिथ्य तथा ताप्लिजोङ जिल्ला उपाध्यक्ष भुपेन्द्र माबो, जिल्ला सदस्य नरेन्द्र मादेन, एलभी फिल्ड कमाण्डर राजा माबो, एलभी वीरेन्द्र माबो र लिम्बुवानी कलाकार खगेन्द्र यक्सोको आतिथ्य एवम् उपस्थितिमा हाङपाङको सरस्वती उच्च माविको प्राङ्गणमा पुस १५ गते भएको भेलाले स्थानीय राजेन्द्र यक्सोको अध्यक्षतामा ११ सदस्यीय संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हाङ्पाङ गाउँ समिति गठन गरेको हो ।
संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हाङ्पाङ गाउँ समितिमा अध्यक्ष राजेन्द्र यक्सो, उपाध्यक्षः प्रेम यक्सो, सचिवः जीवन चोङ्बाङ, सह-सचिवः दिलकुमार यक्सो, कोषाध्यक्षः अमर लाओती र सदस्यहरू काजीमान पङ्धाक्, अशोक आङ्बुहाङ, रामभक्त यक्सो, शेरबहादुर यक्सो, मनबहादुर यक्सो र यज्ञबहादुर यक्सो रहेका छन् ।
त्यसैगरी, यही भेलाले लिम्बुवान भोल्युण्टियर्स (एलभी) को सिभिल कमाण्ड नवीन यक्सोको कमाण्डमा प्राइमरी कमाण्डरहरू फिरोज यक्सो, खगेन्द्र गुरुङ, दीपक आङ्बुहाङ र एलभीहरू चेतन प्रसाइँ, निखिल यक्सो, कमानसिङ यक्सो, मिलन यक्सो लगायत २१ सदस्यीय एलभी कमाण्ड समेत गठन गरिएको छ । साथै, सल्लाहकारको रुपमा संघीय लिम्बुवान तुम्याहाङ परिषद हाङपाङ गाउँ कार्य समिति अमरबहादुर यक्सो र हर्क यक्सोको संयोजकत्वमा गठन गरिएको छ ।
लिम्बुवानको सन्दर्भमा ऐतिहासिक कदम मानिएको यस भेलाले मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हाङपाङ गाउँ कार्य समितिमा अधिकांश स्थानीय शिक्षक तथा बौद्धिक व्यक्तित्वहरू सङ्गठनमा आवद्ध हुनु भएको छ । पुस ३ गते ताप्लिजोङको दोभानमा सम्पन्न ऐतिहासिक आमसभापछि लिम्बुवानका केन्द्रीय सदस्य विष्णु यक्सोको नेतृत्वमा ताप्लिजोङ क्षेत्र नं. २ को चाङ्गे, नेसुम, सोबुवा र हाङपाङ गाउँमा लिम्बुवानका लागि सचेतना तथा जनजागरण अभियान नै चलाइएको थियो ।
उक्त भेलाले आगामी माघ २५ र २६ गते एलभी प्राइमरी कमाण्डका अध्यक्ष र सचिवलगायतलाई जिल्ला कमिटिले प्रशिक्षण गराउने र अबको हरेक शनिबार गाउँ कमिटिको बैठक बसी सङ्गठन विस्तार गर्ने निर्णय समेत गरिएको छ । साथै, लिम्बुवान ताप्लिजोङको २ नम्बर क्षेत्र हाङ्पाङमा आगामी ६ महिनाभित्र एक क्षेत्रीय आमसभा तथा विशेष प्रशिक्षण कार्यक्रम गर्ने योजना समेत तय गरिएको छ ।
कार्यक्रममा बोल्दै स्थानीय एमाओवादी गाउँ कमिटिका सचिव दिलकुमार सावाले यो ९ जिल्ला लिम्बुवान लिम्बुवान नै हो भन्दै लिम्बुवानवासी भएको नाताले जुनसुकै पार्टीमा रहे पनि लिम्बुवान चाहनेहरूले लिम्बुवानको नारालाई बुलन्द पार्न आह्वान गर्नुभयो । साथै, वहाँले ए नेकपा माओवादीले लिम्बुवानको नारा छोडेको दिन आफू माओवादी नरहने कुरा समेत बताउनु भयो ।
स्थानीय सरस्वती उच्च माविका प्राचार्य हर्क यक्सोले आफू जन्मिदै कम्युनिष्ट भएको परिवारमा जन्मेको तर पनि आफ्नो रगत र माटोको पहिलो नाता लिम्बुवानसँग भएकोले अब लिम्बुवान हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी, केन्द्रीय सदस्य तथा कार्यक्रमका विशेष अतिथि विष्णु यक्सोले आफ्नो जीवनका सम्पूर्ण चाहनाहरू पूरा भएर अब यूकेको नागरिक हुन पाउँदा पनि आफू यूके नगएर उही जन्मभूमि हाङपाङ र लिम्बुवानको नागरिक हुन सारा कुरा त्यागेर अहिले लिम्बुवानको आन्दोलनमा लागेको बताउँदै सबैलाई यो आन्दोलनमा साथ दिएर लाग्न हार्दिक आह्वान गर्नुभयो ।
यसरी नै परिषद ताप्लिजोङका जिल्ला उपाध्यक्ष भुपेन्द्र माबोले अब यो लडाइँमा सबै जातजाति भाषा, धर्म समुदायले साथ नदिएसम्म यो लिम्बुवान बनाउने यात्रा अधुरो रहने भएकोले सबै लिम्बुवानावासीले काँधमा काँध, साथमा साथ मिलाउनको लागि आह्वान गर्नुभयो । साथमा, एलभी फिल्ड कमाण्डर अतिथि राजा माबोले सबै एलभीहरूलाई अनुशासित भएर सबैसँग सहकार्य गरेर काम गर्न आग्रह गर्नुभयो ।
नव गठित समितिका सबै पधाधिकारी तथा सदस्यहरूले सङ्गठनको लक्ष्य-उद्देश्य अनुसार लिम्बुवानको लागि लागिपर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा उपस्थित् अतिथि लिम्बुवानी कलाकार खगेन्द्र यक्सोले भेलालाई सम्बोधन गर्दै आफूले लिम्बुवानका लागि विभिन्न गीत-सङ्गीतमार्फत् लिम्बुवानको आवाज उठाउँदै आएको बताउँदै वहाँले आखिर जुनसुकै जाति र जुनसुकै पार्टीले जेसुकै भने पनि आखिरिमा सबै लिम्बुवानवादीहरू एकहुनुको विकल्प नरहेको बताउनु भयो । वहाँले लिम्बुवानवादी सङ्गठनहरू जतिसुकै भएपनि गन्तव्य एउटै भएकोले जतिसक्दो चाडो एक भएर एउटै युद्ध मैदानमा उत्रनको लागि आह्वान गर्नुभयो ।
विष्णु यक्सो/खगेन्द्र यक्सो, हाङपाङ, ताप्लिजोङ, लिम्बुवान/डीबी आङ्बुङ, काठमाडौं

विश्व नेपाली साहित्य महासङ्घको नियमित इकैठक सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्रुनाई, गत २८ डिसेम्बर २०११ का दिन विश्व नेपाली साहित्य महासङ्घको नियमित इकैठक सम्पन्न भयो ।
बैठकमा लण्डनबाट नेपाल सम्बन्धि सुचना सुधार कार्यदलका संयोजक मुरारीराज शर्माले बृटिस म्युजियमले बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत जानकारीलाई गत ११ डिसेम्बरका दिन सुधार गरियो भन्ने ब्यहोराको म्यूजियमबाट प्राप्त पत्रलाई पढेर सुनाउनु भएको थियो । महासंघ अन्तर्गतको कार्यदलले केही समय अघि सच्याउन आग्रह गर्दै म्यूजियमलाई औपचारिक पत्र लेखेको थियो । त्यसै गरि कोरियामा रहेको एक म्यूजियममा पनि गलत जानकारी भएको बारे छलफल चल्यो र उक्त कुरा पत्ता लगाई सुझाव दिने निर्णय गरयो । अव उप्रान्त ब्रिटिस म्युजियमबाट सुधार गरेको भन्ने ब्यहोराको पत्रनै महत्वपूर्ण आधार हुनेकुरा संयोजक शर्माले बताउनु भयो ।
सिर्जना बाचनको कार्यक्रमबाट शुरु भएको बैठकले विभिन्न विषयहरुमा छलफल गरि निर्णय गरयो । साहित्य महासंघले प्रकाशन गर्न लागेको साहित्यिक पत्रिकाको सम्पादक मण्डलमा केन्द्रिय सदस्य देबेन्द्र सुर्केलीलाई थप गरयो । त्यस्तै गरि महासंङ्घको पुरस्कार तथा सम्मान स्थापनाको लागि गठित कार्यदलको सल्लाहकारमा केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र इङनामलाई चयन गरयो भने कोषाध्यक्षले हाल सम्म महासंघको कोषमा २ लाख ८५ हजार रहेको र त्यस मध्य गत विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ मा १ लाख खर्च भएको बताउनुभयो । त्यस्तै गरि विभिन्न मुलुकमा रहेका साहित्य महासंघका शाखाहरुलाई साहित्यिक गतिविधिमा स्वस्थ सहभागिता राख्नको लागि निर्देशन जारी गरयो । महासंघ संग आबद्ध तथा इच्छुकहरुलाई आजीवन सदस्यता वा संरक्षक सदस्यता लिन पनि आग्रह गरयो ।
बैठकमा भिम कमल (पोर्चुगल), सागर श्रेष्ठ (साउदी अरेयिबा), समदर्शि काँइला (युएइ), मोहन परदेशी (नेपाल), नम्रता गुरागाई (अमेरिका), पुरानोघरे (अमेरिका), गोविन्द प्रसाद गौतम (रसिया) दिप दर्शन (पेनाङ, मलेशिया), राजेश रुम्बा (कतार), सोम सापकोटा (डेनमार्क), देवेन्द्र खापुङ (नेपाल), सुरेसजङ्ग शाह (बेलायत), विश्वास दीप तिगेला (ब्रुनाई), खगेन्द्र लिम्बु (थाइल्याण्ड), रमेश पौडेल (नेपाल) र मधुमाधुर्य (रसिया) लगायतले आ-आफ्नो सिर्जना बाचन साथै सहभागिता जनाएका थिए ।

एमालेको दुईदिने बृहत् केन्द्रीयस्तरको भेला भक्तपुरमा सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भक्तपुर, पुस १७ - सङ्घीय राज्यको विविध पक्षबारे बृहत् छलफल गरी पार्टीको आधिकारिक धारणा बनाउन नेकपा (एमाले) केन्द्रीयस्तरीय दुईदिने आवासीय भेला आज भक्तपुरको बोडेमा सुरु भएको छ। भेलामा एमालेका स्थायी समिति सदस्यहरु, केन्द्रीय पदाधिकारी, सभासद एवम् पार्टीका बुद्धिजीवीहरुको सहभागिता छ।
भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष झलनाथ खनालले मुलुकको एकात्मक शासन पद्धतिलाई सङ्घीयतामा लैजान शान्ति र संविधान निर्माणको कार्य पूरा गर्नु अति आवश्यक रहेको औँल्याए। मुलुकको सङ्घीय प्रणाली र यसका विविध पक्षका बारेमा नेकपा (एमाले)को अवधारणा बनिनसकेको अवस्थामा यो भेलाले त्यसमा ठूलो टेवा पुर्‍याउने बताए। अध्यक्ष खनालले एमालेले सङ्घीय राज्यको सङ्ख्या कति बनाउन उपयुक्त हुन्छ, सङ्घीयताको नामकरण के राख्ने, सङ्घीयताको सीमाङ्कन कसरी गर्ने, अधिकारको बाँडफाँड कसरी गर्ने, आत्मनिर्णयको अधिकार दिने, अग्राधिकार र अवशिष्ट अधिकार कहाँ र कसरी दिने भन्ने बारेमा भेलामा बृहत् छलफल गरेर निचोडमा पुग्नुपर्ने बताए। भेलामा आएका सबै सुझावलाई सङ्कलन गरी पार्टीको केन्द्रीय बैठकमा पुनः छलफल गरी सङ्घीयता प्रणालीबारे विवादरहितरुपमा पार्टीले निर्णय गरी प्रस्ताव पेस गर्ने अध्यक्ष खनालले बताए।
भेलामा सङ्घीय मामिला विभाग प्रमुख परशुराम मेघीगुरुङले सङ्घीयता अवधारणा र अभ्यासका बारेमा १२ वटा एकाइसहितको आठ प्रदेश रहनुपर्ने धारणासहितको कार्यपत्र प्रस्तुत गरेका छन्। मुलुकको भौगोलिक अवस्थिति, जनसङ्ख्या र जातिगत बसोवासको अवस्था, मातृभाषा र भाषा प्रयोगको अवस्था, सांस्कृतिक सम्मिलनको अवस्था, प्रशासनिक सुगमता, आर्थिक, सामाजिक अन्तरसम्बन्ध, साधन स्रोतको उपलब्धता र ऐतिहासिकताजस्ता पक्षलाई आधार बनाइनुपर्नेमा उनले जोड दिए।
भेलामा स्थानीय विकास तथा भौतिक संरचना विभागका प्रमुख नेत्रबहादुर पन्थीले राज्यको पुनःसंरचनासम्बन्धी अवधारणासहितको कार्यपत्र प्रस्तुत गरेका थिए।सो अवसरमा एमालेका नेताहरु भरतमोहन अधिकारी, वामदेव गौतम, ईश्वर पोखरेल, शङ्कर पोखरेल, युवराज ज्ञवाली, भीम रावल, विद्यादेवी भण्डारी, राजेन्द्र श्रेष्ठलगायतले आ-आफ्ना विचार प्रस्तुत गरेका थिए। एमाले सङ्घीय मामला विभागका प्रतिनिधि सोम मिश्रले भेलाबाट आएका सुझावलाई केन्द्रीय बैठकमा छलफल गरी एमालेको सङ्घीयतासम्बन्धी पार्टीगत अवधारणा सार्वजनिक गरिने बताए।

अत्यावश्यक सेवामा बन्द-हड्ताल गर्न नदिन सर्वोच्चमा रिट दायर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस १७- पेट्रोलियम पदार्थ तथा ग्यासजस्तो अत्यावश्यक वस्तुको बिक्री वितरणमा बन्द-हड्ताल रोक्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन, एलपी ग्यास उद्योग सङ्घ र ग्यास बिक्रेता महासङ्घले यही पुस ९ देखि २७ गतेसम्म बन्द हड्तालसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चका अधिवक्तात्रय अच्युतराज बुढाथोकी, गजबहादुर ऐरी र जगन्नाथ मिश्रले संयुक्तरूपमा रिट दायर गरेका हुन्। निवेदनमा आम उपभोक्तालाई सास्ती भइरहने यस्ता सेवा सुचारु रूपले सञ्चालन गराउनका लागि अन्तरिम आदेश जारी गर्न माग गरिएको छ। नेपाल आयल निगमको व्यवस्थापनमा सुधार गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदन कार्यान्वयन गराउन, पेट्रोलियम ऐन तर्जुमा गरी लागु गराउन, भारतीय आयल निगमसँगको सम्झौता पुनरावलोकन गरेर नेपाल आयल निगमको हितमा हुने गरी सम्झौता गर्न लगाउन पनि रिटमा माग गरिएको छ।

अनन्तलाई धाप मारेकोमा डेलिसीले माफी माग्नु पर्छ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकी राजदूत स्कट एच डेलिसीले अर्थमन्त्री एवं माओवादी स्थायी समिति सदस्य वर्षमान पुनलाई सार्वजनिक कार्यक्रममा धाप मारेर अपमान गरेको भन्दै माओवादी बैठकमा चर्को आलोचना भएको छ । केन्द्रीय सदस्य घनश्याम शर्मा पौडेलले डेलिसीले अर्थमन्त्री पूनलाई धाप मारेको फोटो देखाउँदै यो के हो भनेर प्रश्न गर्नुभएको थियो । पौडेलले फोटो सहित कुरा उठाएपछि अरु केन्द्रीय सदस्यले पनि सहमति जनाउँदै अर्थमन्त्रीले आफ्नो मर्यादा कायम गर्न नसकेको र डेलिसीले कूटनीतिक मर्यादा विपरितको काम गरेकोले राजदूत डेलिसीले माफी माग्नु पर्ने र पार्टीले यसलाई गंभीर रुपमा उठाउनु पर्ने माग गरेका छन् । माओवादी नेताहरुको भनाई उधृत गर्दै स्रोतले भन्यो “अमेरिकाको एउटा कर्मचारीको यो व्यवहार हेपाहा दृष्टिकोण हो उनले माफी माग्नु पर्छ र यसको आलोचना गर्नुपर्छ ।”