News

Nov 30, 2011

रातो पासपोर्ट बेचेको अभियोग लागेका फोरमका सभाषद यादव निलम्बित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पासपोर्ट दुरुपयोगमा संलग्न मधेसी जनअधिकार फोरमका सभाषद शिवपुजन राय यादव सभाषद पदबाट निलम्बित भएका छन् ।यादवका विरुद्ध रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा चलाएको थियो । अख्तियारले रातो पासपोर्ट बेचेकोप्रति चासो देखाउँदै विशेष अदालतमा मुद्धा चलाएपछि सभाषद यादव निलम्बित भएका हुन् ।

रेमिट्यान्स २८.३ प्रतिशतले बढ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मङ्सिर १५ वैदेशिक ऋण तथा सहायता परिचालन, पर्यटन आय र रेमिट्यान्समा भएको वृद्धिका कारण असोजमा शोधनान्तर बचत (देशबाट बाहिरिनेभन्दा भित्रिने रकम) बढेको छ। असोजमा बचत ३३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा शोधनान्तर अवस्था ६ अर्ब ८८ करोड रुपैयाँले घाटामा थियो। देशको चालु खाता साउनदेखि असोजसम्म १३ अर्ब ८२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा यो खाता २ अर्ब १७ करोडले घाटामा थियो। राष्ट्र बैंकले बुधबार चालु वर्षको पहिलो तीन महिनाको देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक गर्दै रेमिट्यान्स गत वर्षको भन्दा २८.३ प्रतिशतले बढेको जनाएको छ। अघिल्लो वर्ष वृद्धि दर १४.२ प्रतिशत थियो। असोजसम्म रेमिट्यान्स ७५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। यो भदौको भन्दा १२.२ प्रतिशतले बढी हो। सरकारले असोजसम्म वैदेशिक ऋण ८९ करोड ६४ लाख र अनुदा ५ अर्ब ७१ करोड प्राप्त गरिसकेको छ। असोजसम्म कुल वस्तु निर्यात ६.९ प्रतिशतले बढेर १८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वस्तु निर्यात ६.२ प्रतिशतले मात्र बढेको थियो। भदौ महिनाको तुलनामा भने निर्यात १३.३ प्रतिशतले घटेको छ। कुल वस्तु निर्यातमध्ये भारततर्फको १२.१ प्रतिशतले बढेको छ। तेस्रो मुलुकतर्फको निर्यात १.३ प्रतिशतले घटेको छ। भारततर्फ मुख्यतयाः जुटको सामान, जस्ता पाता, लत्ताकपडा, कपर वायर रड, तार र अलैंचीको निर्यात बढेको छ। तेस्रो मुलुकमा दाल, हस्तकलाका सामान, जडीबुटी र छालाका तयारी सामानको निर्यातमा कमी आएको छ। असोजसम्म वस्तु आयात ७.८ प्रतिशतले बढेर १ खर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्ष आयात ५.१ प्रतिशतले मात्र बढेको थियो। भदौको तुलनामा भने आयात १८.५ प्रतिशतले घटेको छ। खासगरी भातरबाट हुने आयात अघिल्लो वर्षको असोजसम्मको तुलनामा ०.६ प्रतिशतले मात्र बढेको छ। तेस्रो मुलुकबाट भएको आयात २३.४ प्रतिशतले वढेको छ। भारतबाट मुख्यतयाः पेट्रोलियम पदार्थ, औषधि, कृषि उपकरण तथा पार्टस्, तयारी पोशाक र कोइलाको आयात बढेको छ। तेस्रो मुलुकबाट सुन तथा चाँदी, भटमासको कच्चा तेल, रासायनिक मल, विद्युतीय सामान र अन्य मेसिनरी तथा पार्टस्को आयातमा वृद्धि भएको छ।

मूल्यवृद्धि
असोजमा मुल्य वृद्धि ८.९ प्रतिशत छ। अघिल्लो वर्षको यसै अवधिमा पनि मूल्यवृद्धि ८.९ नै थियो। खाद्य तथा पेय पदार्थ समूहको मूल्य ९.६ प्रतिशतले र गैर-खाद्य तथा सेवा समूहको मूल्य ८.२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो क्रमशः १३.१ प्रतिशत र ५.५ प्रतिशत थियो।

बजेट घाटा
असोजसम्ममा सरकारी बजेट २ अर्व ४८ करोडले बचतमा छ। सरकारी खर्चको तुलनामा स्रोत रिचालन उच्च रहेकोले सरकारी बजेट बचतमा रहेको हो। अघिल्लो वर्षको असोजसम्म सरकारी बजेट ३ अर्ब ९५ रोडले घाटामा थियो। असोजसम्म नगद प्रवाहमा आधारित कुल सरकारी खर्चमा ५.२ प्रतिशतले वृद्धि भई ४७ अर्व पुगेको छ। अघिल्लो वर्षको असोजसम्ममा कुल सरकारी खर्चमा १२.६ प्रतिशतले वृद्धि भएको थियो।

वैदेशिक मुद्रा सञ्चिति
असोज मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १९.५ प्रतिशतले बढेर ३ खर्ब २५ अर्ब ३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। गत वर्ष यस्तो सञ्चिति २ खर्ब ५७ अर्ब ६ करोड थियो। गत भदौको तुलनामा असोजसम्म सञ्चिति २४ अर्ब ९० करोडले वढेको हो।

संवैधानिक विवाद समाधान उपसमितिको बैठक आज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान लखनको नयाँ कार्यतालिका बनाउन संवैधानिक विवाद समाधान उपसमितिको बैठक आज बस्दैछ । अहिले केहीबेरमा समितिको कार्यालय सिंहदरवारमा बैठक बस्न लागेको हो । आजको बैठकले चौथो पटक थपिएको संविधानसभाको समयावधि भित्रमा गरिसक्नुपर्ने कामसहितको कार्यतालिका निर्माण गर्ने सभामुख सुवासचन्द्र नेम्वाङले जानकारी दिए । संविधान सभाको म्याद ६ महिना थपेपछि विवाद समाधान उपसमितिको बैठक आज पहिलो पटक बस्न लागेको हो ।

निगमको जहाज फेरि थन्कियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मङ्सिर १५- नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज उड्न नसक्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' भएको छ। यसबाट निगमले १ करोड रुपैयाँ आम्दानी गुमाएको छ। जहाजमा पाइलट बस्ने ककपिटमा रहेको 'इन्जिन इन्डिकेसन एन्ड क्रु अलर्टिङ सिस्टम' ले काम नगरेपछि जहाज ग्राउन्डेड भएको सम्बद्ध एक अधिकारीले जानकारी दिए। जहाज ग्राउन्डेड भएपछि निगम व्यवस्थापनले मलेसिया उडान रद्द गरेको छ। यहाँबाट मलेसिया जाने र उताबाट आउनेसमेत ३ सय ८० यात्रुलाई होटल, अर्को जहाज व्यवस्थापन लगायतमा खर्च गर्नुपरेका कारण निगमले सिधै १ करोड रुपैयाँ आम्दानी गुमाएको छ। 'अलर्टिङ सिस्टममा रहने सफ्टवेयर अपडेट नगर्दा जहाज ग्राउन्डेड भयो,' ती अधिकारीले बुधबार नागरिकसँग भने, 'केही महिनाअघि नै यस्तो सफ्टवेयर अपडेट गर्नुपर्नेमा व्यवस्थापनले बेवास्ता गरी ढिला गरिदिँदा जहाजै नउड्ने भयो।'निगमको बोइङ ७५७ ९एन-एसिए जहाज ग्राउन्डेड भएको हो। यो जहाज नियमित मर्मतसम्भार (सिचेक) सकेर काठमाडौं आएकै दिन गत कात्तिक ११ मा त्रिभुवन विमानस्थलमै ग्राउन्डेड भएको थियो। इजरायलको सरकारी वायुसेवा कम्पनी एलाल एयरलाइन्समा २० लाख डलर खर्च गरी दुई महिना मर्मत गरेपछि आएको जहाजको इन्जिनमा समस्या देखिएपछि ग्राउन्डेड भएको थियो।निगमका बोइङ जहाजका इन्जिनियर, इन्जिनियरिङ विभागका निर्देशक, क्वालिटी कन्ट्रोल, पार्टपुर्जा आपूर्ति, स्टोर शाखा लगायतको लापरबाहीका कारण जहाज ग्राउन्डेड भएको ती अधिकारीले आरोप लगाए।
'यहाँ सबैलाई जहाज उडाउने ध्याउन्नमात्र छ, आफ्नो उडान परेको छ कि छैन भन्नेमात्र हेर्छन्,' उनले भने, 'जहाजका समस्याबारे कसैलाई मतलब छैन। इजरायलबाट मर्मत गरेर आउनासाथ एसिएको सफ्टवेयर अपडेट गरेको भए अहिले ग्राउन्डेड हुन्थेन।'निगमका अर्का एक अधिकारीका अनुसार मंगलबार हङकङ गएको जहाजमा उतै समस्या देखिएको थियो। क्याप्टेनहरू शुभराज श्रेष्ठ र एनबी विश्वकर्माले उडाएर लगेको उक्त जहाजमा समस्या आउँदाआउँदै पनि उताबाट आएपछि राति १० बजे यहाँ ग्राउन्डेड भएको हो। उताबाट केबी पौडेल र सुभाष रिजालले ल्याएका थिए।
अपडेट गरिएको सफ्टवेयर नहुँदा जहाज केही दिन नउड्ने निश्चित भएको छ। बिग्रिएको अलर्टिङ सिस्टमले ककपिटमा रहेको कम्प्युटर स्त्रि्कनमा इन्जिनको तापक्रम, आयल प्रेसर, आयल लेभलजस्ता सन्देश देखाउँछ। यसले साधारणदेखि इन्जिनमा आगलागीसम्मका गम्भीर सन्देश पनि देखाउँछ। उनका अनुसार अर्को बोइङ एसिबीमा पनि समस्या देखिएको छ। सोमबार मलेसियाबाट फर्केपछि यसको 'ओलियो' यन्त्रमा खराबी आएको थियो। नाइट्रोजन ग्यास भरिएको यो यन्त्रले जहाजलाई बढी थेचारिन नदिन 'सक'को काम गर्छ। मंगलबार यहाँ जहाज बनाएर सुवर्ण अवाले र श्रवण रिजालले दुबई लगेका थिए। फेरि उतै समस्या देखिएपछि ग्राउन्ड इन्जिनियर एसआर कारञ्जितले बनाएपछि क्याप्टेनरू शिशिरकुमार शर्मा र समजकुमार श्रेष्ठले काठमाडौं ल्याएका थिए।
यही जहाजको दायाँ इन्जिनको पाइपलाइन चुहिएपछि मंसिर ६ मा यहीँ पाँच दिन ग्राउन्डेड भएको थियो। निगमसँग त्यस्तो जगेडा पाइप नभएकाले विदेशबाट ल्याएपछि जहाज उडाइएको थियो। त्यसअघि गत कात्तिक २८ मा पनि यही जहाजको मौसम सूचक यन्त्र (वेदर राडार) ले आकासमै काम नगरेपछि त्रिभुवन विमानस्थल अवतरणपछि ग्राउन्डेड भएको थियो। लगातार चार दिन ग्राउन्डेड भएपछि विदेशबाट यन्त्र ल्याइएपछि बल्ल मंसिर १ बाट जहाज सञ्चालनमा आएको थियो। फ्रान्सको हनिबेल कम्पनीमा मर्मत गरी ल्याइएको जगेडा वेदर राडारले जडानपछि एकछिन चलेर काम गर्न छाडेको थियो। यो सामान नौ महिनाअघि २ हजार ५ सय अमेरिकी डलरमा मर्मत गरी ल्याइएको थियो। यो सामान निगमले करिब २० वर्षअघि ३८ हजार डलरमा किनेको थियो। हाल यसको बजार मूल्य १ लाख डलरभन्दा माथि पर्छ। जहाज ग्राउन्डेड भएपछि निगमले आफ्ना यात्रलाई अन्य वायुसेवा कम्पनीका जहाजबाट सम्बद्ध गन्तव्यमा पठाउनुपर्छ वा नसके पाँचतारे होटलमा राख्नुपर्छ। यसबाट निगमलाई थप घाटा लाग्दै आएको छ। पटक-पटक जहाज ग्राउन्डेड हुनेसँगै करोडौंका पार्टपुर्जा, ल्यान्डिङ गियर, पांग्रासमेत चोरी भएपछि निगमको शाख गुम्दै गएको छ।

मंसिर मसान्तसम्म कब्जा जग्गा फिर्ता हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बृहत शान्ति सम्झौता अनुरुप प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कब्जा गरिएको जग्गा मंसिर मसान्त भित्र फिर्ता गरिने बताउनु भएको छ । लडाकुको वर्गीकरणको बारेमा निरीक्षण गर्न तालबन्द जानु भएका प्रधानमन्त्री डा. भट्टराईले सुकुम्वासी र भूमीहीनको समस्या समाधान र कब्जा जमिन फिर्ता गरिने बताउनु भएको हो ।प्रधानमन्त्री डा. भट्टराईका अनुसार जमिनको पुन: वितरणको समस्या बाँकी नै रहेको र एउटा आयोग बनाएर सुकुम्वासी भूमीहीनका समस्या हल हुने भएको छ । राजनीतिक दलहरुबीच भएको नयाँ सहमति बमोजिम मंसिर मसान्तसम्म कब्जा गरिएको जमिन फिर्ता हुने भएको छ ।बृहत शान्ति सम्झौता बमोजिम सुकुम्वासी र भूमीहीनहरुको समस्या समाधान गर्ने र त्यही अन्तर्गत कब्जा जमिन फिर्ता गरिने भएको छ । मंसिर ७ गतेभित्र जग्गा फिर्ता गर्ने भनिए पनि वैद्यपक्षधर कार्यकर्ताको विरोधका कारण अहिलेसम्म जग्गा फिर्ता हुन सकेको छैन् ।बर्दियामा फिर्ता गरेको जग्गा पुन: कब्जा गरिएपछि जग्गा फिर्ता गर्ने क्रमले निरन्तरता पाउन सकेको छैन ।कैलालीमा मात्र २ सय ४० परिवारका २ हजार विगाह जमिन माओवादी कब्जामा रहेको छ । कैलालीमा वैद्यपक्षधर कार्यकर्ताले जग्गा फिर्ता हुन नदिन प्रतिकार समिती समेत गठन गरिसकेका छन ।

Nov 27, 2011

फेसबुकमा तस्बिर बिगार्नेहरूलाई प्रहरीले कारबाही गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर ११ - फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा अर्काको तस्बिर बिगारेर राख्ने गर्नुभएको छ भने अब कारबाहीमा पर्नुहोला। यस्ता कारबाही नियन्त्रण गर्न प्रहरीले विद्युतीय कारोबार ऐनलाई कडाइ साथ कार्यान्वयन गर्ने भएको छ। सूचना प्रविधिको दुरुपयोग गर्दै व्यक्तिको मानहानी-चरित्रहत्या हुने गरी तस्बिर बिगार्ने, अर्कैको तस्बिरका विभिन्न अंगहरू जोडेर प्रकाशित सामग्रीलाई आधार बनाएर त्यस्ता काममा संलग्न व्यक्तिलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने भएको छ। सामाजिक सञ्जालमा नक्कली नाममा खाता खोलेर अर्काको चरित्र हत्या गर्ने, एसएमएस र इ-मेलमार्फत् धम्की दिने र अश्लील सामग्री पठाएका घटनाको प्रहरीले अनुसन्धान गर्दै आएको छ। प्रतिष्ठित व्यक्तिहरूको तस्बिर असम्बन्धित तस्बिरमा लगेर जोडी प्रकाशित गर्ने क्रम बढेपछि प्रहरीले यसलाई समेत अनुसन्धानको दायरामा ल्याएको हो।
'सामाजिक सञ्जाल र अन्य साइटमा अर्काको तस्बिर बिगारेर भिन्नभिन्न व्यक्तिको टाउको र शरीर जोडेर प्रकाशित गरी मानहानी गर्ने व्यक्ति कारबाहीमा पर्छन्,' केन्द्रीय प्रहरी प्रवक्ता विनोद सिंहले भने, 'यस्ता गतिविधि रोक्न साइबर क्राइम सेललाई सक्रिय गराएका छौं।'सिंहका अनुसार प्रविधि प्रयोग गरी हुने आपराधिक गतिविधि अनुसन्धान गर्न केन्द्रमा छुट्टै टोली गठन गरिएको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालय र महानगरीय प्रहरी अपराध महाशाखामा समेत साइबर क्राइमको अनुसन्धान गर्ने टोली छन्। हालै सम्पन्न इन्टरपोल महासभाले समेत यसलाई जोड दिएकाले प्रहरी प्रधान कार्यालयले साइबर क्राइमको अनुसन्धानलाई प्राथमिकता दिएको डिआईजी सिंहले बताए। 'हामीसँग दक्ष जनशक्ति कम छन्,' उनले भने, 'अहिले भएकालाई नै परिचालन गरी अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउने प्रयासमा छौं।'
अनुसन्धानमा सँलग्न प्रहरी अधिकारीका अनुसार कम्प्युटरको तथ्यांक चोरी, ,स्पाम मेल, मेलवेर, सूचना प्रविधिको प्रयोग मार्फत हुने गरेको ठगी, फिसिङ, ईमेल र एसएमएस मार्फत आउने धम्की, इन्टरनेट ब्ल्याकमेलिङ, इन्टरनेट बैंक जालसाजी, क्रेडिटकार्ड जालसाजी र चरित्रहत्या सम्बन्धी घटनाको अनुसन्धानको कार्यक्षेत्र हुन। नेपालमा इमपोष्टर,इमेल धम्की, इमेल ह्याक, इनडेक्सपेज ह्याक र फिसिङका घटना सम्बन्धी उजुरी बढी आउने गरेको प्रहरी अधिकारी बताउँछन्। अपराध महाशाखामा अधिकारीका अनुसार फेसबुक, ट्विटर, अर्कुड लगायतका सामाजिक सञ्जालमा असम्बन्धीत ब्यक्तिले आफ्नो नाममा खाता खोलेर चरित्रहत्या गरेका उजुरीहरु बढी आउँछन्। ईमेल र एसएमएस मार्फत धम्की दिने र वेबसाइट ह्याक गर्ने घटनाका उजुरी समेत बढेका छन्।

पुनर्संरचना आयोगका सदस्यलाई मासिक ५२ हजार सुविधा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर ११ - राज्य पुनर्संरचना आयोगको कार्यालय जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण केन्द्र -स्टाफ कलेज) को भवनमा राखिने भएको छ । मन्त्रिपरिषद्ले मंसिर ६ मा अध्यक्षविहीन आयोग गठन गरे पनि कार्यालय नभएकाले त्यसले काम सुरु गर्न पाएको थिएन । संस्कृति तथा संघीय मामिला मन्त्रालयका अधिकारीले आयोग कार्यालय व्यवस्था गरेका हुन् । आयोगले पहिलो बैठक आइतबारै बसी आफ्नो कार्य सुरु गर्नेछ । अध्यक्ष नभएकाले बैठकको संयोजन र आवश्यक व्यवस्थापन मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले गर्ने छन् । सरकारले आयोगलाई राज्य पुनर्संरचनासम्बन्धी सुझाव दिन दुई महिनाको म्याद दिएको छ ।

सदस्यहरूलाई ५२ हजार सुविधा
सरकारले आयोग सदस्यहरूलाई प्रतिमहिना ५२ हजार रुपैयाँका दरले तलब सुविधा दिने भएको छ । सरकारको निर्णयअनुसार सदस्यहरूलाई मासिक रूपमा तलब ३७ हजार, यातायात सुविधा १३ हजार र सञ्चार सुविधा २ हजार रुपैयाँका दरले दिइनेछ । यातायात सुविधा दिइएकाले उनीहरूलाई छुट्टै गाडी सुविधा दिइने छैन ।