News

Nov 27, 2011

फेसबुकमा तस्बिर बिगार्नेहरूलाई प्रहरीले कारबाही गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मंसिर ११ - फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा अर्काको तस्बिर बिगारेर राख्ने गर्नुभएको छ भने अब कारबाहीमा पर्नुहोला। यस्ता कारबाही नियन्त्रण गर्न प्रहरीले विद्युतीय कारोबार ऐनलाई कडाइ साथ कार्यान्वयन गर्ने भएको छ। सूचना प्रविधिको दुरुपयोग गर्दै व्यक्तिको मानहानी-चरित्रहत्या हुने गरी तस्बिर बिगार्ने, अर्कैको तस्बिरका विभिन्न अंगहरू जोडेर प्रकाशित सामग्रीलाई आधार बनाएर त्यस्ता काममा संलग्न व्यक्तिलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने भएको छ। सामाजिक सञ्जालमा नक्कली नाममा खाता खोलेर अर्काको चरित्र हत्या गर्ने, एसएमएस र इ-मेलमार्फत् धम्की दिने र अश्लील सामग्री पठाएका घटनाको प्रहरीले अनुसन्धान गर्दै आएको छ। प्रतिष्ठित व्यक्तिहरूको तस्बिर असम्बन्धित तस्बिरमा लगेर जोडी प्रकाशित गर्ने क्रम बढेपछि प्रहरीले यसलाई समेत अनुसन्धानको दायरामा ल्याएको हो।
'सामाजिक सञ्जाल र अन्य साइटमा अर्काको तस्बिर बिगारेर भिन्नभिन्न व्यक्तिको टाउको र शरीर जोडेर प्रकाशित गरी मानहानी गर्ने व्यक्ति कारबाहीमा पर्छन्,' केन्द्रीय प्रहरी प्रवक्ता विनोद सिंहले भने, 'यस्ता गतिविधि रोक्न साइबर क्राइम सेललाई सक्रिय गराएका छौं।'सिंहका अनुसार प्रविधि प्रयोग गरी हुने आपराधिक गतिविधि अनुसन्धान गर्न केन्द्रमा छुट्टै टोली गठन गरिएको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालय र महानगरीय प्रहरी अपराध महाशाखामा समेत साइबर क्राइमको अनुसन्धान गर्ने टोली छन्। हालै सम्पन्न इन्टरपोल महासभाले समेत यसलाई जोड दिएकाले प्रहरी प्रधान कार्यालयले साइबर क्राइमको अनुसन्धानलाई प्राथमिकता दिएको डिआईजी सिंहले बताए। 'हामीसँग दक्ष जनशक्ति कम छन्,' उनले भने, 'अहिले भएकालाई नै परिचालन गरी अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउने प्रयासमा छौं।'
अनुसन्धानमा सँलग्न प्रहरी अधिकारीका अनुसार कम्प्युटरको तथ्यांक चोरी, ,स्पाम मेल, मेलवेर, सूचना प्रविधिको प्रयोग मार्फत हुने गरेको ठगी, फिसिङ, ईमेल र एसएमएस मार्फत आउने धम्की, इन्टरनेट ब्ल्याकमेलिङ, इन्टरनेट बैंक जालसाजी, क्रेडिटकार्ड जालसाजी र चरित्रहत्या सम्बन्धी घटनाको अनुसन्धानको कार्यक्षेत्र हुन। नेपालमा इमपोष्टर,इमेल धम्की, इमेल ह्याक, इनडेक्सपेज ह्याक र फिसिङका घटना सम्बन्धी उजुरी बढी आउने गरेको प्रहरी अधिकारी बताउँछन्। अपराध महाशाखामा अधिकारीका अनुसार फेसबुक, ट्विटर, अर्कुड लगायतका सामाजिक सञ्जालमा असम्बन्धीत ब्यक्तिले आफ्नो नाममा खाता खोलेर चरित्रहत्या गरेका उजुरीहरु बढी आउँछन्। ईमेल र एसएमएस मार्फत धम्की दिने र वेबसाइट ह्याक गर्ने घटनाका उजुरी समेत बढेका छन्।

No comments: