News

Nov 30, 2011

निगमको जहाज फेरि थन्कियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मङ्सिर १५- नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज उड्न नसक्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'ग्राउन्डेड' भएको छ। यसबाट निगमले १ करोड रुपैयाँ आम्दानी गुमाएको छ। जहाजमा पाइलट बस्ने ककपिटमा रहेको 'इन्जिन इन्डिकेसन एन्ड क्रु अलर्टिङ सिस्टम' ले काम नगरेपछि जहाज ग्राउन्डेड भएको सम्बद्ध एक अधिकारीले जानकारी दिए। जहाज ग्राउन्डेड भएपछि निगम व्यवस्थापनले मलेसिया उडान रद्द गरेको छ। यहाँबाट मलेसिया जाने र उताबाट आउनेसमेत ३ सय ८० यात्रुलाई होटल, अर्को जहाज व्यवस्थापन लगायतमा खर्च गर्नुपरेका कारण निगमले सिधै १ करोड रुपैयाँ आम्दानी गुमाएको छ। 'अलर्टिङ सिस्टममा रहने सफ्टवेयर अपडेट नगर्दा जहाज ग्राउन्डेड भयो,' ती अधिकारीले बुधबार नागरिकसँग भने, 'केही महिनाअघि नै यस्तो सफ्टवेयर अपडेट गर्नुपर्नेमा व्यवस्थापनले बेवास्ता गरी ढिला गरिदिँदा जहाजै नउड्ने भयो।'निगमको बोइङ ७५७ ९एन-एसिए जहाज ग्राउन्डेड भएको हो। यो जहाज नियमित मर्मतसम्भार (सिचेक) सकेर काठमाडौं आएकै दिन गत कात्तिक ११ मा त्रिभुवन विमानस्थलमै ग्राउन्डेड भएको थियो। इजरायलको सरकारी वायुसेवा कम्पनी एलाल एयरलाइन्समा २० लाख डलर खर्च गरी दुई महिना मर्मत गरेपछि आएको जहाजको इन्जिनमा समस्या देखिएपछि ग्राउन्डेड भएको थियो।निगमका बोइङ जहाजका इन्जिनियर, इन्जिनियरिङ विभागका निर्देशक, क्वालिटी कन्ट्रोल, पार्टपुर्जा आपूर्ति, स्टोर शाखा लगायतको लापरबाहीका कारण जहाज ग्राउन्डेड भएको ती अधिकारीले आरोप लगाए।
'यहाँ सबैलाई जहाज उडाउने ध्याउन्नमात्र छ, आफ्नो उडान परेको छ कि छैन भन्नेमात्र हेर्छन्,' उनले भने, 'जहाजका समस्याबारे कसैलाई मतलब छैन। इजरायलबाट मर्मत गरेर आउनासाथ एसिएको सफ्टवेयर अपडेट गरेको भए अहिले ग्राउन्डेड हुन्थेन।'निगमका अर्का एक अधिकारीका अनुसार मंगलबार हङकङ गएको जहाजमा उतै समस्या देखिएको थियो। क्याप्टेनहरू शुभराज श्रेष्ठ र एनबी विश्वकर्माले उडाएर लगेको उक्त जहाजमा समस्या आउँदाआउँदै पनि उताबाट आएपछि राति १० बजे यहाँ ग्राउन्डेड भएको हो। उताबाट केबी पौडेल र सुभाष रिजालले ल्याएका थिए।
अपडेट गरिएको सफ्टवेयर नहुँदा जहाज केही दिन नउड्ने निश्चित भएको छ। बिग्रिएको अलर्टिङ सिस्टमले ककपिटमा रहेको कम्प्युटर स्त्रि्कनमा इन्जिनको तापक्रम, आयल प्रेसर, आयल लेभलजस्ता सन्देश देखाउँछ। यसले साधारणदेखि इन्जिनमा आगलागीसम्मका गम्भीर सन्देश पनि देखाउँछ। उनका अनुसार अर्को बोइङ एसिबीमा पनि समस्या देखिएको छ। सोमबार मलेसियाबाट फर्केपछि यसको 'ओलियो' यन्त्रमा खराबी आएको थियो। नाइट्रोजन ग्यास भरिएको यो यन्त्रले जहाजलाई बढी थेचारिन नदिन 'सक'को काम गर्छ। मंगलबार यहाँ जहाज बनाएर सुवर्ण अवाले र श्रवण रिजालले दुबई लगेका थिए। फेरि उतै समस्या देखिएपछि ग्राउन्ड इन्जिनियर एसआर कारञ्जितले बनाएपछि क्याप्टेनरू शिशिरकुमार शर्मा र समजकुमार श्रेष्ठले काठमाडौं ल्याएका थिए।
यही जहाजको दायाँ इन्जिनको पाइपलाइन चुहिएपछि मंसिर ६ मा यहीँ पाँच दिन ग्राउन्डेड भएको थियो। निगमसँग त्यस्तो जगेडा पाइप नभएकाले विदेशबाट ल्याएपछि जहाज उडाइएको थियो। त्यसअघि गत कात्तिक २८ मा पनि यही जहाजको मौसम सूचक यन्त्र (वेदर राडार) ले आकासमै काम नगरेपछि त्रिभुवन विमानस्थल अवतरणपछि ग्राउन्डेड भएको थियो। लगातार चार दिन ग्राउन्डेड भएपछि विदेशबाट यन्त्र ल्याइएपछि बल्ल मंसिर १ बाट जहाज सञ्चालनमा आएको थियो। फ्रान्सको हनिबेल कम्पनीमा मर्मत गरी ल्याइएको जगेडा वेदर राडारले जडानपछि एकछिन चलेर काम गर्न छाडेको थियो। यो सामान नौ महिनाअघि २ हजार ५ सय अमेरिकी डलरमा मर्मत गरी ल्याइएको थियो। यो सामान निगमले करिब २० वर्षअघि ३८ हजार डलरमा किनेको थियो। हाल यसको बजार मूल्य १ लाख डलरभन्दा माथि पर्छ। जहाज ग्राउन्डेड भएपछि निगमले आफ्ना यात्रलाई अन्य वायुसेवा कम्पनीका जहाजबाट सम्बद्ध गन्तव्यमा पठाउनुपर्छ वा नसके पाँचतारे होटलमा राख्नुपर्छ। यसबाट निगमलाई थप घाटा लाग्दै आएको छ। पटक-पटक जहाज ग्राउन्डेड हुनेसँगै करोडौंका पार्टपुर्जा, ल्यान्डिङ गियर, पांग्रासमेत चोरी भएपछि निगमको शाख गुम्दै गएको छ।

No comments: