News

Nov 30, 2011

रेमिट्यान्स २८.३ प्रतिशतले बढ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मङ्सिर १५ वैदेशिक ऋण तथा सहायता परिचालन, पर्यटन आय र रेमिट्यान्समा भएको वृद्धिका कारण असोजमा शोधनान्तर बचत (देशबाट बाहिरिनेभन्दा भित्रिने रकम) बढेको छ। असोजमा बचत ३३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा शोधनान्तर अवस्था ६ अर्ब ८८ करोड रुपैयाँले घाटामा थियो। देशको चालु खाता साउनदेखि असोजसम्म १३ अर्ब ८२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा यो खाता २ अर्ब १७ करोडले घाटामा थियो। राष्ट्र बैंकले बुधबार चालु वर्षको पहिलो तीन महिनाको देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक गर्दै रेमिट्यान्स गत वर्षको भन्दा २८.३ प्रतिशतले बढेको जनाएको छ। अघिल्लो वर्ष वृद्धि दर १४.२ प्रतिशत थियो। असोजसम्म रेमिट्यान्स ७५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। यो भदौको भन्दा १२.२ प्रतिशतले बढी हो। सरकारले असोजसम्म वैदेशिक ऋण ८९ करोड ६४ लाख र अनुदा ५ अर्ब ७१ करोड प्राप्त गरिसकेको छ। असोजसम्म कुल वस्तु निर्यात ६.९ प्रतिशतले बढेर १८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वस्तु निर्यात ६.२ प्रतिशतले मात्र बढेको थियो। भदौ महिनाको तुलनामा भने निर्यात १३.३ प्रतिशतले घटेको छ। कुल वस्तु निर्यातमध्ये भारततर्फको १२.१ प्रतिशतले बढेको छ। तेस्रो मुलुकतर्फको निर्यात १.३ प्रतिशतले घटेको छ। भारततर्फ मुख्यतयाः जुटको सामान, जस्ता पाता, लत्ताकपडा, कपर वायर रड, तार र अलैंचीको निर्यात बढेको छ। तेस्रो मुलुकमा दाल, हस्तकलाका सामान, जडीबुटी र छालाका तयारी सामानको निर्यातमा कमी आएको छ। असोजसम्म वस्तु आयात ७.८ प्रतिशतले बढेर १ खर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्ष आयात ५.१ प्रतिशतले मात्र बढेको थियो। भदौको तुलनामा भने आयात १८.५ प्रतिशतले घटेको छ। खासगरी भातरबाट हुने आयात अघिल्लो वर्षको असोजसम्मको तुलनामा ०.६ प्रतिशतले मात्र बढेको छ। तेस्रो मुलुकबाट भएको आयात २३.४ प्रतिशतले वढेको छ। भारतबाट मुख्यतयाः पेट्रोलियम पदार्थ, औषधि, कृषि उपकरण तथा पार्टस्, तयारी पोशाक र कोइलाको आयात बढेको छ। तेस्रो मुलुकबाट सुन तथा चाँदी, भटमासको कच्चा तेल, रासायनिक मल, विद्युतीय सामान र अन्य मेसिनरी तथा पार्टस्को आयातमा वृद्धि भएको छ।

मूल्यवृद्धि
असोजमा मुल्य वृद्धि ८.९ प्रतिशत छ। अघिल्लो वर्षको यसै अवधिमा पनि मूल्यवृद्धि ८.९ नै थियो। खाद्य तथा पेय पदार्थ समूहको मूल्य ९.६ प्रतिशतले र गैर-खाद्य तथा सेवा समूहको मूल्य ८.२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो क्रमशः १३.१ प्रतिशत र ५.५ प्रतिशत थियो।

बजेट घाटा
असोजसम्ममा सरकारी बजेट २ अर्व ४८ करोडले बचतमा छ। सरकारी खर्चको तुलनामा स्रोत रिचालन उच्च रहेकोले सरकारी बजेट बचतमा रहेको हो। अघिल्लो वर्षको असोजसम्म सरकारी बजेट ३ अर्ब ९५ रोडले घाटामा थियो। असोजसम्म नगद प्रवाहमा आधारित कुल सरकारी खर्चमा ५.२ प्रतिशतले वृद्धि भई ४७ अर्व पुगेको छ। अघिल्लो वर्षको असोजसम्ममा कुल सरकारी खर्चमा १२.६ प्रतिशतले वृद्धि भएको थियो।

वैदेशिक मुद्रा सञ्चिति
असोज मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १९.५ प्रतिशतले बढेर ३ खर्ब २५ अर्ब ३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। गत वर्ष यस्तो सञ्चिति २ खर्ब ५७ अर्ब ६ करोड थियो। गत भदौको तुलनामा असोजसम्म सञ्चिति २४ अर्ब ९० करोडले वढेको हो।

No comments: