News

Apr 26, 2013

जहाज खरिद सम्झौता वार्ता सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र युरोपेली जहाज निर्माता कम्पनी एयरबसबीच बिहीबारबाट 'जहाज खरिद सम्झौता' वार्ता सुरु भएको छ। वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा जहाज किन्न प्रतिबद्धता रकम (बैना) पठाएपछि एयरबसका उच्च अधिकारीहरू खरिद सम्झौता गर्न काठमाडौं आएका हुन्। एयरबस टोली वार्ता गर्न बुधबार काठमाडौं आएको हो। एयरबसका सिनियर सेल्स डाइरेक्टर शील शुक्लाको नेतृत्वमा आएको उक्त टोलीमा सेल्स कन्ट्याक्ट्स डाइरेक्टर रोव गर्डन सहभागी छन्। गत चैत २३ गते दुवै कम्पनीबीच भएको जहाज खरिद समझदारीमा एयरबसका तर्फबाट यिनै दुईजनाले हस्ताक्षर गरेका थिए। जहाज बेच्नै भनेर शुक्ला यअअघि करिब तीन दर्जन पटक नेपाल आइसकेका छन्। 'निगम र एयरबसबीच जहाज खरिद सम्झौता गर्न वार्ता सुरु भएको छ,' निगमका प्रवक्ता तथा कर्पोरेट डाइरेक्टर गणेशबहादुर चन्दले बिहीबार नागरिकसँग भने, 'वार्ता अझै केही दिन चल्नेछ।' वार्तामा निगमका अधिकारीहरू एयरबसबाट जहाज खरिद गर्दा संस्थाका लागि कसरी बढिभन्दा बढी सुविधा र फाइदा लिने भन्नेमा केन्द्रित रहेको चन्दले जानकारी दिए। जहाज खरिद समझदारीमा हस्ताक्षर भएको केही दिनभित्रै एयरबसलाई बैना पठाउने भनिए पनि निगमले तीन साता ढिलो पठाएको थियो। 'वार्ता सकारात्मक तरिकामा अगाडि बढेको छ,' चन्दले भने, 'केही दिनभित्रै सकारात्मक नतिजासहित टुंगोमा पुग्छौं।' खरिद सम्झौताकै लागि वार्ता सुरु भएकाले अब भने नयाँ जहाज आउनेमा कुनै शंका बाँकी नरहेको उनको भनाइ छ। कर्मचारी सञ्चय कोषले वैशाख ७ मा निगमलाई दुईवटा जहाज किन्न आवश्यक १५ करोड अमेरिकी डलर (१३ अर्ब ५ करोड रुपैयाँ) ऋण दिने सहमति जनाएपछि निगम त्यसपछिका कामकारबाहीका लागि तीव्र गतिमा अगाडि बढेको हो। लगत्तै भोलिपल्ट वैशाख ८ मा निगमले एयरबसलाई ५ लाख अमेरिकी डलर ((४ करोड ३५ लाख रुपैयाँ) बैना पठाएको थियो। बैना हात परेको तेस्रो दिनमै एयरबसका उच्च अधिकारीहरू जहाज खरिद सम्झौता गर्न यहाँ आएका हुन्। जहाजमा लगानी गर्न आफू तयार रहेको भन्दै सञ्चय कोषले आशयपत्र पठाएपछि निगम व्यवस्थापनलाई बैना पठाउने बाटो खुलेको थियो। अर्थ मन्त्रालयले निगमका तर्फबाट जमानी बस्न आफू तयार रहेको भन्दै निगमलाई ऋण दिन निर्देशन दिएपछि सञ्चय कोष लगानी गर्न सहमत भएको थियो। अर्थले निगमलाई जहाज किन्न आवश्यक १३ अर्ब रुपैयाँका लागि जमानी बसिदिन आफू तयार रहेको बेहोराको पत्र त्यसअघि नै निगम व्यवस्थापनलाई पठाएको थियो। निगमसँग सञ्चय कोषबाहेक नेपाली सेना, नेपाल प्रहरी, नागरिक लगानी कोष, विभिन्न वाणिज्य बैंकहरूको सहवित्तीयकरण (कन्सोर्टियम) लगायत विकल्प पनि थिए। तर, निगमले भने सञ्चय कोषलाई पहिलो प्राथमिकतामा राखेको थियो। निगम र एयरबसबीच गत चैत २३ मा भएको समझदारीअनुसार बैना पठाएको एक महिनाभित्र जहाज खरिद सम्झौता भइसक्नुपर्ने सर्त उल्लेख छ। त्यसैलाई पछ्याउँदै एयरबस टोली आएको हो। उता सञ्चय कोषले पठाएको आशयपत्रमा भने आगामी ६ महिनाभित्र दुवै संस्थाबीच ऋण सम्झौता भइसक्नुपर्ने सर्त उल्लेख छ। आशयपत्रमा ऋणको ब्याज, चुक्ता प्रक्रिया र सेवाबारे केही पनि उल्लेख गरिएको छैन। यसबारे दुवै संस्थाले छलफल गरी आउने ६ महिनाभित्र टुंगो लगाइसक्नुपर्छ। दुवै कम्पनीबीच करिब पाँच वर्ष (सन् २००८) अघिको आधारभूत मूल्यमा लागत मूल्य (इस्कालेसन) जोडेर त्यसैअनुसार जहाज लिने–दिने सहमति भएको छ। निगमले अहिले किन्न लागेको जहाज एयरबस ए३२०–२०० सिरिजको हो। यसमा १ सय ५० सिट हुन्छ। यो 'न्यारो बडी' जहाज हो। निगम भने यसमा सिट बढाएर १ सय ६४ बनाउने योजनामा छ।

सिरियाको एक विमानस्थल विद्रोहीको कब्जामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सिरियाको विद्रोही समूहले सिरियणको पश्चिमी मागमा रहेको एक विमानस्थल आफ्नो कब्जामा लिएका छन्। सिरियाको पश्चिमी भू–भागमा रहेको विमानस्थल विद्रोहीहरुले आफ्नो कब्जामा रहेको बताएका हुन् । सिरियाली सैनिकको नियन्त्रणमा रहेको भनिएको विमानस्थललाई विद्रोहीहरुले आफ्नो कब्जामा भएको बताएका हुन् । विद्रोहीहरुले उक्त विमानस्थल कब्जा गरेको कुरा सिरियाली आन्दोलनको अनुगमनमा सक्रिय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले समेत पुष्टि गरेको समाचार संस्थाले उल्लेख गरेका छन् । विद्रोहीहरुले विमानस्थलको सुरक्षामा खटिएका १३ जना सैनिकलाई कब्जामा लिइसकेको समेत बताएका छन् । विद्रोहीहरुले विमानस्थल कब्जामा लिएको बताएपनि विद्रोही र सरकारी सेनाका बीचमा भिसड भिडन्तहरु जारी रहेको समाचार संस्थाहरुमा उल्लेख गरिएको छ । सिरियामा जारी हिंसालाई चाडोभन्दा चाडो समाधान गर्नुपर्नेमा राष्ट्रसंघका महासचिव वानकी मुनले आग्रह गरेका छन् ।

बंगलादेशामा भवन भत्कदा मृत्यु हुनेको संख्या २७३

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बंगलादेशको राजधानी ढाकामा भत्किएको भवनमा पुरिएर मृत्यु हुनेको संख्या २७३ पुगेको छ। शुक्रबार बिहानसम्ममा भवनले पुरिएर मृत्यु हुनेको संख्या २७३ पुगेको विभिन्न समाचार संस्थाले उल्लेख गरेका छन् । तयारी पोशाक उत्पादन गर्दै आएको आठतले भवन बुधबार भत्किएको हो । समाचार संस्थाहरुले बिहिबारसम्ममा १९५ जनाको शव निकालेको उल्लेख गरेका छन् । भवनभित्र पुरिएका शव निकाल्ने काम जारी भएको भए पनि अब जिउँदो मानिस निकाल्ने सम्भावना घट्दै गएको बताइएको छ । बंगलादेशमा यस अघि गत नोभेम्बर महिनामा समेत तयारी पोशाक उत्पादन गर्ने एक कारखानामा आगलागी हुँदा ११२ को मृत्यु भएको थियो । बंगलादेशमा यस्ता दुर्घटना पटक पटक दोहोरिदै आएको विभिन्न समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

माओवादी, मधेसी र जनजाति मिलेर चुनाव लड्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनमा माओवादी मधेसी र जनजातिसँग मिलेर चुनाव लड्ने बताएका छन्। रोल्पा, रुकुम र सल्यानका कार्यकर्ताहरुलाई प्रशिक्षण दिन बाफुखोला आएका दाहालले अबको निर्वाचनमा माओवादी, मधेसी र जनजाती सँग मिलेर चुनाव लड्ने बताए। उनले अबको चुनावमा एमाओवादीको बहुमत आउनेपनि जिकिर गरेका छन्। रोल्पा, रुकुम र सल्यानका कार्यकर्ताको प्रशिक्षणको क्रममा सल्यान बाफुखोलामा आएका प्रचण्डले आफ्नो चीन भ्रमणको क्रममा पनि नेपालको आर्थिक वृद्धिको बारेमा कुरा उठाएको बताउँदै आसन्न भारत भ्रमणमा पनि आफ्नो मुख्य एजेण्डा त्यही हुने दोहोराए।

Apr 25, 2013

चीनमा भएको जातीय दंगामा २१ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
चीनको सिन्ज्याङ प्रान्तमा भएको जातीय दंगामा परी २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नागरिक, प्रहरी र सामाजिक कार्यकर्ता भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले बताएका छन् । समय समयमा हुने यस क्षेत्रको जातीय भिडन्तको समाचार लिन पुगेका प्रहरी र स्थानीय नागरिक बिच भएको झडपले उग्ररुप लिन पुगेपछि दंगा बढेको हो । पश्चिमी चीनको सिनजियाङ प्रान्तको बचु जिल्लामा उक्त भिडन्त भएको थियो । यो जिल्लामा समय समयमा जातीय दंगा हुने गर्दछ । यस क्षेत्रका नागरिकसँग अबैध हतियार रहेको आशंकामा हतियारको संकलन गर्न प्रहरी पुगेको थियो । ति हतियार प्रहरीले नियन्त्रण गर्न खोज्दा दंगा भड्किन गई स्थानिय नागरिक र प्रहरी बिच भिडन्त भएको हो । प्रहरीले केहि स्थानिय नागरिकको घरबाट हतियार समेत बारामद गरेको छ । प्रहरीले स्थानिय नागरिकको घरभित्र खानतलासि गर्न थालेपछि नागरिक प्रहरी माथि जाइलागेका थिए । भिडन्तमा मारिने १५ जना सामाजिक कार्यकर्ता र प्रहरी परेका छन् । भने, ६ जना उसै प्रान्तमा बस्दै आएका अल्पसंख्यक युगुर समुदायका नागरिक छन् ।

विश्वास दीप तिगेलाको नयाँ कृति गोप्यकुरा सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
प्रवासी साहित्यकार विश्वास दीप तिगेलाको नयाँ कृति गोप्यकुरा सार्वजनिक भयो । संगीतकार राजकुमार बगरको एकल संगीत र तिगेलाको एकल शब्द रचनामा तयार भएको गीति एल्बम गोप्यकुरा लाई प्राज्ञ डा. गाविन्दराज भट्टराईले सार्वजनिक गर्नु भएको हो । कृतिका बारेमा प्राज्ञ ललिजन रावल, प्राज्ञ श्रवण मुकारुङ, प्राज्ञ अमर तुम्याहाङ, रमेश पौडेल, विनोदध्वज खड्का, तुलसी बस्नेत लगायत स्रष्टा स्वयं तिगेला र बगरले बोलेका थिए । विभिन्न स्वादका गीत संगीत समेटिएका गोप्यकुराका गीतहरु सुनेर लोकप्रिय हुने आस गर्दै शुभ कामना दिएका थिए । नयाँ वर्ष २०७० को पहिलो दिनको अवसरको कारण सहभागी सबैले शुभकामना आदान–प्रदान पनि गरेका थिए । एल्बममा अन्जु पन्त, राजेश पायल राई, प्रमोद खरेल, अन्जना गुरुङ, कृष्णभक्त राई, माण्डवी त्रिपाठी, नवराज थापा, हेमन्त शिशिर र स्मृति शाही
को स्वरहरु रहेका छन् ।

Apr 20, 2013

३३ दलले निर्वाचन आयोगलाई विरोधपत्र बुझाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वैशाख ७- सरकारविरुद्ध आन्दोलनरत ३३ दलले मतदाता नामावली र नागरिकता वितरण प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगलाई विरोधपत्र बुझाउने भएका छन्। बुद्धनगरस्थित नेकपा-माओवादीको कार्यालयमा आज बसेको ती दलको संयुक्त बैठकले आफ्नो मागको सुनुवाइ नगरी मतदाता नामावली र नागरिकता वितरण प्रक्रिया अघि बढाएको भन्दै त्यसलाई रोक्न भोलि आयोगलाई विरोधपत्र बुझाउने निर्णय गरेको हो। चौथो चरणको आन्दोलनस्वरुप मतदाता नामावली र नागरिकता वितरणको कार्य तत्काल रोक्न आयोगलाई आग्रह गर्ने र त्यो नरोकिए अवरोध गर्ने निर्णय गरिएको ३३ दलीय मोर्चामा आबद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मणि थापाले जानकारी दिए। यही वैशाख १४ गते मतदाता नमावली र नागरिकता वितरणका सम्बन्धमा नागरिक समाजसँग छलफल गर्ने निर्णय भएको पनि उनले बताए। त्यसैगरी भारतको नयाँदिल्लीमा नेपाली चेलीमाथि भएको बलात्कार र विराटनगरमा अवैधरुपमा सञ्चालन गरिएको भारतीय कार्यालयको विरोधमा १६ गते भारतीय दूतावासलाई ज्ञापनपत्र बुझाउने मोर्चाले निर्णय गरेको छ। यस्तै सरकारको बहिर्गमन र सन् १९५० मा भारतसँग गरिएको सन्धिको खारेजीलगायतका माग राख्दै मेची र महाकालीबाट मार्चपास एवम् स्वाभिमान यात्रा गर्ने निर्णय गरिएको पनि मोर्चाले जनाएको छ।