News

Apr 26, 2013

जहाज खरिद सम्झौता वार्ता सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र युरोपेली जहाज निर्माता कम्पनी एयरबसबीच बिहीबारबाट 'जहाज खरिद सम्झौता' वार्ता सुरु भएको छ। वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा जहाज किन्न प्रतिबद्धता रकम (बैना) पठाएपछि एयरबसका उच्च अधिकारीहरू खरिद सम्झौता गर्न काठमाडौं आएका हुन्। एयरबस टोली वार्ता गर्न बुधबार काठमाडौं आएको हो। एयरबसका सिनियर सेल्स डाइरेक्टर शील शुक्लाको नेतृत्वमा आएको उक्त टोलीमा सेल्स कन्ट्याक्ट्स डाइरेक्टर रोव गर्डन सहभागी छन्। गत चैत २३ गते दुवै कम्पनीबीच भएको जहाज खरिद समझदारीमा एयरबसका तर्फबाट यिनै दुईजनाले हस्ताक्षर गरेका थिए। जहाज बेच्नै भनेर शुक्ला यअअघि करिब तीन दर्जन पटक नेपाल आइसकेका छन्। 'निगम र एयरबसबीच जहाज खरिद सम्झौता गर्न वार्ता सुरु भएको छ,' निगमका प्रवक्ता तथा कर्पोरेट डाइरेक्टर गणेशबहादुर चन्दले बिहीबार नागरिकसँग भने, 'वार्ता अझै केही दिन चल्नेछ।' वार्तामा निगमका अधिकारीहरू एयरबसबाट जहाज खरिद गर्दा संस्थाका लागि कसरी बढिभन्दा बढी सुविधा र फाइदा लिने भन्नेमा केन्द्रित रहेको चन्दले जानकारी दिए। जहाज खरिद समझदारीमा हस्ताक्षर भएको केही दिनभित्रै एयरबसलाई बैना पठाउने भनिए पनि निगमले तीन साता ढिलो पठाएको थियो। 'वार्ता सकारात्मक तरिकामा अगाडि बढेको छ,' चन्दले भने, 'केही दिनभित्रै सकारात्मक नतिजासहित टुंगोमा पुग्छौं।' खरिद सम्झौताकै लागि वार्ता सुरु भएकाले अब भने नयाँ जहाज आउनेमा कुनै शंका बाँकी नरहेको उनको भनाइ छ। कर्मचारी सञ्चय कोषले वैशाख ७ मा निगमलाई दुईवटा जहाज किन्न आवश्यक १५ करोड अमेरिकी डलर (१३ अर्ब ५ करोड रुपैयाँ) ऋण दिने सहमति जनाएपछि निगम त्यसपछिका कामकारबाहीका लागि तीव्र गतिमा अगाडि बढेको हो। लगत्तै भोलिपल्ट वैशाख ८ मा निगमले एयरबसलाई ५ लाख अमेरिकी डलर ((४ करोड ३५ लाख रुपैयाँ) बैना पठाएको थियो। बैना हात परेको तेस्रो दिनमै एयरबसका उच्च अधिकारीहरू जहाज खरिद सम्झौता गर्न यहाँ आएका हुन्। जहाजमा लगानी गर्न आफू तयार रहेको भन्दै सञ्चय कोषले आशयपत्र पठाएपछि निगम व्यवस्थापनलाई बैना पठाउने बाटो खुलेको थियो। अर्थ मन्त्रालयले निगमका तर्फबाट जमानी बस्न आफू तयार रहेको भन्दै निगमलाई ऋण दिन निर्देशन दिएपछि सञ्चय कोष लगानी गर्न सहमत भएको थियो। अर्थले निगमलाई जहाज किन्न आवश्यक १३ अर्ब रुपैयाँका लागि जमानी बसिदिन आफू तयार रहेको बेहोराको पत्र त्यसअघि नै निगम व्यवस्थापनलाई पठाएको थियो। निगमसँग सञ्चय कोषबाहेक नेपाली सेना, नेपाल प्रहरी, नागरिक लगानी कोष, विभिन्न वाणिज्य बैंकहरूको सहवित्तीयकरण (कन्सोर्टियम) लगायत विकल्प पनि थिए। तर, निगमले भने सञ्चय कोषलाई पहिलो प्राथमिकतामा राखेको थियो। निगम र एयरबसबीच गत चैत २३ मा भएको समझदारीअनुसार बैना पठाएको एक महिनाभित्र जहाज खरिद सम्झौता भइसक्नुपर्ने सर्त उल्लेख छ। त्यसैलाई पछ्याउँदै एयरबस टोली आएको हो। उता सञ्चय कोषले पठाएको आशयपत्रमा भने आगामी ६ महिनाभित्र दुवै संस्थाबीच ऋण सम्झौता भइसक्नुपर्ने सर्त उल्लेख छ। आशयपत्रमा ऋणको ब्याज, चुक्ता प्रक्रिया र सेवाबारे केही पनि उल्लेख गरिएको छैन। यसबारे दुवै संस्थाले छलफल गरी आउने ६ महिनाभित्र टुंगो लगाइसक्नुपर्छ। दुवै कम्पनीबीच करिब पाँच वर्ष (सन् २००८) अघिको आधारभूत मूल्यमा लागत मूल्य (इस्कालेसन) जोडेर त्यसैअनुसार जहाज लिने–दिने सहमति भएको छ। निगमले अहिले किन्न लागेको जहाज एयरबस ए३२०–२०० सिरिजको हो। यसमा १ सय ५० सिट हुन्छ। यो 'न्यारो बडी' जहाज हो। निगम भने यसमा सिट बढाएर १ सय ६४ बनाउने योजनामा छ।

No comments: