News

Jul 25, 2008

अध्यक्ष पदमा निर्विरोध सुवास नेम्वाङ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,९ श्रावण २०६५
नेकपा (एमाले) का नेता एवम् पूर्वसभामुख सुवास नेम्वाङ संविधानसभा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। इलामबाट संविधानसभा सदस्यमा निर्वाचित नेम्वाङले लोकतन्त्र बहालीपछि प्रतिनिधिसभा र माओवादीसहितको व्यवस्थापिका-संसद्को र्सवसम्मत सभामुख भएर महत्त्वपूर्ण जिम्मेवारी पूरा गरिसक्नुभएको छ।संविधानसभाको बिहीबार बसेको बैठकमा नेकपा (एमाले) संसदीय दलका उपनेता विष्णु पौडेलले संविधानसभा अध्यक्षमा नेम्वाङलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो। उहाँको प्रस्तावलाई नेपाली कांग्रेसका सभासद् विमलेन्द्र निधिले र्समर्थन गर्नुभएपछि बैठकको अध्यक्षता गर्नुभएका कुलबहादुर गुरुङले संविधानसभा अध्यक्ष पदमा सुवास नेम्वाङ निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो।नेम्वाङले विगतमा सभामुख भएर निर्वाह गर्नुभएको भूमिका प्रशंसनीय भएका कारण अहिले संविधानसभामा २५ वटै दलको साझा उम्मेदवारका रूपमा स्वीकार गरिएको दलहरूले जनाएका छन्। कानुनविद्समेत मानिनुहुने नेम्वाङ केही दलहरूबीच भएको गठबन्धनका कारणसमेत एमालेका तर्फाट उहाँ सो पदमा निवर्ँचित हुने लगभग निश्चित थियो।अध्यक्ष पदमा निर्वाचित भएपछि नेम्वाङले आफूलाई निर्विरोध विजयी बनाइएकाले आगामी दिनमा सहमति गरेर जान सकारात्मक संकेत दिएको उल्लेख गर्दै त्यस कार्यलाई अगाडि बढाउन आफू पनि क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।नवनिर्वाचित अध्यक्ष नेम्वाङले संविधान निर्माणको महत्त्वपूर्ण जिम्मेवारी बाँकी रहेको र त्यसलाई समयमै पूरा गर्न राजनीतिक दलहरूबीच उच्चस्तरको समझदारी आवश्यक रहेको बताउनुभयो। उहाँले त्यसका लागि संविधानसभा अध्यक्षको हैसियतले आफू पूर्ण क्रियाशील हुने बताउनुभएको छ।नेम्वाङलाई अध्यक्ष पदमा निवँचित भएको घोषणा गर्दै बैठकको अध्यक्षता गर्नुभएका कुलबहादुर गुरुङले अध्यक्ष पद घुमिफिरी इलाममै पुगेको बताउनुभयो। इलामबाटै निर्वाचित हुनुभएका गुरुङले नेम्वाङ कुशल राजनीतिज्ञ भएको उल्लेख गर्दै उहाँको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान तोकिएकै समयमा निर्माण हुने विश्वास व्यक्त गर्नुभयो।अध्यक्षमा नेम्वाङलाई निर्वाचित गरियोस् भनी प्रस्ताव राख्नुहुने पौडेल र त्यसको र्समर्थन गर्नुहुने निधिले पनि सुवास नेम्वाङ अध्यक्ष हुन योग्य र सक्षम व्यक्तित्व भएको उल्लेख गर्नुभयो।संविधानसभा अध्यक्ष नै व्यवस्थापिका-संसद्को पनि सभामुख हुने भएकाले एकै पटक दोहोरो जिम्मेवारी नेम्वाङले पाउनुभएको छ। संविधानसभाको बैठक बस्दा अध्यक्ष र व्यवस्थापिका-संसद्को हैसियतमा संविधानसभा बैठक बस्दा सभामुख भन्ने गरी संवैधानिक व्यवस्था गरिएको छ।

Jul 24, 2008

गठवन्धन तत्काल नटुटने निश्कर्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,९ श्रावण २०६५
नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमबीचको गठवन्धन नटुटे सरकारमा नजाने अडान माओवादीले राख्दै आएको बेला गठवन्धनको बैठकले गठवन्धन तत्काल नटुटने निश्कर्ष निकालेको छ ।
सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यलयमा २५ दलको बैठक सुरु हुनैलागेको बेला नेपाली कांग्रेस संसदीय दलको कार्यलयमा तीन दलको बैठक सकिएको छ । नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमबीच भएको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले तीन दलीय गठवन्धन भंग नहुने स्पष्ट पारे । उता, माओवादी अध्यक्षले भने तीन दलीय गठवन्धन भंग भए मात्र सरकार बनाउने तथा नभए प्रतिपक्षमै बस्ने बताएका छन् । संचारकर्मीहरुसँग कुरा गर्दै पौडेलले राष्ट्रपति, उपराष्ट्रपति र सभाध्यक्षको चुनावको लागि मात्र गठवन्धन नबनेको बताए । सहमति र सहकार्यबाटै लोकतान्त्रिक संविधान बनाउन तथा शान्तिप्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउन नयाँ गठवन्धन बनाइएको पनि उनको भनाइ थियो । 'माओवादीलाई पनि यही गठवन्धनमा ल्याइनेछ' पौडेलले भने ।

Jul 18, 2008

त्रिसुलीमा बस खस्दा १४ को मृत्यु, १२ बेपत्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवनको मुग्लिङ-नारायणगढ खण्डको सडकबाट शुक्रबार राति एक यात्रु बस त्रिसुली नदीमा खस्दा १४ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा २१ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । अरु १२ जना यात्री हराइरहेका छन् । काठमाडौंबाट भैरहवा जाँदै गरेको लु१ख ३८०३ नम्बरको बस दुर्घटनामा परेको हो ।उक्त सडक खण्डको खहरे खोला भन्ने स्थानबाट शुक्रबार मध्यराति करिब सय मिटर तल त्रिसुली नदीमा खसेको थियो । घटनामा मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । घटनास्थलमा भेला भएका सेना, प्रहरी र स्थानीय बासिन्दाले उद्धार कार्य जारी राखेका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य पनि भइरहेको प्रहरीले जनाएको छ ।

इराकमा अलपत्र नेपालीको अवस्थाबारे चासो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुइ सातादेखि इराकको राजधानी बगदादमा अलपत्र परेका नेपालीहरूको यथार्थ स्थिति पत्ता लगाउन नेपाल सरकारले संयुक्त राज्य अमेरिकासँग अनुरोध गरेको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत कार्ला बाकेकीसँग परराष्ट्र मन्त्रालयका प्रवक्ता हीराबहादुर थापाले अलपत्र परेका नेपालीहरूको यथार्थ स्थिति पत्ता लगाइदिन अनुरोध गर्नुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।मन्त्रालयले इराकमा तीनसय जना नेपाली अलपत्र परेको समाचार सार्वजनिक भएकै दिन असार २५ गते बुधबार साउदी अरब, पाकिस्तान र संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदुतावासलाई पहिलोपटक पत्र पठाइ अलपत्र नेपालीको स्थिति पत्ता लगाउन निर्देशन दिएको थियो । निर्देशन दिएको एक हप्ता बितिसक्दा पनि सन्तोषजनरूपमा काम हुन नसकेपछि मन्त्रालयले पुन पत्र लेखी स्थिति छिटो पत्ता लगाउन निर्देशन दिएको बताइएको छ ।इराकमा अलपत्र परेका नेपालीहरूबाट प्राप्त पछिल्लो जानकारीअनुसार उद्धारका लागि अझसम्म कसैले पहल गरेको छैन । इराकी प्रहरीको नियन्त्रणमा रहेका १५० जना नेपालीलाई जुलाई १६ तारिखबाट छाडिएपछि उनीहरू अब के गर्ने भन्ने चिन्ताले छटपटाइरहेका छन् । राजधानी बगदादको विमानस्थलनजिकै यार्थो होटलअगाडि खुला सडकमा अलपत्र अवस्थामा रहेका तीन सयजना नेपालीमध्ये सो होटलमा कामका लागि गएका १५० जना र ग्लोबल सेक्युरिटीमा कामका लागि गएका १३५ भन्दा बढी नेपाली रहेका थिए ।पछिल्लो जानकारीअनुसार ग्लोबल सेक्युरिटीमा कामका लागि गएका १३५ जना नेपाली अहिले सो स्थानमा छैनन् । उनीहरू कहाँ र कस्तो अवस्थामा छन् भन्नेबारे कुनै जानकारी प्राप्त हुनसकेको छैन । इराकमा अलपत्र नेपालीहरूले पटकपटक फोन गरी आफ्नो उद्धारका लागि पहल गरिदिन अनुरोध गरेका छन् । उनीहरूलाई इराक पुर्‍याउने दलाल चिरञ्जीवी शर्मा र नगेन्द्र पुरी बेपत्ता भएपछि उनीहरूको अवस्था झन् दयनीय बनेको उनीहरूले बताए । म्याग्दी, नवलपरासी, चितवन, झापा, स्याङजा र नुवाकोट जिल्लाका गरी करिब तीनसय जना नेपाली तीन सातादेखि इराकको बगदादमा अलपत्र अवस्थामा रहेका छन् ।

हिमानी पनि छोराछोरी सहित सिंगापुर प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्व युवराज पारस शाह सिंगापुर गएको झन्डै दुइ सातापछि उनकी पत्नी हिमानी पनि छोराछोरी सहित सिंगापुर प्रस्थान गरेकी छन् । छोरा हृदयेन्द्र अनि छोरीहरु पूर्णिका र कृतिकासहित हिमानी सिल्क एयरको उडानबाट बिहीबार सिंगापुरतर्फ प्रस्तान गर्नुभएको हो ।यसअघि पूर्वयुवराज पारस सिंगापुर प्रस्थान गरेका थिए । सिंगापुरमै छोराछोरीको पठनपाठनको व्यवस्था मिलाएपछि हिमानी उनीहरुलाई लिएर त्यसतर्फ गएको बताइएको छ ।

राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन आज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति तथा उपराष्ट्रपति पदको मतदान आज शनिबार बिहान ११ बजे हुँदैछ । नेपालको इतिहासमा राष्ट्रपति तथा उपरराष्ट्रपतिको निर्वाचन हुन लागेको यो पहिलो हो । ती पदका लागि चार प्रमुख राजनीतिक दलका सातजनाले उम्मेदवारी दिएका छन् ।संविधानसभाका ६०१ मध्ये ५९४ जना सदस्यले आफ्नो गोप्य मतदान प्रक्रियाद्वारा राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि मतदान गर्नेछन् । मन्त्रिपरिषद्बाट मनोनयन गरिएका २६ सदस्यमध्ये पद्मज्योति र विश्वनाथ उपाध्यायले पद तथा गोपनीयताको सपथग्रहण गरेका छैनन् भने दुइ स्थानमा विजयी भएको पाँच स्थान रिक्त छ । राष्ट्रपतिका लागि माओवादी समर्थित नवजनवादी मोर्चाका तर्फबाट रामराजाप्रसाद सिंह, एमालेका तर्फबाट रामप्रित पासवान र नेपाली काङ्ग्रेसका तर्फबाट डा. रामवरण यादव चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ । यसैगरी, उपराष्ट्रपतिका लागि माओवादीले शान्ता श्रेष्ठ, नेपाली काङ्ग्रेसले मानबहादुर विश्वकर्मा, एमालेले अष्टलक्ष्मी शाक्य र मधेसी जनअधिकार फोरमले परमानन्द झालाई उम्मेदवार बनाएका छन् । संविधानसभाको गत असार ३१ गतेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यविधिसम्बन्धी प्रस्ताव पारित गरेपछि ती पदको निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । संविधानसभामा नेकपा माओवादीका २२६, नेपाली काङ्ग्रेसका ११३, नेकपा एमालेका १०८, फोरमका ५२, तमलोपाका २१, सद्भावना पार्टीका नौ, जनमोर्चा नेपालका आठ र नेपाल मजदुर किसान पार्टीका पाँच सभासद् रहेका छन् । त्यसैगरी, नेपाल सद्भावना पार्टी आनन्दीदेवीका तीन, राष्ट्रिय जनमोर्चाका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका आठ, जनमुक्ति पार्टीका दुइ, नेकपा एकीकृतका दुइ, जनता दलका दुइ, सङ्घीय लोकतान्त्रिक मञ्चका दुइ, समाजवादी प्रजपाका एक र दलित जनजाति पार्टीका एक सभासद् रहेका छन् । नेपाल परिवार दलका एक, नेपा राष्ट्रिय पार्टीका एक, नेपाल लोकतान्त्रिक समाजवादी दलका एक, चुरेभावर राष्ट्रिय एकता पार्टीका एक र स्वतन्त्र दुइ सभासद् रहेका छन् ।

राष्ट्रपति तथा उप राष्ट्रपतिमा तीन तीन उमेदवार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपतिका तीन तथा उप राष्ट्रपतिका तीन उमेदवारहरुले मतदाता समक्ष आफू योग्य उमेदवार भएको बताउदै मत मागेका छन् । राष्ट्रपति र उप राष्ट्रपतिका उमेदवारहरुले मतदातासमक्ष आफूलाई मत दिन आग्रह गरेका छन् । संविधानसभा सचिवालयको कार्यक्रम अनुसार, साउन ३ गते संविधानसभास्थल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपतिका तीन तथा उप राष्ट्रपतिका तीन उमेदवारहरुले मतदातासमक्ष आफ्नो योग्यताको ब्याख्या गरे । मधेसी जनअधिकार फोरमबाट उपराष्ट्रपतिका लागि मनोनयन दर्ता गरेका परमानन्द झा भने कार्यक्रममा उपस्थित थिएनन् । माओवादीबाट राष्ट्रपति उमेदवार बनेका रामराजाप्रसाद सिंहले मुलुकमा महान युग सुरु हुनलागेको बेला महान संविधान बन्ने दावी गरे । संविधानसभा चुनावपछि पनि धेरै मुलुक टुक्रिएको तथा निरंकुशता हावी भएको उल्लेख गर्दै सिंहले त्यसतर्फ सचेत हुन आग्रह गरे । कार्यक्रममा सिंहले संविधान बनाउदा अरु मुलुकको नक्कल गर्न नहुने धारणा पनि राखे । नेपाली कांग्रेसबाट राष्ट्रपति उमेदवार बनेका डा. रामवरण यादवले आफू राष्ट्रपति बने मुलुकमा देखिएका जातीय र क्षेत्रीय समस्या समाधान गर्न सक्ने बिश्वास गरे । शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउन आफूले सहयोग पुर्‍याउने बताउदै यादवले नेपालको सम्भावना धेरै भए पनि 'सिस्टम' नबनेका कारण अघि बढ्न नसकेको उल्लेख गरे । एमालेबाट राष्ट्रपति उमेदवार बनेको रामप्रीत पासवानले आफू राष्ट्रपति बने लोकतन्त्र र स्थायी शान्ति स्थापनालाई प्राथमिकता दिने बताए । राजाको शाषनका बेला सडकमा चलेको संसदको आफूले अध्यक्षता गरेको स्मरण गर्दै पासवानले आफू मधेसी तथा दलित भएकाले सबैलाई मिलाएर लान सक्ने बिश्वास ब्यक्त गरे । माओवादीबाट उपराष्ट्रपतिको उमेदवार बनेकी शान्ता श्रेष्ठले आफूलाई पदको कुनै लोभ नभएको बताइन् तथा आफू नेपाली कांग्रेस र एमालेमा पनि रहिसकेकीले सबै दलले मत दिने बिश्वास गरिन् । नेपाली कांग्रेसबाट उपराष्ट्रपतिमा उमेदवारी दिएका मानबहादुर बिश्वकर्माले प्रजातन्त्रका लागि गरेको संघर्ष आफ्नो परिचय भएको उल्लेख गर्दै प्रजातन्त्रलाई संस्थागत गर्ने कामलाई नै आफूले प्राथमिकता दिने बताए । एमालेबाट उपराष्ट्रपतिको उमेदवार बनेकी अष्टलक्ष्मी शाक्यले हिंशाको अन्त्य गर्नु आफ्नो प्रतिवद्धता हुने प्रष्ट पारिन् ।