News

Jul 18, 2008

इराकमा अलपत्र नेपालीको अवस्थाबारे चासो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुइ सातादेखि इराकको राजधानी बगदादमा अलपत्र परेका नेपालीहरूको यथार्थ स्थिति पत्ता लगाउन नेपाल सरकारले संयुक्त राज्य अमेरिकासँग अनुरोध गरेको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत कार्ला बाकेकीसँग परराष्ट्र मन्त्रालयका प्रवक्ता हीराबहादुर थापाले अलपत्र परेका नेपालीहरूको यथार्थ स्थिति पत्ता लगाइदिन अनुरोध गर्नुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।मन्त्रालयले इराकमा तीनसय जना नेपाली अलपत्र परेको समाचार सार्वजनिक भएकै दिन असार २५ गते बुधबार साउदी अरब, पाकिस्तान र संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदुतावासलाई पहिलोपटक पत्र पठाइ अलपत्र नेपालीको स्थिति पत्ता लगाउन निर्देशन दिएको थियो । निर्देशन दिएको एक हप्ता बितिसक्दा पनि सन्तोषजनरूपमा काम हुन नसकेपछि मन्त्रालयले पुन पत्र लेखी स्थिति छिटो पत्ता लगाउन निर्देशन दिएको बताइएको छ ।इराकमा अलपत्र परेका नेपालीहरूबाट प्राप्त पछिल्लो जानकारीअनुसार उद्धारका लागि अझसम्म कसैले पहल गरेको छैन । इराकी प्रहरीको नियन्त्रणमा रहेका १५० जना नेपालीलाई जुलाई १६ तारिखबाट छाडिएपछि उनीहरू अब के गर्ने भन्ने चिन्ताले छटपटाइरहेका छन् । राजधानी बगदादको विमानस्थलनजिकै यार्थो होटलअगाडि खुला सडकमा अलपत्र अवस्थामा रहेका तीन सयजना नेपालीमध्ये सो होटलमा कामका लागि गएका १५० जना र ग्लोबल सेक्युरिटीमा कामका लागि गएका १३५ भन्दा बढी नेपाली रहेका थिए ।पछिल्लो जानकारीअनुसार ग्लोबल सेक्युरिटीमा कामका लागि गएका १३५ जना नेपाली अहिले सो स्थानमा छैनन् । उनीहरू कहाँ र कस्तो अवस्थामा छन् भन्नेबारे कुनै जानकारी प्राप्त हुनसकेको छैन । इराकमा अलपत्र नेपालीहरूले पटकपटक फोन गरी आफ्नो उद्धारका लागि पहल गरिदिन अनुरोध गरेका छन् । उनीहरूलाई इराक पुर्‍याउने दलाल चिरञ्जीवी शर्मा र नगेन्द्र पुरी बेपत्ता भएपछि उनीहरूको अवस्था झन् दयनीय बनेको उनीहरूले बताए । म्याग्दी, नवलपरासी, चितवन, झापा, स्याङजा र नुवाकोट जिल्लाका गरी करिब तीनसय जना नेपाली तीन सातादेखि इराकको बगदादमा अलपत्र अवस्थामा रहेका छन् ।

No comments: