News

Jul 18, 2008

राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन आज

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपति तथा उपराष्ट्रपति पदको मतदान आज शनिबार बिहान ११ बजे हुँदैछ । नेपालको इतिहासमा राष्ट्रपति तथा उपरराष्ट्रपतिको निर्वाचन हुन लागेको यो पहिलो हो । ती पदका लागि चार प्रमुख राजनीतिक दलका सातजनाले उम्मेदवारी दिएका छन् ।संविधानसभाका ६०१ मध्ये ५९४ जना सदस्यले आफ्नो गोप्य मतदान प्रक्रियाद्वारा राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि मतदान गर्नेछन् । मन्त्रिपरिषद्बाट मनोनयन गरिएका २६ सदस्यमध्ये पद्मज्योति र विश्वनाथ उपाध्यायले पद तथा गोपनीयताको सपथग्रहण गरेका छैनन् भने दुइ स्थानमा विजयी भएको पाँच स्थान रिक्त छ । राष्ट्रपतिका लागि माओवादी समर्थित नवजनवादी मोर्चाका तर्फबाट रामराजाप्रसाद सिंह, एमालेका तर्फबाट रामप्रित पासवान र नेपाली काङ्ग्रेसका तर्फबाट डा. रामवरण यादव चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ । यसैगरी, उपराष्ट्रपतिका लागि माओवादीले शान्ता श्रेष्ठ, नेपाली काङ्ग्रेसले मानबहादुर विश्वकर्मा, एमालेले अष्टलक्ष्मी शाक्य र मधेसी जनअधिकार फोरमले परमानन्द झालाई उम्मेदवार बनाएका छन् । संविधानसभाको गत असार ३१ गतेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन कार्यविधिसम्बन्धी प्रस्ताव पारित गरेपछि ती पदको निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । संविधानसभामा नेकपा माओवादीका २२६, नेपाली काङ्ग्रेसका ११३, नेकपा एमालेका १०८, फोरमका ५२, तमलोपाका २१, सद्भावना पार्टीका नौ, जनमोर्चा नेपालका आठ र नेपाल मजदुर किसान पार्टीका पाँच सभासद् रहेका छन् । त्यसैगरी, नेपाल सद्भावना पार्टी आनन्दीदेवीका तीन, राष्ट्रिय जनमोर्चाका चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका आठ, जनमुक्ति पार्टीका दुइ, नेकपा एकीकृतका दुइ, जनता दलका दुइ, सङ्घीय लोकतान्त्रिक मञ्चका दुइ, समाजवादी प्रजपाका एक र दलित जनजाति पार्टीका एक सभासद् रहेका छन् । नेपाल परिवार दलका एक, नेपा राष्ट्रिय पार्टीका एक, नेपाल लोकतान्त्रिक समाजवादी दलका एक, चुरेभावर राष्ट्रिय एकता पार्टीका एक र स्वतन्त्र दुइ सभासद् रहेका छन् ।

No comments: