News

Sep 24, 2008

बाढीपहिरो पीडितको लागि तत्काल एक करोड ५५ लाख रुपैयाँ निकासा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पश्चिम नेपालका विभिन्न जिल्लामा केही दिनयता भएको बाढीपहिरोको क्षत्रि्रति गम्भीर हुँदै सरकारले पीडितको उद्धार र राहत सहयोगका लागि तत्काल एक करोड ५५ लाख रुपैयाँ निकासा गर्ने भएको छ । यो घोषणा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले गर्नुभएको हो । बाढी पहिरोका कारण पश्चिममा करिब तीन दर्जनको मृत्यु भइसकेको छ । हजारौं विस्थापित भएका छन् ।कार्यबाहक प्रधानमन्त्री समेत रहनुभएको गौतमले संसदमा जानकारी दिंदै प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहतका लागि कैलाली, कन्चनपुर, डोटी, बाजुरा, कालीकोट लगायतका जिल्लाका लागि उक्त रकम निकासा गरिएको बताउनुभयो । पीडितको उद्धारका लागि सेना, प्रहरी, रेडक्रसकर्मी लगायत परिचालन भएको पनि उहाँले जानकारी दिनुभयो ।

आफूले मन्त्री पद छाडे पनि पार्टी नछाड्ने - मातृका यादव

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिरहाको मिर्चैयामा रहेको सर्वसाधारणको घरजग्गा आफ्नै सक्रियतामा कब्जा गर्न लगाएर विवादास्पद बनेका माओवादी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले आफूले मन्त्री पद छाडे पनि पार्टी नछाड्ने बताउनुभएको छ । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।आफूले गरिब र दलितका पक्षमा सिरहामा काम गरेको तर कुनै गल्ती भने नगरेको उहाँले बताउनुभयो । जग्गा कब्जा घटना निकै विवादास्पद बनेपछि उहाँले मन्त्री पदबाट राजीनामा दिनुभएको थियो । राजीनामा स्वीकृत समेत भइसकेको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यादवमाथि आवश्यक कारबाही हुने समेत बताइसक्नुभएको छ ।यी घटनापछि यादव भूमिगत हुने भन्ने चर्चा व्यापक रुपमा चलेको थियो । तर यादवले भने आफू भूमिगत हुने कुरा हल्लामात्र भएको बताउनुभयो । पत्रकारहरुसित कुरा गर्दै उहाँले आफू पार्टीमै रहेर काम गर्ने स्पष्ट पार्नुभयो ।

दसैंका लागि कोसीमा छवटा जेटबोट चलाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कोसी तटबन्ध भत्केर क्षतिग्रस्त बनेको राजमागर्गका कारण आवागमन अवरुद्ध भइरहेका बेला कोसी नदी आरपार गर्न यात्रुको सुविधाका लागि सरकारले मोटरबोट सञ्चालन गर्ने भएको छ । यसै साता सञ्चालन गरिने बताइएको मोटरबोट भारतबाट ल्याउन लागिएको सडक विभागले जनाएको छ ।एउटा बोटबाट १० जना यात्रु कोसी तर्न सक्ने जनाइएको छ । कोसी कटानका कारण पूर्वपश्चिम राजमार्गको करिब १४ किलोमिटर क्षेत्र क्षतिग्रस्त भएकाले यातायात गत भदौ २ गतेदेखि सञ्चालन हुन सकेको छैन । यसले गर्दा दैनिक हजारौं यात्रुहरु समस्यामा परेका छन् । भारतीय बाटो हुँदै सवारी साधन पश्चिम नेपालतर्फ जाने क्रम जारी रहे पनि असुरक्षा र लामो अनि झन्झटिलो यात्राले यात्रु समस्यामा परेका छन् ।

बार अध्यक्ष मैनालीमाथि गरिएको कारवाही फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वोच्च अदालतको पूर्ण बैठकले नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीमाथि गरिएको कारवाही फिर्ता लिएको छ । यो निर्णयसँगै बार र बेन्चबीचको विवाद अन्त भएको छ । सहमतिपछि बार एशोसिएसनले गरेको आन्दोलन स्थागित गरेको छ । देशभरका कानुन व्यवसायीहरुले अदालतहरुमा बहस पैरवी बहिस्कार गर्दै आएका थिए ।सर्वोच्च अदालतका रजिष्ट्रार डा. रामकृष्ण तिमल्सेना र बारका महासचिव रमनकुमार श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेर विवाद अन्त भएको घोषणा गर्नुभएको हो । बार अध्यक्ष मैनालीले गत भदौ ३१ गते आयोजित एक कार्यक्रममा बोलेको कुराले न्यापालिका र न्यायाधीशमाथि वितृष्णा र अपमान भएको भनी सर्वोच्च अदालतको पूर्ण बैठकले मैनालीलाई छ महिनासम्म कुनै पनि अदालतमा बहस गर्न नपाउनेगरी बन्देज लगाएको थियो ।सर्वोच्च अदालतको उक्त निर्णयपछि वारका पदाधिकारी सर्वोच्चको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत, गैरसंवैधानिक र त्रुटिपूर्ण रहेकाले अविलम्ब फिर्ता लिनुपर्ने माग राखी बहससमेत बहिष्कार गर्दै शुक्रबारदेखि विरोधमा उत्रिएका थिए ।

युवतीहरुलाई जिस्क्याउने २१ जना पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विद्यालय, क्यामपस जस्ता ठाउँ आसपास बसेर युवतीहरुलाई जिस्क्याउने चलन विकृति निम्तिने गरेको भन्दै यस्ता कार्यको विरोध हुने गरेको छ । कतिपय स्थानमा यस्तै निहुँका कारण झडप समेत हुने गरेका छन् । यसै क्रममा बाँके जिल्लामा विद्यालयको अगाडि बसेर छात्राहरुलाई जिस्काउने कार्यमा संलग्न २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त जिल्लाको सरस्वती माध्यमिक विद्यालय, नारायण मावि, मंगलप्रसाद मावि र महेन्द्र माविको गेटमा बसेर छात्राहरूलाई जिस्काउने युवकहरूलाई पक्राउ गरिएको हो । प्रहरी निरीक्षक विनोद शर्माका अनुसार छात्रालाई दुख दिएको गुनासो उनीहरूका अभिभावकहरूबाट आएपछि छापा मारेर पक्राउ गरिएको हो । पक्राउ परेका २१ मध्ये पाँचजना पटकपटक बिभिन्न अभियोगमा पक्राउ परिसकेको र १६ जना नयाँ अनुहारका रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये पाँच जनालाई सार्वजनिक ऐनअन्तर्गत कारबाही गरी छोडिने प्रहरीले जनाएको छ ।

Sep 23, 2008

बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ललितपुरको गगुवाघाटमा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । भट्टेडाँडाबाट चापागाउँ गइरहेको बस सडकबाट करिब तीन सय मिटर तल खस्दा उनीहरुको मृत्यु भएको हो ।मृत्यु हुनेमा प्रहरी हवल्दार कृष्णप्रसाद घिमिरे, निर्मला अधिकारी, वीरबहादुर पाखरिन, भुजुङ तामाङ, ज्ञानु तिमिल्सिना र दुर्थानाथ घिमिरे रहेको जनाइएको छ । घाइतेहरुको राजधानीका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

जनकपुर अभिनन्दन समारोहमा राष्ट्रपति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपति डा.रामवरण यादवले विभिन्न विसंगति तथा समस्या सुल्झाउनका लागि समन्वयको संस्कृति निर्माण अहिलेको आवश्यकता भएको बताउनुभएको छ । उद्योग वाणिज्य संघ, जनकपुरधामद्वारा आयोजित अभिनन्दन समारोहमा उहाँले हिंसात्मक प्रवृत्तिले राष्ट्र निर्माण हुन सक्दैन भन्दै आवेशपूर्ण क्रियाकलापले लोकतान्त्रिक संस्कृतिको विकासमा गतिरोध उत्पन्न गर्नसक्ने धारणा राख्नुभयो । प्रत्येक व्यक्तिलाई सार्वभौम नागरिकका रूपमा अधिकार दिलाउन वैज्ञानिक ढंगले मुलुकको संरचना निर्माण हुनु जरुरी छ भन्दै उहाँले संविधानसभामार्फत न्यायपूर्ण सामाजिक संरचना निर्माण गर्ने संविधान बनाउने गहन दायित्व सभासद्हरूलाई रहेको बताउनुभयो । राष्ट्रपति डा.यादवले विगतमा स्रोत, साधन र विभिन्न अवसरको समानुपातिक वितरण नभएका कारण राष्ट्र तरल अवस्थामा रहेको उल्लेख गर्दै मानवीय स्वाभिमान कमजोर हुने क्रियाकलाप हुन नदिइ समयमै संविधान निर्माण गर्नु सबैको सामूहिक जिम्मेवारी हो भन्नुभयो ।