News

Jul 2, 2008

कतारमा तीन नेपालीको कामदारको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रोजगारीका लागि खाडी मुलुक कतारमा रहेका तीनजना नेपालीको अलग दुइ घटनामा परी मृत्यु भएको छ । कतारको ओमकरन भन्ने स्थानमा एक पोल्ट्री फर्ममा काम गरिरहेका दुइ नेपाली कामदारको करेन्ट लागेर मृत्यु भएको हो । बिहीबारको यो घटना फार्ममा बिजुली लाइन सर्ट भएर भएको थियो ।घटनामा खोटाङ घर भएका दीपक राइ र धनकुटाका रामबहादुर सुब्बाको मृत्यु भएको हो । यसैगरी अर्को घटनामा सुनसरी सोनापुर-६ निवासी इमरान मियाको मृत्यु भएको उनको परिवारले जानकारी दिएको छ । दुइ वर्षअघि कतार गएका इमरानको १५ दिनअघि कतारमा मृत्युभएको उनका बाबु मेलीमहम्मद मियाले सञ्चारकर्मीलाई जानकारी दिनुभएको छ । उनको के कारणले मृत्यु भएको भन्ने जानकारी नआएको परिवारले जनाएको छ ।

संविधान संशोधन मस्यौदामा प्रधानमन्त्रीसँग छलफल हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेशी मागलाई संविधान संशोधनमा समेट्न तयार पारिएको संविधान संशोधन मस्यौदामा प्रमुख तीन दल प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग छलफल गर्दैछन् । पूरक बिधेयकमार्फत मधेशवादी दलहरुको माग सम्बोधन गर्ने सहमतिमा पुगेका तीन दलले बिधेयकको मस्यौदा तयार पारेका छन् । असार १८ गते सिंहदरवारस्थित शान्ति मन्त्रालयमा भएको माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुको छलफलले संविधान संशोधनको मस्यौदा तयार पारेको हो र त्यसबारे अन्तिम टुङ्गो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको भेटपछि लाग्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए । छलफलमा सहभागी एमाले महासचिव झलनाथ खनालले पनि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग बेलुका ४ बजे भेटेपछि मस्यौदाको अन्तिम टुङ्गो लाग्ने उल्लेख गरे ।छलफल सकिएपछि सिंहदरवारमा उपस्थित संचारकर्मीसँग कुरा गर्दै माओवादी अध्यक्ष दाहालले मस्यौदामा मधेशीलगायत सबै जाति र समुदायको प्रदेशलाई स्वायत्त मानिने उल्लेख भएको जानकारी दिए । उनले मस्यौदामा सेनामा समूहगत प्रवेशको कुरा उल्लेख नभएको पनि बताए । गत फागुन १६ गते सरकार र आफूहरुबीच भएको ८ बुँदे सम्झौतालाई संविधानको पाँचौ संशोधनमा समावेश गर्नुपर्ने माग राख्दै मधेशवादी दलहरुले असार ११ गतेदेखि संसद चल्न दिएका छैनन् ।

Jul 1, 2008

घूससहित खरिदार नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पन्ध्र हजार रुपियाँ घूस लिएको आरोप लगाउँदै एमाले भ्रातृ संगठन युथ फोर्सले श्रम विभागका एक कर्मचारीलाई मंगलबार नियन्त्रणमा लिई प्रहरीमा बुझाएको छ।सो विभागका खरिदार भुवन रेग्मीलाई पैसा लिँदालिँदै कार्यालयमै नियन्त्रणमा लिइएको युथ फोर्सले दाबी गरेको छ। र्स्वर्गद्वारी ओरेन्टेसन कम्पनी दर्ताका लागि पटक-पटक धाउँदा पनि दर्ता नभएपछि कल्पना श्रेष्ठ नामकी महिलाले युथ फोर्सको कार्यालयमा उजुरी हालेकी थिइन्।उजुरी प्राप्त भएपछि पनि सकेसम्म समझदारीमै मिलाउन आग्रह गरिएको तर कर्मचारीले नमानेको युथ फोर्सका नारायण खड्काले बताए।यता विभागका महानिर्देशक डिल्लीराज शर्माले आफना कर्मचारीमाथि भएको कुटपिटको निन्दा गर्दै अपहरणको शैलीमा एक समूह आएर जबर्जस्ती गरेको बताएका छन्।घूस खाएको भए आफूहरू छानबिन गर्न तयार भएको बताउँदै उनले कार्यालयमै कुटपिट गरिनु राष्ट्रसेवकको अपमान भएको बताए।युथ फोर्सले भने खरिदार रेग्मीले घूस खाएको बताउँदै आफूहरूले दिएको १५ हजार रुपियाँको नम्बरसमेत टिपेको जनाएको छ।तीन दिनसम्म समस्या समाधानको प्रयास गर्दा पनि नभएपछि ५५ जनाको फोर्सको समूह मंगलबार बिहान सो कार्यालय पुगेको थियो।३० हजार रुपियाँ दिने र कम्पनी दर्ता गर्ने भन्दै कम्पनीकी कल्पनाले दमन चन्द नामका व्यक्तिमार्फत बैनाबापत १५ हजार रुपियाँ पठाएको फोर्सको दाबी छ।दमनले विभागका कर्मचारी रेग्मीलाई रकम बुझाउनासाथ युथ फोर्सले घेरा हालेर घूस खाएको तथ्य र्सार्वजनिक गरेको जनाएको छ।युथ फोर्सका प्रतिनिधि खड्काले आफूले खरिदार रेग्मी र घूस रकम प्रहरीलाई बुझाएको बताए।खरिदार रेग्मीलाई पक्रनुअघि युथ फोर्सका कार्यकर्ता आफनो परिचय र्सार्वजनिक नगरी गोप्य ढंगले बसेको र पछि आफूहरू युथ फोर्स भएको परिचय दिएको बताइएको छ।युथ फोर्सद्वारा नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएका खरिदार रेग्मीलाई बानेश्वर प्रहरी वृत्तमा राखिएकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशअनुसार मंगलबार साँझ मुक्त गरिएको थियो।

पूर्वयुवराज पारस बिदेसिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुलुकमा गणतन्त्र घोषणा भएको ३१ दिनपछि पूर्वयुवराज पारस बिदेसिएका छन्। छोराछोरीको भविष्य निर्माणका लागि परिवारै लैजाने योजना बनाउँदै पारस मंगलबार दिउँसो सवा १ बजे सिंगापुर प्रस्थान गरेका हुन्।चार जना आफन्तसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षबाट सिंगापुर प्रस्थान गरेका पारस आफना दुइ छोरी र एक छोराको पढाइका लागि विद्यालय र आवासको व्यवस्था गरी डेढ हप्तापछि नेपाल र्फकने बताइएको छ।दिउँसो करिब साढे १२ बजे निर्मलनिवास छाड्नुअघि पारसका अर्दली उद्धव गुरुङले बिहान ११ बजे विमानस्थलमा सरसामान पुर्याएका थिए।पारससँगै बहिनीज्वाइँ राजबहादुर सिंह, धीरेन्द्रकी कान्छी छोरी दिलासाका श्रीमान् आदर्शविक्रम राणा तथा विनोदविक्रमलगायत सिंगापुर प्रस्थान गरेका थिए।छोरी पूणिर्का र कृतिका र छोरा हृदयेन्द्रलाई सिंगापुरकै एक विद्यालयमा पढाउने व्यवस्था मिलाउन पारस सिंगापुर गएका हुन्’ -स्रोतले भन्यो।छोराछोरी र श्रीमती हिमानीलाई लिन पारस डेढ हप्तापछि स्वदेश र्फकने स्रोतले बताएको छ।एउटा मात्र लगेज लिई बा१च ५७४३ नम्बरको कार आफैले चलाई विमानस्थल पुगेका पारसलाई बिदाइ गर्न अत्यन्तै निकट साथीहरू मात्र पुगेका थिए। पारसको तस्वीर खिच्न विमानस्थल पुगेका फोटो पत्रकारलाई प्रहरीले मुख्य ढोकामै रोकेको थियो।नेपाल छोड्नु एक दिनअघि पारसले बाबु ज्ञानेन्द्र, आमा कोमल र बहिनी प्रेरणासँग भेट गरेका थिए।

मधेसलाई हेर्ने विषयमा प्रमुख तीन दलमा विवाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तीन मधेसवादी दलहरूको सम्पर्ण मधेस एक प्रदेश’ सम्बन्धी मागका विषयमा प्रमुख तीन दल नेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति हुन नसकेपछि केही दिनयताको राजनीतिक गतिरोध मंगलबारसमेत फुक्न सकेन। यद्यपि तीन प्रमुख दलबीच आज बुधबार साझा धारणा बनाउने प्रयास गरिने बुझिएको छ।माओवादी, नेपाली कांग्रेस, एमाले, मधेसी जनअधिकार फोरम, तर्राई-मधेस लोकतान्त्रिक पार्टी सद्भावना पार्टीच मंगलबार बिहान सिंहदरबारमा भएको वार्ताअनुसार संविधानको पाँचौं संशोधनमा पूरक विधेयक ल्याउने गरी मस्यौदा तयार गर्न तीन सदस्यीय कार्यदल बनेको थियो। सो कार्यदलबीच नै एकमत नभएपछि तीन दलको बैठक निष्कर्षवहीन बनेको हो। सो कार्यदलमा मधेसवादी पार्टी मागका सम्बन्धमा कांग्रेसले राखेको अवधारणाप्रति माओवादी र एमालेले विमति राखेका थिए।एमालेका भीम रावल, माओवादीका देव गुरुङ र कांग्रेसका विमलेन्द्र निधि रहेको कार्यदलले मधेस एक प्रदेशको अर्थ नलाग्ने गरी मस्यौदा तयार गरेकोमा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेस स्वायत्त प्रदेशको अर्थ लाग्ने गरी तयार पार्न भनेपछि शीष नेतृत्व तहबाटै टुंगो लगाउने सहमति भएको बैठकका सहभागीहरूले बताएका छन्।कार्यदलको दिनभरिको प्रयासपछि साँझपख माओवादीका अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टर्राई, एमालेका महासचिव झलनाथ खनाल, विष्णु पौडेल, भीम रावल, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत र डा. मीनेन्द्र रिजालसहित बैठक बसेको तर बैठक कुनै निष्कर्षा पुग्न नसकेपछि सो बैठक आज बुधबार बिहान पुनः बस्ने गरी स्थगन भएको थियो।मधेस एक प्रदेशमा जान नहुने धारणा माओवादी र एमालेले राखेको तर कांग्रेसले फरक धारणा राखेको एमाले नेता रावलले जानकारी दिनुभयो।तर्राई, हिमाल, पहाडलगायत सबै क्षेत्रका जनताको भावनालाई समेट्ने गरी संविधान संशोधन गर्नुपर्ने बताउँदै माओवादी अध्यक्ष प्रचण्डले बैठकपछि सञ्चारकर्मीसँग भन्नुभयो- एक समुदायको चाहना पूरा गर्दा अर्को समुदायको अधिकार हनन हुने निर्णय गर्नु हुँदैन।’एमाले महासचिव खनालले पनि मधेस एक प्रदेशको पक्षमा लाखौंलाख जनता नभएको संविधानसभा निर्वाचन परिणामले देखाइसकेको उल्लेख गर्दै बहुप्रदेशकै पक्षमा जनता रहेको बताउनुभयो।नेपाली कांग्रेसका उपसभापति पौडेलले भने मस्यौदाहरूमाथि छलफल जारी रहेको र त्यसबारेमा मन्त्रिपरिषद्मा पनि छलफल हुने उल्लेख गर्नुभयो।संयुक्त थारू राष्ट्रिय मोर्चा, दलित जनजाति पार्टीतामसालिङ स्वायत्त राज्य परिषद्, संघीय लिम्बुवान राज्य परिषद्, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, चुरे भावर राष्ट्रिय एकता पार्टीसँग पनि विगतमा सरकारले सम्झौता गरेको र ती सम्झौतालाई पनि सम्बोधन हुने गरी साझा प्रस्तावका रूपमा संविधान संशोधन गरिनुपर्ने माओवादी र एमाले नेताले बैठकमा धारणा राखेको बताइएको छ। यसो नगरिए मुलुक विखण्डन हुने उनीहरूको तर्क रहेको थियो।मधेसी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवले भने सरकारले गरेको सहमतिलाई संशोधनमा नसमेटिएसम्म आफूहरूको आन्दोलन जारी रहने बताउनुभएको छ।दलहरूबीच असहमति भएकै कारण व्यवस्थापिका-संसद्को हैसियतमा बस्ने भनिएको संविधानसभाको बैठक मंगलबार पनि अवरुद्ध भयो। यसअघि बैठक प्रारम्भ हुनासाथ मधेसवादी दलहरूले रोस्ट्रम घेराउ गर्दै आएकोमा मंगलबार संसद् सचिवालयले सूचना नै टाँसेर बैठक स्थगित गरेको थियो।मंगलबार बैठक प्रारम्भ गरिएको भए सभासद्हरूबीच भिडन्त हुने सम्भावनालाई ध्यान दिँदै अगाडि नै बैठक स्थगित गरिएको बुझिएको छ।एमाले, माओवादी र साना दलका सभासद्हरू मधेसवादी दलका सभासद्को विरोधमा मंगलबार रोस्ट्रम र्घेन जाने तयारीमा रहेकाले भिडन्त हुने सम्भावना देखेर बैठक स्थगित गरिएको बताइएको छ। बैठक आज बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ। तीन दलबीच समान धारणा बनाएर आज बस्ने मन्त्रिपरिषद्ले पूरक विधेयक लैजाने प्रयत्न गर्ने बुझिएको छ।

मधेश मुद्धामा ६ दलबीच सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधान संशोधनमा मधेशवादी दलहरुका मागलाई पूरक बिधेयकमार्फत सम्बोधन गर्ने ६ दलबीच सहमति भएको छ । तीन प्रमुख दल र मधेशवादी दलहरुबीच मधेशवादी दलहरुको मागलाई संविधान संशोधनमा पूरक बिधेयकमार्फत सम्बोधन गर्ने सहमति भएको छ । असार १७ गते सिंहदरवारस्थित शान्ति मन्त्रालयमा भएको ६ दलको बैठकले यस्तो सहमति गरेपछि बिधायिका संसदको बैठक सुचारु हुने भएको छ । छलफलपछि त्यहाँ उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै सदभावना महतोका अध्यक्ष राजेन्द्र महतोले पूरक बिधेयकमा आफ्ना माग सम्बोधन भए संसद सुचारु हुने बताए । सहमति अनुसार, माओवादीका देव गुरुङ, नेपाली कांग्रेसका बिमलेन्द्र निधी र एमालेका भीम रावलले पुरक बिधेयकको मस्यौदा तयार पार्ने जिम्मा पाएका छन् । सिंहदरवारमा बिहान साढे ९ बजेदेखि सुरु भएको छलफलमा सहभागि नेपाली कांग्रेका महामन्त्री बिमलेन्द्र निधीले सरकार र मधेशवादी दलबीच गत फागुन १६ गते भएको सम्झौतालाई संविधान संशोधन बिधेयकको पूरक बिधेयकमा समेटिने सहमति भएको जानकारी दिए । तर, उनले त्यसबेलाको सम्झौतालाई कसरी तथा कस्ता शब्दहरु प्रयोग गरेर समेटिन लागेको भने जानकारी दिएनन् । श्रोतले आजै बिधायिका संसदको बैठकमा पूरक बिधेयक ल्याइने सहमति भएको बतायो । पूरक बिधेयक प्रस्तुत गर्न तथा छलफलमा ल्याउन मूल बिधेयकलाई जस्तो औपचारिकता पूरा गर्न पर्दैन । जस्तो कि, मूल बिधेयक दर्ता गरेपछि त्यो परिपक्क हुन तथा संसदमा छलफलमा ल्याउन ४८ घण्टा पर्खनु पर्छ । श्रोतले तीन जनाको मस्यौदा समितिले पूरक बिधेयकको मस्यौदा तयार पारेपछि आजै मन्त्री परिषदको बैठकमार्फत संसदमा ल्याइने जानकारी दियो ।

नेपाली साहित्य प्रतिष्ठान हङकङको नवौं वार्षिकोत्सव सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/पशन तमू,जुलाई १

नेपाली साहित्य प्रतिष्ठान हङकङको नवौं वार्षिकोत्सव जोर्डनस्थित नेपाल क्लवमा जुलाई १ तारिख मंगलवार सम्पन्न भयो। सोही अवसरमा गीतकार डी.बी. पालुङवा

द्वारा रचित नेपाली आधुनिक गीति संग्रह 'आलाप' को लोकार्पण महावाणिज्यदूत केशवप्रसाद भट्टराईबाट भएको थियो। प्रतिष्ठानका अध्यक्ष टंक सम्वाहाम्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ संगीतकार दिनेश सुब्बा विशेष अतिथिका रूपमा र विभिन्न साहित्यिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित थिए। गीतकार डिबी पालुङ्वाले कृति विमोचनपछि मन्तव्य प्रकट गर्दै २, ३ वर्षपछिको अथक प्रयासबाट आफू अब आम मान्छे बन्न पाउंदा गर्व लागेको बताए। गीतकार पालुङ्वाले गीतहरूमा रंग भरेर साहित्यको खेतीमा कोदालो खनेर सुरुवात गरेको बताए। गीतकार पालुङ्वाको कृतिमाथि समीक्षा गर्दै सृजनाशील साहित्य समाजका अध्यक्ष हाङयुग अज्ञातले हङकङका साहित्यकारहरूले एकआपसमा सृजना र सम्वाद साटासाट गर्नुपर्ने बताए।
कार्यक्रममा यु.पी.नुम्लाकेद्वारा लिखित 'आधुनिक सवारी चालक निर्देशिका' समेत सार्वजनिक गरिएको थियो। लेखकले प्रकाशित कृतिमाथि प्रकाश पार्दै भने- 'मैले लिखित पुस्तकमा सरल भाषा प्रयोग गरी सबैका निम्ति पठनयोग्य बनाउने प्रयाश गरेको छु'। नुम्लाकेद्वारा चार भाषामा लिखिएको एभरेष्ट डिस्नेरी यस अघि बजारमा आइसकेका छन् भने नुम्लाकेले नेपाली समाजलाई उपयोगी हुने थप पुस्तकहरु बजारमा ल्याउने तयारी गरिरहेका छन्। प्रमुख अतिथि महावाणिज्यदूत केशवप्रसाद भट्टराईले हङकङमा नेपाली गीत सृजनामा उपलव्धीमूलक ढंगले विकास भएकोमा खुसी व्यक्त गरे। महावाणिज्यदूत भट्टराईले
आफू हङकङ आएको छोटो समयभित्र ५, ६ वटा गीति एल्बमहरु बजारमा सार्वजनिक भएको जानकारी दिए। वरिष्ठ संगीतकार दिनेश सुब्बाले गीतकार डिबी पालुङ्वाको गीतको चर्चा गर्दै सबै स्रष्टाहरू गीत रचनामा निपुण हुन नसक्ने बताउंदै 'कविता लेख्ने कविहरू गीत लेख्न सक्षम हुन्छन् नै भन्न सकिन्न' सुब्बाले भने। गीत र कवितामा भिन्नता छन्। गीतकार पालुङ्वाले सफल गीतकार हुने सम्भावना बोकेको सुब्बाले बताए।
कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङका अध्यक्ष मोती चाम्लिङले साहित्यमा प्रतिस्पर्धा हुन नसक्ने बताउंदै 'साहित्यकार साझारूपमा समाजका लागि हुन्, नेपाली साहित्यका लागि हुन्।' 'अहिले पुनर्गठन भएको हङकङ च्याप्टरमा सबै साहित्यकारहरूलाई समावेशीको आधारमा समविष्ट गरिएको छ' चाम्लिङले भने। कार्यक्रमका अर्का वक्ता आदिवासी गीतकार समाजका अध्यक्ष प्रदीप कन्दङ्वाले समाजमा गीतकारहरू ओझलमा परेकोमा चिन्ता व्यक्त गरेका थिए। समाजले गीतकारहरूलाई महत्वका साथ अगाडि ल्याउनु पर्ने धारणा कन्दङ्वाको रहेको थियो। औपचारिक कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य बिमल राईले गरेका थिए भने भयवादका प्रवर्तक देश सुब्बाले स्वागत मन्तव्य प्रकट गरेका थिए। सोही कार्यक्रममा डोल्मा शेर्पाको जीवन रक्षाका लागि हङकङमा संकलन गरिएको हङकङ डलर ४ हजार ४३ आर्थिक सहयोग आदिवासी जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङले महावाणिज्यदूत भट्टराईको बाहुलीबाट एनआरएन हङकङ नेश्नल कोअर्डिनेटर कृष्ण पाण्डेलाई हस्तान्तरण गरेका थिए।
पहिलो र दोश्रो चरणमा विभक्त गरिएको पहिलो चरणको कार्यक्रम समापनपछि
कविता वाचनको कार्यक्रम रहेको थियो। कार्यक्रममा कविहरू भोगेन एक्ले, प्रकाश छाङ्छा राई, आशा दाहाल, कमल पौडेल, चन्द्र मादेन, देवेन्द्र खेरेस, देव गुरूङ, मोती चाम्लिङ, डिबी पालुङ्वा र बाल कविहरू निङ्वा लिम्बू र आकाश राईले कविता वाचन गरेका थिए। कार्यक्रम सकेपछि आइपुगेकी कवयत्री हिमकला राईले जनजाति सम्बन्धी गीत गाएकी थिइन्। कार्यक्रममा अनुपस्थित कवि रामकृष्ण वान्तवाका कवितालाई कवि कमल पौडेलले र नेपालका कवि पदम गौतमको कविता हाङयुग अज्ञातले वाचन गरेका थिए। कविता वाचनका महिला सहभागी आशा दाहाललाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा कविताबाहेक टीकाराम माखिमबाट कथासमेत वाचन गरिएको थियो। अन्तमा कार्यक्रमका अध्यक्ष टंक सम्वाहाम्फेले सबैलाई धन्यवादसहित आफ्ना कविता वाचन गरि सकेपछि कार्यक्रमको समापन गरेका थिए। यस कार्यक्रमलाई एचकेनेपाल डट कमले परीक्षणको रुपमा प्रत्यक्ष भिडीयो प्रसारण गरेको थियो।